Skip to content

देश कर्तव्य र युवा
हिमाली धरा याे छ साथै पहाड
कतै खाेंच बेशी र झर्ना अथाह
यिनैकाे छ सामीप्य मीठो रमाऊ
यहीँ देशकाे काखमा बाँच्न आऊ।।१।।

उता स्वर्ण झुल्ने तराई छ हाम्राे
र आत्मीयताकाे सुनाैलाे छ फेराे
कतैकाे खुसीमा तिमी लाै नजाऊ
यहीँ देशकाे काखमा रम्न आऊ।।२।।

अनेकौं कलाले धरा रङ्गिएकाे
तिमीचाहिँ अन्तै कता भड्किएकाे
नरम्नू अरूका कलामा भुलाऊ
यहीँ देशकाे काखमा नाच्न आऊ।।३।।

छ वैरी सिमानातिरै पल्किएकाे
र हाम्राे छ सत्ता कतै लत्रिएकाे
भयाे लाै अबेला अटेरी धपाऊ
यहीँ देशकाे काखमा हाँस्न आऊ।।४।।

तिमीभित्रकाे आँट निस्केर आओस्
र याे बाँझिएको छ माटाे फुटाओस्
उताकाे सहारा नखाेज्नू बिसाऊ
यहीँ देशमा टाकुरा चढ्न आऊ।।५।।

न पाखा भुलाऊ न डाँडा छुटाऊ
कुना कन्दरा छन् त्यता हेर्न भ्याऊ
यसाे गर्न सारा जुटी जुर्मुराऊ
यहीँ देशमा काख प्याराे बनाऊ।।६।।

यहाँ देश लुट्ने दलाली बढेर
कतै रातलाई दिवा हाे भनेर
लुटी खान पल्के भएछन् बिकाऊ
पिलाे देशका छन् खिलाे झिक्न आऊ।।७।।
-यादव प्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *