Skip to content

सूर्यका किरणहरू साक्षी छन्

  • by


सूर्यका किरणहरू साक्षी छन्
लाला लाजपत रायमाथि जुत्ता बर्साउनेहरूलाई
लगाउन निरन्तर प्रदान गरिएको छ नयाँ जुत्ताहरू
बूढो रुख भएर थापेकै छु आफ्नो टाउकोलाई
खल्तीमा केप छैन अक्षरको प्रहार पलाँस भएर उड्छ
चिमोट्नै पर्ने हो गन्हाएका छालाहरूलाई
जसरी भए पनि नजिकै उभिएर
तर दरिद्र मानिसले क्रय गरेको पातलो रुमालले
थेग्न सक्दैन गन्हाएका छालाका दुर्गन्धहरू ।
सूर्यका किरणहरू साक्षी छन्
अँध्यारोमा जे-जति हातहरूलाई समातेर
पच्याङको राजमार्गमा हिँडेँ
छकालमा ती हातहरूले लेखे-
क्षणिक सम्बन्ध बिबर्धन भएका
नस्तर समान अनगिन्ति हाइकुहरू ।
सूर्यका किरणहरू साक्षी छन्
सुकिसकेका जाइहरूलाई बन्दुकको मुखमा खाँदेर
पड्काउँदा निस्किने मुमुक्षाले
कसरी युद्ध समाप्तिको घोषणा गर्न सक्छ ?
सूर्यका किरणहरू साक्षी छन्
कोर्रा समाउने हातहरूलाई नै
निरन्तर प्रदान गरिएको छ
तिनका औँलाहरूलाई सुशोभित गर्न सुनका औँठीहरू
सूर्यका किरणहरू साक्षी छन्
चितुवालाई सियोले घोच्ने दुस्साहस गर्दा
एउटा मानिस अकालमा मरेको छ
र चितुवाले नै निरन्तर प्राप्त गरेको छ भोजन
अनि तोपका पाटपूर्जाहरूले कुनामा बजाइरहेका छन्
शोकले भरिएका लामालामा धूनहरू ।
सूर्यका किरणहरू साक्षी छन्
कुनै पनि पक्षीले बिनापखेटा उडानको आरम्भ गर्नुहुन्न
कागजको तरबारले काट्नै सक्दैन अर्नाका टाउकाहरू
र हिमपातमा फाइबरको ओढनी ओढेर
यात्राको प्रारम्भ गर्नसमेत निस्किनै हुन्न
सडकमा कुनै पनि मानिसले
हिमपातका दलालहरूले
कहाँ निस्किन दिएका छन् आगोले भरिएको जिब्रोलाई
गोरेटा र घोडेटाहरूमा समेत ?
सूर्यका किरणहरू साक्षी छन्

-३३, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *