Skip to content

घुमन्ते साहित्यिक शृङ्खला


चैत्र महिनाको अन्तिम शनिवार, उखरमाउलो घाम त्यसमा पनि पहाड चढ्नु कठिन त अवश्य नै हो । तर पनि हरियो वन, ढकमक्क फुलेको लालीगुराँस, लटरम्म फुलेका काफल, ऐसेलु कोइली चरीको कुहु कुहु…, कुक्कु चरीका गान, कालिज तथा अन्य चराचुरुङ्गीहरू बसन्त ऋतुको उमंगमा रमिरहेको दृश्यका साथ भक्तपुर साहित्य प्रतिष्ठानको मासिक घुमन्ते साहित्य शृङ्खला ललितपुर जिल्लाको सीमानामा पर्ने भक्तपुर जिल्लाको दक्षिणी भेगमा अवस्थित दघिकोट गाविसमा पर्ने चमेली वनको शीतल छहारीमा सम्पन्न भयो ।
काठमाडौंबाट १३ कि.मी.पुर्वमा रहेको विरुवा बसपार्कबाट ५०० मिटर जति उचाइमा रहेको रमणीय चमेलीवन समानान्तरमा रहेको लाकुरी भन्ज्याङ्गको विशेषता झल्काउने स्थानको रुपमा रहेछ । टाकुरासम्म सवारी साधन पुग्न नसक्नु र प्रचारप्रशारको कमिले मात्र यो स्थल अवलोकनकर्ताको घुइचो थेग्न नपरेको हुनु पर्छ । प्रकृतिप्रदत्त रमणीयस्थल, काठमाडौं उपत्यकाको समथरफाँट र शहरी दृश्यलाई नजिकबाट नियाल्न सकिन्छ । प्रकृतिसँगै साहित्यमा रम्न काठमाडौं, भक्तपुरबाट एवं स्थानीय सहित्यकारहरुको जमघट भएको थियो । केही ढिला गरेर भक्तपुरबाट आइपुग्नु भएका साहित्यकार ध्रुव मधिकर्मी संचालकप्रति कठिन यात्राको तिक्ततालाई रोष प्रकट गर्नु भएपनि उक्त प्रकृतिप्रदत्त स्थानको रमणीयता एवं दृश्यावलोकबाट शान्त हुनु भएको थियो ।
रेडियो एफ एम ८८.८ का साहित्यिक कार्यक्रम संचालन समेत रहनु भएको भक्तपुर साहित्य प्रतिष्ठानका रामगोपाल अशुतोषले कार्यक्रम संचालन गर्नु भएको थियो । कतै कार्यक्रमलाई एफएम प्रत्यक्ष प्रशारण त गर्दै छैनन् भन्ने जस्तो भान हुने गरी विभिन्न अलंकार जोड्दै गर्नु भएको उद्‍घोष गर्दै थिए ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं दायित्व मासिक साहित्यिक पत्रिका सम्पादक रामप्रसाद पन्तको प्रमुख आतिथ्यमा संचालन भएको थियो । उक्त कार्यक्रममा भक्तपुर साहित्य प्रतिष्ठानको मान्यता अनुसार व्यक्तिले भन्दा साहित्यले नै सभालाई मर्यादित बनाउँदछ । सोही अनुरुप स्व.हरिभक्त कटुवालको “जीवनः एउटा लाश, एउटा शिशु” शीर्षकको कवितालाई सभापति बनाइएको थियो । उक्त कविता प्रतिष्ठानका उपाध्यक्ष अगिव बनेपालीले बाचन गर्नु भएको थियो । काठमाडौंबाट आउनु भएका रामप्रसाद पन्त अनामण्डलीका सुरेश सुवेदी, रुपक अलंकार भक्तपुरबाट ध्रुव मधिकर्मी, रत्नकोजू, रमेशजंग सिजापति, रामगोपाल अशुतोष, अगिव बनेपाली, सुमा श्रेष्ठ तथा स्थानीय सकु थापा, ईश्वर बुढाथोकी, देवनारायण कार्की, नवराज घिमिरे लगायतका श्रष्टाहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो । रामप्रसाद पन्त तथा ध्रुव मधिकर्मीबाट समसामयिक सहित्य एवं बाचित साहित्यप्रति समीक्षा गर्नु भएको थियो ।
………….
खान नपाएको पानीको तिहुन
र नदेखेको भूसको इतिहास बिर्सेर
उ सत्तो सराप्छ मार्क्सलाई
-कविता (रामगोपाल अशुतोष)
……..
ईश्वरहरु
रक्त बलीले तृप्त
ढुङ्गा आकृति
-हाइकु(सकु थापा)

चमेलीवनको शीतलता, पौडेलधाराको चीसो पानी, स्थानीय मकै भटमासको मिठाससँग जिब्रो ‍नै ट्वाक्क पार्ने गुन्द्रुकको अचारले थकान र भोकलाई सन्तुष्टी पारेको थियो भने स्थानीय मोहीले झन शीतलता प्रदान गरेको थियो । त्यहाँ पुगेका मित्रहरु हरियाली वनभित्रको शीतलतासँग वनैभरी फुलेका लाली गुराँसका फूलहरु रमिरहेका थिए भने केही ऐसेलुको बोटहरुमा छापाछाप्ती हुन पुगेको थिए । चमेलीको वनको प्राकृतिक रमाणियतामा भक्तपुर साहित्य प्रतिष्ठानको चैत्र महिनाको घुमन्त साहित्य शृङ्खला यसरी सम्पन्न भएको थियो ।

1 thought on “घुमन्ते साहित्यिक शृङ्खला”

  1. ईश्वरहरु
    रक्त बलीले

    ईश्वरहरु
    रक्त बलीले तृप्त
    ढुङ्गा आकृति

    शतप्रतिशत सत्य!

Leave a Reply

Your email address will not be published. Required fields are marked *