यो कस्तो अचम्म,
हिजोआज यो मनको
आशा मरेको छ,
अचेल हरेक बिहान,
एउटा निराशा मनभरि भरिएर आउँछ,
फेरि झन पिरले छाउँछ
अनि छट्पटी हुन थाल्छ
खै कसरी बाँच्ने होला
यो त्रासबाट
म सोच्न बाध्य हुन्छु!
अनेकौं विचारसँग
तर्क वितर्क गर्न थाल्छु
अनि कुनै अर्थ भेट्दिन
रस नि भेटिन्न जिन्दगीको
र,
म सोच मग्न भएर
एकान्तमा टोलाइरहन्छु
एक गाँस खान नि गारो भो
आफ्नै हात नि पराई जस्तो लाग्छ
खै कस्ता दिन आए
सोच्नै सकिरा छैन
यी हातहरू जति सफा गरेनी
एउटा पिर मनमा भरिएर आउँछ
उता फेरि
देशको चिन्ता छ
माटोको चिन्ता छ
फेरि आफ्नाको चिन्ता
अनि आफ्नै शरीरको चिन्ता
मात्र केवल चिन्तै चिन्ता
पिरै पिर छ मन भरी
आखिर पिरै छ
जीवनमा बाचुञ्जेलसम्म
टुटेको छ यो मान्छेको मन,
फुटेका छन् आशाहरू
तड्पिएका छन् आत्माहरू
गन्तव्यहरू छुटेका छन,
जीवनका आशा र भरोसाहरू मरेका छन्
सपनाहरू सबै लुटिएका छन,
र त,
यो मन हरेक पल-पल आत्तिदै छ
हुरि झै उडेका छन,
जिउने आशाका किरणहरु,
र पनि
यो आत्तिएको मनलाई
सम्झाउने कोसिस गरिरहन्छु
निराश नबन ए मन
धैर्य राख,
समय निकै गतिशील छ,
अवश्य यो संकट
मेटिएर जानेछ,
ए मन सधैं,
बहकिदै नबस,
बरु आशाका दीपहरू जलाउदै
नौलो संसार नियाल्ने कोसिस गर
अनि,पो
जीवनको नौलो
फरक अध्याय सुरु हुनेछ,
एउटा नविन रहर संगालेर……!
✍️ करन बिवश
२०७६।१२।२८ गते शुक्रबार
2020-April-10 Friday
