Skip to content

बुढो ढाक्रे

एउटा बुढो ढाक्रे !
साहुको भारी बोकेर; अोहोदोहोर गर्छ
नाम्लो चेप्टिए झैं उसको पेट
मानौं त्यो सारङ्गी हो
बज्ने गर्छ ; सारै नमिठो धुन निकालेर
हो सारङ्गी धुन निकाल्ने बाजा
कहिले नउक्सिने उसको पेट

बिचरा बुढो ढाक्रे
गलिसकेको उसको जीवन चक्र
ढलिसकेको जवानी
साठी बसन्त पार भैसक्दा पनि
मीठो मसिनो खान
चाडबाड नै पर्खिनुपर्ने
उसको बध्यता

तोक्माको आडमा ठिङ्ग उभिन्छ
चौतारीको एक्लो पिपल झैँ
एकछिन सुस्केरा हाल्छ
खुइय गर्दै बिसाउँछ फलैंचामा
भारी उसले बिसाएको हो वा
भारीले उसलाई बिसाएको हो ?
हेर्छ पल्याकपुलुक भोको पेट छाम्दै
आँखा पल्टाउँछ उकालो तिर
अनि अौँला भाँच्न थल्छ

नजिकै छेउमा एउटा कुकुर हल्लाउदैछ पुच्छर
केही खान मागेझैँ
घुम्छ कुँइ कुँइ गर्दै
अनि अलिक पर जान्छ र मुख जोत्छ धर्तीमा
खान्छ अघाउँजी मान्छेको बिष्टा

छी: ! कस्तो जिन्दगी यो मान्छेको
धिक्कार छ यो मानव जुनीलाई
हेर त ! बिचरा भोको मान्छे !!
मान्छे किन कुकुर हुन सकेन ?

???? ???? ???? ????

Leave a Reply

Your email address will not be published. Required fields are marked *