Skip to content

केही दिनका सपनाहरू


सायद पैँतीस–छत्तीस वर्षपछि होला म आज यसरी केटाकेटीसरह निर्धक्क लाजविहीन खेतमा दौडिरहेछु । वाह ! पहेँला जोडी पुतलीहरू उड्दै बस्दै गरिरहेका छन् । लाग्छ, तोरीको फूल नै उडिरहेको छ जस्तो । हामीले प्रकृतिसँग जोरी खोजेर सक्तैनौँ । आत्मविभोर भएर म चारैतिर फनफनी घुमेर हेर्छु । फेरि दौडिदिन्छु, अगलबगल हेर्छु । बौलाहा जस्तै भएर लडीबुडी खेल्न मन लाग्छ । मन र मस्तिष्कभरिभरि यस दृश्यलाई उतार्न मन लाग्छ । कति चञ्चली थिएँ, म यही खेतमा त हो लडीबुडी गर्दै ठूली भएकी । म आफ्नो उपस्थितिलाई बिर्सन थाल्छु । मलाई भारहीनताको अनुभव हुन्छ । जीवनका पीडाहरू एकएक गर्दै खुट्टाबाट छोडिन लागेका छन् । यस घडी मलाई विगतआगतका कुनै पनि दुःखले छुँदैन । खुसी छु, म असाध्यै सुखी ।

हल्का धूलो र सुक्खा बतासेले छालाहरू सगसगाउन लागेका रहेछन् । एउटा राम्रो दृश्य देख्नु पनि उपलब्धि हो जीवनको । हो, आज म फेरि बाँच्न चाहन्छु । प्रेम गर्न चाहन्छु । म म भएको अनुभव गर्न चाहन्छु ।

सागर, आज तिमीलाई म कसरी धन्यवाद भनूँ भनेर सोच्न सक्दिनँ । आज मलाई फेरि बाँच्न रहर उत्पन्न गराउने तिमी हौ सागर । कति थोरै समयमा तिमीले मलाई बाँच्न सिकायौ । होइन भने त, म धेरै पहिला नै मरिसकेकी थिएँ । एउटा जिउँदो लास बनेर । माया, प्रेम भन्ने के हो भन्ने धेरै पहिला नै भुलिसकेकी थिएँ म । यी छोराछोरीका लागि मात्र बाँच्नुपरेको थियो मलाई ।

सोह्र वर्षकी थिएँ, बाबाआमाले आधी उमेरको जेठो केटासँग बिहे गरेर दिएका थिए । भर्खर दस कक्षामा पढ्दै थिएँ । कति सपनाहरू थिए । कतिरहरहरू । साथीभाइहरू प्रेम गरेर प्रेमपत्रहरू साटासाट गर्दै थिए । रूखका डिलमा लुकेर माया साटासाट गर्ने बेलामा थपक्क बूढो केटाको जिम्मा लगाइदिएका थिए । बिहेको अर्थ राम्ररी नजान्दै मैले आफ्ना सबै सपना, चाहना, इच्छाहरूलाई जलाएर त्यही लोग्नेको पछिपछि लाग्नुपरेको थियो । कति अन्याय गरेका थिए मेरो जन्म दिने आमाबाबाले मलाई कलिलैमा बूढो केटाको जिम्मा लगाइदिएर । सम्झिँदा अँझै त्यो रिस मरेको छैन मलाई ।

कति फरक थियौँ म र मेरो लोग्ने । हुन पनि शरीरदेखि कुनै पनि कुरामा हाम्रो मेल खाँदैन थियो । हाम्रो सोचाइ, कुरा गर्ने तरिका, कुनै कुरामा मैले जति कोसिस गरे पनि न म लोग्ने जस्तो हुन सकेँ न लोग्ने म जस्तो । धेरै नै कोसिस गरेँ, त्यो घर, घरका सदस्यहरूसँग घुलमिल हुनलाई, तर भएन । अँझ केही दिनमै थाहा पाएँ कि मेरो लोग्नेलाई बिहे गर्न नै मन थिएन रे । बाबुआमाको करले बिहे गर्नुपरेको थियो रे ।

अब एउटा पर्दा उघ्रिसकेको थियो । अहिले आएर सोच्छु मैले किन विरोध गर्न सकिनँ, त्यस बेला । किन भाग्न सकिनँ बाबाआमाको घरबाट । एउटा जाबो पढ्नको गाह्रोले गर्दा विवाहका लागि मन्जुरी दिए । सोचेको जस्तो कहाँ नै हुने रहेछ र नि ! समयको क्रमसँगै सबै कुरा बुझ्दै जाँदा पो थाहा पाउँदै र भोग्दै गएँ । हो, अब यही पुरुष नै मेरो सबै हो भनेर माया गर्न थालेकी थिएँ । उमेरले के नै फरक पार्छ र भन्दै आफूलाई बुझाउँदै अगाडि बढेँ । बिस्तारै उसको पिटाइ, गालीको क्रम बढ्दै गएको थियो । अँझ रक्सीले मातेको बेला त झन् उग्र हुन्थ्यो ऊ । भन्न त मलाई उसकै आमाले धेरै पटक भनेकी थिइन् उसको बारेमा । अचम्म लाग्थ्यो, आफ्नै छोराको नराम्रो कुरा त्यो पनि बुहारीलाई भनेको देख्दा ।

उसले गरेका व्यापार तथा नोकरीबाट ऊ सफल हुन सकेन । जसको कारण उसको रक्सीको मात्रा पनि बढ्ने क्रम जारी थियो । दुइटा बच्चा, काठमाडौँ सहर, त्यसमा लोग्नेको भनाइ पिटाइ खाँदै बस्नुपर्ने बाध्यता । अब ऊ खुलेर सबैको अगाडि रक्सीले मातेर मलाई हातपात गर्ने भइसकेको थियो ।

कति सपनाहरू सजाएकी थिएँ । जवान थिएँ, यस्तो लाग्थ्यो कि यो लोग्ने राम्रो भइदिए सबै दुःखजति म गर्छु भनेर, तर कहिल्यै भएन । हरेक सुन्दर सपना देख्न खोज्ने मेरा आँखाहरू बिहान हुनुअगाडि हजार पटक ब्यूँझिन्थेँ हरेक पटक त्यही पुराना अधुरो सपना जोड्ने असफल प्रयास गर्थें ।

“अब म यो सांसारिक मोह माया सबै छोडेर वैराग्य जीवन बिताउँछु ।” उसले एक्कासिभन्दा झसँग हुन्छु म ।

हाम्रै करले गर्दा नै ऊ यो रक्सी छुटाउन नै आश्रममा गएको थियो केही दिनको लागि मात्र । तर आज एक्कासि उसले भनिरहँदा अचम्म पनि लागेर आयो र विश्वास गर्न गाह्रो पनि । हुँदाहुँदा एक दिन त सबै बाहिरी लुगा त्यागेर मात्र पहेँलो लुगामा मात्र देखा पर्यो । कति अनुरोध गर्यौँ हामी सबैले, तर कसैको केही लागेन । अन्ततः ऊ धेरैजसो आश्रममा नै बिताउन थाल्यो ।

सोह्र वर्षको थिएँ, बिहे गरिदिए । घरमा सधैँको झगडा र अब आएर यही लोग्नेलाई जोगी भएको देख्नु र भोग्नुपर्यो । कति नै उमेर भएको छ र मेरो अहिले ? पैँतीस–छत्तीस त होला । आफ्नै साथीभाइहरू पार्क र होटलमा जाँदै छन् प्रेम गर्न भनेर तर म यो उमेरमा बूढी हुन् पर्यो, परिस्थितिले आज । म पनि मान्छे हुँ । साथीभाइ जस्तै मेरा पनि धेरै इच्छाहरू छन् ।

मानिसको जीवनका विविध आवश्यकताहरूमा यौन पनि एउटा पर्दछ । हो, लोग्नेको अगाडि मैले कहिल्यै यो विषयमा कुरा राख्न पाइनँ वा अँझ सकिनँ । यो उमेरमा लोग्नेले मलाई अँगालोमा कस्याकस्यै गर्दियोस् । रातमा पनि तीनचारचोटि माया गरिदेओस् । तर रातभरि आफ्ना चाहनाहरूमा छटपटीनुको पीडा मलाई थाहा छ । एउटै ओछ्यानमा दुई जना दुईतिर फर्केर सुत्नु त छँदै थियो । अँझ अब त आइमाई मान्छेलाई छुनु पनि पाप हो भनेर भन्न थाले ।

समाजमा हामी स्वास्नीमान्छेहरूले आफ्ना कुराहरू राख्न सकेनौँ, भन्न पनिसकेनौँ । पर्याप्त आधार र तर्कसङ्गत हुँदाहुँदै र आफूलाई प्रतिकूल हुने अवस्थामा पनि पुरुषहरूका कुराहरू शिरोपर गर्नुपर्ने । बाटोमासँगै जोडीहरू हातमा हात समातेर हिँडेका, हँसीमजाक गरेका देख्दा पनि मनमा कस्तोकस्तो भएर आउँथ्यो । यस्ता नाथे ससाना कुराहरूबाट पनि वञ्चित हुनुपर्ने । भन्ने नै हो भने यौन र प्रेम भनेको सदाबहार विषय हो । यो कहिल्यै पुरानो र थोत्रो हुँदैन । तर पनि मैले के नै गर्न सक्थेँ र ?

एउटा निस्सार प्रेम, जो एउटा बूढो लोग्नेलाई मैले गरेँ । त्यही निस्सार प्रेमसँग सधैँ हातेमालो गरेर हिँड्न चाहेकी मात्र त थिएँ तर त्यो पनि पाइनँ । प्रमाणित गरिरहेकी छु । आफैँलाई दुःखको गोरेटोमा बोकेर हिँड्नुपर्छ, भोगेर हिँड्नुपर्छ । कति कठिन लाग्थ्यो यो जीवनसँग पार पाउन, सबै रित्याएर हराएर पनि बाँच्नुपर्ने, केही नपाउनलाई बाँच्नुपर्ने ।

उमेरले बूढो बनाएको, छालाले बूढो बनाएको, पीरले खुम्च्याएको अभिव्यक्ति, मेरो लोग्ने । सहर्ष स्वीकार गर्दै जाँदै थिएँ । नाङ्गो यथार्थलाई र सान्त्वना दिन्थेँ, आफैँलाई यस्तै हो नि मान्छेको प्रारब्ध भनी । तर झन् सन्न्यासी जीवन, त्यसमा मलाई समेत सामेल गराउन चाहेको थियो उसले । घन्टौँसम्म पुस्तकहरूका अगाडि बसेर पाठ गर्नुपर्ने रे मैले पनि । दिनको चारपल्ट लुगा फेरेर ऊ ध्यानमा मस्त हुन्थ्यो र मैले पनि त्यही गरोस् भन्ने चाहना राख्थ्यो ।

अब उसका लागि त्यही नै सबै थोक भयो रे । अगाडि मस्त तरुनी स्वास्नी हुँदाहुँदै पनि अब यो प्रेम र यौन भनेका पापका कुरा भए रे । कति घिनलाग्दो सत्य मेरा अगाडि घुमिराखेका थिए । के उसको इच्छा मात्र नै सबै थोक भए मेरो चाहिँ उसको अगाडि निरीह वा व्यर्थ भए ? कति बिन्ती गरेँ, पाउ परेँ उसको कि म र बच्चाहरूका लागि यी सब छोडेर फर्केर आऊ भनेर । कति पटक आश्रममै पुगेकी थिएँ लिनलाई तर केही लागेन ।

यस्ता कति हिउँदहरू कठ्याङ्ग्रिएर बिताएकी छु । तुसारो र कुहिरोले खेलेर उजाड बनाएको काठमाडौँमा दिन र रातहरू बिताएकी थिएँ । मात्र यही बच्चाहरू छन् अब मेरो भनेर । प्रेम मेरो निम्ति व्यङ्ग्य भएर उभिएको थियो ।

के म सधैँ काकाकुलको तिर्खामा भौँतारिरहनुपर्ने हो ? कति निर्धो भइसकेँ म, खोइ मेरो सामर्थ्य ? कति पटक त सिलिङको अङ्कुसेमा आँखा नपुगेका पनि होइन तर झट्ट बच्चाहरूलाई सम्झिन्थेँ र शान्त हुन्थेँ ।

