घरबेटीकी छोरी


“इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी,” भातको कुकरमा सिटि लगाउनसमेत अल्छी लाग्ने मलाई अचार-तरकालीको स्वाद चखाँउने ऊ नै त हो। आहा, कस्तो मिठो पकाउँछे; घरबेटीकी छोरीले ।

अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखैअगाडि उसले मुख कुचुक्क पार्दै हात नचाँई। सेतो दाद आएछ।

मैले उसको दाहिने हात आफ्ना हातमा राखेर सान्त्वना दिएँ- “पिर नगर, बेलुका धुरी कटाएर अगुल्टामा लुतो फालेपछि चट्ट हुन्छ।”

“हरिया चुरा देखाको पागल,” ऊ ठसक्क परेर कम्मर मर्काउँदै माथिल्लो तला उक्ली। ऊ ठसक्क पर्दा र मसक्क पर्दा म नहेरी बस्न सक्दिन। हेरिरहें । उसले पकाउने तरकारीजस्तै स्वादिली छे ऊ।

बेरोजगार ईञ्जिनिएर बन्नु पनि निकै गाह्रो हुँदो रहेछ। सबैलाई आशा छ, आफूलाई भरोसा छैन। भरोसा त आफ्नोभन्दा पनि घरबेटीकी छोरीको छ मलाई। कयौँ पटक त मेरो कोठाभाडा समेत उसैले तिरिदिएकी छे, आफ्नै हिटलर बाउलाई। मैले दिएको भनेर।

तनाब भो। घरबेटीकी छोरीलाई बिहेको लागि हेर्न केटाहरू आएको आऐ छन्। यस्तो बेरोजगारीमा उसकै घरभित्र उसैलाई कसरी भित्र्याऊँ?

आज धुरी कटाउने अगुल्टोसँगै मनभित्र राँकिएर खरानी पर्न आँटेका उसका यादहरू पनि कटाउँछु सायद। नाइँ, उसले मलाई यस्तो कठोर बन्न सिकाएकै छैन। म डेरा सर्दैछु।

घरबेटी बुढोले सानो स्वरमा अमेरिका र अष्ट्रेलिया भनेको सुन्दैछु। उसको मनले चाहिं डेरा सर्ने नसोचोस् प्रभू !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *