Skip to content


घटना पुरानै हो । एउटा गोरो वर्णको विदेशी टुरिस्ट काँधमा क्यामरा भिरेर हामी भएतर्फ आइरहेको थियो । उसले हाम्रो फोटो खिच्यो ।

के छ बच्चाहरू ? उसले उराठ प्रश्न राख्यो ।

हामी बोलेनौँ ।

लाटोहरू त होइनौ नि तिमीहरू ?

उसले अर्को निराशा फैलायो ।

कोही बोलेन ।

सायद रमेशले उसको प्रश्नमाथि हाँसो उडाएको थियो ।

ऊ फटाफट हामीलाई उछिनेर अगाडि बढ्यो ।

म दौडँदै उसको पछि पुगेँ ।

थाहा छैन मैले किन त्यसो गरेँ ।

तिमी मलाई एक डलरको नोट दिन सक्छौँ ? मेरो प्रश्न सुनेर ऊ हतास उभियो ।

पैसा रे ? उसका आँखामा उब्जिएको प्रश्न त्यस्तो थियो ।

दिन्छु, पख ।

उसले ब्यागबाट एउटा कागज निकालेर केही लेख्न थाल्यो ।

लेखिसकेर कागज पट्याएर मलाई हातमा राख्दै एक डलरको नोट पनि थमाइदियो ।

“अनि धन्यवाद नभन ।”

उसले मलाई रोक्यो ।

म उसलाई धन्यवाद भन्न चाहन्थेँ वा चाहन्नथेँ मलाई याद छैन ।

ऊ सरासर अगाडि बढ्यो ।

उसले पर पुगेर जुम गर्दै क्यामराबाट मेरो फोटो खिच्यो ।

“तिमी हाँसेनौ । तैपनि ठीकै छ ।” ऊ खिस्स हाँस्दै आˆनो बाटो लाग्यो ।

मैले त्यो हरियो एक डलर नोटलाई ओर्काइफर्काई हेरेँ । कुनै विशेष आकर्षण थिएन । मैले उसले लेखेको चिटलाई खोलेर हेरेँ । चिटमा यस्तो लेखेको रहेछ ।

“ए माग्ने बच्चा, तिम्रा पुर्खाहरू पनि माग्ने नै थिए होलान् । तिमी पनि मागिरहेका छौँ । तिमीहरू अरू गर्न पनि त केही सक्दैनौ सायद । माग्ने काम सजिलो छ । तिम्रा आउँदापुस्ताले पनि मागेरै बिताउलान् भन्ने चिन्ताले मलाई खाइरहेको छ । तिम्रो माग्ने बनिरहने इच्छालाई यो एक डलरले योगदान दिने भयो भनेर मलाई दुःख लागेको छ ।”

फिरङ्गी पराई मान्छे ।

म माग्ने होइन र भोलि हामी माग्ने बन्ने क्रममा पनि छैन भनेर उसको मुखमा ˆयाँक्न चाहन्थेँ म त्यो नोटलाई तर ऊ त्यहाँबाट सायद टाढा पुगिसकेको थियो । मैले उसलाई खोज्ने प्रयत्न पनि गरिनँ । मनमा अव्यक्त ग्लानि भरिएर आयो । उदासी र पश्चातापले सबैतिरबाट मलाई घेरेको अनुभूति बढेर गयो ।

एक डलरको नोटलाई स-साना टुक्राहरूमा च्यापेर मैले हावामा उडाइदिएँ । एक प्रकारको पीडा जोडले दौडियो मभित्र । मेरो स्वाभिमानमा सायद चोट लागेको थियो । सम्बन्धहरू बन्ने र बिगि्रने क्रम निरन्तर रहन्छ । त्यो फिरङ्गी विदेशीसँगको मेरो छोटो सम्बन्ध नमिठो र पीडादायी बनेर टुङ्गनि सकेको भए राम्रो हुन्थ्यो तर उसको एक डलरको नोट र माग्नेको उपाधिले मलाई उसँग अनवरत जोडेर राखेको छ । कति वर्षहरू बितेर गएका छन् । उसको आकृति मबाट टाढिन सकेको छैन । म माग्ने बनिनँ उसले दिएको अपमान पिएर । अरूबाट आशा गर्ने, भरोसा खोज्ने प्रवृत्तिहरूबाट एकदम टाढा बसेको छु म । सायद त्यो एक डलरको नोटको पीडाले मलाई सताइरहेको छ । हाम्रो माग्ने प्रवृत्तिलाई रोक्न र आर्थिक परनिर्भरता कम गर्न मैले कुनै ठोस योगदान दिन सकेको छैन । त्यो फिरङ्गीको एक डलरको नोटको किस्साले मेरो पूरै जीवन पोतिएको छ । मलाई यहाँसम्म पुर्‍याएको छ त्यो विदेशीले होच्याएको घटनाले । आजसम्म पनि मैले मुक्ति पाउन सकेको छैन ।

शिक्षाको जगमा अन्धकार व्याप्त छ । इमानदारी उजाडिएको छ । अधिकांश व्यापारीहरू राज्यका कर छल्न र लुट्नमा अभ्यस्त लाग्दछन् । कर्मचारी र राजनीतिवालाहरू भ्रष्टाचारका पर्याय बनेका छन् । इमानदार मान्छेहरू हेलित, सङ्कोचित र उपेक्षित बनेका छन् । मान्छेहरूमा मुलुक र समाजका प्रति निष्ठा एकरति छैन । बौद्धिक दरिद्रता र खोक्रिएको इमानले सम्पूर्ण समाज आक्रान्त बनेको छ । म ठिङ्ग उभिएर हेर्छु मान्छेहरूलाई । मेरा असहज आँखाहरूमा उत्रिने गर्छन् व्याप्त अनैतिक र अमर्यादित आचरणहरू । व्यवधान र बेचैनीले घेरेको छ । उत्साह छैन । एक्लो र बेमेल अस्तित्व बोकेर म कुन परिवर्तन अजमाउन उभिएको छु । शङ्का लाग्छ आफैँमाथि । उल्टो गतिमा बगेको प्रवाहलाई एक्लै छेक्न सक्छु म भन्ने आत्मबल पनि कमजोर भएजस्तो लाग्दछ ।

हरेक मान्छे, परिस्थिति र वातावरणसमेत एक प्रकारले अन्योलग्रस्त बनेको छ । ती अन्योलहरूको सघन व्याप्ततामा म उभिएको छु एउटा चौबाटोमा । कुनै दिशा छैन । कुनै मुकाम पाउने आधार छैन । कुनै उपलब्धि चुमिने सङ्केत छैन । म एक्लो उभिएको छु भीडहरूमा । बालीमा नडुबेको डुमसरी एउटा फरक प्रतिरोध उभिएको छु म ।

पशुपतिको मन्दिर र स्वयम्भूको चोटीहरूमा पैसा मागेर बस्ने असहाय, अपाङ्ग र कोही ठग सपाङ्गहरूलाई मैले कुनै विकल्प प्रस्तुत गर्न सकेको छैन । गान्धीले भनेजस्तै तिमी आˆनो तर्फबाट राम्रो गर, अरूको जिम्मा नलेउ, चिन्ता नलेउ भनेर सम्झाउन खोज्छ आफैँलाई तर म त गान्धीको अर्ति लिएर पनि चैन पाउन सक्ने अवस्थामा छैन । म हुनु र नहुनु, मैले असल बन्नु र नबन्नु, मैले माग्नु र नमाग्नु, अनि मैले रुनु र सुस्काउनुले यहाँ केही फरक पर्न सक्ने छैन । देश रोइरहेको अवस्थाले पनि यहाँका मान्छेहरूलाई कदाचित कुनै फरक पर्नेवाला छैन । मान्छे निर्जीवझैँ लाग्न थालेका छन् । कुनै व्यक्ति रहनु र नरहनुको बीचमा एउटा सानो समय हुन्छ । आˆनाहरूको लागि थोरै पीडाजन्य । त्यो समय गतिशील छ । समयको गतिशीलतासँगै कसैको नहुनुको पीडा आफन्तको लागि कम बन्दै जान्छ । उसको नरहनु एक प्रकारको अभ्यस्तता बन्न थाल्छ अनि ऊ भुलिछ । जीवनका अवयवहरूलाई ऊर्जाशील बनाउन चाहने मान्छेहरू पनि एक तमासले थाकिरहेका हुन्छन् । आफैँबाट घेरिँदा र आˆनै एकोहोरो रटानबाट सेकिँदा । म त्यस्तै माग्ने नबन्ने रटानबाट थाकेको छु । म आफू माग्ने नबनेर गान्धीले भनेजस्तै अरूहरूलाई निस्पिmक्री माग्ने बन्न दिइरहन पनि सक्दिनँ । उनीहरूलाई माग्ने बन्नबाट रोक्न पनि सक्दिन म । मेरो मनले मसँग विद्रोह गर्ने गर्छ । म हार स्वीकार गर्छु र अन्तरद्वन्द्वलाई किनारा लाउँछु । म कुनै बच्चा छैन । मेरो वयस्कपनले मेरो सकस बढाएको छ । माग्नेविरुद्धको अनास्था फैलाउन पनि सक्दिन म । माग्नेहरूलाई विस्थापित गराउन पनि सक्दिन । माग्नेहरूको माग्नुको विकल्प दिन पनि सक्दिन । म माग्ने होइन र म माग्ने बन्नबाट रोकिएँ भनेर चिच्याउन सक्छु सायद तर मेरो उद्देश्य अलपत्र बनेको छ । एउटा फिरङ्गीले दिएको अपमानको बदला लिन सकिनँ मैले । मेरा थुप्रै मान्छेहरू माग्ने बनेर बरालिएका छन् सडक, सहर र गल्लीहरूमा । म देश बन्न सकेको भएँ, राज्य व्यवस्थामा प्रभावी बन्न सकेको भए सायद रोक्न सक्थेँ होला तिनीहरूलाई माग्ने बन्नबाट । आज हार खाएको छु आˆनो अभियानमा अघि बढ्न नसकेर र अघि बढ्ने कुनै गोरेटो नभेटिएर । भीडको एउटा निरीह मान्छेमा परिणत भएको छु मेरो निराशा बढ्न थालेपछि म । मेरा विद्यार्थीहरूलाई माग्ने नबन तिमीहरू भनेर सिकाउनुबाहेक कुनै ठूलो योगदान रहेन मेरो माग्ने हुनबाट देशलाई रोक्न ।

कीर्तिपुरबाट बस चढेर बल्खु पुग्दा झ्यालमा आइपुग्छ एउटा लिखुरे केटो एक रुपियाँ दिनुहोस् न, खान नपाएको दुई दिन भयो भनेर हात पसार्छ । म आफैँसँग क्रूद्ध बन्छु ।

किन ? थाहा छैन । म एक रुपियाँको नोट दिएर उसलाई माग्नप्रति प्रोत्साहित गर्न कदापि सक्दिनँ । थुप्रै शृङ्खलाको एक टुक्रा थियो त्यो । माग्नेहरूलाई भिक्षा नदिनु भनेको धार्मिक मूल्यविरुद्धको अभियान हो भनेर आमाले सधैँ प्रतिरोध जनाउनु हुन्छ । म घरमा पनि एक्लो परेको छु । डिसेम्बर लाग्न थालेको थियो, मिन पचासको बिदा सुरु भएको दिनको साँझा चिसो बतासको प्रवाहमा कठ्याङ्गि्रएको थियो । म कम्प्युटर अघिल्तिर गएर थचक्क बसेँ । कुनै उत्साह छैन । इमेल बक्समा कसैको मेल आएको छ । खोलेर पढ्छु –

प्रिय जवान मान्छे,

तिमी एउटा असल मान्छे बन्न सकेका छौ भन्ने सुनेर मलाई खुसी लागेको छ । तिम्रा विद्यार्थीहरूले तिमीले सुरु गरेको अभियानलाई अगाडि बढाउने छन् । तिमी स्वाभिमानी मान्छे मात्र हैन स्वावलम्बनका प्रखर अभियन्ता बनेका छौँ । तिम्रा असहजता र थकाइहरूबाट तिम्रो अभियान समुद्रा पारि मेरो देशमा आइपुगेका छन् । तिम्रा विद्यार्थीहरूले खबर ल्याउने गरेका छन् । म त बूढो भएको छु । तिम्रो देशमा आएर तिमीसँग भेट्ने इच्छा छ । मानवताको प्रतिष्ठा अभिवृद्धि गर्न तिमीले अपनाएको स्वाभिमानको आन्दोलनले तिम्रो मुुलुक समृद्ध बन्नेछ । तिमीलाई मेरो सलाम । अनि मैले एक डलरको नोट समातेको तिम्रो तस्बिर यहाँ एटाचमेन्टमा पठाएको छु । आˆनो हेरर विचार गर्नु ।

1 thought on “फरक अस्तित्व”

  1. malai pani mathi ko katha
    malai pani mathi ko katha jastai kunai mod le kata kata afno sowabhiman huri le simal ko bhuwa udaya jasto lagcha….tho samaya samjhada anfno astatito metiyara gayako jasto lagcha….ma hal iraq ma chu…ma sangai kam garne eak jana bideshi aja bhanda 6 maheina agadi nepal ghumna gayako thee…uas lai sayad hamro sorga jasto des man paryo hola bhanne sochera pharke pachi maile sodheko thea….ma’am! how u feel my country???….uas le eauta bakya ma matri utar diyee….”country of beggar”….ma najawaf bhaya…ma sanga uttar pani kehi therna…nabhanun pani kashari…neta dekhi tala fudpath dekhi mathi sabai magne…ghush magne/sahayog magne/chanda magne/sapati magne/wrin magne/kam magne/urja sakti magne/khadynna magne/sichha magne/yatayat magne/lagani magne/k k magne k k magne magne kura ma lehara nai sakdaina…sachai yo magne partha ko antya kahele huncha mero des ma?????tes cheda ma ma sanga kam garne tetro 8 muluk ka manis haru ko maz ma sodheko thea maile to prashna…mero des lai 8 muluk le magne ko des bhanera chinnyo…. :,(

Leave a Reply

Your email address will not be published. Required fields are marked *