Skip to content


म परदेशबाट घर फर्की आउँदा
मेरी आमा
उता कुनामा रोइरहेको देखें
म अरुहरुलाई बेवास्ता गर्दै
आमा बसेको स्थानमा पुगें
आमाले ओढेको घुम्टो उघारेर हेरें
आमाको मुहारमा आँशु देखें ।

आमाको मुहार रक्ताम्मै थियो
टाउकामा चोटैचोट थियो
मैले आमाको बेहाल देखेपछि
आमाको चित्कार सुनेपछि
मैले मन थाम्नै सकिन
मैले चिच्याएर प्रश्न सोधें
कराएर सोधें, आमा यो सब किन ?
कस्ले गरायो यो हालत आमा ?
भन्नु आमा, नडराउनु, मन खोलेर भन्नु आमा
यो किन ? कसरी, के कालागि ? भयो आमा
तपाई भन्नु मात्र आमा ?

आमाले उता छिमेकीको घरतिर देखाउनु भयो
बिस्तारे साइँलोतिर औंला ठड्याउनु भयो
बस, मैले चिने आमा, मैले चिने
म एकपटक चिच्याएँ, कराएँ, बबाल गरें
मैले सारा गाउँघर थर्काएँ,
हर्के, बिर्खे र सेतेलाई बोलाएँ
बेली,चमेली र उजेलीलाई डाकें
हल्ली खल्ली र कोलाहाल गरें
मैले गाउँ शहर चारैतिर फोन गरें
ए, मेरा सङ्गी साथीहरू
आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू
किसान मजदुर गोठालाहरू
छिमेकीबाट हाम्री आमामाथि हातपात भएको छ
आमालाई रक्ताम्मै बनाइयो छ
छिमेकीले छिमेकीको हैसियत भुलेको छ
कमजोर, हाम्री आमामाथि आक्रमण गरिएको छ
अब हामी सहेर बस्न सकिन्न
युवाहरू र किसानहरू हँसिया हथौडा लिएर उठ
गाउँघर सहरहरू आगो बालेर जुरुक्क उठ
अब बिस्तारे साइँलाको सेखी झार्नु पर्छ
हाम्री आमाको अश्मिता बचाउन
हामीले ज्यानको बाजी थापेर लड्नु पर्छ
हामी जानु पर्छ कालापानी र लिम्पिया धुराबाट
युद्धको विगुल फुक्नु पर्छ
घायल भूमिको माटो उठाएर
ज्यानको आहुति दिन तयार हुनुपर्छ ।

देवेन्द्र बस्याल, जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *