Skip to content

ओह्रालो यात्रा

Image-6208__01

‘तिमीले उन्नतिको उकालो चढ्नुपर्छ,
प्रगतिको शिखर चुम्नुपर्छ’
भन्नुहुन्थ्यो राम सर !

हजुरबुवा
डाँडामा बसेर
‘म डाँडामाथिको जून हुँ’ भन्दाभन्दै
डाँडामै घाम बनेर अस्ताउनुभो

घट्ट, पसल, गैरीखेत,
दुधको डेरी र मेरो स्कूललाई
घरदेखिको दूरी घटाउन
बुवा फेदिमा बसाइँ सर्नुभो;

स्कूल पछि क्याम्पस पढ्न
सहरहुँदी झरेँ म
क्याम्पस पछि जागीर खोज्न
झन् ठूलो सहरतिर ओर्लिएँ
ठूलो सहरले नबुझाएको चित्त बुझाउन
युवालाई बगाउँदै आएको
खाडीको बाढीमा होमिएँ

हो, बाढी तल तल बग्छ
खोलाबाढीले नदीमा,
नदीले समुद्रमा,
समुद्रले किनारामा हुत्याइदियो
अहो ! सहजताको शिला टिप्न
क्रमशः ओह्रालो यात्रा पो तय गरिएछ !

यो किनारबाट शिखर
कति टाढा पर्छ ?
कति उचाईमा पर्छ ??
नाप्न सक्दैन मेरो मगज

आजकल गाउँघरमा
बुवालाई छिमेकीहरूले भन्दारहेछन्-
‘तिम्रो छोरोले प्रगति गर्यो’
राम सर !
के प्रगतिको शिखर
समुन्द्रको सतहतिर ओर्लिएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *