Skip to content

भो म कविता लेख्दिन


विचारहरू छरपट्ट छरिएर
आत्माहरू लिलाम बिक्री
अनि
विश्वासहरू भाँचिएर
मनहरू टुक्रा टुक्रा हुदै गर्दा
कुहिएका लाशका थुप्राका
कुहिगन्धे गन्धहरूमा
निशासिएर नाक खुम्च्याउदै
भो म कविता लेख्दिन ।
वहिनी र भाऊजुको
निश्कलंक सिउँदोहरू
पखालिदै गर्दा
आगोका दनदनी लप्काहरूले
गाउँ वस्तीका लहरै लहर झुपडीहरू
अनि गोठ कटेराहरू
एकाएक सल्किदै गर्दा
कपाल खौरीएर
भग्रयाल्ती निर्दोश अवोधहरूको
मलामी जादै
भो म कविता लेख्दिन ।
नियम कानुनहरू भत्किएको
अनियन्त्रित कालमा
हार गुहारका चित्कारहरू सुन्दै
रोग र भोकको महामारीमा
अनिकालले दाविएको
पेटका खपेटाहरू हेर्दै
महङ्गीले आकाश चुलिएको
अव्यवस्थित बजारमा
रासन पानी र आलु प्याज मोल्दै
भो म कविता लेख्दिन
विश्वासहरू छिया छिया भएर
एकले अर्काको खुट्टा तान्दै
उचाल्दै पछार्दै तछाड मछाड
तानातान हानाहान
अनि काटामार हुदैगर्दा
बन्दुकको नालहरूमा छाती विसाएर
मुटुको धडकन् रोक्दै
खुकुरीको धारहरूमा पाईला टेक्दै
रगतको आहालहरूमा ठिङ्ग उभिएर
यूद्धको विगुल सुन्दै
भो म कविता लेख्दिन
लेख्दिन लेख्दिन
भो म कविता लेख्दिन ।

2 thoughts on “भो म कविता लेख्दिन”

  1. tapaile thik lekhnu vo
    tapaile thik lekhnu vo achel kabita matra hoina kehi garne man chhaina k garne ? kabita bastabik chha.

    nima lama

Leave a Reply to mukta Cancel reply

Your email address will not be published. Required fields are marked *