कृष्णप्रसाद पराजुलीको ‘प्रयोगात्मक भाषातत्त्व’

  • by


विशेष गरी बालसाहित्य, गीत र छन्दोबद्ध कवितामा प्रख्यात कृष्णप्रसाद पराजुलीको जन्म वि.सं. १९९२ साल असार २४ गतेका दिन काभ्रेमा भएको हो । हाल सानेपामा स्थायी बसोबास गर्दै आएका पराजुली त्रिविमा सहप्राध्यापक भई सेवा निवृत्त उनले कविताकाव्य सात, कथा एकाङ्की सात, निबन्ध प्रबन्ध नौ, भाषा व्याकरण चार, लोकसाहित्य दुई, बालसाहित्य १६ गरी जम्मा ४१ वटा कृति नेपाली भाषासाहित्यरूपी मन्दिरमा चढाइसकेका छन् । यसका साथै विभिन्न पत्रपत्रिकामा बालसाहित्य र लेखनिबन्ध फुटकर रूपमा प्रकाशित हुँदै आएका छन् । वृद्ध अवस्थामा रोगबाट ग्रसित पराजुली अझ पनि साहित्यमा क्रियाशील छन् ।

वि.सं. १९०३-२००७ सालसम्म नेपाली भाषा र साहित्य गर्भमै रहृयो, खुलेर प्रकट हुने अवसर पाएन । एउटा अँध्यारो रात्रिका जूनकीरी बनी जयपृथ्वीबहादुर सिंह उदाएका थिए, देवशमशेरको साथ पाएर तर चन्द्रशमशेरले दुवैलाई लखेटे । जटिल परिस्थितिमा पनि गोरखापत्रको प्रकाशन र विविध विषयगत पाठ्यपुस्तक निर्माण गरी विद्यालय खोलेर जनताका छोराछोरीलाई शिक्षा दिनुपर्छ भन्ने साहसी कदमका साथ अगाडि बढ्ने जयपृथ्वीले नेपालमै पहिलोपटक ‘प्राकृत व्याकरण’ लेखी नयाँ युगको ढोका त्यति बेला नै खोले पनि क्रमिक रूपमा त्यसले अघि बढ्ने मौका पाएन । व्याकरणको पुस्तक सानै भए पनि जयपृथ्वीले त्यसको बीज रोपेका हुन् । पछि पुष्करशमशेरले ‘नेपाली सजिलो व्याकरण’ लेखी भाषाप्रयोगमा इँटा थप्ने काम गरेका छन् । २०२३ सालमा कृष्णप्रसाद पराजुलीले ‘राम्रो रचना ः मीठो नेपाली’ शीर्षकको भाषिक पुस्तक प्रकाशित गरेपछि भाषा र साहित्यका शिक्षक तथा विद्यार्थीलाई कोसेढुङ्गा सावित भयो ।

विकासको गति सँगसँगै निगमनात्मक विधिबाट आगमनात्मक विधिले प्राथमिकता पाउन थाल्यो । भाषालाई सैद्धान्तिक बनाएर मात्र हुँदैन, विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिनुपर्छ भन्ने उद्देश्यले ओतप्रोत भएका पराजुलीले २०३५ सालमा ‘प्रयोगात्मक भाषातत्त्व’ शीर्षकको व्याकरण प्रकाशित गरी भाषालाई सरलीकरणतर्फ मोड्ने काम भयो । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको यस पुस्तकको चौबीसौँ संस्करण छापिइसकेको छ ।

प्रस्तुत पुस्तक २०८ पृष्ठ र १६ पाठमा संरचित छ । पहिलो पाठमा ‘वर्ण’ अन्तर्गत स्वर र व्यञ्जनलाई चिनाउने काम भएको छ । यस पाठमा विशेष गरी माध्यमिक तहका विद्यार्थीलाई हुने गरी पाठहरू विन्यस्त गरे पनि यसले सामान्य रूपमा उच्चमावि र स्नातक तहसम्म पनि काम गर्ने देखिन्छ । दोस्रो पाठमा ‘पदविभाग’ शीर्षकमा नाम, सर्वनाम, विशेषण, क्रियापद, अव्यय

-निपातसमेत)लाई चिनाउने काम भएको छ । छोटो परिभाषा र स्पष्ट उदाहरणबाट प्रत्येक पक्षलाई सरल तरिकाले प्रस्तुत गरिएको छ । तेस्रो पाठमा ‘शब्दरूपान्तर’ अन्तर्गत लिङ्ग, वचन, कारक र विभक्तिलाई स्पष्ट्याई शब्द रूपावलीलाई समेत समावेश गरिएको छ । चौथो पाठमा ‘काल र क्रियाका रूप’ अन्तर्गत कालको सामान्य परिचयका साथै क्रियापद वर्गीकरणका विविध आधारका साथै क्रिया रूपावलीलाई महत्त्व दिइएको छ । पाँचौँ पाठमा ‘वाच्य र वाच्यपरिवर्तन’ शीर्षक अन्तर्गत वाच्यको चिनारी र उदाहरण अनि परिवर्तन गर्ने तरिका र प्रशस्त प्रयोगलाई आत्मसात् गरिएको छ । छैटौँ पाठमा ‘शब्दनिर्माण’ शीर्षक अन्तर्गत उपसर्ग, प्रत्यय र समासलाई समावेश गराइएको छ । उपसर्ग र प्रत्ययबाट निर्मित विविध शब्दका साथै समास र विग्रहका प्रशस्त उदाहरणले पाठक र विद्यार्थीलाई सरल तरिकाले सिकाउने प्रयास भएको छ । सातौँ पाठमा नेपालीका निजी झर्रा शब्द मानिने ‘अनुकरणात्मक शब्द’ लाई प्रस्तुत गरिएको छ । यस पाठमा अनुकरणात्मक शब्दको वाक्यमा प्रयोग र अर्थसमेत दिएबाट स्वाध्ययन गर्ने पाठकलाई समेत उपयोगी हुने देखिन्छ । आठौँ पाठमा ‘वाक्ययोजन’ शीर्षकअन्तर्गत उद्देश्य र विधेय, वाक्यका अर्थ वा भाव, सङ्गति, वाक्यमा पदक्रम आदिलाई समावेश गराइएको छ । अधिक उदाहरण र विविध नियमका साथमा सरल तरिकाले प्रस्तुत भएको यो पाठ विद्यार्थीले सहज तरिकाले बुभ\mन सक्छन् । नवौँ पाठमा ‘वाक्यका स्वरूपः संश्लेषण र विश्लेषण’ शीर्षकअन्तर्गत सरल, मिश्र र संयुक्त वाक्य परिवर्तनका प्रशस्त उदाहरणका साथै संश्लेषण र विश्लेषणलाई पनि समावेश गराइएको छ । दसौँ पाठमा ‘गति यति, बलाघात र स्वर प्रसारण’ शीर्षकअन्तर्गत गति, यति, शब्द बलाघात, वाक्य बलाघातका साथै ध्वनिमूलक स्वर प्रसारण र लयमूलक स्वर प्रसारणलाई चर्चा गरिएको छ । एघारौँ पाठमा ‘वर्णविन्यास र चिन्ह परिचय’ लाई उदाहरणसहित स्पष्ट्याउने कार्य भएको छ । बाह्रौँ पाठमा ‘शब्दभण्डार’ शीर्षकअन्तर्गत पारिभाषिक शब्द, पर्यायवाची शब्द, अनेकार्थ शब्द, विपरीतार्थक शब्द, श्रुतिसमभिन्नार्थक शब्द आदिलाई प्रशस्त उदाहरण र वाक्यमा प्रयोगसहित सरलता थपिएको छ । तेह्रौँ पाठमा ‘शिल्प प्रयोग’ शीर्षकअन्तर्गत थोरै वा धेरै जनाउने शब्द, अलङ्कृत शब्द, भावपूर्ण शब्द, आदरार्थी शब्द, सारशब्द आदिलाई प्रशस्त उदाहरण र वाक्यमा प्रयोग गरी जटिलतालाई सरलतामा परिणत गरिएको छ । चौधौँ पाठमा ‘टुक्का र उखान’ शीर्षकअन्तर्गत उखान र टुक्कालाई सरल वाक्यमा प्रयोग गरी स्तरीकरण गरिएको पाइन्छ । पन्ध्रौँ पाठमा ‘सार ः विस्तार’ शीर्षकअन्तर्गत सारलेखन र भावविस्तारका उदाहरण र प्रयोगलाई प्राथमिकता दिइएको छ । अन्तिम सोह्रौँ पाठमा ‘लय र छन्द’ शीर्षकअन्तर्गत लोकलय र वाणिर्क छन्दलाई महत्त्व दिइएको छ । यसमा गण चिन्ने तरिका र प्रशस्त उदाहरणले शिक्षकका साथै विद्यार्थीलाई पनि फाइदा पुग्ने देखिन्छ । माध्यमिक तहका साथै उच्चमाध्यमिक अनि विश्वविद्यालयका सुरुका ऐच्छिक नेपाली अध्ययनार्थ प्रवेशी विद्यार्थीलाई पनि यसले सहयोग पुर्‍याउने देखिन्छ ।

प्रस्तुत पुस्तकको सन्दर्भमा मोहनराज शर्माले भनेका छन्- “मूलतः शैक्षिक प्रयोजनका लागि लेखिएको श्री पराजुलीको ‘प्रयोगात्मक भाषातत्त्व’ पुस्तकका खास विशेषता हुन्- विषय प्रतिपादनको सरलता, सहज बोध गराउने उदाहरणको प्रचुरता र आर्जित ज्ञानको सुदृढीकरणका निमित्त अभ्यासको समावेश ।” -भूमिकाबाट)

भरतराज पन्तले भनेका छन्- “प्रयोगात्मक भाषातत्त्व सजिलो भैकन रसिलो छ, रसिलो भैकन चहकिलो छ । नयाँ परिपाटीमा नेपाली भाषा जगैदेखि दरिलो पार्ने हो भने विद्यालयमा यस्तै पुस्तक पढाउनुपर्छ ।” -भूमिकाबाट)

रामजीप्रसाद शर्माले भनेका छन्- “प्रयोगात्मक भाषातत्त्व माध्यमिक तहका प्रत्येक विद्यार्थीका निम्ति उपयुक्त छ । यसले विद्यार्थीहरूमा समुचित स्थान पाउनु आवश्यक छ ।” -भूमिकाबाट)

बालमुकुन्ददेव पाण्डेले भनेका छन्-“प्रयोगात्मक भाषातत्त्व विद्यालयका परीक्षामा उत्तीर्ण हुनका निम्ति मात्र होइन, नेपाली भाषा शुद्धसँग बोल्न र लेख्नका निम्ति पनि निकै उपयोगी छ ।” -भूमिकाबाट)

शिसपी -शिवप्रसाद सत्याल पीठ) ले भनेका छन्- “माध्यमिक विद्यालयमा यस्तै उपयोगी पुस्तकलाई पाठ्यपुस्तक वा सहायकका रूपमा राखिएमा माध्यमिक तहको पढाइ लेखाइमा अपेक्षित सुधारको आशा लिन सकिन्छ ।”

-भूमिकाबाट)

‘प्रयोगात्मक भाषातत्त्व’ वास्तवमा भाषाको एउटा प्रयोग हो, जसले तोकेको स्तर -माध्यमिक तह) लाई समाउने काम गरेको छ । प्रत्येक पाठको विषयवस्तु बुभ\mन सरल परिभाषा र उदाहरण अनि अन्तिममा तिनै उदाहरणबाट पर्ने गरी विभिन्न विधिका प्रश्न समाधान गर्दा विद्यार्थी सम्बन्धित विधामा निकै अगाडि बढ्न सक्ने हुन्छन् । सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञान लामो समयसम्म रहने हुँदा विद्यार्थीले जुन कुरा सिक्छन्, त्यो दीर्घ कालसम्म रहने देखिन्छ । पढेको भन्दा सुनेको र सुनेको भन्दा देखेको अनि देखेको भन्दा प्रयोग गरेको कुरा वा विषय चिरस्थायी हुने भएकाले पराजुलीले त्यही चिरस्थायी विधिको खोजी गरेका छन् ।

नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट अधिराज्यका विद्यालयहरूका लागि सन्दर्भ पाठ्यसामग्रीका रूपमा स्वीकृति पाएको यस पुस्तकले अधिकांश विद्यार्थीको मन जित्न सफल भएको बुझिन्छ । पाल्पा जिल्लाबाट एसएलसीमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीसँग अन्तर्वार्ता लिँदा कृष्णप्रसाद पराजुलीबाट सिर्जित ‘प्रयोगात्मक भाषातत्त्व’ को योगदान हो भनेबाट पनि पुस्तकको महत्त्व स्वतः झल्कन्छ । अन्य धेरै बोर्डमा आउने विद्यार्थीले पनि यस पुस्तकको विषयमा प्रशंसायुक्त विचार दिएका छन् ।

पराजुलीले जुन समयमा यस पुस्तकलाई सार्वजनिक गरेका थिए, त्यस सन्दर्भमा हेर्दा यसको तुलनामा अर्को कुनै पुस्तक फेला पर्दैन । हाल आएर बजारमा भाषाका विविध पुस्तक फेला परे पनि यसको महत्त्वमा कुनै कमी आएको छैन । पुराना भाषिक पुस्तकलाई नै सन्दर्भ सामग्री बनाई कतिपय पुस्तक बजारमा आएकै छन् । कतिपय पुस्तक भने पुरानै सामग्री भए पनि त्यसलाई नयाँ ढङ्गले प्रस्तुतीकरण गरिएको पाइन्छ । जति बेला भाषाका सामग्रीको कमी थियो, त्यति बेला भाषाको पुस्तक लेख्नु भनेको चानचुने कुरा होइन ।

भाषा जटिलताबाट सरलतातिर प्रवेश गर्दछ । यसको मतलब सैद्धान्तिक पक्षबाट प्रयोगात्मक पक्षलाई आत्मसात् गर्छ भनेको हो । केही समय अगाडिसम्म परिभाषामुखी भाषा अहिले बढी मात्रामा प्रयोगमा उत्रिएको छ । प्रयोगात्मक पक्षलाई सहज र सरल तरिकाले ग्रहण गर्न सकिन्छ । विद्यार्थीले पनि प्रयोगात्मक पक्षमै बढी अङ्क प्राप्त गर्दछन् । सैद्धान्तिक विषय पढाउन जति खल्लो र पट्यारलाग्दो हुन्छ, प्रयोगात्मक पक्ष पढाउन त्यति नै सहज र स्वादिलो हुने गर्दछ ।

प्रस्तुत पुस्तकलाई लेखकले क्रमिक रूपमा परिमार्जन गर्दै आएका छन् । यो समयको माग पनि हो । प्रथम संस्करणमा जुन रूप लिएर यो पुस्तक सार्वजनिक भएको थियो, चौबीसौँ संस्करणमा आइपुग्दा यसले नयाँ रूप प्राप्त गरेको छ । समयअनुसार परिवर्तन हुन जान्नु नै लेखकको सफलता हो । यस पक्षको लेखन क्षेत्रमा अनुभवी पराजुली निकै सक्षम छन् । लामो समयसम्म प्राध्यापन पेसामा संलग्न भएकाले पनि विद्यार्थीको स्तर र कालक्रमिक आवश्यकता बोध भएको हुन सक्छ । एउटा सफल लेखक आफैंमा असल समालोचक पनि हो । आफ्नो कृतिलाई आपै”mले सकारात्मक र नकारात्मक दुवै दृष्टिले हेरी नकारात्मक पक्षलाई कटौती गर्ने गर्दछ । यसर्थ असल सर्जक हुनका निम्ति समालोचक हुन पनि त्यतिकै आवश्यकता देखिन्छ ।

निचोडमा भन्दा कृष्णप्रसाद पराजुलीलाई चिनारी दिने कृति यो ‘प्रयोगात्मक भाषातत्त्व’ मात्र होइन । यो त सागरभित्रको एउटा मोती मात्र हो । यस्ता मोतीका कैयौँ दाना पराजुलीभित्र समाहित छन् । सिर्जनशीलताका बेजोड प्रतिभा पराजुलीले नेपाली भाषा र साहित्यको भण्डार भर्ने कार्यमा अहं भूमिका निर्वाह गरेका छन् । आगामी संस्करणमा अझ परिमार्जित रूपमा देख्न पाइनेछ भन्ने आशा गरौँ । पाठ्यक्रम विकास केन्द्रले तोकेको भाषिक पाठ्यक्रमअनुसार पुस्तक परिमार्जित हुँदै आए पनि यसमा सामान्य सुधार गर्ने ठाउँ भने अझ पनि देखिन्छ । भनिदिन जति सजिलो छ, गर्नलाई निकै कठिन छ तर पनि सुयोग्य लेखकले यस विषयमा विचार पुर्‍याउँदापुर्‍याउँदै पनि वृद्धावस्थाका कारणले चाहेका कतिपय कुरा पूर्ण हुन सकेका छैनन् होला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *