Skip to content


राजा उत्तानपादले राज्य बढाएर अकण्टक बनाएका थिए । प्रजाहरू सबै सुखी थिए । उत्तानपाद आफ्नी रानी सुनीतिलाई एकदमै प्रेम गर्दथे । तर उनीहरूका सन्तान थिएनन् । त्यसले गर्दा राजाको वंश परम्पराका उत्तराधिकारी नभएकामा सम्पूर्ण प्रजाहरू दु:खी थिए । सबैले राजालाई दबाब दिन्दा पनि राजाले अर्को बिहे गर्न मानेका थिएनन् । राजगुरुले रानी सुनीतिलाई राजालाई बिहेका लागि दबाब दिन सुध्याए किनकि सुनीतिका कुरा राजाले टार्दैनथे तर सुनीतिको धेरै दबाबपछि पनि राजाले अर्को बिहे गर्न मानेनन् किनकि सुनीतिलाई पछि अन्याय भइजानेछ भन्ने उनलाई थाहा थियो ।

एक दिन राजा उत्तानपाद र सुनीति जङ्गलमा बाघको शिकार गर्न गए । तीर सुनीतिले चलाइन् । बाघ त मर्यो तर त्यसमा तीर दुइटा थियो । शिकार लिन जाँदा अर्कै देशकी राजकुमारी सुरुचिले आफूले पहिले शिकार गरेको तीर त्यहीँ छ भनेर ठुलो विवाद गरिन् । उनीहरूबीच ठुलो वैमनस्यता भयो ।

एक दिन राजमहलमा एउटी नर्तकी आफ्नो नृत्यकला देखाउन आइन् । राजा धेरै खुसी भए । उचित पारिश्रमिक लिनका लागि राजाले माग गरे । नर्तकीले पनि वाचा बँधाइन् । राजा पनि कम्तीका थिएनन् प्राय: सम्पूर्ण पृथ्वीमा उनको राज थियो । त्यो वैभवता यथावत् राख्न राजाले जे भने पनि दान दिने वचन दिए । उनले राजासँग बिहे गर्ने माग राखिन् । राजा निकै रिसाए । तर रानी सुनीतिले भावी राजकुमारका लागि यो नै उत्तम उपाय हो भनेर दबाब दिइन् । राजगुरुले पनि दबाब दिए । त्यत्तिकैमा उक्त नर्तकीले आफू सुरुचि भएको कुरा भेष उधारेर खोलिन् । सम्पूर्ण प्रजाहरूले “महारानी सुरुचिकी जय !” भन्दै समर्थन जनाए । त्यसपछि सुनीतिमा पनि सुरुचिप्रति वैमनस्यता भएन । यस्तो करकापमा राजाको अर्को बिहे भयो । राजाले सुनीतिलाई यत्ति अगाढ माया गर्दथे कि बिहेको पहिलो रातमा पनि सु्रुचिकहाँ नगइकन राजा सुनीतिकहाँ नै बसिरहे ।

धेरै समयसम्म पनि राजाको एकोहोरो सुनीतिसँगको प्रेममा कुनै कमी आएन भने सुरुचिलाई पटक्कै वास्ता गर्दैनथे । एक दिन सुरुचिले राजालाई थाहा नदिइकन षड्यन्त्र गरेर सुनीतिलाई देश निकाला गरिन् । सुनीति त्यतिबेला गर्भवती थिइन् । जाँदा–जाँदा उनी ठुलो हरिभजन गरिरहेको ठाउँमा लड्न पुगिन् । त्यहाँ उनले हरिको मूर्ति अगाडि बच्चा जन्माइन् । उक्त बालकको नाम त्यहाँका ऋषिहरूले ध्रुव राखे । ध्रुव बढ्दै गए । त्यहाँ शारदा विश्वविद्यालय पनि थियो । उक्त विश्वविद्यालयमा राजकुलका छोराछोरीहरू मात्र पढ्न पाउँथे । सुनीतिले भेद खोले फेरि षड्यन्त्रमा पर्न सक्ने डरले राजकुमार हो भन्ने बताइनन् ।

ध्रुवले सोही विश्वविद्यालयमा पढ्ने जिद्दी गरेकाले उनकी माता सुनीतिले गुरुहरूसँग विन्ती गर्दै भनिन् :–“सूर्यको प्रकाशले कहाँ भेद गरेको छ ? को ठुलो को सानो ? सबैमा समान प्रकाश दिन्छन् । वर्षाले कसलाई भेद गरेका छन् ? पृथ्वीको सानो ठाउँमा पनि उही शीतलता दिन्छन् । ठुलो ठाउँमा पनि उही शीतलता दिन्छन् । वायुले कसलाई भेद गरेका छन् ? सबैलाई ठुलो–सानो नभनी प्राण श्वास दिन्छन् ।” यस्ता सुनीतिका नीतियुक्त कुरा सुनेर ध्रुवलाई उक्त विश्वविद्यालयमा भर्ना गर्न त्यहाँका गुरुहरूलाई करै लाग्यो । सानै भए पनि तीक्ष्ण बुद्धिका कारण उनी सबैभन्दा अव्वल देखापरे । सुरुचिका छोरा उत्तम पनि त्यहीँ पढ्थे । उत्तमलाई नआएका हरेक कुरा ध्रुवसँग सिक्थे । एक दिन उत्तमले ध्रुवलाई राजासँग उक्त विद्यालयमा आएका बेला भेट्टाए ।

राजा पनि ध्रुवसँग यत्ति मोहित भए कि यदि आफ्नो छोरा भएका भए उनलाई नै राज्य चलाउन दिने भनेर सुरुचिलाई बताए । सुरुचिलाई यस कुराले जलन भयो र ध्रुवलाई तड्पाउन बाबुविनाको छोरो भनेर वचनवाण प्रहार गरिन् । त्यस कुराले हतास भएर ध्रुव आफ्नी माताकहाँ प्रश्न गर्न गए । त्यहाँ गुरु पनि आइपुगे ।

“भन्नुस् माताश्री मेरा पिता परेदशमा छन् कि छैनन् ? मलाई यत्तिका दिनसम्म किन ढाँट्नुभो ?” गुरुलाई सहन गर्न गाह्रो भयो र भने :—“हे पुत्र ! तपाईं राजकुमार हुनुहुन्छ । महाराज उत्तानपाद तपाईङ्का बुबा र उनी महारानी सुनीति नै तपाईङ्की माता हुनुहुन्छ । सुरुचि तपाईङ्की कान्छी माता हुनुहुन्छ भने उत्तम तपाईङ्का भाइ हुन् ।”

यत्ति कुरा सुन्नेबित्तिक्कै पाँच वर्षका बालक ध्रुव सरासर राजमहलतर्फ गए । त्यसैबेला राजा उत्तानपाद पुत्र उत्तमलाई काखमा राखेर माया गरिरहेका थिए । धु्रवले पनि आफ्ना पिताका काखमा बस्ने इच्छा गरे । सुनीति पनि त्यहीँ आइपुगिन् ।

घमण्डले भरिएकी सुरुचिले आफ्नी सौताको पुत्र आफ्ना महाराजको काखमा बस्ने प्रयत्न गरेको देखेर तुरुन्तै छुरी लिएर आइन् र :—“यदि यसो गरेमा यसै छुरीले आफैँलाई डसेर प्राण त्याग्ने ।” धम्की दिइन् भने ध्रुवका अगाडि कठोर शब्दमा भनिन् :–“बच्चा ! तिमी राजसिंहासनमा बस्ने अधिकारी होइनौ । तिमी पनि राजाकै पुत्र हौ तर यसरी केही पनि हुन्न । तिमीले मेरो कोखबाट जन्म लिएका छैनौ त्यसैले । यदि तिमीले आफ्ना पिताको काखमा बस्नु छ भने परम पुरुष श्रीनारायणको आराधना गरेर उनका कृपाले मेरो गर्भमा आएर जन्म लेऊ । अनि मेरो कोखबाट जन्म लिइसकेपछि तिमी पिताको काखमा बस्नू ।”

ध्रुव एकदम रिसाए । जस्तो लट्ठीको चोट खाएर सर्पले फुँफुँ गरेर डस्न तम्सन्छ । यसै प्रकार आफ्नी सौतेनी आमाको कठोर वचनले घायल भई रिसले चूर भएर लामो–लामो श्वास फेर्न थाले । उनका पिता टुलुटुलु हेरिरहे । मुखबाट एकशब्द पनि निकाल्न सकेनन् ।

तब पितालाई छोडेर ध्रुव रोएर आफ्नी माताकहाँ छाँद हाल्न पुगे । बालक ध्रुव घ्वाँघ्वाँ गरी ठुलो–ठूलो स्वरले रुन थाले । सुनीतिले पुत्रलाई काखमा लिइन् र महलका अरूहरूबाट पनि आफ्नी सौता सुरुचिका यस्ता कुरा सुनेर अति दु:खित भइन् । उनका आँखाहरूबाट आँसु झर्न थाले ।

सुनीतिले लामो श्वास लिएर ध्रुवलाई भनिन् :—“पुत्र ! तिमी अरूका लागि कुनै अमङ्गल कामना नगर । जुन मनुष्यले अरूलाई दु:ख दिन्छ, उसले यसको फल अवश्य नै भोग्नुपर्ने हुन्छ । सुरुचिले जे पनि भनिन् ठीकै भनिन् किनकि महाराजले मलाई श्रीमती त के आज दासी मान्न पनि लाज मानिरहेका छन् । तिमीले म अभागीनको गर्भमा जन्म लिएका छौ र मेरो दूधबाट पालिएका छौ । पुत्र ! सुरुचि तिम्री सौतेनी आमा भएर पनि बिलकुल ठिक भनिरहेकी छिन् । अत: यदि राजकुमार उत्तम समान राजसिंहासनमा बस्न चाहन्छौ भने द्वेषलाई छोडेर त्यही वचनलाई पालना गर । बस् अब उही सर्वशक्तिमान भगवाङ्का चरणकमलमा आराधना गर्नमा लाग । पुत्र ! तिमी उही भक्तवत्सल श्रीभगवाङ्कै आश्रय लेऊ । तिमी अब कुनै पनि कुरामा ध्यान नदेऊ । कुनै पनि चिन्ता नगर केवल उहाँकै भजनमा लाग ।”

जब ध्रुवले आफ्नी माताका यस्ता वचन सुने तब वैरागी भए र भगवाङ्को तपस्याका लागि वनतिर प्रस्थान गरे ।

जब ध्रुव वनतिर गइरहेका थिए तब बाटामा नारदजीलाई भेटे । नारदजीले ध्ुवलाई भने :—“पुत्र ! अहिले तिमी बच्चै छौ । खेलकुदमा मस्त रहने बेला हो यो । मलाई थाहा भएन कि कुनै पनि कुराले तिम्रो मानमा अपमान हुन सक्छ र ? यो मैले बुझिनँ । जाऊँ म तिम्रो पिताको काखमा तिमीलाई बसाइदिन्छु ।”

ध्रुवले भने :–“ब्राह्मण ! अब मलाई कुनै पिताको काखमा बस्नु छैन । मलाई त उही परमपिता परमात्माको काखमा बस्नु छ । अब संसारको कुनै कामना मलाई छैन । त्यसैले तपाईंले मलाई उही परमात्मा प्राप्तिको कुनै राम्रो बाटो देखाइदिनुहोस् । तपाईं भगवान् ब्रह्माजीका पुत्र हुनुहुन्छ र संसारको कल्याणका लागि वीणा बजाएर सूर्यले जस्तै त्रिलोकमा विचरण गरिरहनुहुन्छ ।”

ध्रुवका यस्ता कुरा सुनेर नारदजी एकदम प्रसन्न भए र भने :—“पुत्र ! तिम्रो कल्याण हुनेछ । अब तिमी यहाँको नदीको तटवर्ती क्षेत्रको मधुवनमा जाऊ । त्यहाँ श्रीहरिको नित्य निवास छ । त्यहाँको नदीको निर्मल जलले तीन पटक बिहान, दिउँसो, साँझ स्नान गरेर निवृत्त भएर यथाविधि आसन बिछ्याएर स्थिर भावमा बस्नू । फेरि रेचक, पूरक र कुम्भक तीन प्रकारका प्राणायामले बिस्तारै–बिस्तारै प्राण, मन र इन्द्रियहरूका दोषहरू हटाएर धैर्यपूर्वक धैर्ययुक्त मनले परम गुरु श्रीभगवाङ्को ध्यान गर्नू ।” नारदजीले श्रीभगवाङ्को सुन्दर छविको वर्णन गरेर स्मरण गर्ने तरिका पनि बताए । त्यस्तै नारदजीले ध्रुवलाई एउटा मन्त्र प्रदान गरे “ॐ नमो भगवते वासुदेवाय:” र यो मन्त्रद्वारा भगवान्लाई तपस्या गर्ने पूजाविधि बताए । फेरि नारदजीले सुन्दर उपदेश दिए । अनि बालक ध्रुवले नारदजीलाई परिक्रमा गरेर नमस्कार गरे र मधुवन प्रस्थान गरे ।

यता नारदजी उत्तानपादको महलमा पुगे र भने :—“राजन् ! तपाईङ्को मुख सुकेको छ । धेरै बेरसम्म कुन त्यस्तो सोचमा डुबिरहनुभएको छ ?”

राजाले भने :—“ब्राह्मण ! म धेरै स्त्रैण र निर्दयी भएँ । हाय ! मैले आफ्ना पाँच वर्षका बालकलाई उनका माताका साथ घरबाट निकालिदिएँ । उनलाई कतै हिंस्रक जनावरले खाला । ओहो ! म कस्तो स्त्रीको दास भएँ । मेरो कुटिलता त हेर्नुहोस् । उनी मेरा काखमा बस्न चाहन्थे तर म दुष्टले अलिकति पनि ख्याल गर्न सकिनँ ।”

श्रीनारदजीले भने :—“राजन् ! तपाईं आफ्ना बालकको चिन्ता नगर्नुहोस् । उनको रक्षक भगवान् हुनुहुन्छ । जुन काम ठुला–ठूला व्यक्तिहरूले गर्न सक्तैनन् त्यही काम पूरा गरेर उनी शीघ्र तपाईङ्कहाँ नै फर्कनेछन् र यसका कारण तपाईङ्को प्रतिष्ठा पनि धेरै बढ्नेछ ।”

यता ध्रुव मधुवनमा पुगेर नदीमा स्नान गरे र त्यो रात पवित्रतापूर्वक उपवास गरेर नारदजीका उपदेशानुसार एकाग्रचित्तले परमपुरुष श्रीनारायणको उपवास गर्न थाले । उनले तीन–तीन रातका अन्तरमा शरीर धान्नका लागि वैध र वेलको फल मात्र खाएर श्रीहरिको उपासना गरेर एक महिना व्यतित गरे । अर्को महिनामा उनले छ–छ दिनपछि सुकेको घाँस र पातमात्रै खाएर हरिगुण गाइरहे । तेस्रो महिनामा नौ–नौ दिनमा पानी मात्र पिएर समाधियोगद्वारा श्रीहरिको आराधना गरिरहे । चौथो महिनामा उनले श्वासलाई जितेर बाह«–बाह« दिनपछि केवल हावामात्र खाएर ध्यानयोगद्वारा भगवान् परमात्माको आराधना गरिरहे । पाँचौं महिनामा ध्रुवले श्वासलाई जिते र एउटा खुट्टाले उभिएर भगवान् परमात्मालाई स्मरण गरिरहे ।

जब राजकुमार ध्रुव एउटा खुट्टाले खडा भए तब उनको औंलाले थिचेर पृथ्वी यसप्रकारले डोलायमान भएर झुक्यो, जस्तो कुनै हात्तीले डुङ्गामा टेकेपछि डुङ्गा माथि उठ्दछ र त्यस्तै जब हात्ती डुङ्गामा चढेपछि डुङ्गा दायाँ–बायाँ, तल–माथि लच्केर डगमगाउँछ त्यसरी नै पृथ्वी हल्लिन थाल्यो ।

ध्रुवले आफ्ना इन्द्रियद्वारा तथा प्राणलाई रोकेर अनन्य बुद्धिले विश्वात्मा श्रीहरिको ध्यान गरिरहे । यसप्रकार उनको समष्टि प्राणले अभिन्न्ता हुनाका कारणले सम्पूर्ण चराचर जगत्का जीवका श्वासप्रश्वास रोक्न थाल्यो । यसका कारण सम्पूर्ण लोक तथा लोकपालहरूलाई अत्यन्तै ठुलो पीडा भयो र सबै डराएर त्राहिमाम भएर श्रीहरिको शरणमा गए । अनि देवताहरूले श्रीहरिलाई भने :—“भगवन् ! समस्त जीवहरूको शरीरको प्राण एकै पटक रोकियो । यस्तो पहिले कहिल्यै भएको थिएन । तपाईंले हामी सबैलाई रक्षा गर्नुपर्यो ।”

भगवान्ले भने :—“देवतागणहरू ! तपाईंहरू नआत्तिनुहोस् । नडराउन्होस् । बालक ध्रुवको सत्यतपका कारण यस्तो भएको हो । तपाईंहरू सबै आ–आफ्ना लोकमा जानुहोस् । म सबै ठिक गर्छु ।”

जब भगवान् गरुडमा सवार भएर आफ्ना भक्तलाई हेर्न मधुवनमा गइरहेका थिए, बालक ध्रुवले पनि त्यही रूपलाई स्मरण गरेर ध्यान गरिरहेका थिए । यसका कारण उनले भगवाङ्को त्यो रूपलाई आफूतर्फ खिचे । ध्रुव एकदम झस्किए जब उनले आँखा उघारे । भगवान् त्यही रूपमा उनका अगाडि प्रकट भइसकेका थिए । प्रभुको साक्षात् दर्शन पाएर बालक ध्रुवलाई एकदम कौतूहल भयो । उनी प्रेममा अधीर भए । उनले पृथ्वीमा लम्पसार परेर भगवान्लाई साष्टाङ्ग दण्डवत् गरे । फेरि उनले यसरी प्रेमले भरिपूर्ण दृष्टिले भगवान्तर्फ हेरे मानौं उनका नेत्रहरूले पिइरहेका छन्, मुखले चुमिरहेछन् र भुजाहरूले अँगालिरहेछन् । उनी हात जोडेर प्रभुजीका अगाडि खडा थिए र उहाँको स्तुति गर्न चाहन्थे तर कसरी स्तुति गर्ने उनी जान्दैनथे ।

भगवान्ले उनको भाव बुझे र आफ्ना वेदमय शङ्खले उनको गालामा बिस्तारै स्पर्श गराए । शङ्खको स्पर्श हुनेबित्तिकै उनलाई वेदमयी दिव्यवाणी प्राप्त भयो र जीव तथा ब्रह्मका स्वरूपका बारे पनि निश्चय भयो । उनले त्यसपछि धैर्यपूर्वक विश्वविख्यात कीर्तिमान श्रीहरिको स्तुति गर्न थाले ।

स्तुतिबाट प्रसन्न भएर नारायणले ध्रुवलाई काखमा लिएर भने :—“पुत्र ! तिम्रा सम्पूर्ण इच्छाहरू पूरा हुनेछन् । तिम्रो सत्यभक्तिले प्रसन्न भएर मैले त्यो लोक प्रदान गरिरहेको छु जसका चारैतिर ज्योतिष चक्र घुमिरहन्छन् र जसका आधारमा सबै ग्रह–नक्षत्रहरू घुम्दछन् । प्रलयकालमा पनि जसको कहिल्यै नाश हुँदैन, सप्तऋषिहरू पनि जसको प्रदक्षिणा गर्दछन्, तिम्रो नाममा सम्पूर्ण लोकहरूले यो लोकलाई ध्रुवलोक भनी विख्यात रूपले मान्नेछन् । यो लोकमा तिमीले ३६ सहस्रवर्ष राम्रोसँग शासन गर्नेछौ । सबै प्रकारका सुख, ऐश्वर्य भोग गरेर समस्त प्रजाहरूलाई आनन्द प्रदान गरेर अन्त्यमा तिमीले मेरो लोक पनि पाउने छौ ।”

बालक ध्रुबलाई यस्ता वरदान दिएर श्रीनारायण आफ्ना लोक फर्के । श्रीनारायणको वरदानले ध्रुव सप्तऋृषि ताराका माझ ध्रुवतारा बनेर अत्यन्त तेजिलो रूपमा आकाशमा देदीप्यमान भई चम्किएर प्रसिद्ध भइरहे ।

नोट :– उत्तानपादको अर्थ जसको शिर मुन्तिर र पैताला सबभन्दा माथिल्लो भागमा भन्ने हुन्छ । संसार जित्ने राजा जनताको नोकरका रूपमा बस्ने अर्थ छ उत्तानपादमा । सुनीतिको अर्थ हो राम्रो बुद्धि । सुरुचिको अर्थ हो राम्रो मन । राजाका यी बुद्धि र मनहरूबीचको द्वन्द्व यस पौराणिक कथामा मन्थन गर्न खोजिएको छ । ध्रुवको अर्थ हुन्छ एकदम परम सत्य ध्रुवसत्य र यहाँ यस पौराणिक कथामा ध्रुवसत्यको शक्ति कत्ति धेरै हुन्छ भन्ने कुरा दर्साइएको छ । यो पौराणिक कथा मेरो हालै प्रकाशित पुस्तक सत्य पौराणिक कथामा सङ्ग्रहित छ । यस पुस्तकमा यस्ता विविध ठुला साना गरी ३१ पोराणिक कथाहरू सङ्ग्रहित छन् ।

२०७६ असोज २३ गते बिहीबार
बिजु सुवेदी विजय
भकतजनमार्ग, काठमाण्डौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *