आजकल कुनै कार्यक्रम सुरु हुनुअघि, ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली एकएक मिनेट मौनधारण गरेर मात्र थालिने गरिएको छ । मैले थाप्लोमा हात राखेर यसो सोचेँ । माथ्लो दाँतले तल्लो ओठ टोकेँ, ९०’ डिग्री निहुरिएर सालिकलाई ढोगें । यो सहिद भनेको के हो ? आफ्ले-आफैँलाई मनमनै प्रश्न गरेँ । वर्षैंपिच्छे सहिद सप्ताह मनाएर सहिदको गुणगान गाएको, कान टट्याउने गरी सुन्दै आएको आधा शताब्दी व्यतित भइसक्दा पनि शब्दको अर्थ बुझिन भन्नु त लाजै मर्नु भइहाल्छ नि, भन्ने लाग्यो । एक मनले त, जेसुकै होस् ! मान्छेले गोली खाएर त मरे भने, म लाजले मर्नु परे के भो र … आरामले मरिदिउँला भन्ने जस्तो पनि लाग्यो । हुन त अहिले ‘शहिद’ शब्द पनि सहिद भएको छ ।

सोच्दै गर्दा अर्को मनले चाहिँ कहाँ हुन्थ्यो कान्छाः मर्न त गारो पो हुन्छ त, बुझ्ने कोसिस गर… भन्यो । मैले कनिकुथे अर्थ लगाउन थालेँ, जो यस प्रकारका छन् । सहिद भनेको देश र जनताको लागि प्राणको समेत आहुति गर्ने मानिस, अर्थात् पहिले प्रचलित ‘शहिद’ को ‘श’ भनेको शरीर, ही भनेको हीन, नभएको, द भनेको दण्डित, शरीर हीनको दण्ड पाएको मान्छे । अझ यसो भनौं जनताको अहित गर्ने शासनको चर्को भाषणले विरोध गरेर पक्राउमा परेर ‘प्राण जाए पर वचन नजाए’ गरेर वीरगति प्राप्त गर्ने व्यक्ति । अरूले गर्न नसक्ने साहसिक काम गरेर, दाम र मामको पछि नलागी आफ्नो मृत्युको आफैँले मञ्जुरीनामा दिएर मृत्यु वरण गर्ने मान्छे ।

मैले ठीक भने कि बेठीक यो छुट्याउने काम तपाईंलगायत बुद्धिजीवी र जनताको हो । जनताको टण्टा नलिनुस्, जता मल्को उतै ढल्को गर्ने बुद्धिजीवीको पनि भर नपर्नुस् । सिरिफ तपाईंको मात्र दासत्व सम्भिmनु होस् । जहाँसम्म मलाई लाग्छ, म गल्तीमा छैन । यदि गल्ती देख्नु र भेट्नु भो भने, रत्नपार्क, होइन-होइन, टुँडिखेलको चल्ती सडकमा आउनुस्, मेरो खल्ती मज्जाले छाम्नुस्, म सहुँला बुझाउँला । सहिन र बुझाइन भने, मलाई पनि सहिद बनाउने कोसिस गर्नुहोला ! यो मेरो तपाईंलाई मञ्जुरीनामा पत्र भो !!!

सहिदको परिभाषा बुद्धिजीवीहरूले जेसुकै दिए पनि, म छोटो मान्छेको छोटै कुरामा भन्नुपर्दा, अकालमै मृत्युबरण गर्ने, कसैसँग पनि नदब्ने-नझुक्ने, निडर-हक्की, निर्भीक-सुरवीर र लोभ-लालच नभएको व्यक्ति ! यो पनि कुन मुखले भन्नु र… खै ? आजभोलि ८०/९० वर्षका बूढाबूढी मर्दा पनि असामयिक निधन भनेर अखबारमा श्रद्धाञ्जली र समवेदना छापिने गरेको छ । कहिलेकहिले त जिउँदो मान्छेको समवेदना र मरेको मान्छेको चाहिँ हार्दिक बधाई पनि छापिने गरेको छ । गड्यौला र चिप्लेकीराजस्ता निर्भीक प्राणीसँग पनि डराएर तीन बित्ता उफ्रने मान्छे पनि सहिद बनेका छन् । उही दुष्ट र कपटी मान्छे पनि मरिसकेपछि चाहिँ, मृदुभाषी, मिलनसार, काँतरलाई निर्भिक, निर्दयीलाई दयाको सागर भन्नुपर्छ । अब उसले केही बिगार गर्न आउँदैन, भन्ने हो भने कुरा बेग्लै हो !

ज्यान लिने र दिने तौरतरिका अलगअलग हुनसक्छ । मान्छे मर्ने र मार्ने किसिम फरकफरक हुनसक्छ । प्राण हर्ने र हराउने क्रिया र प्रक्रिया बेग्लाबेग्लै हुनसक्छ । कसैलाई झुण्ड्याएर फाँसी देलान्, कसैलाई टाउको छुट्याएर फेरि गाँसी देलान् । कसैलाई गोली ठोकेर, कसैलाई सूली घोचेर, कसैलाई भिरबाट घचेटेर, कसैलाई भिन्नतामा अचेटेर, जसरी मारे पनि आखिर प्राण पखेरु उडाइदिनु न हो ? म त भन्छु काउकुती लाएर हँसाइ-हँसाइ मारे पनि, कुटेर थिल्थिलो पारेर मारे पनि, विष्णुले मधु र कैटभलाई झैँ काखमा राखेर मारे पनि हिटलरले झैँ ग्यास चेम्बरमा जाकेर मारे पनि, मार्नु भनेको, मार्नु नै हो ज्यान बचाउने काम अवश्य हुँदै होइन ।

नेपालमा १९९७ सालभन्दा पहिले कति सहिद भए, कति अकालमै स्वर्ग गए । त्यसको लेखाजोखा नै छैन । कसैलाई मतलब पनि भएन । जब ९७ साल माघ ९ गते जुद्धशमशेरको आदेश र त्रिभुवनको निर्णयमा शुक्रराज शास्त्रीलाई पचलीको खरीको रूखमा झुण्ड्याइयो तबदेखि मात्र सहिदको फेहरिस्ता तयार भयो । ११ गते शिफलको बकैनाको रूखमा धर्मभक्त माथेमा, १६ गते दशरथचन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली ठोकेर… । जुन समयलाई सहिद सप्ताह भन्ने गरिन्छ ।

साहस देखाउँदैमा, प्राण त्याग गर्दैमा र ज्यानको बाजी थाप्दैमा मात्र पनि सहिदको मसला पुग्दैन कि भन्ने मेरो विचार छ । हुन त तपाईंको विचार र मेरो विचार मिलाएर मिक्स अचार बनाउनुपर्छ भन्ने केही छैन । कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि हुने हुनाले सबैको विचार मिल्नैपर्छ भन्ने के छ र…. तैपनि कहिलेकाहीँ आंशिक वा पूरा मिलिदिए राम्रै हुन्थ्यो । साहस मात्र त लडाइँको मैदानमा धेरैले देखाएका हुन्छन् । त्यहाँ साहस नदेखाए त आफैँसँग हिँड्ने साथीले पनि सुँक्याई दिन बेर मान्दैनन् । साहस नभै त आत्महत्या गर्नेले पनि सक्तैन भन्छन् । कहाँसम्म सत्य हो, गर्ने वा भन्नेले नै जानुन् !

धेरै टाढा किन जानु पर्‍यो? तपाईं हाम्रो आँखा अगाडि नै कतिपल्ट देशव्यापीरूपमा आन्दोलन समाप्त भइसक्यो । नेपाल एकीकरण पनि बारम्बार भएकै हो । त्यस्ता घटनाहरूमा कति मान्छेले ज्यान गुमाउनु पर्‍यो होला ! औलोपर्व-कोतपर्व, भण्डारखाल पर्वजस्ता पर्वहरू, सर्वविदितै छन् । मैले जितेँ भन्ने गर्व नगरे हुन्छ । प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धमा पनि कति नेपालीले बलिदान गर्नुपर्‍यो होला । भि.सी. क्रस तक्मा पाउने नै कति नेपाली छन् वा थिए । त्यसकारण सक्कली सहिद हुनको लागि बलिदान र साहसले मात्र पनि पर्याप्त नपुग्दो रहेछ भन्ने प्रमाणित हुन्छ । सक्कली सहिद बन्नको लागि, देशप्रेमको भावना तपस्यादिको पनि खाँचो पर्दोरहेछ ।

लडाइँमा लड्ने लडाकुले, धेरथोर तलब भत्ता पाउँछन् । आन्दोलनमा मारिनेको पनि कुनै स्वार्थ लुकेको हुनसक्तछ । अझ भनौँ भने कोही त झुक्किएर भवितव्यमा पनि परेको हुनसक्छ । फेरि सम्भव भएसम्म परिवारले क्षतिपूर्ति पनि पाएका छन् । होइन त ? घाइतेको उपचार गर्नु, परिवारलाई रोजगारी मिलाई दिनु, बालबच्चाको शिक्षा स्वास्थ्य आदिको व्यवस्था गर्नु त राम्रो कुरा हो तर हिजोआज त गाडीले ठोके पनि, सर्पले टोके पनि, ढुङ्गाले थिचे पनि, टन्न रक्सी घिचे पनि, १० लाख क्षतिपूर्ति र सहिद घोषणा गर… भन्ने माग राखेर ः यातायात र सडक बन्द गर्न थालेका छन् । क्षतिपूर्ति पनि सम्बन्धित निकायले होइन, सरकारले चाहिँ दिनुपर्ने अरे…. । यसलाई विडम्बना भन्ने कि के भन्ने ? के सहिदको मूल्य हुन्छ ? के पहिलेका मुख्य ४ सहिदहरूले क्षतिपूर्ति पाए ? उल्टै सर्वस्व हरण चाहिँ भएको थियो । नपत्याए, नेपालको इतिहास साक्षी छ ।

बरु जसको परिवारले क्षतिपूर्ति पाएनन् वा लिएनन् । त्यसलाई आंशिक वा पूरा कस्तो खालको सहिद मान्नुपर्ने हो, छुट्याउनु जरुरी देख्दछु, म त ! मूल्य चुकाएपछि केको सहिद !! अहिलेको हिसाबमा १० लाख भनेको एउटा सामान्य मान्छेको जिन्दगीभरिको कमाइभन्दा बेसी हुनसक्छ । त्यस्तै हो भने, घरमा जहान बच्चाको भरण पोषण गर्न नसक्ने जति सबैले सहिद हुने आँट गरे भैगो नि । गाडीको चक्कामुनि हुन्छ कि, कहाँ हुन्छ घुस्न गए भो !! छतबाट हाम्फाले पनि भो । ढोकाबाट पुल्टुङ्बाजी खेले पनि भो । घाइते भए, जिन्दगीभर उपचार, मरे परिवारले १० लाख र सहिद घोषणा !!!

मैले चार जनाबाहेक अरू सहिदै होइन भन्न खोजेको चाहिँ अवश्य पनि होइन । रोटी पनि हेर्नाको हुन्छन् भनेझैँ सहिद पनि किसिम किसिमका हुन्छन् कि भन्न खोजेको हुँ । सहिदको पनि नापतौल गरेर वर्गीकरण गर्ने हो कि ? भन्न खोजेको हुँ । ज्ञात र अज्ञात गरेर गन्नै नभ्याउने सहिदहरू भैसके । कुन दिन नेपाली जनताभन्दा धेरै हुने हो थाहा छैन । कसको योगदान कति छ ? कसको पल्ला भारी छ ? कसरी भएको हो, कहाँ भएको हो ? जान्न पाए, दर्जानुसारको आदर-सत्कार, श्रद्धा-भक्ति अर्पण गर्न सजिलो हुन्थ्यो कि भन्न खोजेको हुँ । अन्य अर्थ नलगाउनु होला !!

२०१७ सालतिर टुँडिखेल टुक्र्याएर, सहिदगेट बनाएपछि निरन्तररूपमा सरकारद्वारा सहिद सप्ताह मनाउँदै आएको कुरा, यहाँलाई राम्रै थाहा छ होला । जुन सरकार आए पनि मनाउन छाडेको छैन, बरु चाडबाड मनाउन छाडे होलान् । ०६३ यता देशको धेरै भागमा सहिद पार्क, सहिद स्मारकहरू बन्न थालेका छन् । १८ साल वैशाख १ गते उद्घाटन भएको सहिदगेटको सरुवा-बढुवाको कुरा पनि आइरहेको छ । सदाझैँ यस वर्ष पनि सालिकमा माल्यअर्पण गरेर, फूलको गुच्छा चढाएर, ब्याण्डबाजा बजाएर भव्यताको साथ सहिद सप्ताह, समाप्त गरियो । परिवारजन जहाँसुकै जाउन्, जेसुकै खाउन् । हाम्रो काम हो सहिद सप्ताह मनाउने ! अब चुपचाप बसेर, अर्को वर्ष फेरि भव्यताको साथ मनाउने तालमेल मिलाउँला, हुन्न त ? जयः ज्ञात-अज्ञात सहिदहरू !!!

-आरुबारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *