आपनो जीवनमा धेरै यात्रा त गरेको भन्न सक्दिनँ म, त थोरै भए पनि अविस्मरणीय यात्रा भने गरेको छु । सबभन्दा बढी भारत गएको छु, निजी र समाहोरात्मक दुवै प्रकारले । विभिन्न भ्रमणहरूमा सधैँ विविधता पाउँछु भारतमा ।
धेरै समयअघि भारतको एक अविस्मरणीय साहित्यिक यात्रा गर्ने अवसर पाएको थिएँ । त्यसमा मैले ठूल्ठूला साहित्यिक व्यक्तित्वहरूसित हिँड्न पाएको थिएँ । त्यही मेरो ठूलो उपलब्धि भयो, जुन आज पनि मेरो मानसपटलमा सम्झनाका रूपमा सुरक्षित छ ।
मोहन कोइराला, वासु शशी, डा बानीरा गिरी र जीवन आचार्यका साथ मैले त्यो यात्रा गर्ने अवसर पाएको थिएँ । निम्तो आईसीसीआर -भारतीय सांस्कृतिक सम्बन्ध परिषद्)को थियो । यो यात्राको अगि्रम खबर मलाई शेखर गिरीले दिएका थिए । पहिले त होइन होला भन्ठानेँ । भारत जानु असम्भव कुरो थिएन तर त्यसरी जानु मेरा लागि ठूलो र महत्त्वपूर्ण कुरा थियो ।
दिल्लीको अशोका होटलमा हामीलाई राखिएको थियो, जाँदा पनि, आउँदा पनि । त्यस टोलीमा सबै बराबर हैसियतमै सामेल थिए, तापनि अघोषित रूपमा वासु शशी टोली नेताजस्तै बनेका थिए । कमसेकम मैले त्यस्तै मानेको थिएँ । यसको कारण पनि थियो । विभिन्न ठाउँमा साहित्यिक भेटघाट गर्दा शशी नै अन्य साहित्यकारलाई हाम्राे प्रारम्भिक परिचय दिन्थे । यस्तैयस्तै कारणहरू । त्यस टोलीमा सबभन्दा वरिष्ठ मोहन कोइराला थिए भने सबभन्दा कनिष्ठ जीवन आचार्य थिए ।
दिल्लीमा हामी सबभन्दा बढी बस्यौँ आउने-जाने दिनभन्दा । ठूलो होटल थियो, लन्च, डिनरमा ‘बुफे सिस्टम’ थियो । त्यसअघि म त्यति ठूलो होटलमा बसेको थिइनँ । त्यस कारण ‘बुफे’ तरिकाबाट अनभिज्ञ थिएँ । बिहानको ब्रेकफास्ट खान जाँदा, वासु शशी भन्दथे ‘फाइभ पर्सन्स ।’ त्यो किनभने सिट भरिभराउ भएका बेला एकछिन कुर्नुपथ्र्याे । कहिलेकाहीँ सिट त खाली देखिन्थ्यो तर त्यो बुक गरिएको हुँदो हो, त्यसकारण बस्नलाई भन्नुपर्ने रहेछ । केही समय कुर्नुपर्थ्यो, कहिलेकाहीँ सिट पाउनलाई । वासु शशी यो चलनसित परिचित थिए । म भने थिइनँ, त्यतिन्जेल ।
त्यहाँ त्यसबखत ‘अखिल भारतीय लेखक सम्मेलन’को आयोजना भएको थियो । हाम्रो कार्यक्रममा त्यो बृहत् सम्मेलनको उद्घाटनमा सहभागी हुनु पनि सामेल थियो । पुस्तक प्रदर्शनी पनि थियो । त्यसको उद्घाटन भने हिन्दीका प्रख्यात समालोचक नामवर सिंहले गरेका थिए । मैले त्यहाँ निर्मल बर्मा र सुनील गंगोपाध्यायजस्ता ठूला लेखकसित पनि भेटेँ र अन्तर्वार्ता पनि लिएँ । निर्मल बर्मा, जुन मेरा पि्रय लेखक पनि थिए, को केही समयअघि निधन भयो ।
त्यस सम्मेलनमा मेरा अर्का पि्रय लेखक र कवि श्रीकान्त बर्मा क्यान्सरग्रस्त भएकाले त्यहाँ उपस् िथत हुन नसकेको कुरो पनि पहिलोपटक सुनाइयो । त्यसले धेरैबेरसम्म म गम्भीर भएको थिएँ । पछि उपचार गर्दागर्दै निधन भएको थियो ।
राजेन्द्र यादवलाई पनि मैले त्यहाँ भेटेको थिएँ । अरू नाम मेरा लागि त्यति प्रचलित थिएनन् । त्यो सम्मेलनमा हामी सबैलाई एकौटा ब्याग सहभागीका रूपमा दिइएको थियो । हामी कोठैमा बस्ने भनेर अल्छी मानिरहेका थियौँ, ब्याग दिने भएपछि, अल्छीपना त्यागौँ ।
साँझ सधैँ डि्रंक चल्थ्यो । वासु शशीको एउटा बानी थियो । उनी ‘फर द रोड’ भनेजस्तै ‘फर द बेड’ एक पेग अन्तिम कोठैमा मगाउँदथे । उनी र म एउटै कोठामा थियौँ । वासु शशी आफ्नो जीवनका कतिपय कथाहरू सुनाउँथे, जुन कहिलेकाहीँ त साँच्चिकै एक काल्पनिक कथाजस्तै लाग्थ्यो । वासु शशीका उपन्यास एउटा यस्तो फूल चाहिन्छ को भावभूमि र पृष्ठभूमि त्यसै बखत सुनाएका थिए, जुन उपन्यासजत्तिकै रोचक थियो । शशीको वर्णन कला निकै आकर्षक हुन्थ्यो । त्यस यात्राले हामीलाई निकै घनिष्ट बनाएको थियो ।
एक-दुई दिनपछि एउटा दोधार उत्पन्न भयो । कतैबाट खबर आयो, रक्सी र लुगा धुवाएको पैसा आफैँले तिर्नुपर्छ । लुगा पनि प्रशस्त धुवाएका थियौँ । पछि फेरि शशीले नै भने, होइन, उनीहरूले नै तिर्छन् । दोधार त भयो नै । तर, हामीले जसरी पर्ला त्यसैगरी टर्ला भन्ने सिद्धान्त अन्तर्गत, आफ्नो खानपिनमा भने परिवर्तन ल्याएनौँ । अर्काले तिर्छ भन्दा खाने, आफूले तिर्नुपर्छ भन्दा नखाने, त्यो त अलि राम्राे भएन भन्ने भयो ।
अन्त्यमा लुगा धोएको पैसा त तिर्नुपरेन । तर, स् कचका पेगहरूको पैसा तिर्नुपर्ने भयो । तिर्यौँ पनि । तर, एउटा कुरा भने रोचक छ र अचम्मको पनि । हामी बैंग्लोर पनि गएका थियौँ । त्यहाँ भने सबथोक पाइने थियो । कसरी हो कुन्नि ? दिल्लीको स्वीमिङ् पुलमा खेल्न नपाएको पौडी मैले बैंग्लोरमा बेस्सरी खेलेँ । एउटा खास पौडी मैले खेल्दा, त्यहाँ अन्य पौडी खेल्नेहरूले नि रमाइलै मानेका थिए । मोहन कोइराला, वासु शशीहरू होटलको झ् यालबाट मैले पौडी खेलेको हेरिरहन्थे, रमिताजस् तै । धेरै जना थिए नि त पौडी खेल्ने पनि ।
बैंग्लोर राम्राे सहर हो । हामीसित गाइड हुन्थ्यो, कतै घुमाउन लग्दा । एकपटक गाइडले एउटा रूख देखाएर भन्यो, यो टीपु सुल्तानले रोपेको रूख हो । अचम्मै लाग्यो सुनेर । एउटा रूखले मात्र पनि कति लामो इतिहास बोकेको रहेछ ? मैले यो आशयको कुरा आफ्नो लेखनमा गरेको छु ।
बैंग्लोरमा राती स्टेजमा संगीतका कार्यक्रम हुन्थ्यो । एकदिन त्यहीँ रेस्टुराँमा बसिरहँदा मेरो नाउँ उद्घोषित भयो । मञ्चमा गएर गाउनलाई । कसरी भयो यस्तो, एक अपरिचित ठाउँमा भन्ने लागेको थियो । पछि थाहा पाइयो, यो ‘चमत्कार’ वासु शशीको रहेछ । मैले ‘चाँद आहे भरगा’ भन्ने मुकेशको एउटा गीत गाइदिएँ । सके त्यतिको गाउँला जस्तो लागेको थिएन होला श्रोताहरूलाई । गाएर ओर्लेपछि कतिपय श्रोताले मलाई आफ्नो टेबुल ‘सेयर’ गर्ने निम्तो दिएका थिए । रमाइलो भएको थियो त्यस रात ।
दिल्लीमा पुगेपछि आगरा जाने कार्यक्रम पनि थियो, फत्तेहपुर सिकरी हुँदै । हामीलाई एउटा गाडी दुई जनालाई दिइएको थियो । वासु शशीसित म बसेँ गाडीमा । गाडीका चालक एक सरदारजी थिए, एकदम ‘जिन्दा दिल’ । बाटोभरि गीत गाउँदै, ठट्टा गर्दै हिँडियो । सरदारजी कुनै गीतको कुनै ठाउँ मन पर्यो भने, ‘वाह’ भन्न चुक्दैन थिएँ ।
आगरा त भइहाल्यो । फत्तेहपुर सिकरीमा भने, म सयौँ वर्ष नाघेर अकबरको ऐतिहासिक समयमा पुगेको थिएँ । पाँच सय वर्षअघिका कुराहरू गाइड बताउँथ्यो ‘यो रानी, राजकुमारीहरू खेल्दा उनीहरूको गहना राख्ने ठाउँ, यो हात्तीले मान्छेलाई कुल्चिन लगाउने ठाउँ । यो अकबरले हात्तीको क्रीडा हेर्ने ठाउँ, यो तानसेन गाउने ठाउँ ।’ म त अभिभूत भएको थिएँ । ती सब सुन्दा । मलाई यस्ता ठाउँहरू अत्यन्त मन पर्छन्, जहाँ मान्छे समयपारि पुगेर एउटा सुदूर समयलाई अनुभव गर्न थालोस् । तानसेन बसेर गाउने संगमर्मर छापेको ठाउँ त मैले घुमीघुमी हेरेँ । तानसेन कस्ता होलान् र कसरी गाउँदा होलान् भनेर कल्पना गर्दागर्दै समय कति बित्यो कति ।
यस्ता अविस्मरणीय क्ष्ाणहरू बिताउँदाबिताउँदै हाम्राे फर्किने दिन आयो । म अरूभन्दा दुई दिनअघि फर्कें, यस्तै कुनै कारणले । आज हामीसित सहभागी हुने यात्री जीवन आचार्य, वासु शशी, मोहन कोइर ाला त्योभन्दा पनि लामो, अनन्त यात्रामा हिँडे । एउटा अनौठो प्रक्रिया हेरौँ, जुन क्रममा मैले हाम्रा मित्रहरू बिदा भएको लेखेँ, त्यो सबभन्दा कनिष्ठबाट थालियो । त्यसपछि वासु शशी अनि मोहन कोइराला त निकै पछि । तर, तीन जना हाम्रा सहयात्री हामीसँग छैनन् । यो यात्रा संस्मरण त्यसकारण, ती मित्र र अग्रजहरूलाई श्रद्धाञ्जलीसमेत बन्न गएको छ ।
नेपाल साप्ताहिक ३४०
