पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत आधारशिलाहरू


साहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ती चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चस्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रित छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् । साहित्यलाई मनोविज्ञानसित गाँसेर पनि हेर्ने गरिएको छ । आलेखमा साहित्य के हो ? यो किन वा कसरी यो सिर्जना गरिन्छ ? मूल्याङ्कनका आधार के के हुन् ? भन्ने विषयमा सामान्य चर्चा गर्नेछु ।

साहित्य के हो भन्ने बारेमा पूर्वीय सिद्धान्त र अवधारणा निक्कै पुरानो छ । विभिन्न आचार्यहरूको मतहरूलाई सरसर्ती हेरौं । आचार्य भामह भन्दछन्– “शब्दार्थो सहितौ काव्यम्” अर्थात् शब्द र अर्थको सहभाव नै काव्य वा सहित्य हो । आचार्य रूद्रट भन्दछन्– “ननु शब्दार्थौ काव्यम्” अर्थात् शब्द र अर्थ नै काव्य हो । आचार्य मम्मट भन्दछन्– “तददोषी शब्दार्थौ सगुणावनलंकृति पुनः क्वापि ।” अर्थात् दोषरहित, गुणसहित, अलङ्कारयुक्त शब्दार्थ नै काव्य हो । रसवादी आचार्य मम्मटको उक्त परिभाषा साहित्यमा निकै महत्वपूर्ण मानिन्छ । उनले काव्यको चरित्र तथा अलङ्कारलाई महत्व दिंदै साहित्य उपयोगी समेत हुनुपर्ने कुरा बताएका छन् । तर साहित्य दोषरहित पनि हुनुपर्छ भन्ने उनको मापदण्ड भने अव्यवहारिक देखिन्छ भनी आलोचना गरिएको छ ।

आचार्य बाग्मटका अनुसार “गुणालंकाररीतिरसोपेतः साधुशब्दार्थसन्दर्भ काव्य म ।” अर्थात् गुण, अलङ्कार, रीति र रसले युक्त सुन्दर शब्दार्थ, समूह नै साहित्य हो । उनको मतमा साहित्य समग्रमा अङ्ग पुगेको, सुन्दर र सार्थक हुनुपर्छ । यसैगरी जयदेवका अनुसार दोषरहित, तथा गुण, अलङ्कार, लक्षण, रीति र वृत्तिले युक्त वाक्य नै काव्य वा साहित्य हो । उनले साहित्य दोषरहित होस्, गुनिलो र अलङ्कारयुक्त होस् तथा प्रस्तुतिमा लक्षणायुक्त र रीत बमोजिम निर्माण गर्नलाई सुझाएका छन् । आचार्य विश्वनाथका अनुसार “वाक्य म रसात्मक म काव्यम्” अर्थात् रसयुक्त वाक्य नै काव्य वा साहित्य हो । उनले साहित्यमा रस अनिवार्य तत्वको रूपमा जोड दिएका छन् । यसरी संस्कृत साहित्यलाई सरसर्ती हेर्दा त्यहाँ रीत, अलङ्कार, गुण र रसका चर्चा प्रमुख रूपमा गरिएका छन् । यसैले संस्कृत साहित्यशास्त्रलाई अलङ्कारशास्त्र पनि भन्ने चलन छ ।

हिन्दी साहित्यका समालोचक महावीरप्रसाद द्विवेदीले साहित्यलाई ज्ञानराशीको सञ्चितकोष मानेका छन् । उनले साहित्यलाई मनोरञ्जनको साधन मात्र हैन यो ज्ञानपूर्ण पनिरहोस् भन्ने मान्यता राखेको पाइन्छ । हिन्दी उपन्यासकार प्रेम चन्दले भने साहित्य भनेको जीवनको आलोचना भनेका छन् । उनले साहित्यले जीवनको राम्रा नराम्रा पक्षहरू केलाएर देखाओस् ता कि यसले समाजलाई सुधार्न केही पाठ पनि सिकाओस् भन्ने मान्यता उनको परिभाषामा अन्तर्निहित रहेको देखिन्छ । समालोचक गुलाबरायको मतमा साहित्य भनेको संसारप्रतिको मानसिक प्रतिक्रिया अर्थात् विचार, भाव तथा संकल्पको शाब्दिक अभिव्यक्ति हो । उनले साहित्यलाई स्वतन्त्र ढङ्गले लेख्नको लागि जोकोहीलाई प्रोत्साहन गर्ने अन्तर्भाव परिभाषामा समेटेका छन् ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले सजीव अनुभवहरूको कलात्मक प्रकाशनलाई नै साहित्य भनेका छन् । देवकोटाले पहिले भावपक्ष र त्यसपछि शैलीपक्षलाई जोड दिएर साहित्य लेखिनु पर्नेमा जोड दिएका छन् । उपन्यासकार रूद्रराज पाण्डेले व्यक्तित्वको अभिव्यक्ति अर्थात् वैयक्तिक आत्मरागको प्रकाशनलाई साहित्य भनेका छन् । उनले व्यक्तिको आत्मकेन्द्रीतपक्ष र दृष्टिकोणबाट उद्घाटित हुने वस्तु साहित्य भएको आसय परिभाषामा व्यक्त गरेका छन् । सोमनाथ सिग्देलले सर्वसाधरणलाई मुग्ध पार्ने अभिव्यक्तिलाई पनि साहित्य भनेका छन् । उनले साहित्य क्लिष्ट नहोस् र सर्वसाधरणको पहुँच बाहिर नजाओस् भनेर सायद उनले साहित्य मनोरञ्जनयुक्त पनि होस् भन्ने धारणा परिभाषामा समेटेका छन् ।

यसरी पूर्वीय बाङ्मयभित्र विचरण गर्दा विभिन्न अवधारणाहरू आपसमा मिसिएका, ठोक्किएका, जुधेका अवस्थामा छन् । तापनि यिनीहरूको मोड भने करिब एउटै दिशातिर उन्मुख छ । साहित्यलाई परिभाषित गर्ने तथा साहित्य किन र कसरी सिर्जना गर्ने भन्ने सवालमा पूर्वीय वाङ्मय स्पष्ट रूपमा भन्छ– साहित्य भनेको जीवन जगतप्रतिको मानवीय अनुभव, अनुभूति, धारणा, दृष्टिकोणको कलात्मक एव म सौदर्यपूर्ण भाषाशिल्पका माध्यमबाट गरिने सिर्जनात्मक अभिव्यक्ति हो, जसमा बौद्धिकता, हार्दिकता एव म कल्पनाको प्रचुरता रहन्छ । पूर्वीय साहित्य समालोचना गर्दा विभिन्न आधारलाई मापदण्डको रूपमा लिइन्छ, जस्तै– साहित्यको परिभाषा अनुसार सिर्जनात्मक मूल्याङ्कन, साहित्यिक हेतु, साहित्यिक प्रयोजन, साहित्यमा प्रयुक्त शब्दशक्ति अर्थात् अभिधा, लक्षणा र ब्यञ्जना आदिको प्रयोग आदि ।

अब हामी पाश्चात्य वाङ्मयतर्फ लागौं । पाश्चात्य साहित्य जगतमा साहित्यलाई परिभाषित गर्ने दृष्टिकोण अँझ व्यापक छ । परिष्कारवादी टि.एस. ईलियटको मतानुसार परिष्कृत साहित्य प्रौढ मष्तिष्क, प्रौढ सभ्यता र प्रौढ भाषायुक्त साहित्यलाई नै परिष्कृत अर्थात् क्लासिकल साहित्य मानिन्छ । त्यस्तो साहित्य सार्वभौमिक र सार्वकालिक हुन्छ । यसले साहित्यलाई प्रौढता र परिष्कारसँग गाँसेको छ । यसले साहित्यको मापदण्ड स्पष्ट रूपमा कोरेको छ । अर्को पाश्चात्य साहित्य सिद्धान्त स्वच्छन्दतावाद भने स्वतन्त्र र उदार छ । जसअनुसार परम्परामुक्त, स्वच्छन्द अभिव्यक्ति प्रणालीमा आधारित, तर्क र बुद्धिको साटो भावना र भावुकता, वस्तुपरकताभन्दा आत्मपरकता, विवेक नियन्त्रितको साटो हार्दिकता, सचेत आयोजनको साटो सहजता वा स्वतःस्फूर्तता, यथार्थको साटो सहजता, स्वतस्फूर्तता, वास्तविकताको साटो कल्पना अनि चेतनमनको साटो अवचेतन मनमा आधारित साहित्यलाई स्वच्छन्दवादी साहित्य भनिएको छ । यसरी परिष्कारवादले साहित्यलाई अलि उपल्लो तहको वस्तुको रूपमा स्थापना गर्न खोजेको छ भने स्वच्छन्दतावादले जो कोही कल्पनाशील, कलाकार वा सिर्जनशील व्यक्तिसामू साहित्य पुर्याइदिएको छ ।

तर यिनै परिष्कृतवादी तथा स्वच्छन्दतावादी साहित्य लेखनविरूद्ध पश्चिमी साहित्यमा सन् १८३०तिर यथार्थवादी लेखनको प्रारम्भ भयो । यथार्थवादी लेखनले जीवन र जगतलाई यथातथ्य एव म निष्पक्ष भावले हेर्ने र त्यस्तै किसिमले तिनको चित्रण–अङ्कन गर्ने मान्यता राख्दछ । यस वादले भावुकता र काल्पनिकताको साटो भौतिकतामा विश्वास गर्दै यथार्थ सामाजिक वस्तुगत अङ्कन साहित्यमा फोटोग्राफी जस्तै प्रस्तुत गर्ने गर्दछ । यस वादमा घटना, परिवेशको यथार्थ चित्रण आएता पनि चित्रले नभेटेका पक्ष जस्तै भावना, विचार र सन्देश आदि गौंण रहन्छन् । यस्तै अर्को वाद छ– प्रकृतवाद, प्राकृतिक रूपमा वा वास्तविक रूपमा संसारमा भएका वा घटेका घटनाको कुनै किसिमको आदर्शको आरोपबिना निर्वैयक्तिक चित्रण गर्ने गर्दछ । यसले साहित्यमा मानवतावादी, नैतिक, धार्मिक दृष्टिकोण विपरित विशुद्ध प्राकृत वा प्रकृतिवादी पाशविकताको चित्रण गर्ने बाटो पनि खुलाइदिएको छ ।

यसैगरि, अर्को पाश्चात्य वाद छ अतियथार्थवाद । अतियथार्थवादी साहित्यकारहरू अवचेतन मनका गूढ रहस्यहरूको अभिव्यक्तिहरूलाई स्वचालित लेखनप्रणालीको माध्यमद्वारा साहित्य सिर्जना गर्ने गर्दछन् । अतियथार्थवादीहरू स्वप्न, विभ्रम, अर्धजाग्रम अवस्था आदिको खोजमा हुन्छन् । यिनीहरू समून्द्रको गर्भरूपी अवचेतनमा डुबेको भागका कतिपय आयामलाई प्रकट गर्न स्वप्न र स्वप्नसादृश मानसिक अवस्थाका विशिष्ठ विम्बविधानको प्रयोग गर्ने गर्दछन् । यो वादले नेपाली काव्यक्षेत्रलाई पनि आकर्षित गरेको छ ।

अर्को छ विसङ्गतवाद । हामी जन्मन नचाहिकन जन्मन्छौं र मर्न नचाहि मर्दछौं, हामी जन्म र मृत्युका बीचमा बाँचेका छौं, त्यसैले हाम्रो अस्तित्व नै विसङ्गतपूर्ण छ भन्ने विसङ्गतवादीहरूको अवधारणा छ । जसलाई हामी असङ्गतिवाद, निस्सारवाद, अनास्थावाद, शून्यवाद आदि शब्दले पनि पुकार्न सक्छौं । किनभने यिनीहरू जीवन जगतप्रति अनास्था, शून्यता, निराशा र उदेश्यविहीन दृष्टिकोण राख्दछन् । विसंगतिवादीहरू साहित्य भनेको जीवनको अभिव्यक्ति, अनुकरण वा प्रतिकृति होइन भन्दछन् । विसङ्गतिवादीहरू व्यक्ति वा साहित्यकारको चिन्तन दर्शन वा धारणा, दृष्टिकोणको प्रस्तुतिको माध्यम साहित्य हो भन्ने गर्दछन् । यो दृष्टिकोणको प्रभाव नेपाली साहित्यमा पनि परेको छ ।

पाश्चात्य साहित्य जगतमा जन्मेको अर्को महत्वपूर्ण वाद हो, अस्तित्ववाद । यसले मनुष्य जीवनको अस्तित्वमाथि चिन्तन गर्दछ । यो वाद मानिसको जन्म, मृत्यु, कुण्ठा, सन्त्रास आदिको सही अर्थ खोज्ने दार्शनिक र साहित्यिक मान्यता हो । जीवन र जगतको निस्सारता–निरर्थकता अनि असङ्गति–विसङगतिका वीचमा पनि व्यक्तिसत्ता, व्यक्तिअस्तित्व र व्यक्तिस्वतन्त्रताको सचेत स्थापना गर्नु अस्तित्ववाद हो । यो वादले मानिसलाई स्वतन्त्र रुपमा हेर्ने प्रयत्न गर्दछ । अस्तित्ववादी लेखन भाव र वस्तुमा स्थापित मानवीय तथा मानववादी दर्शन हो । यो वाद दोस्रो विश्वयुद्धपछि बढी प्रचारित भयो । यसले धेरै नेपाली लेखक र कविहरूलाई आकर्षित गरेको देखिन्छ ।

साहित्य लेखनमा मनोविज्ञानको ठूलो हात हुन्छ भन्ने मत अभिमतको विकास पनि पाश्चात्य वाङ्मयमा भएको छ । मनोवैज्ञानिक फ्रायडको मत अनुसार साहित्य भनेको अचेतन मनका कुराहरूको उदात्तिककृत वा रचनात्मक तथा सिर्जनात्मक अभिव्यक्तिदिनु हो । अचेतन मनमा रहेका दमित तथा कुण्ठित अवस्थामा रहेका कामेच्छाहरू अह म तथा पराअह म वा सामाजिक, नैतिक चेतनाबोधका कारण सोझै बाह्य रूपमा प्रकट हुन नसकि विभिन्न छद्मरूप धारण गरेर अर्थात् विभिन्न प्रतिक र विम्बका सहायताले प्रकट हुने सिर्जना नै साहित्य हो भन्ने फ्रायडवादी चिन्तन छ । यसैगरी अर्का मनोवादी एड्लरको साहित्यसम्बन्धी सिद्धान्त अनुसार चेतन मनमा अवस्थित अह म स्थापनार्थ प्रकट हुने श्रेष्ठत म भावलाई साहित्य सिर्जनाको मूल श्रोत मानेका छन् । एड्लरका अनुसार मानिसमा कुनै न कुनै कमी कमजोरी हुन्छ । त्यसले उभित्र रहेका अह म स्थापनामा ठेस पुग्न गई हीनताभावलाई जन्म दिन्छ । यही हिनताभावको क्षतिपूर्तिस्वरूप मानिसले विभिन्न व्यवहारहरू गर्ने क्रममा साहित्यको सिर्जना हुन्छ भन्ने एड्लरको मत हो ।

अर्का मनोवैज्ञानिक कार्ल गुस्ताव युङ्गको मत भने माथिका दुई मनोविद्को मतभन्दा भिन्न छ । उनका अनुसार सामुहिक अचेतन मनमा अनन्त समयदेखि सन्चित अनुभव व्यक्तिको अन्तर्मुखी र बहिर्मुखी वृत्तिका बीचमा सामाञ्जस्य हुँदा विभिन्न विम्ब, प्रतीक, मिथक आदिका माध्यमबाट साहित्यको सिर्जना हुन्छ । उनका अनुसार मानिसको मनका तीन तहहरू चेतन मन, व्यक्तिगत अचेतन मन र सामुहिक अचेतन मन हुन्छन् । युङ्गका अनुसार यही सामुहिक अचेतन मनको उद्घाटन नै साहित्य सिर्जना हो । उनले फ्रायडको जस्तो दमित कामेच्छा अनि एड्लरको जस्तो हीनताबोधको क्षतिपूर्तिको रूपमा साहित्य सिर्जना भएको नभई सामुहिक अचेतन मनको आग्रहलाई नै साहित्य सिर्जनाको मूल प्रेरक तत्व मानेका छन् ।

प्रथम तथा द्वितीय विश्व युद्धपश्चात पश्चिमा सामाजिक र मनोवैज्ञानिक जगतमा ठूलो विचलन आयो । आधुनिकताको पश्चिमी सामाजिक मूल्य र मान्यतामा परिवर्तन आयो । वर्गीय स्थितिमा परिवर्तन आयो, औपनिवेशिकता विरुद्ध संघर्षहरू चर्किए । आधुनिक युगका चिन्तन, दर्शन र राजनीतिको विरोध गर्दै ल्योतार्ड, ब्रोदिलार्ड, मिसेल फुको, ज्याक डेरिडा, फ्रेडरिक जेम्सनका उत्तरआधुनिक चिन्तनहरू बाहिर आए । यसरी उत्तरआधुनिकतावादले साहित्य, कला, दर्शन र संस्कृति मात्र हैन समालोचना, समाजशास्त्र, उद्योग, उत्पादन, निर्माण तथा व्यवहारमा आफ्नो उपस्थिति जनायो । युरोप–अमेरिकाका वुद्धिजीवीले यसलाई विविध क्षेत्रमा अघि बढाउन प्रयास गरे । युरोप–अमेरिकामा बढ्दो प्रविधिको विकास, सूचना साम्राज्यको स्थापना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्कृतिको विकासले यो वादलाई अघि बढायो । साईबर तथा इन्टरनेटको माध्यमबाट सबैका स्वर आज मुखरित हुने, सुनिने, कला र शिल्प फैलाउने परम्पराको विकास भयो ।

उत्तरआधुनिकवादको आत्मा भनेको विनिर्माण हो । विनिर्माण भनेको वस्तुलाई विभिन्न प्रकारले हेर्नु वा सिर्जना गर्नु हो । यो वाद विषयवस्तु, संरचना, पात्र, घटनाका सवालमा समावेशी प्रकृतिको छ । यसले केन्द्रीयवादी विचार वा सत्ता हटाएर नवीनकेन्द्र निर्माण गर्न खोज्दछ । यसैले यो वहुलवादी धारणा मौलाउने उदारवाद पनि हो । हाल विश्वमा आएको पहिचानको लहरसँगै नेपालमा उर्लेको समावेशी चिन्तनको विकासमा उत्तरआधुनिकवादले ठूलो बल पुर्याएको छ । महिला, दलित, पिछडिएका वर्ग, क्षेत्र, पाखा परेका आदिवासी साहित्य, कला, मिथक, कथावस्तुले नेपाली साहित्य र कला जगतमा प्रवेश पाएका छन् । मातृभाषामा पठनपाठन सुरू भएको छ । कानून वा राजनीतिमा महिलाको सम्मानजनक स्थान पाएका छन् । पिछडिएका भूगोल, दलित र आदिवासीका सवालहरूले साझा सवालका रूपमा स्थान पाउन जुटेका छन् । यसरी नेपाल सहित विश्वमा स्रष्टा, बुद्धिजीवी र राजनीतिकर्मी सबैलाई उत्तरआधुनिकवादको प्रभाव पारेको छ ।

नेपाली साहित्यिक जगतमा हुर्केको आयामेली आन्दोलनका तीन स्रष्टा मध्येका एक इन्द्रबहादुर राई कालान्तरमा उत्तरआधुनिकवादतिर लहसिएर नेपाली साहित्यमा लीला लेखनको वकालत गर्न थाले भनेर नेपाली विद्वानले लेखेका छन् । राई भन्दछन्– सांसारिक र परसांसारिकको योगले अवतारहरूको लीला छ, लीलाक्षेत्रमा छौं, नभुलौं तर, खेलौं बाँच्ने खेल । जसरी उत्तरआधुनिक टुक्राटुक्रामा प्रसन्न हुन्छ, उसरी नै लीलालेखनका पात्रहरू अवतारमा सम्पन्न हुन्छन् । यसरी सिद्धान्तकारहरू तेस्रो आयाम सिद्धान्त र लेखनमा जति बलियो देखियो त्यो स्तरमा लीलालेखन पुग्न नसकेको मूल्याङ्कन गर्दछन् ।

समाजलाई वर्गीयदृष्टिले हेर्ने मार्क्सवादको प्रभाव पनि साहित्यमा गहिरो छ । मार्क्सवादी साहित्य भन्नाले कार्लमार्क्सले परिकल्पना गरेको दार्शनिक, राजनीतिक एवं आर्थिक स्थापना अनुकूलको आमूल परिवर्तनकारी समाज निर्माणको विचारलाई साहित्यका विधागत धर्म र साहित्यिक मर्म मार्फत प्रस्तुत गर्ने अभियान हो । मार्क्सवादी साहित्य अन्यायमा परेकाहरू, पछाडि पारिएकाहरूको पक्षमा लेखिने, तिनलाई जागृत पार्ने प्रगतिशील लेखन हो । यसले प्रकृति, मानव समाज र चिन्तनबारे अध्यात्मवादी चिन्तनभन्दा पृथक द्वन्द्वात्मक भौतिकवादी तथा वर्गीय विश्लेषण र व्याख्या गर्दछ । यसले समाजलाई अग्रगमनतिर लैजाने क्रममा कुरीति, कुसंस्कार, अन्धविश्वास, मानवीय भेदभाव, धार्मिक तथा सांस्कृतिक जडसूत्र विरुद्ध आवाज मुखरित गर्दछ ।
समाजमा नारीलाई दोस्रो दर्जामा राखिएकोप्रति नारीवादी स्वर वा नारीवाद वा स्त्रीवादले सामाजिक, राजनीतिक क्षेत्रमा मात्र हैन साहित्यमा धेरै अघि प्रवेश पाएको छ । धेरै नारीवादी स्रष्टाहरूले नारीको अस्मिता र आदर्शको वकालत गरेर नारीस्वरलाई साहित्यमार्फत् समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन् । आज मानव अधिकार, प्रजनन अधिकार, बाल अधिकार, सुरक्षित मातृत्वका सवालहरूले नारीवादी स्वरलाई सशक्त पारेको छ । साहित्यले समाजलाई वा समाजले साहित्यलाई प्रभाव पारेको स्थिति छ ।

सबै सिद्धान्त वा वाद वा अवधारणाहरू उल्लेख गर्न यो छोटो लेखमा सम्भव हुँदैन । यहाँ उल्लेख नभएका अन्य मत पनि साहित्यमा उत्तिकै महत्वपूर्ण छन् । माथि उल्लेखित सिद्धान्त वा वादहरू समयसापेक्ष छन् तर आलोचनामुक्त छैनन् । जीवन र जगत अनुकूल छन् तर सबैलाई चित्त बुझाउन भने सक्षम छैनन् । तापनि यी सिद्धान्तको विकास नभएको भए चाहे स्रष्टा हुन् वा पाठक साहित्यिक आकासमा कुहिरोको काग हुने थिए । यी वादहरूले कम्पासको काम गरेका छन् । स्रष्टा वा पाठकलाई आफ्नो गन्तव्य वा रूची बमोजिम विचरण गर्न यी वादहरूले आत्मवल, दिशाबोध वा मार्गनिर्देश र मूल्याङ्कन गर्नका लागि आधारशिला निर्माण गरिदिएका छन् । साहित्य क्षेत्रलाई कोरा कल्पनाको खेती वा अनुत्पादक क्षेत्र हो भनेर पन्छाइने गरिन्छ । साहित्यकारहरूलाई पनि जे मनमा आयो त्यही लेख्ने कलमवीर भन्ने निरर्थक आरोप लगाइन्छ । यो साहित्यभित्र छिर्ने उचित मार्ग पहिल्याउन नसकेर वा साहित्यको मर्म र महत्व नबुझेर गरिएको टिप्पणी वा व्यवहार हुनसक्छ । तर साहित्यले उठाएका विषयवस्तु के हुन्, यी विषय किन उठे, यसको समग्र उदय र विकासक्रम स्पष्ट पार्न नै उल्लेखित वादहरू अघि सारिएका हुन् । साहित्यमा विषयवस्तुको उठान, निदानका अतिरिक्त निरूपणका लागि समाजको आँखा खोल्ने काम पनि यिनै वादहरूले गर्ने गरेका छन् ।

सन्दर्भ सामग्रीहरूः
1. ईश्वरकुमार श्रेष्ठ, पूर्वीय एव म पाश्चात्य, साहित्य–समालोचना प्रमुख मान्यता, वाद र प्रणाली, काठमाडौं : साझा प्रकाशन, २०५१ ।
2. कुमारबहादुर जोशी, पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन, २०५४ ।
3. नेपाली साहित्यकोश, शास्त्रीयतावाद, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५५ ।
4. कृष्ण गौतम, उत्तरआधुनिक जिज्ञासा, काठमाडौं : भृकुटी एकेडेमिक पब्लिकेशन, नेपाल, २०६४ ।
5. गोविन्दराज भट्टराई, उत्तरआधुनिक विमर्श, काठमाडौं, नेपाल : मोडर्न बुक्स, २०६४ ।
6. यदुनन्दन उपाध्याय, मार्क्सवादी दर्शनका प्रमुख स्थापना र साहित्य, समकालीन साहित्य, वेभसाईट, अध्ययन मिति १५ असार २०७५ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *