हे मेरा छोरा, नेपाली प्यारा एक भै उठ न
देशको निम्ति बलियो खम्बा नबनी भएन ।
तिमीले रोए यो छाती पोल्छ कसरी सहनु
हाँसेको हेर्छु मेची र काली सुखी भै रहनु ।
दाजु र भाइ मिलेर बस नगर झगडा
एकता भए को हेप्न सक्छ ? म बन्छु तगडा ।
जात र पात को सानो ठूलो म भन्दै भन्दिनँ
धनी र गरिब छुट्याउने रीतलाई म मान्दै मान्दिनँ ।
छत्तीस जात चारवटा वर्ण एउटै फूलबारी
भाषा र धर्म अनेक भए तिम्रो छ रखवारी ।
देशको सेवा स्वदेशी मेवा क्या मीठो व्यञ्जन
नजाऊ विदेश, पसिना बगाउँ यही नै बस न ।
सगरमाथा बुद्धको देश शान्तिको सन्देश
डाँफे र मुनाल हिमचुली हाँस्छन् तराई प्रदेश ।
‘अरूको लाख आमाको काख’ यो माटो प्यारो छ
आमाको पुकार मनमा गुन नेपाल प्यारो छ ।
-धरान, सुनसरी
