चराले झैँ चुच्चोमा चारा ल्याएर
हुर्काएका नानीहरू
जब एकदिन
चराझैँ भुर्रर उडेर जान्छन्
यो मनमा एकैचोटि
एउटा खुसी र एउटा दुःख बस्छ
खुसी आँखाबाट खस्छ
दुःख मुटुभित्र पस्छ
रित्तो गुँड हेरेर
भारी मन दुख्न थाल्छ चस्स चस्स
भन्छन्, माया त पानीझैँ ओरालो बग्छ
चराझैँ माथिमाथि उड्नू
र आकाश छुनू
मैले भनेकै हो
चराझैँ सधैँ खुसी हुनू
र गाउँदै हिँड्नू
मैले भनेकै हो
अर्काको गाँस नखोस्नू
आफैँ कमाएर खानू
अर्काको बास नताक्नू
आफैँ बनाएर बस्नू
मैले भनेकै हो
मैले भनेझैँ गर्दैछन् मेरा नानीहरू
तर, किनकिन मलाई भने
यो खुसी त्यति सहज लाग्दैन
सबै चीज पाएर पनि
‘देश’ गुमाएका छन् उनीहरूले
‘देश’ पाएर पनि माया गुमाएको छु मैले
सधैँ पखेटाले तोपेर
राख्नु हुँदैन बचेराहरूलाई
यो पाठ पनि मैले
तिनै चराहरूबाट सिकेको हुँ
उन्मुक्त आकाशमा पखेटा फट्फटाउँदै
सुमधुर गीत गाउँदै
आफ्ना बच्चाहरू उडेको हेर्न पनि
मैले तिनै चराहरूबाट सिकेको हुँ
मैले जे सिकेँ
त्यही सिकाएको छु
आफ्नै पाखुरामा विश्वास
आफ्नै पसिनाको मिठास
प्रेमको प्यास
कर्तव्यको अभ्यास
सबै सबै सिकाएको छु
अब तिमीहरू
आकाशजस्तै सीमामुक्त हुनू
अब तिमीहरू
चराजस्तै निश्चिन्त हुनू
तर, कहिल्यै यो धरातल नबिर्सनू
मेरा प्यारा नानीहरू
मैले जे गर्न सकिनँ
अब त्यो सबै तिमीहरूले गरेर देखाउनू
नेपाल साप्ताहिक ३४०