चिया पसलमा चिया पिउन बसिरहेको अवस्थामा सररर हावा चलिरहेको थियो ..
आँखा एक टकले अडियो एउटा डोरीमा झुन्डिरहेको त्यो आइस क्रिमको कोनको झुण्डमा …
हावाको लहरसँगै हावामा बहिरहेको थियो तर डोरीमा बाधिएको थियो त्यो आइस क्रिमको कोनको झुण्ड …
निर्जीव …. …. ….
आँखा डुलाए नजिकै रहेको सेतो रंगको बन्द फ्रिजमा आँखा अडियो …
त्यो फ्रीजलाई हेर्दै त्यो कोन हावाको लहरसँगै बहिरहेको थियो …
धेरै भयो त्यो कोन र आइस क्रिमको मिलन नभएको …
किनकि भर्खर जाडो सकिन लागेको थियो अनि गर्मी सुरु हुन लागेको थियो …
बिस्तारै बिस्तारै मौसमले पनि साथ दिदै थियो …
नयाँ बाहारको आगमन हुँदै थियो …
केही समय मौनता छायो ..
चिया पनि आयो ..
चियाको स्वादमा भुलियो रमाइयो …
छेवैमा रहेको टेबल माथि ..
निभ्ला निभ्ला जस्तो गरी हावाको मन्द झोकाहरुको माझमा …
एउटा मैन चहकिलो बल्ने प्रयासमा ..
धिप धिप .. धिप धिप .. गर्दै …
अडिरहेको थियो ..
एक छिन् पछि घट्क्क आवाज आयो ..
फेरि खुलिरहेको सेतो फ्रिजमा आँखा अडियो ..
घुटुक्क चिया निलियो ..
अनि त्यो हावाको लहरसँगै झुलिरहेको आइस क्रिमको कोनले रमाउदै मिलनको कल्पना गर्यो ..
र हावाको लहरसँगै कल्पनाको संसारमा रमाउदै झुलिरह्यो ..
चियाको सुर्की लगाइयो …
फेरि ध्याप्पआवाज आयो …
हावा पनि संयोगले केही मन्द भएर अडियो ..
र कोनले पनि टक्क अडिएर फ्रिजतिर हेर्न थाल्यो ..
तर बन्द फ्रिज माथि …
एउटा कतै जान तयार भएको दहीको पोको …
प्लास्टिक झोला भित्र निसासिदै उकुसमुकुस गरिरहेको थियो …
कोन पनि निरास थियो ..
फेरि सररर हावा चल्यो ..
अनि फेरि त्यो आइस क्रिम कोन …
आइस क्रिमसँगको मिलनको आशमा झुलिरह्यो ..
कहिले यता कहिले उता …
फेरि चियाको सुर्की लगाइयो …
अनि भुलियो ..
अनि घरमा आमाले भन्नुभयो ..
दिउसै हिडेको यति अबेर साँझसम्म कता डुलेर झुलेर आइस् हँ …. ?
बुझिने प्रश्नमा नबुझिने उत्तर दिदै ..
आवाज आयो …
त्यही तल दाइको चिया पसलसम्म …
