हाम्रो भेट मात्र भेट थिएन्
त्यो त एउटा अपूर्व संयोग थियो
तर कुनै प्रेमी प्रेमिकाले गर्ने
प्रेमको शुभारम्भ थिएन् त्यो भेट
तर पनि
प्रत्येकचोटी तिमीसँग भेट हुँदा
तिम्रा सङ्घर्षका कथाले मेरो मन छुने गर्छ
तिम्रा वेदनाका आँशुले मेरो मन पनि
तिम्रो मन झैँ द्रवित हुने गर्छ
तर तिम्रो हौसला र इमान्दारी देख्दा
गर्वबोध हुने गर्छ
अनि जाग्छ तिमीप्रति प्रेमाभाव पनि
एउटा यस्तो प्रेम / विशुद्द मनको प्रेम
कामवासनारहित प्रेम
न त मैले न त तिमीले एकापसमा स्वार्थवश भेट गर्ने गरेको हो
मेरो पनि आग्रह अनि
तिम्रो पनि सहमतिमा
तिमीसँग पटक पटक मैले भेट गर्नु कुनै पूर्वाग्रह थिएन
केवल तिमीप्रति एउटा विश्वास र आस्था मात्र थियो,
तिम्रो सौन्दर्यले वशीभूत भएर पनि
मैले तिमीसँग भेट गर्ने गरेको होइन्
न त कुनै वासनाको मद आशक्ति नै छ तिमीप्रति ममा तर पनि
सधैं सधैं तिमीसँग भेट गर्ने चाहना जस्तै कठिन अवस्थामा पनि मरेन
सम्बन्धका टकरावहरुमा पनि रोकिएन हाम्रो भेटघाट
मनभित्र जति पीडा भए पनि हाम्रो भेट रोकिएन
यथार्थमा जब तिमीलाई एकान्तमा पहिलोचोटी भेटेको थिए
मेरो मनको मिलन तिम्रो मनसँग त्यतिखेरै भएको थियो
हो त्यसैले तिमीलाई अलि अलि चोट लाग्ने बितिकै
त्यसको अशाध्य पीडा मलाई हुने गर्दछ
तिम्रो खुशी नै मेरो खुशी
तिम्रो कथा व्यथा नै मेरो पनि कथा व्यथा भएको अनुभति हुने गर्दछ
हो त्यसैले
झन् पटक पटक भेटेर तिमीलाई मेरो माया पोख्न मन लाग्छ
तर केवल वासनारहित माया
मानौ एउटा भगवत प्रेम जस्तो / केवल करुणा मात्र भरिएको प्रेम
मलाई थाहा थिएन् मायाको अर्थ कहिलेकाही साँघुरो पनि हुँदोरहेछ
मायाको अर्थ गलत पनि लाग्दो रहेछ
त्यसैले तिमी र म आज दोबाटोमा उभिएका छौ
टक्क रोकिएका छौ
मानौ तिम्रो मनमा पनि शङ्काको ज्वालाअग्नि बलेको छ
मप्रति तिम्रो विश्वास कतै डगमगाएको छ
मलाई पनि कता कता शङ्का लागेको छ
कतै तिमीले मसँग राखेको सम्बन्ध केवल स्वार्थका लागि त थिएन्
तर यो त केवल मेरो मनको गलत शङ्का मात्र जसरी हो तिम्रो नजरमा
त्यसरी नै तिमीले मप्रति गरेको शङ्का निराधार हो
हो यतिखेर
तिमीसँग भेट हुन् नसकेर
मेरो मन शिखा मैनबत्ती झैँ पग्लिरहेछ
तिमीले व्यक्त गरेका शङ्काहरुले निरन्तर मुटु जलिरहेछ
तर सबै शङ्काको समाधान केवल विश्वास हो
मान्छेले केवल मान्छेभित्रको मान्छे चिन्न सक्नु पर्दछ
तिम्रो र मेरो जीवनको यात्रा अलग हो
तर गन्तव्य भने फरक छैन
तिमी र म दोबाटोमा टक्क रोकिए पनि
गन्तव्य हामीले तय गर्नुछ
त्यसैले फेरि पनि मैले विश्वासको हात अघि बढाएको छु
आऊ तिमी र फेरि दुवै हात मजबुत गरेर यात्रामा अघि बढौ
शङ्काका सबै तुवांलोहरुलाई चिर्दै
फेरि पनि तिम्रो मन र मेरो मनलाई एकाकार गरौ
गलत अर्थको माखेसाङ्ग्लोमा जेलिएर होइन्
आऊ सम्बन्धका नवीन डोवहरू खोजौ !
