अनौठो दिन, विशेष बसाई, अलौकिक हेराई, अनि गफ । जसलाई मैले अनौठो मान्दै सुनिरहेको थिएँ । उसको सम्झौता । विशेष सम्झौता ।
विगतमा ऊ मेरो सामीप्यबाट भाग्ने गर्थी तर आज उसको सामीप्यले ? सामीप्यको भयले म भयभित भएको छु । चन्द्रमुखी अनुहारमा रहरलाग्दा आँखा, सामान्य नभई नशालु अनुभव गरेँ मैले । त्यसबखत हरेक शब्दशब्दमा उसले सङ्गीत भर्ने गर्थी ओठ टोकेर । डर, त्रास अनि रमाइलोको यो कस्तो अनुभवको पीडा हो ? बुझ्न खोज्छु । दैनिकभन्दा फरक अनुभवले किन म यसरी चिन्तित छु ? सायद उसले आज आफूलाई बुझी । जीवनलाई बुझी र यो निर्णय गरी । सम्झौताले ज्वाला दन्काएको छ शरीरभरि ।
‘म आफैँमा खल्लो छैन, स्वयंमा कठोर र निर्मोही छैन, म चट्टान होइन, म पनि अरू नारीजस्तै नौनी हुँ । जम्न होइन पग्लेर बग्न दिनुपर्छ अनि एउटा नयाँ स्वाद चाख्नुपर्छ । अनुभवको बायोडाटामा एउटा अङ्क थप्नुपर्छ मीठोसँग ।’ ऊ आफैँभित्र सलबलाई । माया, ममता, स्नेह अथवा प्रेमजस्तै कुनै भावनासहित समर्पित भई तर सम्झौता ? फेरि यो सम्झौता किन खलपात्र बनिरहेछ ? अर्को कोल्टो र्फकन्छु । अरू नारी र उसमा मैले भिन्नता देख्छु । भिन्नै मूल्य र मान्यता लिएर ऊ अगाडि बढेकी छे । यौवन अवस्थामा पनि संयम रहेकी/बैँसको उन्मादित अवस्था पनि त कसरी भनुँ ? यौवन अवस्थामा पनि उसको प्रेमको परिभाषा यस्तो थिएन । त्यस विषयमा कसैले कुरा गर्दा कुनै चासो नै देखाउन्नथी । सोह्र-सत्र वर्षे जवानीलाई समेत धानी बसेकी, आज प्रस्फुटित हुन खोजी ? आजसम्म कामवासनालाई दबाउँदा कति द्रवित भई होली ? त्यसो भए यो अवस्थामा आएर उसले विवाह गर्ने विचार गरी त ? कोसँग ? मसँग त केवल सम्झौता गरेकी छे । विवाहको लागि उसको चाहना पनि त हुनुपर्यो, त्यति साह्रो विवाहप्रति उसको रुचि भने मैले देखेको छैन । यो बुढेसकालमा विवाह ? दुईचार दिनअघि मात्रै मैले उसलाई भनेको थिएँ- “मान्छेले काम र काममा एक रोज्नुपर्छ, जब एउटा रोज्न सकिँदैन तब जीवन घरको न घाटको हुन्छ ।” त्यतिबेला ऊ निकै उदास देखिएकी थिई । अहिले अनुभव गर्न खोजी ? तर चुम्बकजस्तै टाँसिएको उसको सम्झौता नि ? सम्झौताको आडमा कामलाई रोजी र अनुभव गर्न खोजी । म अस्मितासँग डराउँदैछु ?
किन ? म डराएको छैन । उसको विषयमा सोच्दैमा डराएको मान्दिन म ।….
एउटा निर्जन, एक्लो र शान्त कोठाभिको वादविवाद भनौँ वा गफगाफ । उसले घर बिर्सी, आफूलाई बिर्सी र समाहित भई मसँगका भेट वार्तामा । मैले पनि दैनिक व्यापारको उतारचढावबाट मुक्ति लिएको थिएँ । कोठाभित्रको शान्त समयमा सुवर्ण अवसर खोजिरहेको थिएँ मैले कामना स्वीकार गरोस् भन्ने भावनाले वंशवर्ती भई ।
“म सबथोक दिन तयार छु तर …. सम्झौता गर्दिन” भन्ने गर्थी उसले । उसका धरोहर आदर्श, सभ्यता र नैतिकता सबै बिर्सी आज ? एकदमै अलमल्ल । एकदमै असमञ्जस । बेस्वादिलो परिस्थिति । चकमन्नताभित्र पनि सन्नाटा छाएजस्तो । जिउ नै सिरिङ्ग हुने उसको सम्झौता, शरीरभरि काँढा उमि्रएको अनुभव । सोध्न मन लाग्यो । सधैँको लागि ? आँट आएन ।
उफ! कस्तो पागलपन! म अहिले वेश्यालयमा त छैन ? जहाँ मोलतोल गरिरहेको छु, एकपटकको लागि आफैँलाई बिर्सेर, नैतिकतालाई कुल्चेर, अनि परम्परा र मर्यादालाई फट्केर । के ऊ यस सम्झौतामा साँच्चै सहमत भएकी छ त ? कि मलाई ब्ल्याकमेलिङ गर्न खोज्दैछे ?
गर्वहीनको कस्तो खुसी ? कस्तो उल्लास ?
आत्मविश्वास, अदम्य साहस र पृथक सिद्धान्तले उसलाई अहिले पनि ऊर्जा दिइरहेको थियो । ऊ अडिग छे । कुनै पनि किसिमको टसमसको अनुभव छैन तर म किन यति भयभित भएको छु । एकान्तवासले चमक छरिनुपर्ने तर भयभित! अनौठो शक्ति, जसको कल्पना गर्न पनि डराइरहेछु- बम, अणुबम… यस्तै र यस्तै अन्य ।
उसको स्वप्नमयी क्यानभासमा भविष्यका सुख र खुसीका धर्साहरू कोरिँदै गर्दछन्, विशेष अनुपातमा । कुनै दिन जागिरे भएर निकट भविष्यबारे पलाएका आशाका किरणहरूले आलोकित सपना देख्दैछे । यही स्वणिर्म परिकल्पनामा ऊ भुल्दै गर्दा म मस्त हुनपुग्छु, आनन्दित हुन्छु, एक निमेष मात्रै भए पनि संसारलाई भुल्छु, स्वयं आफूलाई भुल्छु र रमाउँछु भिन्न संसारमा ।
कि विनिमयमा महिलाहरू आफूलाई वर्जित ठान्छन् ? यसरी अगाडि आउनुपर्छ जसरी अस्मिताले सम्झौता अगाडि सारेकी छे । विगतका कैयौँ आकर्षण र प्राप्तिविहीन धमिलो क्षणले पुर्याएको चोट र बल्झिएको घाउ । धेरै पटक मेरो अमूल्य समय खोसेको थियो अस्मिताको सौन्दर्यले । मलाई उसको नखारिएको बैँसको सुवासले चिमोटिरहन्थ्यो बारम्बार तर आज …! कस्तोकस्तो वरदान पाए जस्तो, रङ्गमञ्चमा अभिनय गरे जस्तो अनि प्रतिस्पर्धामा विजयी भएजस्तो ।
मेरो अप्राप्तिको दर्द त मेटिएको थियो तर प्राप्ति र विजयको आनन्द पनि थोरै कष्टपूर्ण थिएन । अब अतीत त्यो थिएन जो केहीबेर अघिसम्म थियो । अस्मिताले अस्मिता किन दिइन, गुनासो थियो तर अब छैन, म अझै उसलाई राम्री बनाउँछु । अझै उसको सौन्दर्यमा रङ पोत्छु । उसको यौवनायुक्त तारुण्यले पूर्ण भएको लालिमायुक्तअनुहार धप्पधप्प बलिरहेको देख्छु, मीठो अनुभूति हुनुपर्छ उसलाई पनि, नयाँ स्वाद, नौलो अनुभव … । म सरिक हुँदै थिएँ । आलिङ्गनमा थिई अस्मिता । छरपस्टसँग पोखिएकी उसलाई समेट्ने प्रयासमा थिएँ सायद म ।
अहिले पनि उसको तस्बिर उत्तेजक भएर उभिएको छ मेरो सामु । एकदमै विनम्रताका साथ, अपिलका साथ, आकर्षणका साथमा सम्झौतापत्रसहित । आज ऊ अनौठो चारित्रिक विशेषता लिएर प्रस्तुत भई । उसले व्याख्या गर्दै आएको जिन्दगीको आदर्श परिभाषा मेटाई सधैँका लागि । अब विवश र व्यथित जीवन भोग्नेछे । बाँच्नको लागि कति तुच्छ सम्झौता गरी आफैँलाई आफैँले छल गरेर, आफैँभित्र निमोठिएर तर ऊ महत्वाकाङ्क्षी छ, ऊ बेनाम, अज्ञात र लावारिस भएर बाँच्न वा मर्न चाहन्न । दुर्भाग्य, आज उसले अनिश्चित भविष्यको लागि घुँडा टेकी- सम्झौता भनेर ।
उफ्! कस्तो हृयाङओभरको सम्झौता गरी आज उसले । ओठमा सन्तोषको हाँसो तर्काएर ब्यागबाट एउटा कागज झिकी व्यहोरासहितको सम्झौतापत्र/इच्छापत्र/लेखिएको थियो-
कुर्ची र अस्मिताबीचको विनिमय ।
दुवैका आँखा सम्झौतापत्रमा केन्दि्रत थिए । यति नै पर्याप्त थियो मेरो लागि ।
‘कुनै शङ्का छैन, त्यसैले मैले पेश्कीको रूपमा … ।’
‘- त्यसैले मैले सम्झौतापत्र बनाएर ल्याएकी छु तपाईंले हस्ताक्षर गर्नुहोस् ।’
श्रीषाको दुर्घटना नबिर्सेकी हुनुपर्छ उसले ।
सम्झौतापत्रमा हस्ताक्षर गर्यौँ हामीले ।
कुर्चीको विनिमय एकरात ।
‘मेरो भोक र उसको स्वप्न ।’ ……..
उसको सम्झौता केका
लागि ? नाम र प्रतिष्ठाको महìवाकाङ्क्षाले अथवा गाँस, बासको लागि ? प्रतिष्ठाका लागि सम्झौता गर्नु र बाँच्नका लागि सम्झौता गर्नुमा दूरी कम छ तर अर्थ धेरै नै फरक छ । अजमाउन नखोज्नु नै मेरोलागि उपयुक्त होला । सबैले आˆनो इच्छा र तत्परताले प्राप्ति चुम्छन् । मैले प्राप्त गरेँ! अरूको बारेमा म किन सोचुँ ???
-हाल ः ललितपुर
