Skip to content

मेरो नाममा
तिमीले अदालतमा चढाएको
फिराद-पत्र
आकस्मिक पाउँदा
टिल्पिलाएका आँखाले
मौनतामा बाँधिएका ओठ्ले
अतालिएको धड्कनले
लर्बराएका खुट्टाले
काँपिरहेका हातहरुले
शिथिलता भित्रबाट
सुसाईरहेको सुस्केराले
फिराद भित्र लेखिएका कुराहरु
नियाल्दै भनिरहेको थियो ……….

अरे !! किन गयौ अदालतमा ?????
तिम्रो र मेरो सम्बन्धको गाँठो
अग्नि साँक्षी राखेर बाँधेका थियौं
सिंदुर र पोते लगाउँदा
तिम्रा आफ्न्त र गाउँलेलाई
देखाएर लगाएको थिएँ
तर …
मैले लगाएको सिंदुरले
तिम्रो शिरलाई भारी बनाएको कुरा
लगनको पोतेले घाँटी बिझाएको कुरा र
टिकि चुरिले नसुहाएको कुरा बोकेर
उसैलाई फिर्ता गर्छु भनी ,किन ?
अदालतमा दर्ता गर्न गयाै
तिम्रो फिराद-पत्र !
अब /
मैले पढिसकेँ तिम्रो फिराद
भो मलाई पर्दैन न्यायाधीश को सामु
इजलासमा लगेर उभ्याउनु ,
उता
नसुनाऊ तिम्रा बनावटी कुरा
वकिल र न्यायाधीशलाई
किनकी !
तिमी जस्तो बैमानी व्याभिचारी र
चेतनाबिहीन ब्यक्तिको
सम्बन्धमा बाँधिएर
एक सेकेन्ड पनि बस्नु छैन ,
कुनै चिनारी नरहने गरी च्यातिदेऊ
बन्द कोठामा बसेर गरेका सम्झौता ,
यता फिर्ता पठाइदेऊ
मेरा नामका सम्पूर्ण सामग्रीहरु

कसम खाएर भन्छु
अब कुनै अवस्थामा जोडिने छैन
टुक्रिएको सिसा सरिको साइनो
अनि राख्ने छैन तिम्रो नामको
कुनै निशानी
पोखिदिनेछु तिम्रो नामको सिंदुर
चुडाइ दिनेछु पोते
फुटाइ दिनेछु चुरी

यहि प्राथना गर्नेछु कि भगवानसँग
कुनै जन्म पनि भेट नहोस तिम्रो र मेरो ….
धन्य छ तिम्रो फिराद -पत्रलाई ।
2018-12-14 06:52:18 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *