Skip to content

घिटिक् घिटिक् गर्दै
छटपटाइरहेको छ
मृत्युशैयामा
एउटा व्यक्ति,

बुढो भएको उसलाई
न त छोरा-छोरीले हेरेका छन्
न त कोही आफन्त नै
छन् त केवल
छिमेकीहरू
जो
खुसी खोस्न र दुःख बढाउन
पल्केका छन्,

रोगी भएको छ ऊ
कुहिएका छन् अङ्गहरू
अनि छोराछोरी
उसलाई बचाउनको सट्टा
हेरिरहेछन् टुलुटुलु
कुहिएर झरेका
उसका अङ्गहरू,

धनी नै थियो ऊ
तर
परार अनिकाल लाग्दा
उसका घरका नोकरहरूले
छिमेकीको घरबाट अन्न मागि
उसैलाई बेचेर
उभन्दा धनी भए
तैपनि ऊ चुप नै थियो
छोराछोरीले हेर्छन् भन्ने
झिनो आशामा,

तर विदेशी चक्लेटको स्वादले
बिग्रिएको जिब्रोले
घरको कुराउनीको
के कदर गर्थ्यो र,

धेरै कुराले धेरैतिर दुखेको
उसलाई
हिजो त आफ्नै छोराले
जिब्रो काटेर
छिमेकीलाई दियो
अब त ऊ
बोल्न पनि नसकी
केवल छटपटाइरहेछ
घिटिक घिटिक गर्दै ।

1 thought on “अन्त्य (सायद)”

  1. निक्कै राम्रो कबिता
    निक्कै राम्रो कबिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *