Skip to content

समृद्ध नेपाल खोई ?


लेख्यौ रे नव संबिधान कसरी यत्रो महाँजालमा ।
गर्दैछन् कतिले बिरोध यसको धारा दफाछन् जहाँ ।।
लेखेथ्यौ जब त्यो विधान सजिलै लेखेर खै के भयो ?
के हुन्थ्यो अब शान्ति कायम नभै समृद्ध नेपाल यो ।।

मैले जो सपना रचेर मनमा बुन्दै सजाएँ कति !
मेरो यो प्रिय देश बन्दछ दरो गर्दै नयाँ उन्नति !!
तिम्रो हाँक कता गयो बचनको ? अन्यत्र गै मडियो ।
उल्टो चाल हिडेर बन्छ कसरी ? समृद्ध नेपाल यो ।।

मर्दैछन् निमुखा भए अधमरा ती सर्वहाराजन ।
मेरो स्वप्न सही थिएन कि कसो ? मर्दैछ मान्छे किन ?
देख्दैथेँ सपना कयौँदिन यता देख्नु सबै ब्यर्थ भो ।
यात्रा निस्फल भो र व्यर्थ थलियो समृद्ध नेपालको ।।

जोत्ने गोरु बसे सधैँ कहरमा साँढे अघाए त्यहाँ ।
बस्छन् मालिक भै रमेर जनता आनन्द भोग्दै कहाँ ?
सारा त्यो सपना छ देश जनताको बक्षमै लुप्त यो ।
मैले भूल गरेँ कि देख्न सपना समृद्ध नेपालको ?

निर्धाको नहुने कुनै कदर ती सोझा पछौटे भए ।
बाठाको छ सधैँ रजाई दुनियाँ लाटा परै पन्छिए ।।
पाए खै कसरी र कुन् सहिदको के मान्यता भो अझै ।
ब्यर्थैनै सपना तुहेर सकियो समृद्ध नेपाल खै ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *