एकान्त कुनामा बसेर
म मान्छेको परिभाषा घोकिरहेछु
मान्छे भित्र भित्र अर्को मान्छे खोजिरहेछु
विवेक र चेतनाका कुरा मैले पनि सुनेको थिए
आस्था र विश्वासको मर्मसँगसँगै
मानवता र भाइचाराको पाठ पनि घोकेको थिए
अनि प्रत्येक कालखण्डको अन्त्यसंगसँगै
मैले पनि मुहारभरि/मनभरि
नवप्रभातको सपना सजाएर
आस्था र विश्वासको सगरमाथा आरोहण गरेको थिए
समय हिजो झैँ आज पनि
अविराम चिप्लिरहेछ /फुत्किरहेछ
र, प्रत्येक चोटी समयले नुतन भोटो फेर्दा
तिमीले झैँ मैले पनि
सन्तोषको लामो स्वास फेरेको थिए
तर विडम्बना !
समयको नव प्रभातसँगै
उदाएको विश्वासको सूर्यलाई
कालो वादलभित्र लुकाउन खोजिदैछ
थाहा छैन मान्छेभित्रको मान्छेलाई
कालो वादलभित्र सूर्य लुकाउन सकिन्न भन्ने कुरा
आज –
भूगोलका काप कापमा विखण्डित मान्छे
बोस्निया हर्ज्गोबिनामा मान्छेको परिभाषा खोजिरहेछ
आलो रगतले पोतिएको सिरियाको भूमिमा
बम र बारुदको धुवाबीच
मानवता र भाइचाराको अनुहार खोजिरहेछ
अनि आफ्नै सीमाभित्र पनि
मान्छेको मूल खोज्दै
निर्वस्त्र नाचिरहेछ मान्छे
त्यसैले सावधान
समयले नूतन भोटो फेरे पनि
त्यो भोटो पुन : यहाँ च्यातीन सक्छ
कलंकित इतिहासको पुनरावृति फेरि पनि हुन सक्छ
हो त्यसैले पनि
मैले मान्छेको परिभाषा अँझै बुझ्न सकेको छैन
कतै महाशय !
तपाईंसँग मान्छेको सुन्दर परिभाषा छ कि !
