Skip to content


मत एउटा सिंगो पार्टी हाँकेर यहाँसम्म आएको मानिस हुँ । तर, किन हो कुन्नि मानिसहरू मलाई किसान आन्दोलनबाट अलग गर्नै चाहँदैनन् । हो, म किसान आन्दोलनको एउटा हिस्सा अवश्य हुँ तर किसान आन्दोलन मात्र मेरो राजनीतिक अभीष्ट र ध्येय थिएन । म त राजनीतिलाई केन्द्रमा राखेर विभिन्न आन्दोलनका मोर्चाहरूमा सरिक भएको हुँ । त्यसैको किसान आन्दोलन एउटा हिस्सा मात्र हो ।
अध्ययनलाई बीचमै छाडेर बनारसबाट राणाविरोधी आन्दोलनमा सरिक हुन जब २००७ सालमा स्वदेश आएँ, त्यहीँबाट मेरो राजनीतिक यात्रा सुरु भयो । यसै क्रममा स्थानीयस्तरबाट आन्दोलन उठाउने कुरा भयो, म मेरो गृहक्षेत्र रौतहट पुगेँ र त्यहीँबाट किसान मोर्चामा संलग्न भएँ ।
किसान आन्दोलनको कुरा गर्दा मध्यतराई र त्यसमा पनि खासगरी रौतहट, बारा, पर्सा, सप्तरी र सिराहालाई छोडियो भने त्यो अपुरो हुन्छ । एक किसिमले किसान आन्दोलनको परचिय नै यी स्थानले दिएका हुन् । यहीँबाट किसान जागरण अभियानका साथसाथै किसानहरूलाई संगठित रूपमा आन्दोलनमा लगाउने अभियानको थालनी भएको हो ।
मेरो त के पनि दाबा छ भने, किसान आन्दोलनका क्रममा नै हामीले रौतहटमा पहिलोपटक हडताल भन्ने कुराको सुरुवात गरेका हौँ । म त्यसबेला नेपाल कम्युनिस्ट पार्टीको जिल्ला सचिव थिएँ र किसान मोर्चामा संलग्न थिएँ । त्यसबेलासम्म किसानको स्तरमा हडताल भन्ने शब्द प्रयोगमा आएको थिएन । हामीले त्यसबेला छ/छ महिना काममा नजाने र काम गर्न नदिने अभियान सुरु गर्यौं। त्यसैलाई हामीले पहिलोपटक हडताल भनेर नामकरण गरेका थियौँ । तर, दुर्भाग्य भन्नुपर्छ, त्यस हडतालले देशव्यापी रूप लिन सकेन । साथसाथै, त्यसैबेला हामीले तमसुकफट्टा आन्दोलन पनि सुरु गर्यौं। जाली तमसुक बनाएर किसानलाई ठगेको विरोधमा त्यो अभियान सुरु भएको थियो, जो जाली तमसुक च्यात्ने आन्दोलन थियो ।
त्यसबेला रौतहटमा पथरा काण्ड बडो चर्चित रह्यो । सुकदेव साहका विरुद्धमा किसानहरूले उग्र नाराबाजी गरे । उनले त्यस क्षेत्रका किसानमाथि चर्को थिचोमिचो र शोषण गरेको आरोप किसानहरूको थियो । कतिसम्म भने, जाली तमसुक बनाएर किसानहरूलाई ठगेको आरोप पनि उनीमाथि लागेको थियो । तमसुकफट्टा आन्दोलनका क्रममा जनताले उनले गरेको जालसाजीको भण्डाफोर गरे । त्यसक्रममा चर्को दमन भयो । सयौँ मानिसहरू गिरफ्तारीमा परे । धेरै घाइते भए । दमनका क्रममा सात जना त सख्त घाइते नै भएका थिए ।
किसानका बारेमा कुरा गर्दा तिनको अवस्था र स्िथतिका आधारमा दुई वर्गमा विभाजन गर्नुपर्ने हुन्छ । एकथरी, सामान्यतः आफ्नो केही जमिन भएका तर अरूको जमिनमा पनि काम गर्ने किसान-मजदुर र अर्काथरी आफ्नो केही जमिन नभएका र अरूको खेतमा खेती-किसानी गरेर जीवन निर्वाह गर्ने । यी दुई किसिमका किसानहरूलाई नै हामीले त्यसबेला ध्यानमा राखेर आन्दोलन चलाएका थियौँ ।
००९ देखि ०१४ सालसम्म चलेको किसान आन्दोलनका क्रममा हामीले तराईका महिलाहरूलाई पनि जागरुक बनाएका थियौँ । किसानमाथि जब प्रहरी दमन हुन्थ्यो, हामीले महिलालाई हतियारका रूपमा उभ्याउँथ्यौँ । एक किसिमले किसान आन्दोलनकै क्रममा मध्यतराईमा महिला जागरण सुरु भएको हो । धार्मिक रूपमा कट्टर मानिने मुस्िलम धर्मका अनुयायीहरूलाई पनि हामीले किसान आन्दोलनमा समेटेका थियौँ । त्यस क्रममा वर्गीय आन्दोलनको जागरण उनीहरूमा पनि सुरु भयो । उनीहरूमा धनी मुस्िलम र गरीब मुस्िलम भनेर विभाजन आयो । र, उनीहरूले धार्मिक चाडपर्व पनि अलगअलग मनाउन थाले ।
नेपालजस्तो पिछडिएको र किसानै किसानले भरिएको समाजमा जनतालाई चामत्कारकि रूपबाट प्रभावित गर्ने व्यक्तित्वको भूमिकालाई सामूहिक नेतृत्वका नाममा बेवास्ता गर्न मिल्दैन । त्यसैक्रममा स्मरण गर्नुपर्ने नाम हो, तुलसीलाल अमात्य । ००९ सालको किसान आन्दोलन सुरु हुनुमा अमात्यको प्रेरणादायी भूमिका रहेको कुरा ऐतिहासिक तथ्य नै बनिसकेको छ ।
०१४ सालमा कृषि मजदुरहरूको मजदुरी बढाउन र मोहियानी हक कायम गराउनका लागि रौतहट जिल्लामा ००९ सालको आन्दोलनपश्चात् पुनः विशाल किसान आन्दोलन भएको थियो । त्यस दौरान सरकारका तर्फबाट ००९ सालमा भन्दा पनि उग्र दमन गरयिो । त्यस दमनबाट उत्पन्न अवस्थाले सामन्ती धाक-रवाफलाई निकै बढायो ।
यिनै विभिन्न कारणले उत्कर्षमा पुगेको त्यसबेलाको किसान आन्दोलन पनि सफल हुन सकेन । किसानका पक्षमा उचित परण्िााम दिएर त्यो आन्दोलन टुंगिनुपथ्र्यो । त्यस्तो भएन । त्यसका दुईवटा कारण थिए । एउटा, ००९ सालमा हामीले उठाएको जालसाजी तमसुकफट्टा आन्दोलनका क्रममा किसान-मजदुरलाई त फाइदा पुग्यो तर गरीब किसान जो श्रमबिना बाँच्न सक्दैनथ्यो, उसको पक्षमा केही हुन सकेन । आफ्नो जमिन हुने र त्यसमा अरूलाई पनि श्रम गर्न लगाएर जीविका चलाउने किसान, जसले बाली लगाउनका निम्ति रकम र अन्य भौतिक सामग्रीको जोहो गर्थ्यो, त्यस क्रममा धनी किसान र सामन्तहरूले जालसाजी गर्थे, उसको पक्षमा आन्दोलनले केही राहत दियो । ००९ सालको त्यो आन्दोलनबाट त्यो पंक्तिलाई फाइदा पुग्यो । तर, गरीब किसान भने मारमा पररिह्यो । उसका पक्षमा केही भएन ।
०१४ सालको आन्दोलनले हडताल र काममा जान बन्द गरेर कृषि मजदुरी बढाउने र मोहियानी हक कायम गर्ने अभियान सञ्चालन गरेर गरीब किसानका पक्षमा त काम गर्‍यो तर किसान-मजदुरका पक्षमा कुनै काम गरेन । यसले किसान-मजदुरको पंक्ति रुष्ट बन्यो । यसरी किसान आन्दोलन सफल हुन नसक्नुमा यिनै दुई कुरा मुख्य रहे । त्यसबेला स्थानीयस्तरका आन्दोलनलाई केन्द्रीय स्तरको सहयोग नरहनु पनि स्थानीय स्तरमा चलेका किसान आन्दोलन सफल हुन नसक्नुको कारण रह्यो । यसरी ००९ देखि ०१४ सालसम्म उत्कर्षमा रहेको किसान आन्दोलनले केही तीतामीठा स्मरण त छोडेर गयो तर त्यसबेला उठाइएका मागहरू अहिले पनि ज्यूँकात्यूँ छन् ।

नेपाल साप्ताहिक ३४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *