Skip to content
SubashRai-02


दुर्लभ कथाहरू
मन र मायाको
साँचेर बसेको छु
मनको मझेरीमा
गोडेर चिल्ला परेको छु
आँगनका डिलहरू
तर कुनै फूल सारेको छुइन
मात्र तिम्रो बाटो पर्खेको छु
हल्ला गरेर नहुने
सल्लाह गरेर पनि नहुने
मायाका बातहरू
साटेरै काम चलाउनु पर्ने
त्यो सुन्दर दिन
कल्पेर बसेको छु
कुनै दिन तिमी
पूर्णिमाको जुन जस्तै
संसार उज्यालो बनाउने
प्यासी मुस्कान लिएर
मेरो आँगनीमा टेक्ने छौँ
अनि त्यो दिन
मेरा यो अन्धकारले छोपेका मुहार
सबैले एक पटक
नमज्जाले चम्केको देख्नेछन्
र…..
त्यै दिन पूरा हुनेछन्
यो दुर्लभ कथाका वाक्यहरू
मासिने छन् मन र मायाका साँधहरू
फूल सारिने छन् आँगनीमा
अनि नयाँ हातले पोतिने छन्
उप्किएका यी मझेरीहरू
तिमीसँगै उदाउने छन्
मेरो सानो संसारमा
सुनौलो न्यानो मायाको घाम ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *