म वेला वेलामा सोच्ने गर्थेँ
शान्तिको साँचो कसले लिएको छ?
अनि म मनमनै भन्ने गर्थेँ
यिनै राजनैतिक दलले!
यिनीहरू मिल्ने बित्तिकै
घर छोडेर हिँडेकी शान्ति
फर्किने छे अनि आफ्नो प्रेमी
विकाससँग पिरती गाँस्ने छे।
यी दुईको प्रेमले
देशमा ठुलो परिवर्तन हुनेछ।
लाग्थ्यो हरेक गाउँ, गोठ
घर आँगन अनि पँधेराहरू
उज्याला हुनेछन्।
नभन्दै त्यस्तै भयो।आहा!
भन्दै अनेकौँ सपना देख्दा देख्दै
शान्ति र विकासको मिलन
देख्न नचाहने दुश्मनहरुले
पुनःशान्तिलाई घर छोड्न
वाध्य पार्न खोज्दैछन्।
त्यसैले सयथरी बाजाको
एउटै ताल बजेझैँ
सयथरी गोडाको पनि
एउटै चाल हुनसके अनि
अतीतलाई साक्षी राखि
वर्तमानलाई सिरानी बनाई
हामी सम्पूर्ण नेपाली
व्यक्ति, जाति, समूह र दल
सबैले निस्वार्थ भावले
देशकालागि समर्पित हुनसके
विकास र शान्तिलाई
दुश्मनको हातबाट बँचाएर
घरजम गराउन सकिने छ
अनि सबैलाई रमाउन सकिने छ।