यसै क्रममा बिहानीको घाम जस्तै एक युवक, सागर मेरो जीवनमा नयाँ प्रकाश लिएर आएको थियो । हामी कति नजिक हुँदै गइराखेका छौँ भन्ने एउटा मीठो आभास हुन्थ्यो हामी दुवैलाई । सबैतिरबाट आशा मारेर मृत्युलाई कुरेर बसेको मलाई बाँच्नको महŒव सिकाएको थियो, यति छोटो समयमा ।

के थियो र उसमा म जान्दाजान्दै पनि झन्झन् उसको नजिक हुँदै गइराखेकी थिएँ । कति समानता थिए हाम्रा विचारहरू । अब लाग्न थालेका थिए आफूलाई सम्पूर्ण पखालेर, पगालेर मन र मस्तिष्क जम्मै उदाङ्गो देखाएर नयाँ जीवन सुरु गर्ने इच्छा जगाइदिएको छ । आफ्ना दुःख बिर्साएर अतित बिर्साएर के उसको साथमा रमाउन पाउनेछु त ?

चिच्च्याउन मन लाग्छ आज मलाई, “मेरो सागर मलाई तिमीसँगै राख, मलाई बाँच्न देऊ । हो म प्रेम गर्न थालेकी छु तिमीसँग ।”

मन हलुङ्गो भएका छन् मेरा आज । झ्याल उघार्छु, बाहिर कैयन् अँगालो रजनीगन्धाको सुवास दाउ छोपेर बसेका छन् । एकपल्ट म सल फिँजाएर कताकता बटुलूँ कताकता थन्क्याऊँ भन्दै बौलाही जस्तै जथाभावी दौडिदिन्छु । यो त्यही फूलबारी हो, यो त्यही सिसौको रूख, जहाँबाट आड लागेर म सूर्यास्त हेर्ने गर्थें तर पनि आज यो हेर्नुको रमाइलो भिन्दै भएको छ ।

आज सागर मेरो साथमा र म उसको अँगालोमा बाँधिएर त्यही सूर्यास्तको दृश्य हेर्दै छौँ । उसको न्यानो स्पर्शले आज नयाँ ऊर्जा प्रदान गरेका छन्— यी जर्जर पर्दै गएका शरीरमा । म पूर्ण रूपमा उसमा हराउन चाहन्छु अब ।

“छोराको बिहेको कुरा आएको छ । राम्रो घरकी छोरी अरे ।” म फेरि यथार्थमा आउँछु, दिदीको कुरा सुनेर ।

घरमा बिहे गर्ने भएको छोरो छ । बिस्तारै छोरीको पनि । म फेरि ऐनाअगाडि उभिदिन्छु । तलदेखि माथिसम्म सर्सर्ती राम्ररी हेर्छु आफैँलाई । साथीहरूका अँझै पनि बिहे हुँदै छन् । थचक्क भुइँमा बस्छु । ओहो ! बुहारी भिœयाउने भइसकेको मान्छे म । के मैले यसरी आफैँलाई फेरि सपनाको दुनियाँमा लानु सही होला त ?

एउटा छोरा जो बिहे गर्ने लक्का जवान भएको छ । छोरी सोह्र–सत्र वर्षकी छे भने के अब मैले अर्को नयाँ साथी रोज्नु ठिक होला त ? रातभर निदाउन सक्दिनँ । सरसरती सोह्र वर्षदेखि घटेका सबै घटनाहरू सम्झन्छु । यही क्रममा निदाएको थाहै पाउँदिनँ ।

“मम्मी चिया पाक्यो ।” छोरीको आवाजले निद्रा खुल्छ । सिरानी पूरै भिजेको छ । सायद रातभरिको झरेका आँसुले होला ।

फोनमा घण्टी बजिराखेको छ । सागरको फोन उठाउन मन लाग्दैन । अब उठाएर पनि फाइदा के छ र ? आज गर्छ, भोलि गर्छ र एक दिन ऊ पनि थाक्छ र गर्न छाड्नेछ ।

मलाई माफ गर सागर, हाम्रो यो साथ केही दिनका लागि मात्र रहेछ– मात्र केही दिनका लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *