Skip to content

बालुवामा गाडीले चटकी देखाउँदा


चार जना भएर बनाएको यस पटकको यात्रामा साथ दिने एक जना मात्र भएको थियो अन्तमा । अन्तिम चरणमा आएर दुई साथीले दुई भनेरभन्दा खिन्न भएको थियो मन मेरो । मान्छेहरुका आ–आफ्नै बाध्यता हुनसक्छन् । जसलाई बुझ्दै सुदर्शन र म निस्केका थियौं नयाँ यात्राको लागि ।

पाँच दिने मस्कोको बसाई पछि बेलुका दुबई उत्रेका थियौं हामी । मस्कोमा २–३ घण्टा विना कारण इमिग्रेसनमा रोकेको कारण मनमा एक प्रकारको डर लागिरहेको थियो दुबई इमिग्रेसन पार नगरुन्जेल । बाहिर हामीलाई लिन गाइड आएर कुरि बसेका रहेछन् । लगभग एक घण्टामा होटेल पुगेका थियौं । आआफ्ना कोठाको चाबी बोकेर लाग्यौं कोठातर्फ । पाँच दिनसम्म हाम्रो पेटमा अन्नको दाना परेको थिएन । मस्कोमा मैले चामल चाहिं देखिन । प्राय ब्रेड र मासुको परिकारहरू मात्र देखे । जसले गर्दा हामीले कि वर्गर त कि मासुको परिकार मात्र खाएका थियौं । सुदर्शन चाहिं भात खानलाई धेरै आतुर देखेको थिए । ‘दुबई गएपछि भेज विरायनी खानु पर्छ’ भनेर भनिरहेको थियो मलाई । भोलिको कहाँ कहाँ घुम्ने भनेर गाइडको कुरा सुनिसकेपछि निस्क्यौ भात खानलाई । रातको ११ बजिसकेको थियो । बाहिर गर्मी त्यस्तै थियो । पसल तथा रेस्टुरेन्टहरू बन्द भइसकेका थिए । हामी दुईलाई जसरी पनि भातै खानु थियो । बाटामा कामबाट फर्केका नेपालीहरुलाई सोध्दै एक बंगालीको रेस्टुरेन्ट भनौं या एक कोठामा पुग्यौं । एक ठुलो भाँडामा भात र अरु चार भाँडामा मासु पकाएर राखिएको अनि सात आठ जना बस्न मिल्ने डाइनिङ्ग टेबल थियो । हामी दुवैले भोकले आँखा देखि राखेका थिएनौं । सुदर्शन पहिलै हात धोएर बसिसकेको थियो मेचमा । त्यहाँ भाँडामा भएका परिकार केलाउन थाले म चाहिं । त्यहाँ समस्या के पर्यो भने भाडामा भएका सबै तरकारी मासुबाट मात्र बनेका थिए र सुदर्शन मासु खाँदैन थियो । मैले भात कति खेर ल्याउला भनेर मेरो मुख ताकिरहेको थियो सुदर्शन । त्यहाँबाट निस्केर अन्य ठाउँ खोज्ने हाम्रो तागत थिएन । जसकारण आलु काउली मिसाएर बनाएको माछाको तरकारीलाई माछा अलग पारेर उसलाई दिए । त्यस बेला मलाई उसको भोग नै ठुलो ठानेर दिए । खुब मिठो मानी खायो पनि उसले । ‘भगवान मबाट गलत भएकोमा क्षमा गर्नु’ भन्दै त्यहाँबाट दुई दाजुभाइ निस्क्यौं ।

लाखौं नेपालीहरुको रगत पसिनाले बनेको देश । संसारकै अग्लो भवन, संसारकै ठुलो सपिङ्ग महल, संसारकै अनौठो र अग्लो भवन बनाउने देश र आफ्नो जनताका लागि मरि मेट्ने राष्ट्र प्रमुख भएको देशको बिहानीमा रमाइरहेका थियौ हामी । होटेलमा बिहानको नास्ता खाँदा त्यही काम गर्ने पोखराकी महिला नेपाली बहिनीसँग कुरा गर्न पाउँदा खुशी लागेको थियो । उनीसँग एकछिन भलाकुसारी गरेर निस्क्यौं ‘मिराकल गार्डेन’ तर्फ ।

२०१३बाट शुरु गरिएको विशाल फूलको गार्डेन । ५० मिलियन फूल र २५० मिलिएन बोट विरुवाहरू भएको उक्त गार्डेन भित्र प्रवेश गर्दा यस्तो लागिरहेको थियो कि स्वर्ग भनेकै यस्तै हुन्छ भन्ने । पुरै बालुवा भएको ठाउँमा फूलले सजिएको ठुलो फूलको बगैंचामा आफूलाई पुतलीसँग तुलना गरेर उडिरहेका थिए म । मान्छेले चाहेमा के गर्न सक्दैन भन्ने ज्वलन्त उदाहरण थियो ‘मिराइकल गार्डेन’ । ४० डिग्री को गर्मीमा पनि त्यसरी हराभरा भएर फूलिरहेका फूललाई देखेर मनमा भएका पीडाहरुलाई एक छेउमा राख्दै हराई दिए आफूलाई ती फूलहरुमा । फूलको संरचनामा बनेको एएर बस ए ३८० जसले वल्र्ड रेकर्ड पनि राखेको रहेछ । हिन्दी मुभि ‘हमारी अधुरी प्रेम कहानी’ पनि यही बगैंचामा सुटिङ्ग गरेको दृश्यलाई खोज्दै र दुई दाजु भाइले सकेको फोटोहरू खिच्दै रमाइरह्यौं । करिब दुई घण्टा बिताएर निस्क्यौ त्यहाँबाट मन नहुँदा नहुँदै पनि ।

दुबइको राष्ट्र प्रमुख अर्थात सेख मोहमद विन रसिद अल मोक्लोउन भन्छन् रे कि संसारले बनाएको र गरेको कुरा गर्नुभन्दा संसारले गर्न नसकेको कुरा गर्नु मेरो इच्छा हो भनेर । जस अनुरुप दुबई फ्रेम एउटा उदाहरण थियो । टाढाबाट हेर्दा फोटो राख्ने फ्रेम जस्तो देखिने संसारकै सबैभन्दा ठुलो फोटो फ्रेम जो २०१३बाट बन्न सुरु गरेर २०१८मा सबैका लागि खूल्ला गरिएको थियो । १५० मि. अग्लो दुबई फ्रेम वरिपरि सुन्दर बगैंचा तथा पानीका फहराहरुले झन सुन्दरता छरिदिएको थियो उक्त फ्रेमलाई । लिफ्टको माध्यमबाट माथि पुगेका थियौ हामी । मान्छेहरू थुप्रै थिए माथि । उक्त फ्रेमको एकापट्टीबाट अहिलेको आधुनिक गगन चुम्मी भवनहरू देख्न सकिन्थ्यो भने अर्को पट्टीबाट पुरानो दुबई देख्न सकिन्थ्यो । मौसम सफा नभएकोले गर्दा अलिक टाढाको दृश्यहरू राम्ररी देख्न नमिलेता पनिसकेको जति दुई दाजुभाइ मिलेर गफ गर्दै रमाइलो लिरह्यौं ।

होटलमा आएर फ्रेस भएको केही बेरमै हामीलाई ‘डेजर्ट सफारी’का लागि लिन गाडी आइसकेको थियो । हामी दुई दाजुभाइको ‘बिर्यानी’ खाने सपनालाई पुरा गरेर लाग्यौं ‘डेजर्ट सफारी’ तर्फ ।

१००–१२० को स्पिडमा दौडेको गाडीमा समेत डेढ घण्टा लगाएर पुग्यौ हामी सफारी गर्ने स्थलमा । धेरै सुनेको र देखेको कुरा पुरा हुन जाँदै थियो मेरो जसले गर्दा एकदम आतुर थिए बालुवा माथि खेल्नलाई र उटमा चढ्नलाई । केही समयको पर्खाइ पछि हाम्रो गाडी बालुवा माथि नाच्न सुरु गर्यौ । म, सुदर्शन, इन्डोनेसियाकी एक महिला र इरानबाट आएका दुई दम्पत्तीलाई लिएर बालुवामा आफ्नो कला देखाइन थाले पाकिस्तानी चालकले । सबजना रमाई राखेता पनि मलाई चाहिं अघि खाएको ‘बिर्यानी’ मुखबाट बाहिर निस्केला जस्तो भइरहेको थियो । सुदर्शनलाई अरु थप समय बालुवामै रमाउन खोजिरहेको कुरा उसको अनुहारबाटै देखिएता पनि कति खेर यो नचाई बन्द गर्ला भनेर कुरिरहेको थिए म । गाडीबाट बाहिर निस्कदा बिरामी नै भइसकेको थिए तर लाजले कसैलाई भनिन । उँटको चढाई र बालुवाको खेल सक्केपछि पालो थियो नाच हेर्दै बेलुकाको खाना खाने । हामी बसेको ठाउँबाटै टाढा सूर्य अस्ताउँदै गरेको दृश्य यति मनमोहक थियो कि के बयान गर्नु । सूर्यको किरण बालुवामा पर्दा पुरै पहेँलो भएर टल्किरहेका बालुवा, मान्छेहरू आआफ्नै तालमा रमाइरहेका दृश्यहरू हाम्रै माथिबाट धुँवा छोड्दै उडेको प्लेनलाई हेरिरहँदा लागिरहेको थियो कुनै क्यानभासमा कोरिएको चित्रको दृश्य जो मेरो आँखा अगाडि कोरिएका छन् जस्तो । यस्तै अदभुत दृश्यहरु, अनुभवहरुका लागि यात्रा गर्नुपर्छ जस्तो लाग्छ । दुई तीन वर्ष एउटै कोठामा थुनाएर राखेको मैले आफूलाई यसरी खुल्ला रुपमा त्यो पनि साथ दिने प्रिय मित्र सुदर्शनसँग यसरी बसिरहँदा मन हलुङ्गो भइरहेको थियो । सयौंको संख्यामा त्यो पनि विभिन्न देशबाट आएका मान्छेहरुको बीचमा बसेर खानाको मज्जा लिँदै नाच तथा साहसिक खेलको रमाइलो लिँदै रातको नौ बजेतिर लाग्यौं होटल तर्फ । हामीलाई लिन र पुर्याउन जाने गाडीका चालक रमाइला खालका रहेछन् । बाटामा धेरै कुरा जान्ने मौका मिलेको थियो । पाकिस्तानी मुलुकका उनी १६ वर्ष देखि दुबईमा कर्मभूमि बनाएर बसेका रहेछन् । यी १६ वर्षमा के के परिवर्तन भए र भारत पाकिस्तानको बीचको सम्बन्धमा तथा त्यहाँका केही रोचक कुराहरू गर्दै उनले हामीलाई ‘दुबई महलमा’ ल्याएर छोडी दिए ।

संसारकै ठुलो सपिङ्ग महल ‘दुबई महल’मा हामी पुग्दा राती भइसकेको थियो । हामीलाई दुबई महलमा घुम्नेभन्दा पनि चाँडो चाँडो ‘बु्रज खलिफा’ हेर्ने र पानीको फहराको प्रदर्शन हेर्नु थियो । जसले गर्दा बाटोमा देखेको जति पसलहरुलाई सरसर्ती हेर्दै अगाडि बढ्यौं ।

संसारकै अग्लो भवनको अगाडि पट्टी उभिरहेको थिए म । धेरै धोकोहरुमध्ये यस ‘बु्रज खलिफा’लाई आफ्नै आँखाले देख्ने रहर पुरा भइरहेको थियो । यस भवनमा चडेर त्यहाँबाट दुबईलाई नियाल्ने रहर समयको अभावले पुरा गर्न नसकेता पनि ‘बु्रज खलिफा’ को पाउमा रहेर त्यसलाई हेर्ने धोखो पुरा गरे । २००४बाट निर्माण शुरु भएको र २०१०मा आएर निर्माण सम्पन्न भएर खुल्ला गरिएको रहेछ । दुबईको गौरवको रुपमा रहेको उक्त भवनले धेरै विश्व रेकर्ड राख्न सफल रहेछ । जस्तैः संसारकै अग्लो स्थानमा भएको ‘नाइक क्लब’, ‘धेरै कोठाहरु’, लामो लिफ्ट’, ‘नयाँ वर्षमा पड्काइने पटकाहरु’, ‘नाइट सो’, ‘धेरै स्टिल प्रयोग भएको भवन’ आदि । खासमा यस भवनको नाम शुरुमा ‘बु्रज दुबई’ थियो । तर २००७ देखि २०१०सम्म दुबईमा आर्थिक मन्दिका कारण चरम आर्थिक अभावको सामना गर्नु परेको थियो दुबईले । जसको असर यस भवन निर्माणमा पनि परेको रहेछ । उक्त अभावलाई पुर्ति गर्न यु.ए.ई.का प्रमुख ‘खलिफा बिन जायद अल नाह्यान’ले पैसा सापटी दिएर कामलाई अगाडि बढाएका कारण उनको सम्मानको लागि यस भवनको नाम पछि ‘बु्रज खलिफा’ राखिएको रहेछ ।

उक्त भवन अगाडिरहेको मानिसद्वारा निर्मित तालमा बनेको पानीका फहराहरू जसमा ६६०० बत्तीहरू जडिएको, ५०भन्दा बढी प्रोजेक्टरले क्लासिक अरेबिक र संसारकै प्रख्यात संगीतका तालमा प्रदर्शन हुने रहेछ । उक्त पानीका फहराले एक पल्टमा ८३०० लि. पानी माथि फ्याक्न सक्ने क्षमता रहेछ । अँझ नयाँ वर्षको इभमा त यहाँ विशेष प्रदर्शन हुने गरिएको रहेछ जसलाई हेर्नकै लागि भनेर विदेशबाट पर्यटकहरू आउने गरेका रहेछन् । उक्त लेकमा ससाना ढुंगाहरू पनि चलाइने रहेछ । साँझ पख मिठो संगीतको धुनमा आफ्नै तालमा नाचिरहेको पानीका फहराहरुलाई हेर्दै बस्नुको आनन्दको जति बयान गरे पनि कमै हुन्छ । हरेक ३०–३० मि. को अन्तरालमा उक्त प्रदर्शनी हेर्नका लागि मान्छेहरू तछाड मछाड गरिरहेका थिए । म र सुदर्शन पनि सबैका माझमा सामेल भएर आनन्द लिई राख्यौं ।

घुम्ने ठाउँ धेरै बाँकी थिए तर हामीसँग समय अत्यन्त कम भएकोले समयलाई सदुपयोग गर्दै बिहानको नास्ता खाएर इन्डियन गाइडको पछि पछि लाग्यौं दुबईलाई अँझ बढी आफू भित्र सामेल गराउनका लागि । अलिक गफाडी खालका रहेछन् गाइड । हामी नौ जना नेपालीहरू बाहेक थप केही इन्डियनहरू पनि हामीसँगै हुनुहुन्थ्यो । गाइडले गाडीबाट देखेका अलिक रोचक लाग्ने हरेक कुराहरुको सविस्तार लगाउँदै थिए । दुबई ओर्ले देखि मेरो नजर त्यहाँको हरियाली प्रति गएर अड्किरहेको थियो । त्यस मरभूमिमा पनि त्यस्तो व्यवस्थित तरिकाले बाटाहरु, पुल मुनि र घरवरिपरि हरियाली बोटविरुवा देख्दा कसरी त्यस्तो भयो भनेर । पछि मेरो कौतुहुललाई हटाउँदै उनले भनेकी बालुवा मुनि साना पाइप बिछाइएको हुन्छ र माथि विदेशबाट मगाएर बिछाइएको माटो । र उक्त पाइपहरुबाट त्यहाँको तापक्रम अनुसार पानी निस्कने व्यवस्था मिलाइएको हुने रहेछ भनेर उनले हामीलाई देखाए पनि । अबको दश वर्ष भित्रमा लगभग ७०% भाग हरियाली हुनेछ यस भूमिमा भनेरभन्दा हामीलाई कुनै अचम्म लागेन। त्यस्तो ४० डिग्री गर्मीमा पनि हरिया र कलकलाउँदो बोट विरुवा देख्दा मेरो ध्यान आफ्नै देशको लथालिङ्ग भताभुङ्ग भएर रहेका ठाउँमा पुगिरहेको थियो । महिनामा २–३ पटक विदेश भ्रमणमा निस्कने हाम्रा मियरहरू र नेताहरुलाई यस्ता विकास भएको देख्दा अलिकति पनि कुरी कुरी नलाग्नु भनेको त घृङ लाग्ने कुरो हो ।

अब हाम्रो गाडी बिस्तारै जुमेरा विचतिर बढ्दै गर्दा गाइडले बाटोमा बन्दै गरेका ‘हाउजिङ्ग’हरू देखाउँदै विदेशीहरुले चाहेमा यहा लगानी गर्न सक्ने तथा विदेशीहरुकै लागि भनेर दुबई सरकारले ‘गोल्डेन भिसा’ भनेर चाँडै ल्याउन लागेको कुरा बताए । जो ठुला व्यापारी, डाक्टर, इन्जिनियरहरुलई लक्षित गरेर नै यो भिसा बनाएको बताए । बाटोमा पर्ने नाम चलेका होटलहरू देखाउँदै जुमेरा बीचमा लगेर हाम्रो गाडी रोकियो । जम्मा ३० मीटर समय पाएका थियौं त्यहाँ विचमा रमाउनका लागि । आकाशबाट पानी पर्ने संकेत पाएका हामीले चाँडो चाँडो फोटो खिच्न थाल्यौं ‘बु्रज अल अरब’लाई साथमा लिएर । हामीसँगै गएका नेपाली साथीहरू मध्ये पहिलो पटक समुद्र देख्नु भएकाहरू छेउमा गएर पानीमा खेल्न थाल्नुभयो भने । एक जना साथीले त समुद्रको बालुवा कागजमा पोको पारेर खल्तीमा हाल्न समेत भ्याउनु भयो । १९९९मा निर्मित ‘सेलबोट’ आकारमा बनेको संसारकै अनौठो होटल ‘बु्रज अल अरब’ । २१० मीटर अग्लो स्थानमा हेलीप्याड समेत रहेको जसमा ‘आन्द्रे आगासी’ले टेनिस खेलेको भिडियोले झन यसको चर्चा चुलिएको थियो । त्यस होटल भित्र रहेको ९,९०,००० लि. पानीले भरिएको ठुलो एक्युरिम भित्र बनेको रेस्टुरेन्टमा बसेर परिकारको स्वाद लिनलाई ठुलै कसरत गर्नुपर्ने कुरा गाइडले बताए । अँझ यहाँ भित्र रहेको कफी सपमा सुनको कपमा कफी खानलाई एक वर्ष अगाडि नै ठाउँ बुक गर्नुपर्ने तथा थुप्रै चाख लाग्दा कुरा पनि बर्ताका थिए । जुमेरा विचसँगै रहेको अर्को ठुलो होटेल ‘जुमेरा विच’ होटल जो पानीको छाल आकारमा बनेको थियो ।

सफा थियो समुद्रको रङ्ग । मलाई संधै लोभ्याउने गर्छ समुद्रले । जापानमा रहदा समुद्रसँग बिताएका सम्झनाहरू धेरै छन् । चिसो बिएर पिउँदै टाढा टाढासम्म समुद्रलाई हेर्दै समय बिताउन रमाइलो हुन्छ ।

अब हाम्रो गाडी दुबईको सेख अर्थात प्रमुख ‘मोहमद विन रसिद’ को निवास नजिकै लगेर रोकियो । दुबईका अरु सेखहरुको महल वरिपरि गाडी रोक्न नपाउने भएता पनि उनकोमा चाहिं पाइने रहेछ । उनलाई ‘मयुर’ पंक्षी मनपर्ने कारण लगभग २०००भन्दा बढी मयुर उनको दरवारमा रहेको बताए गाइडले । जसको उदाहरण स्वरुप महल बाहिर डुलिरहेको मयुर देख्न पाइरहेका थियौं । सेखलाई हरेक कुरा अरुभन्दा अनौठो गर्न मन पराउने भएकोले गर्दा पनि उनी चढ्ने गाडीको नं. पनि १ नै रहेको गाइडले बताए । दुबईमा गाडीको ब्राण्डभन्दा पनि गाडीको नम्बर प्लेटबाट को धनी भनेर चिनिने रहेछ । यही नम्बर प्लेटको ठुलो लिलामी हुने गरेको पहिला नै सुनेको थिए मैले । अब हाम्रो गाडी ठाउँ ठाउँमा रोकिदै र सकेको फोटोहरू खिच्दै हामी होटल तर्फ लाग्यौं ।

होटल तर्फ फर्कदै गर्दा गाइडले हामीलाई ‘गोल्डेन कार्पेट’ पाउने स्थानमा लगे । ‘सागा बोल्ड दुबई’ महलमा आधा घण्टा त्यहीका एक कर्मचारीले हामीलाई उक्त कार्पेटहरू र त्यसमा जडान गरिएको पत्थरका बारेमा बताए । हामीसँगै जानु भएका ‘मोहन गिरी’ दाइ र नारायण बाबाले सानो खालको एक एक वोटा सुनद्वारा निर्मित कार्पेट किन्नुभयो ।

दुबई आएर त्यहाँको ‘गोल्ड मार्केट’ नहेरि फर्केमा दालमा नून नपुगेको जस्तो हुन्छ भन्ने कथनलाई सम्झेर केही बेरको आराम पछि लाग्यौं गोल्ड मार्केटतिर । संसारकै ठुलो सुन बजार भएको ठाउँमा घुम्न थाल्यौं हामी । सुन, प्लाटिनियम, हिराको कारोबार हुने गरेको त्यहाँ पसलहरुमा नेपाली कामदार देख्न पाउँदा रमाइलो लाग्यो । त्यहाँ सुनका पसलहरू मात्र नभएर ‘स्याफरोन’ अर्थात ‘केसरको’ को पनि धेरै पसलहरू देखे । चटक्क मिलाएर बेच्न राखिएका केसर हेर्दा किनु किनु लागेर आएको थियो हामी दुईलाई अहिले सुनको कारोबार बढी अनलाइनबाट हुने गरेको रहेछ दुबईमा । अँझ त्यहाँ प्रत्येक्ष देख्न नपाएता पनि युट्युबमा देखेको थिए कि सुनको भेन्डिङ्ग मेसिन । जसमा पैसा छिराए पछि आफूलाई कति ग्राम सुनका बिस्केट चाहिने हो त्यो निस्कने । त्यहाँ हरेक सामानहरू थिए सुनले बनेका । जस्तैः जुत्ता, बल, बेल्ट, लु्गाहरू आदि । नेपाली कामदार भएको पसलमा मोहन दाइ र बस्नेत दाइहरू सुन किन्न थाल्नुभयो भने हामी त्यहाँ ग्राहकहरुका लागि राखिएको कोल्ड ड्रिङ्स पिउन थाल्यौ ।

सुदर्शन चाहिं नेपालमा परिवारका लागि केही लगिदिनु पर्छ भनेर सामान किन्नलाई छटपटाइरहेको थियो । कसैलाई केही लग्दिनु थिएन त्यसैले म ढुक्क भएर बसेको थिए । त्यहाँबाट फर्कदा पसलहरुबाट सुदर्शनले चक्लेट किन्न थाल्यो भने म उसको चक्लेट रोजाइमा साथ दिए मात्र ।

फ्रेस भएर फेरि हामी निस्क्यौं ‘क्रुज डिनर’तिर । दुबईको अन्तिम साँझ थियो हाम्रो । समयमै हाम्रो डुंगा बिस्तारै चल्न शुरु गर्यो । त्यस दिन मुस्लिमहरुको पर्व परेकोले गर्दा कुनै सो नहुने जानकारी गराइएको थियो । एउटा लामो टेबलमा हामी आठै जना बस्यौं । नारायण बाबा चाहिं होटलमै बस्नुभयो । हामी कोल्ड ड्रिङ्स पिउन थाल्यौं भने मोहन दाइ र बस्नेत दाइ चाहिं रसियाबाटै लिएर आउनु भएको भोड्का लुकाएर पिउन थाल्नुभयो । दुबईमा अल्कोहल खुला रुपमा बेच्न र पिउन नपाइने भएकोले त्यस कुराको विचार गर्नुपर्ने थियो । केही बेरमा खाना खाएर डुंगाको माथि गएर साँझको मनोरम दृश्यलाई हेर्न थाल्यौं ।

शान्त रुपमा आफ्नै थालमा बगिरहेको पानी माथि हामी थियौं । सफा आकाश, छिप्पिदैं गएको रात कति रमाइलो लागिरहेको थियो मलाई । लाखौंको संख्यामा रहेका हाम्रा नेपालीहरू पसिना बगाइरहेका देश दुबईको अन्तिम रातमा आफूलाई हराउन खोजिरहेको थिए । सबै आआफ्नै तालमा डुबिरहेका थिए । सुदर्शन मोहन दाइहरुसँग गफमा मस्त थियो । तर भित्र भित्र कता कता छटपटाई राखेको थिए म । जति भुल्न खोजे पनि ती पुराना नमिठा यादहरुका टाटा बसेको दाग जस्तै हरदमसँगै रहने रहेछ । खोई कहिले यसलाई पूर्ण रुपमा हटाउन सक्छु थाहा छैन ।

बिहान नास्ता खाँदै गर्दा सन्तोष भाइ, त्यही आइपुग्यो मलाई भेट्न । उसलाई देख्दा खुशी लाग्यो । नजिकका आफन्तहरू दुबईमा धेरै रहेता पनि सन्तोष भाइसँग मात्र भेट्ने मौका जुर्यो । जे होस जति दिन दुबईमा बिताए त्यो मेरो लागि सुखद रह्यौ । आबुदावीमा रहेका ‘मस्जिद’ र ‘स्कुवा डाइभिङ्ग’ गर्ने धोखो अधुरो नै राखेर भविष्यमा मौका मिलेमा अवश्य आउने छु भन्ने आशा राख्दै एयरपोर्ट तीर लाग्यौं हामी । सुदर्शनसँगको यो यात्रा मेरो जीवनमा सदैव याद रहनेछ । मेरो जिस्कने बानीलाई उसले सही दिएर संधै हसिलो अनुहारका साथ मेरो साथ दिएकोमा सदैव धन्यवादको पात्र रहिरहने छ सुदर्शन ।

समाप्त !

अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *