Skip to content

बाबाममी नजानु छाडेर


छोरी जन्मेर तीनकी पुग्दा
म परदेशबाट घरमा पुगें
मैले छोरीलाई कँदर्खुटीगरी
घर वरिपरि घुग्दै थिएँ

मैले छोरीलाई प्रश्न गरें
“छोरी तिमीले हात धुन सक्छ्यौ ?
खुट्टा पनि धुन सक्छ्यौ ?
खान आफै खान सक्छ्यौ ?”

छोरीले सहजै उत्तर दिन्छिन, “अँ
मैले जे पनि आफै गर्न सक्छु, बाबा
मैले जापान पनि यहीँ बनाइदिन्छु
अनि फेरि जापान नजानु है
बाबा, ममी मलाई छोडी नजानु है ।”

मैले उत्तर दिन्छु, “हुन्छ छोरी,”
छोरीको तोते बोलीमा
महापीडा लुकेको थियो
उनका बिन्तीले मेरो दिल छोयो
मेरा आँखा आँसुले टिलपिलाउन थाले
आँसुले बाटो देख्न सकिन
छोरीलाई काँधबाट ओराल्छु
छोरी पुनः प्रश्न गर्छिन्,
“बाबा के भयो ? किन रोको ?
कस्ले के गऱ्यो, बाबा”

म छोरीलाई सम्झाउन सक्दिन
मेरो गला अवरुद्ध भएको छ
छातीमा गाँठो परेर आएकोछ
मेरो आवाज निस्तेज बनेको छ
म भक्कानिएको छु

म विदेशमा रहरले होइन
वाध्यता र विवशताले
गाँस वास र कपासको समस्याले
भौतारिन बाध्यछु छोरी, भन्न चाहन्छु
म कुनै दिन परदेशबाट फेरि आउनेछु
तिम्रो आँगनीको जापानमा
तिमीसँगै रमाउन
परदेशलाई वावाई गरी
स्वदेश फर्किनेछु
नरोई नरोई पिंढीमा बसेर
बाबाममीलाई हेरिरहनु हाँसेर
नमरी बाँचे एकदिन हामी आउने छौं फर्केर
मिठी नाना झोलामा आउने छौं बोकेर ।

-देवेन्द्र बस्याल, जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *