Skip to content

रचना: राजेश अधिकारी
बिधा : कथा
शीर्षक : किचकन्या

किचकन्या

अत्यासलाग्दो शुक्लपक्षको कालरात्रिमा पनि मसानघाटको वातावरण शान्त र स्तब्ध झैँ देखिन्थ्यो।मसानघाटको आँगनमा डढेका दाउराका ठुट्टा,लाश पोलेको खरानीको थुप्रो, लाश बोकेर ल्याएका बाँसका गिँडहरु मध्यरात्रिको सिमसिमे पानीमा भिजेर कहालीलाग्दा देखिन्थे। बौलाहा बाढीले पतपती धुँवाउने खोलाको पल्लो किनाराको चिहानघारीमा जङ्गली कुकुर कुईं कुईं रोएको र ब्वाँसो कराएको सुनिन्थ्यो। लाटोकोसेराहरु रात्रीउन्मादका साथ मसानघाट र चिहानघारीको बीचमा बग्ने बाढीउन्मत्त खोलामाथि यताउता उडिरहन्थे । त्यो नश्वर शरीरहरु बिश्राम लिने र अमर आत्माहरु भड्किने आँगनको बिचका ठुटा आकृतिजन्य मृतबृक्षहरु हुरी र बर्षाको ठक्करबाट नयनअभेद्य अन्धकारमा मृतात्मा नचिरहेका झैँ लाग्थे अनि कृष्णरंगी मसानहरु चिताको खरानीबाट बौरिएर एक आपसमा कपर्दी खेलेका झैँ लाग्थे। रातको मध्यप्रहर छिप्पिँदै गएपश्चात एकहुल स्यालको बथान आएर मसानघाटबाट सवदहनबाट बचेखुचेका नरकंकाल र हाडखोडहरु लिएर नजिकैको बनतिर लागे। रातको अन्तिम प्रहारताका उषाको शिशु रोशनीमा चिहानघारी र मसानघाटको बीचमा बग्ने खोलामाथी उड्ने सेता छिचिमिरा र जुनकिरीहरु अतृप्त आत्माहरु हावामा तैरिए झैँ प्रतीत हुन्थे।
पहिलो मध्यरातमा मेरो मसानघाटको एक्लो बसाईले मेरो बैज्ञानिक अनुसन्धानमा केही हाँसिल नभएर म दोश्रो दिनको मध्यरातमा खोलापारीको चिहानघारीमा किंकर्तव्यमूढ भएर बसिरहें। मलाई थाहा छ, मानवदेह नश्वर छ र अन्ततोगत्वा यसलाई चितामा जलाइन्छ या चिहानभित्र गाडिन्छ र त्यो देहको सदाको लागि अन्त्य हुन्छ।मानिसहरु भन्छन, शरीर नाश भए पनि आत्मा जीवितै रहन्छ र तृप्त आत्मा शान्त भएर स्वर्गतिर यात्रा गर्छ अनि अतृप्त आत्मा यही मर्त्यलोकमा भट्किरहन्छ।यो भट्किरहने मृतात्माले मानवरूप धारण गरेर जीवित रहँदा पाएको अतृप्तता मृत्यु पछी खोज्ने प्रयाश गर्छ।त्यो अतृप्त आत्माको प्रयाशको मार्गमा बदला हुन्छ, प्राप्तिको चाहना हुन्छ अनि परपीडा हुन्छ। त्यस्तो भट्किरहने अतृप्त मृतात्मा भौतिक रुपमा पनि चलायमान हुन्छ।अदृश्य चलायमान आत्माको अनुभूति हुँदा जीवित मानिस तर्सिनछन् र त्यही अदृश्य अनुभूतीलाई मानिसहरु भूतप्रेत, पिसाच भन्छन् । अझ जनमानशमा नारीस्वरूपको त्यस्तो आत्मालाई चुडेल, किचकन्या, डंकिनी आदि नामले पुकारिन्छ।
म, एउटा निर्भयी र भूतप्रेतमा बिस्वास नराख्ने बैज्ञानिक, मृतात्मा के हो र यसबारे मानिसले भनेका, देखेका र भोगेका कुराहरु के सत्य हुन तॽ भनेर अनुसन्धान गर्दै थिएँ। अघोरी र तान्त्रिक बाबाहरुले मध्यरात्री मसानघाटमा बसेर सिद्दी प्राप्त गर्छन् भन्ने सुनेको थिएँ त्यस्तै मेरो अनुसन्धानले किचकन्याबारेको सत्यतथ्य पत्ता लगाउनु नै मेरो बैज्ञानिक अनुसन्धानको उद्देश्य थियो।म सात रात मध्यराती कहिले चिहानघारीमा त कहिले मसानघाटमा क्यामेरा,मोबाइल फोन, दुरबीन, टर्चलाइट आदि लिएर बसें तर जनमानसको भनाइ अनुरूप केही भेटिन ।
सात सात दिन भयो म अनुसन्धानको लागि मसानघाट र चिहानघारीमा रात रात एक्लै बसेको। हावा नचली पात हल्लिदैन भनेझैँ केही सत्यता नभई मानिसहरुले भूतप्रेत र किचकन्यालाई देखेको , उनीहरुसंग जम्काभेट भएको, तर्सिएको आदी इत्यादी कुरा गर्छनॽत्यो पनि एउटा व्यक्तीले मात्रै नभएर धेरै थरीका र बिभिन्न ठाउँका मानिसहरुले। मेरो बैज्ञानिकी दिमागले नपत्याए पनि मैले प्रेतात्माको अस्तित्व सम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने अठोट गरें। आज आठौँदिन सदा झैँ म एक्लै रातको दस बजेतिर मृतात्मा खोज्न मसानघाटतिर हिंडे।आज मैले मेरो अस्थाई बैज्ञानिक प्रयोगशाला चिहानघारी र मसानघाटको बीचमा बग्ने खोलाको बीचमा भएको एउटा सानो अस्थाई टापु झैँ लाग्ने अग्लो र समतल ढुङ्गालाई रोजें। रातको एघार बज्यो,बाह्र बज्यो, न चिहानघारीबाट आत्मा आयो न मसानघाटबाट । मैले ढुङ्गामाथी उभिएर मध्यराती चिहानघारीतिर नाईटभिजन दुर्विन तेर्स्याएं। चारपाँचवटा आगोका मुस्लाका आकृतीहरु खोलातर्फ आकाशमा ताराझैँ टिलपिलाउँदै बढ्दै थिए र मैले त्यो प्रकाशको आक्रितीको फोटो पनि लिएं। मेरो बैज्ञानिक दिमागले त्यो अग्निपुन्जलाई भुताहा ग्यास डिफोस्फेन बुझ्यो।मैले मेरो नाईटभिजन दुर्विन मसानघाटतिर पनि सोझ्याएँ ।निस्पट अन्धकारमा चारपाँचवटा सेतो रङ्गका नरकंकालहरु नाच्दै थिए।मैले ती चलायमान नरकंकाल आकृतिहरुलाई जुनकिरीको मधुर प्रकाशमा हावाले हल्लाएका रुखका मृत ठुटा सम्झें । सप्ताहब्यापी अनुसन्धानमक मसानको अन्वेषणयात्रामा मेरो बैज्ञानिकी दिमागले प्रेतात्माहरुसँग साक्ष्यात्कार गर्ने अवसर प्राप्त गर्न नसकेर हो किॽ या अबिरल भुताहा यात्राको थकानले हो अथवा नश्वर शरिरहरुका अन्तिम घरहरुको बिचमा बग्ने खोलाको सिरसिरे बतासको शीतलताले हो म त रातको एक बजेतिर त्यही ढुङ्गामाथी पूर्वनिर्धारण बिनै अनायसै निदाएछु। कस्तो अकल्पनीय सम्योग ॽ एउटा एक्लो मानव, मृतात्माहरु खेल्ने चिहानघारी र सवदाहस्थलको बिचमा बग्ने मध्य खोलामा अवस्थित टापुरुपी चट्टानको छातीमा सिमसिमे झरीमा रुझ्दै खुला आकाशमुनि निंद्रादेवीको शरणमा परेको छ। उता, नश्वर मानवशरीरका अमर आत्माहरु अदृश्य शरीर धारण गरेर आफ्नो पूर्व जन्मका अतृप्त उफान र उद्वेगका पीडाले मृतात्मालोकमा भट्किरहेछन्। एउटा अन्वेषक लौकिक र अलौकिक लोकको बिचमा सशरीर रुमल्लिरहेछ शास्वत र अशास्वत भेदको चिरफार गर्न अनि शरीर र आत्माको बैज्ञानिक रहस्य पर्दाफास गर्न।
रातको अन्तिम प्रहर र बिहानिको प्रथम प्रहरको बिछोड र मिलनको समय सुर्यदेवका कलिला किरणहरुको अस्पस्ट प्रहारले मेरो अर्धचेतन निंद्रा खुल्छ।मैले त्यो निर्जन स्थानमा कसैको अनौठो आभाष पाउँछु। म आँखा खोल्छु। म ढुङ्गेटापुमाथि कुनै अदृश्य बस्तुको उपस्थितिको आभाष पाउँछु, अनौठो गन्धको अनुभव गर्छु।म बिलखबन्दमा पर्छु। ” कोही छ यहॉं? सामने आउनुहोस।” म चिच्याएर कराउन पुग्छु। चारैतिर हेरें कसैलाई देख्दिन तर एउटा स्त्री आवाजमा खित्का छोडेर हाँसेको आवाजले मेरो दिमाग घुम्छ। ढुङ्गामाथी म एक्लै छु तर कोही हिंडे जस्तो , कोही दौडे जस्तो आभाशले मेरो मथिंगल फेरी घुम्छ। म पुनः चिच्याउछु ” कोही भए सामने आउनुहोस” फेरी स्त्री आवाजको खित्काको गुन्जन मेरो कानमा प्रतिध्वनी हुन्छ। म स्तब्ध हुन्छु। मेरो बैज्ञानिके मुटु यो कटुसत्य घटनाले डगमगाउन थाल्छ। मेरो पसीना छुट्छ सायद आकस्मिक र अनजान भयले। आकाशबाट रविकिरणहरु धरतीतिर हस्याङ्ग फस्याङ्ग गर्दै आइपुग्छन। जगत उज्यालो हुन्छ र म पनि आफ्नो आजको अन्वेषणमा केही सफलताको आभाष लिएर आफ्नो गुँडतिर जान तरखर गर्छु आफ्ना सरसामान बाँधबुँध पारेर। अचानक मेरो मोबाइल मा प्रेषकको नाम खाली भएको एसएमएस सन्देश आउँछ ” सर नमस्कार। मलाई सहयोग गर्नुहोला। मेरा पीडा, दर्द र आर्तनाद सुनिदिनु होला। म भोली तपाईंलाई आज रातभरी तपाईं बस्नुभएको ठाउँमानै ठीक रातको बाह्र बजे भेट्न आउनेछु । हजुर एक्लै आउनुहोला।” यो सन्देश पढेर मेरो मथिंगल घुम्छ। के यस्तो ठाउँमा भेट्न प्रस्ताव राख्ने ब्यक्ती आत्मा नै हो त? म सकारात्मक हुँदै अनजान डर र अन्वेषणको सफलताको सपनाले खुसी हुँदै बिहानीपख आफ्नो बासस्थानमा फर्कन्छु।
म अनजान डर र अन्वेषणको सफलताको प्रथम खुट्किलो टेक्ने प्रयाश गर्दै भय र खुशीमिश्रित मुटु लिएर अदृश्य आगन्तुकको निम्तो स्वीकार गर्न नवौं रात्रीमा हिजोकै खोलामा गएँ। खटपटी र उल्लाषको तामझाम सहित म मसानघाट र चिहानघारीको बीचमा बग्ने खोलाको उही ढुङ्गेटापुमा करीब रातको दस बजे पुगेँ। टापुमाथी बसेर चारै दिशा र आकाशतिर हेरें।निस्पट कालो रातमा आकाशमा ताराहरु टिलपिल गर्दै मलाई जिस्क्याइरहेका थिए सायद मैले आत्माको अस्तित्वमा अविश्वास गरेकोले होला।उत्तरतिर फर्किदा कालो अन्धकार पहाडको खोंचबाट निस्केको खोला ससंगीत सुसाउदै आफ्नै तालमा बगिरहेको थियो। पश्चिमतिर रहेको चिहानघारीमा डिफोस्फेन ग्यासरूपी राँकेभूतहरु ब्वाँसो, स्याल र हुंडारका कहालीलाग्दा हुंकारहरुको तालमा हल्ली हल्ली नाचिरहेका थिए।हेर्दा हेर्दै रातको बाह्र बज्यो, मेरो निम्तालु आईनन् ।कोहीसंग साक्ष्यात्कार गर्न आतुर म फेरी पुर्वातिर फके॔ । पूर्व दिशामा पर्ने मसानघाटतिरबाट एउटा डल्लो स्वरूपको प्रकाशपुञ्ज म बसेको स्थानतिर बढ्दै बढ्दै आयो, खोलामाथि हावामा तैरिदै तैरिदै आयो।
त्यो मानवाकृतीको पुञ्ज म बसेको ढुङ्गाको छेउमा खोलामा बगेको पानीमाथी हावामा तैरिएर टक्क अडियो। हामी आमने सामने भयौँ ।त्यो आकृति बाट बिस्तारै बिस्तारै रोशनी हराउँदै गयो र सेतो साडी लगाएको , भुत्लिएको केशराशि हावामा उडेको, खुट्टाको पैताला पछाडि फर्केको, पत्याउनै नसकिने लामो हात भएको र अनुहार केशराशीले छोपिएको नयाँ आकृतिमा परिणत भयो। म त्राशले बरफ जमेझैँ जम्न लागें तर आत्माको बैज्ञानिक शोधकार्य पुरा गर्नको लागि मैले भयलाई खुट्टाले कुल्चिएर प्रेतात्मासँग साक्ष्यात्कार गर्ने अठोट गरें। दाइ नमस्कार! आत्माकृतीले मलाई सम्बोधन गर्यो।मैले नमस्कारको सत्कार फर्काएर परिचय मागें।हावामा तैरिएको मानवाकृतिजन्य प्रेतात्मा बोल्दै गयो। दाई मलाई सत्र बर्षको खाउँला लाउँला भन्ने उमेरमै दुई जिउकी मलाई एक हप्ता अगाडी त्यो मसानघाटमा जलाइयो करीब एक मिटरको चोरऔंलाले मसानघाट देखाउँदै त्यो आत्माले भन्यो। म जिउँदो छँदा मलाई घरमा लोग्ने, नन्द र सासु मिलेर झुन्ड्याएर ह्त्या गरियो।अहिले लोग्नेले कान्छी श्रीमती ल्याएर बसेको छ। सुनियोजित योजनामा दाईजोको लोभमा मेरो र मेरो पेटमा रहेको भ्रूण र मेरो अल्पायुमै ज्यान लिइयो।मेरा अरु तृप्त आत्मा साथीहरु स्वर्गमा गइसके तर म अतृप्त भएर किचकन्याको रुपमा यहीं भट्किरहेछु।किचकन्या हुनु मेरो रहर होईन बाध्यता हो । दाई मलाई मोक्ष दिलाइदिनुहोस । मलाई सहयोग गर्नुहोस। म यो अकल्पनीय अनुभूतीले स्तब्ध भएँ।गगनबाट उषाका कलिला किरणहरुले धर्तीलाई चिहाउन थालिसकेका थिए । हावामा कावा खेल्दै आत्मा भन्दै थिई “दाई मेरो अव जाने बेला भयो ।म भोली तपाईंकै घरमा भेट्न आउँछु र बाँकी कुरा सुनाउछु” त्यति भनेर त्यो स्त्रीआत्मा खोलामाथीको आकाशमा पुतली झैँ उड्दै मसानघाटतिर गई र म पनि झोलीतुम्बा बोकेर घरातिर लम्कें।
आत्माको अनुसन्धानमक शोधकार्यको लागि मैले एकान्तवास रोजेकोले मेरो परिवारलाई शहरमै छोडेर म मेरो गाउँको घरमा एक्लै बस्थें।भोलिपल्ट रातको एघार बजे म मेरो कोठामा बिस्तरामा पल्टिएर मनमा द्वान्दाभाव बोकेर सोचिरहेछु। किचकन्याको अस्तित्व साच्चै नै हुँदोरहेछ।जीवन रहँदा प्रताडित र अत्रिप्त नारी कुण्ठा बोकेर अल्पायुमै हत्या र अन्यायको शिकार भएर मर्दा त्यसको आत्मा भट्किदोरहेछ र त्यो आत्माले मानवाकृति धारण गर्दो रहेछ।त्यो स्त्रीआकृतीलाई जनमानसमा किचकन्या भनिदोरहेछ।किचकन्याले आफ्नो पूर्वजन्मको कुण्ठा पुरा गर्न चलायमान रुपमा बिचरण गर्दा रहेछन।त्यो बिचरणको पथमा परेका जिउँदा मानिसहरुले भोगका र देखेका आभाशहरुलाई तर्साउनु भनिदो रहेछ। हिजो त्यो आत्माले मलाई दाई भनेर सहयोगको लागि याचना गरेकाले मलाई त्यो बहिनीको स्त्रीआत्मालाई यथासक्य सहयोग गरेर मोक्ष दिलाइदिन इच्छा जाग्यो। रातको बाह्र बजेछ। मैले मेरो कोठामा कोही भएको आभाष पाएँ। कहाँबाट छिरेछ बन्द कोठामा त्यो स्त्रिमानवाकृतीॽ म अचम्मित भएँ। हिजोकै स्त्रीरूपी आत्मा मेरो कोठामा प्रवेश गरेर कोठाको बीचको हावामा तैरिदै भन्न थाली “दाई मेरो मोक्षको लागि तपाईले मेरा हत्याराहरुलाई दण्ड दिलाउनुपर्छ नत्र मेरो आत्मा भटकिरहन्छ र सो नभएसम्म म तपाईलाई भेट्न आइरहन्छु।” मैले हुन्छ भनेर स्वीकृति जनाएँ।हेर्दा हेर्दै त्यो आत्मा आकाशमार्गमा उडेर उत्तर तर्फ लाग्यो।

मैले त्यो आत्माको पूर्वजन्मको घर खोजें र अनुसन्धान गरें।त्यो आत्माद्वारा जे जे भनिएका थिए,ती सबै कुराहरु हुबहु मेल खान्थे।मैले गाउँलेहरु, बुद्दिजीवी र पुलिस प्रशाशनको सहयोगमा त्यो आत्माका पूर्वजन्मका हत्यारालाई सजाय दिलाएँ। त्यसपछी त्यो किचकन्यासंग मेरो भेट भएको छैन।मेरो प्रयोगात्मक बैज्ञानिक अनुसन्धान सफल भएकोमा र एउटी अमोक्ष भट्किरहेकी आत्मारुपी बहिनीलाई मोक्षोन्मुख गराउन पाएकोमा म गौरवान्तित छु ।
इति

1 thought on “किचकन्या”

  1. भगवान घिमिरे

    याे काल्पनिकता बुनेर रचिएकाे कथा हाे कि यथार्थ नै हाे कृपया जवाफ दिनुहाेला । यस्ताे कुराकाे विश्वास मलाइ पनि लाग्दैन तर तपाइ स्वयँ भाैतिकवादि हूँ भन्नुभएकाे छ । कथा लाइ कथाकै रूपमा लिए त ठिकै छ तर यथार्थतामा जाेड्दा अलिक अमिल्दाे हाेला कि , कृपया प्रष्ट पारिदिनु हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *