Skip to content

भाषा भेषभुषा समस्त जगमा संस्कार भिन्नै सुने
खोजे अन्त कतै मिलेन समता हाम्रा यि जस्तै हुने
मान्छेको मनमा छरेर ममता सम्बन्ध गाँस्दै लयो
जाती वर्ण अनेक धर्म रहने नेपाल नौलो भयो

पूराना मठ मूर्ति अद्भुत बने पाइन्न अर्को नयाँ
गुम्बा मन्दिरले पुरै छ भरिलो यो सिद्ध संसारमा
मेरो देश विशाल भूचित्र भित्रै आकार सानो छयो
शिल्पी हात कुँदेर विश्व चिनियो नेपाल नौलो भयो

हावामा मिसिँदा खुला प्रकृतिको वास्ना र उन्मादता
चुम्ने डाह गरी उडेर भमरा चाहार्छ कान्ला गरा
फिर्दा मास रुपै बदल्छ ऋतुले साया लुकाई गयो
सारा सृष्टि समष्टि संगम थलो नेपाल नौलो भयो

रोप्दा धान किसान खेत तलको भाका झिकी गाउँदै
डाँफे नाँच्छ गुराँस फेद नजिकै नौ रंग फैलाउदै
सेताम्मे चुचुरा पहाड हरिया सम्मो तराई रह्यो
भारी अन्न फलाउने मुलुक भै नेपाल नौलो भयो

बाजा नौमति पर्व उत्सव हुँदा शोभा बढाई दिने
सारंगी धुन गुञ्जिदा विरहको आँखै रसाई दिने
घन्क्यो मादलु लोक गीत लयमा रातै उसैमा बह्यो
स्वर्गैको सुखमा बिछट्ट घुलियो नेपाल नौलो भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *