Skip to content

जब उनले म तिमिसंगै बिहे गर्छु भनिन् !

Bhagwan

अँ म त भगु संगै बिहे गर्ने हो साह्रै मन पर्यो भन्दै झन् गफ गर्न मच्चीइन उनि (मेरो नाम भगवान भएपनि मामाघर मा सबैले भगु भन्नुहुन्थ्यो) I मलाई भने यत्री ठुली केटि ले म जस्तो सानो केटासंग किन बिहे गर्छु भनेकी होलि भनेर मनमनै चिन्ता पर्न थालेको थियो,उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म भने एघार बाह्र को त्यै पनि अलिक होचै थिएँ I उसले माया गरेर दिएका पाकेका बेलौती पनि मलाई फकाउन दिएजस्तो लाग्न थाल्यो I मलाई त साँचै उसले मसंग नै बिहे नगरी नछाड्ने भै भने कसरि उसलाई दुलही बनाउने होला,दुलही भएपछी के गर्नु पर्ने हो भन्ने पनि थाहा नभएको त्यो उमेरमा एक्कासी आइलागेको यो टेन्सन ले म भित्र भित्रै उकुसमुकुस भैरहेको थिएँ I म उसलाई बिहे गर्दिन भन्न सकिरहेको थीइन र भनिहाले पनि मेरो कुरा सुनिदिने कोहि थिएन त्यहाँ I दुइटी मावल्नी दिदीहरुले झन् उल्टै उसलाई उक्साउदै ए तिमि त हाम्री भाइ बुहारी बन्ने नै हौ त , अलिक मिठो मिठो खान देउ है हाम्रो भाइ लाइ भन्दै मच्चाईरहनु हुन्थ्यो I घरबाट मसंग साथै मा गएकी मेरी सहोदर दिदि भने खासै त्यति धेरै बोल्नु भएको थिएन किनकि दिदीको लागि पनि त्यो ठाउँ नौलो र तिनी मैया अलिक नौलै थीइन I तर पनि दिदीले यो सानै छ यसको बिहे गर्ने बेलै भएको छैन भनिदिए हुन्थ्यो नि जस्तो चाहिं लाग्थ्यो I शायद दिदीलाई यिनीहरुले मजाक गरेको भन्ने लागेर पनि होला मेरो पक्ष लिएर बोल्नुभएको थिएन र जरुरत पनि नपरेर होला I हामि दिदीभाई भन्दा पनि साथि जस्तै थियौं I त्यतिबेला सम्म हामि दिदीलाई नाम ले नै बोलाउँथ्यौं तपाइँ हजुर भन्दैनथ्यौं तँ नै भनेर सम्बोधन गर्थ्यौं ,दिदीको बिहे भएपछी मात्रै निकै संकोच र लाज मानि मानि दिदि भन्न बानि पारेका थियौं I

दशैं को रमझम चलिरहेको बेला थियो, म आफै हिंडेर पुग्न सक्ने भएपछि पहिलो चोटी दिदीसंग मामाघर दशैंको टिका लगाउन जाँदै थिएँ I घर बाट हिंडे देखि नै हरेक कुरा नौलो लागिरहेको थियो I दिदि भने त्यस अगाडी नै धेरै चोटी हिंडेको ले बाटो बिराउने सम्भावना थिएन I रामपुर को रातमाटा देखि दक्षिण तर्फ को खेत को बाटो हिंड्दै गर्दा एक जना महिला भेटीइन उनि पनि त्यतै अल्की चौर तिर टिका लगाउन जाँदै रहेछिन तर उनि एकोहोरो बोल्दै थीइन I हामि बोलेको जवाफ नदिएर एकोहोरो बोल्दा कतै बहुलाई त हैनन् भनेर हामि दिदीभाई खासखुस गर्यौं I पछि उनैले कुरा खोल्दै आफु जत्ति चर्को र कानैमा बोलेपनि कत्तिपनि कान नसुन्ने बताइन र एकोहोरो आफ्नो बारेमा सबैकुरा भनिन हामीलाई पनि कहाँ जाने हो भनेर एक दुइ ओटा ठाउँ रोमन्दि,माझकोट ,लाम्दी खोला आदि को नाउँ लीइन तर हामीले हैन भन्ने संकेत सूचक टाउको हल्लायौं र अन्त्यमा अर्खलडांडा को नाम लिंदा मात्रै हो भन्ने कुरा सुचित गर्यौं कानले नसुने पनि उनले हाम्रो कुरा बुझिन् I उनीसंग केहीबेर हिड्यौं अनि उनलाई उछिनेर अघि बढेपछि केहीबेर मा बाहुन डाँडाको उकालो सुरु हुन्थ्यो I असिनपसिन हुँदै उकालो चढे पनि त्यहाँ बाट देखिने सुन्दर चापाकोट र रामपुर फाँट अनि बीच बाट बग्ने काली गण्डकी को मनोरम दृश्य ले मन लोभ्याएकोले खासै थकान को महसुस हुन्नथ्यो I बरु त्यहीं बाट काली गण्डकी को बिचमा अलिकति जंगल र दुइ तिरबाट काली बगेको देखियो ,अनि दिदीले नै त्यो देखाउंदै त्यहाँ पहिले सत्य युगमा काली गण्डकी बग्दै आउँदा नदीको बाटोमै अगाडी एउटी गाइ ब्याएर बाच्छी पाएको देखेर नदीले त्यो ठाउँ गाइको लागि सुरक्षित छाडेर दुइतिर बाट बग्दै गएको ले त्यस्तो भएको बताउनु भयो I दिदीले त्यसो भनेपछि त म झन् उत्सुक भएर रोकिएरै हेरिरहें I तर लामो बाटो अझै धेरै नै बाँकी रहेकोले दिदीले छिटो हिँड नत्र अँध्यारो हुन्छ भन्नुभयो र फेरी फटाफट उकालो लाग्यौं I अलिक माथि नै सिलुवा तिर पुग्ने बेला मा भने हामि बाटोमा फलेको टिमुर समेत टिप्थ्यौं र खल्तीमा हाल्थ्यौ I त्यहीं सल्लो को बोट पनि देखें अचम्म लाग्यो, पहिलो चोटी सिन्का जस्तो पात हुने सल्लोको बोट देख्दा I स्कुलमा किताब पढ्दा चित्रमा देखेको सल्लोको बोट आज साँचै देख्दा नौलो लागेर म हाँगा भाच्न जान खोजेको दिदीले हुँदैन भिरमा जान भनेर रोक्नु भयो I तिन ताक नचिनेको कोहि मान्छे हाम्रो अघि पछि गर्यो भने पनि संका र डर लाग्थ्यो कतै चोर पो हो कि या हामीलाई कुट्ने पो हो कि या कोहि बौलाह पो हो कि झैं लाग्थ्यो I किनकि उबेला कहीं बाटो हिंड्दा आफूभन्दा ठुला कोहि नचिनेको मान्छे ले बच्चा भनेपछि नानाथरी कुरा गरेर डर देखाउने,तर्साउने आदि गर्थे I त्यस्तै मा एक जना महिला भेटिईन उनि कहिले हाम्रो अगाडी कहिले पछाडी हुन्थिन I हेर्दा अलिक जवानी गैसकेको जस्ती, कुर्ता सलवार लगाएकी, अनुहारमा कुनै आकर्षण नभएकी, गरगहना पनि नलगाएकि बिधवा जस्ती भेष देखिन्थ्यो I उनि संग आँखा जुध्धा केहि संकोच र डर महसुस हुन्थ्यो हामि दुवै दिदीभाई लाइ I सिलुवा काटेर माझकोट को ओरालो झर्ने बेलामा त्यहाँ खल्लुक को ठुलो रुख थियो र पाकेका केहि फल भुई भरि थियो दिदीलाई थाहा रहेछ त्यो खाने चिज हो भन्ने अनि टिप्न थाल्नुभो त्यति नै बेला ति महिला ले हाम्रो परिचय सोधिन कहाँ जाने र कहाँ बाट आएको भन्ने जस्ता प्रश्न हरुले I दिदीले ले नै सबै कुरा बताउनु भयो र उनले पनि आफु मामाघर टिका लगाउन हिंडेको र अलि अलि हाम्रो नाता पर्ने बताइन अनि बल्ल हामि दिदीभाई को उनिदेखी को संकोच र डर हरायो र ढुक्क भयौं I पछि पो घर फर्केर आमासँग उनको हुलिया बताएर सोद्धा उनि पंगेनी कै भान्जी रहेछिन र बाल बिधवा भएकी रहिछिन त्यसैले पो त्यस्तो पहिरन मा भेटिएकी I उनलाई घिमिरेनी सेती भन्ने गरेको र त्यतै रामपुर तिर कुनै संस्था मा जागिर गर्ने कुरा पनि आमाले बताउनु भयो I यसरि हामि त्यहाँ बाट ओरालो झरेर बेलुका घाम अस्ताउने बेला तिर घुमाउने खोला मा पुग्दा भने निकै डर लाग्यो त्यहाँ मरेका मान्छे पुर्ने ठाउँ र निकै निर्जन ठुलो बगैंचा पनि थियो , त्यो काटेर खोला तरेर केहि उकालो हिंडेपछि मात्रै हाम्रो मामाघर आउंथ्यो I

डांडाघर को पँधेरो नजिकै पुग्दा त्यहाँ खरक कान्छी बोइ पानि लिन आउनुभएको रहेछ I त्यहीं झुम्म रुखै रुखले ढाकिएको छहारी र त्यो मुनि पँधेरो रहेछ I त्यहाँ भुईंभरि कटुस को फल हरु देखिन्थ्यो I कटुस को भित्रको फल खाएपनि बाहिर को बोक्रा सहित को त्यो फल र बोट पहिलो चोटी देखेको थिएँ त्यो पनि मेरो लागि नौलै थियो I बोइलाइ ढोगभेट गरेर अलि अलि कटुस टिप्दै बोइ संगै उकालो लाग्यौं I मामाघर पुग्दा घरमा हजुरबुबा र दुइ दिदीहरु मात्रै हुनुहुन्थ्यो I हजुरामा मामा माइजु लगाएत मामाको अरु परिवार मधेश मै हुनुहुन्थ्यो I मामाघर मा माया गर्ने हजुरामा नहुँदा साह्रै खल्लो र नरमाइलो हुँदो रहेछ तर पनि दिदीहरु भएकोले त्यति साह्रो भएन I त्यो दिन टिकाटालो गर्न कान्छो हजुरबा र साइँलो हजुरबा को घर अनि अरु यता उति र खानपान आदि गर्दैमा बितिहाल्यो , भोलि पल्ट पनि बस्यौं हामि I तिन ताक मान्छे ले दुइ तिर बाट ठेलेर मुर्रा घुमाएर रस निकालिने उखुं पेल्ने कोल चल्ती मा थियो, हाम्रा लागि त्यो कोल नौलो नभएपनि उखु समेत खाने सुरले उंखू पेलेको हेर्न गयौं र साइँलो हजुरबा को घर मा प्रसस्त उंखू खायौं I मामाघर का दुइटी दिदि,मेरो घर को दिदि र म बाहेक हाम्रो ग्रुपमा अर्की एक जना दिदीहरुको साथि पनि थपीइन जसले त्यो दिन मसंग बिहे गर्छु भनेकी थीइन I त्यस दिन दिदीहरु संग हामि धेरै ठाउँ घुम्यौं कोल भन्ज्यांग, खरक ,गैर्हा आदि I साथमा दिदिहरुकै साथि तिनै मैया पनि र प्रायः त्यतिबेला उंखू र बेलौती लगाएत का फलफुल प्रसस्त थिए I जतासुकै ति फलफुल खाँदै अनेक तरहका गफ गर्दै हिड्यौं I म त खास बोल्दैनथे दिदीहरु को गफ सुन्ने मात्रै हुन्थ्यो I त्यसै पनि कम बोल्ने मान्छे म त्यसमाथि नौलो ठाउँ र मन मिल्ने मान्छे नभएको अवस्था I

त्यो गाउँमा प्रसस्तै बेलौतिका बोट भएको र जताततै पाकेको बेला भएकोले हामि बेलौती खान पाखो तिर गएका थियौं I तर उनले त्यसरी खुलेआम मसंग बिहे गर्छु भनेपछि न त पाकेका बेलौतिमा रुचि भयो न त मामाघर गएको मा खुशी नै I बरु मामाघर नआएको भए हुन्थ्यो भने झैं भयो I कम से कम मामाघर नआएको भए यो केटि संग बिहे गर्न त पर्दैनथ्यो भनेझैं भयो मनमा एक्लो र उदास महसुस भैरहेको थियो र नाना तरहका कुरा हरु खेलिरहेको थियो I मामाघर दशैंको टिका लगाउन गएको म बिहे गरेर दुलही लिएर घर जाँदा के भन्ने हुन् भन्ने डर भन्दा पनि लाज बढी लागेको थियो, त्यसमाथि आफु समानको उमेरकी नभएर ठुली केटि I उनि तरुनी र सबैकुरा बुझ्ने भैसकेकी थीइन I स्कुले ड्रेस आकाशे शर्ट र निलो मिडि (फ्रक) मा थीइन उनि I छाती पुस्ट भैसकेका थिए ,अग्ली र राम्री पनि थीइन अनि अलिक ज्यान परेकी पनि I हाम्रा अरु दिदि हरु भन्दा उनि अलिक बढी नै बोल्ने गर्थिन I मनमनै सोच्थें कि हाम्रातिर त बिहे गर्ने कुरा गर्दा मात्रै पनि केटीहरु रुन्थे या झगडा गर्थे र यदि बिहे नै छिनेको छ भने झन् घर बाट बिरलै बाहिर निस्कन्थे तर यो त केटि मान्छे भएर पनि बिहे गर्छु भन्न कति लाज नलागेको होला I म आफुलाई भने अझै बच्चै सम्झन्थें र घरमा कहिले काहीं कसैले बिहे गर्ने कुरा गरेर जिस्क्याउदा समेत रुन्थें I सायद त्यहि उमेरको बच्चा हरु लाइ अचेल त्यसो भन्दा रुंदैनन ,बरु नपत्याएर हाँस्छन होला I खासमा उनीहरु त्यहींका भएकोले र अलिक ठुला भएकोले कुन रुख मा धेरै पाकेका बेलौती छन् र कसरि ति रुखमा चढ्ने सबै बानि परिसकेकाले मलाई बेलौती टिपेर दिने गरेका हुन् I सुरुमा त उनले दिएका पाकेका पहेला बेलौती मिठो मानि मानि खाएको थिएँ तर जब उनले मसंगै बिहे गर्ने कुरा गरिन अनि ति बेलौती मा मन गएन रिसाएर फाल्न पनि सकिन ,साथै मा जम्मा पारेर राखें I मनमनै उनले मसंग बिहे नगरी नछोड्ने भईन भने के गर्ने होला कसरि बिहे गर्ने होला ,कसरि दुलही मान्ने होला भन्ने कल्पनामा हराउन थालें र टोलाउन थालें I गाउँघर मा कसैकसैले केटि भगाएर ल्याएका घटना सम्झें र उनीहरुका घरकाले कसरि बिहे गरिदिन्थे र कसरि बस्थे ति कुराहरु सम्झें I अनि उनि यत्तिकै अहिले म घर फर्कंदा नै मसंग भागेर जाने होलिन कि घरमा भनेर सहमति मै बिहे गर्ने होलिन भन्ने कुरा पनि सोंच्न भ्याएँ त्यतिन्जेल I उनीहरु रुख रुख चाहर्दै हिंड्थे यता भने मेरो मनमा कत्रो भूइंचालो गैरहेको छ तिनीहरुलाई केहि वास्ता र मतलब थिएन तर पनि म चुपचाप उनीहरुका पछि पछि हिंड्थे I घरि घरि दिदीहरुले ए त्यसो भए त तिमीलाई हामीले बुहारी भन्नुपर्ने भो भन्दै उनलाई समेत जिस्क्याउन्दै हुनुहुन्थ्यो I उनि भने झन् मच्चिंदै मैले कति माया गरेर राख्छु मेरो बुढालाइ,मिठो मिठो खान दिन्छु भन्थिन I

त्यतिबेला मामा दिदि लगाएत तिनै जना दिदीहरुको कसैको पनि बिहे भएको थिएन दिदीहरुको उमेर र मेरोमा यस्तै चार पांच बर्ष भन्दा बढी को फरक थिएन I यता घरमा त ठुल्दाई को समेत बिहे भएको थिएन भने अरु दिदि र दाइको त झन् हुने कुरै भएन म बुबाआमा को सन्तान मध्येको चौथो रोलको साइँलो मा पर्थें I ठुल्दाई को सम्म बिहेको कुरा चल्दै गर्दा म बच्चो को बिहे गर्दा कुन हालत हुन्थ्यो म कल्पना पनि गर्न सक्दैनथें I खासमा मलाई बिहे गरेपछि कसरि पाल्ने,लाउन खान दिने भन्ने कुराको जिम्मेबारी को खासै बोध नभएकोले त्यो चिन्ता पनि थिएन I बिहे गरेर दुलही पाल्नुपर्ने कुराले चिन्ता परेको होइन मलाई I गाउँघर मा भित्रिएका बुहारी हरु का लोग्ने को कमाई नभएपनि सामान्य रुपमा घर बार चलेको देखेको थिएँ ,अहिले जस्तो कुनै कमाई नभई बिहे नगर्ने परिपाटी थिएन उबेला I त्यसैले पनि बिहे गरेपछि आफैले पाल्नुपर्ने जिम्मेबारी ले पनि त्यो चिन्ता लागेको हैन I यति सानैमा बिहे गर्दा दुनियाले के भन्लान भन्ने कुराले गर्दा सबैभन्दा बढी लाज लाग्ने समस्या थियो I बिहे गरेपछि दुनियाले जिस्क्याउँछन्,नानाथरी कुरा गर्छन घरमा बाआमा ले के भन्ने होला ,अनि छर छिमेक का साथि भाइ ले झन् कति जिस्क्याउँने हुन् त्यसमाथि स्कुल मा त झन् मुख देखाउन पनि सक्ने थिइन I मेरो स्कुल जान बाटो नै बन्द हुन् सक्थ्यो I बिहे गरेपछि खासै धेरैले पढेको देखिन्नथ्यो उतिबेला I त्यसै पनि घरमा दाजुभाइ र दिदीसंग कहिले काहीं येसो झगडा हुँदा एक अर्को मा आफ्नै क्लास का सहपाटी केटि साथि को नाम जोडेर बोलाउंने (नाम काढ्ने) र धेरै रिस उठाउने चलन थियो ऊबेला I त्यत्तिमै पनि रुने र पिट्न झगडा गर्न थाल्ने म बिहे नै गरेपछि त झन् के बाँकी रहन्थ्यो र ? त्यसरी नाम जोडिएका क्लास का केटि साथि हरु संग बोल्न पनि अफ्ट्यारो र लाज लाग्थ्यो स्कुल मा I कहिले काहीं आमाले काखमा लिएर टाउको सुम्सुम्याउन्दै मेरो काली कहिले ठुलो भएर दुलही ल्याएर मलाई सुख कटाउने होला भन्नुहुँदा त जुरुक्क आमाको काख बाट उठेर खुट्टा बजार्दै रुन्थें तर त्यहाँ त त्यस्तो घुर्की देखाएर रुने ठाउँ पनि थिएन I

यति हुँदा हुँदै दोमन दोधार र अन्योल मा पिङ्ग खेल्दा खेल्दै बेलुकी भैहाल्यो र हामी फर्कने तरखर गर्यौं अब के गर्लिन के भन्लिन भन्ने जिज्ञासा मनमा लागिरहँदै गर्दा ती मैया ले मायालु पाराले मेरो गाला चिमोटेर सबै संग बिदा भएर गईन उनि बिहेको बारेमा केहि नभनी बिदा भएर गएपनि भोलि बिहे गरेर संगै जाने हुन् कि हैनन् त्यो प्रस्ट भएको थिएन अथवा फेरी बिहेको कुरा गर्न आउँछिन कि आउँदिनन भनेर मेरो मन यत्तिकैमा शान्त भएन तर दिदीहरु संग उनले गरेको बिहेको कुरा सोध्न पनि सकिन I उनि गएपछि फेरी मैले आफै बिहेको कुरा कोट्याउंदा झन् दिदीहरुले ए तैंले पनि मन पराइस ? साँचै बिहे गर्ने नै हो , कुरा चलाम त भन्ने जस्ता जवाफ आउने पक्का भएकोले स्वयं त्यो कुराको निधो को लागि सोध्न सकिन I घर पुगेपछि पनि म नखुलेर बसेको देखेर दिदीहरुले नै कुरा उप्काउँदै तिमि लाइ त्यो केटिले बिहे गर्छु भनेर पिर मानेर नबोलेको हो कि क्याहो ? दिन भरि पनि बोलेनौ ठुस्स परेर हिंडी रह्यौ भन्दै बिचरा हाम्रो बालखा भगु भाइ लाइ अहिल्यै किन पो बिहे गर्न दिन्थ्यौं , त्यसले त जिस्क्याएको पो साँचै झैं मानेछौ तिमीले त, कति लाटो हाम्रो भाइ त्यत्ति कुरा पनि नबुझेर यत्रो बेर फुलेर बसेको ? दुलही पाल्न पर्यो भनेर डराएको हो कि क्याहो भन्नु भो I त्यसमा दिदीले पनि थप्दै यो त अलिक घोइरे छ एउटा कुरा चित्त बुझेन भने यस्तै हो जहिले पनि एकोहोरिएर बस्छ भन्नु भयो I अनि बल्ल दिदीहरु मात्रै भएको मौकामा मेरो वाक्य फुट्यो र उनले मसंग बिहे गर्ने कुराले नै त्यस्तो गरेको बताएँ ,अनि किन झन् तिमीहरुले समेत मलाई गिज्याएका र उसैलाई साथ् दिएका भनेर कराएँ पनि I दिदीहरुले साँचै हो त अनि ? जिस्क्याउन पनि नपाइने के भयो त ? जिस्क्याएर त्यो भोलि नै तिमीसंग जाँदिन क्यारे ,अब चुप्प लागेर खुशी भएर बस भन्नु भो अनि दिन भरि वर्षा याम को कालो बादल झैं धुम्मिएको मेरो मन बेलुका मात्रै खुलेर प्रफुल्ल भएको थियो र सामान्य अवस्था मा आएको थिएँ I बिहे गर्न नपर्ने र दुलही को कुरा सकिएको ले ठुलै दशा काटेको जस्तो मन हलुङ्गो भएको थियो र क्षण भरमै म फुरुंग हुँदै दिदीहरु संग गफ़्फ़िन थालेको थिएँ I धन्न दिदीले पनि घर मा आएर ति मैयाको बारेमा अरु कसैसंग र उनको नाम लिएर मलाई पनि केहि भन्नु भएन I
एक चोटी अगुल्टो ले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ भनेझैं त्यसको धेरै वर्ष पछी फेरी त्यस्तै घटना पुनरावृत्ति भयो म माथि I यसपाली पनि म करिब एक्लो नै भएको थिएँ यसपटक भने केटि आफैले त्यस्तो कर गरेको नभएर केटि तर्फ़ का आफन्त हरुले मलाई उम्कनै नसक्ने गरि घेरा हालेर जबर्जस्ति बिहे गरिदिन खोजेका थिए I एकान्तमा दाइ र भिनाजु लाइ केटि मन परेन भन्न पनि पाइरहेको थिएन I लमी बनेर गएको मेरो भिनाजु र ठुल्दाई लाइ मनाएर त्यो बिहे बाट छुटकारा पाउनको लागि निकै पापड बेल्नु पर्यो मलाई I यसपाली भने म साँचै को बिहे गर्नको लागि केटि हेर्न तनहुँ को भिमाद बजार गएको थिएँ I ति अविस्मरणीय घटना अचेल पनि मानसपटल मा ताजा भएर आउंछ र मन मा बेग्लै किसिमको रोमान्चकता थप्छ I

Leave a Reply

Your email address will not be published. Required fields are marked *