अस्तिको भूकम्पले टोकियोलाई सामान्य झट्का दिए तापनि मेरो त मुटु नै हल्लाएको थियो तर त्यसले मानवीय वा अन्य कुनै प्रकारको क्षति भने पुर्‍याएन । त्यसो भनेर दङ्ग पर्नु पनि एउटा ठूलै गल्ती जस्तो हुन्छ किनभने टोकियोमा भूकम्प आउने सम्भावना त एकैछिन कुरा गर्दागर्दै पनि भई नै रहन्छ । म टोकियोको एउटा चारतारे होटलमा कुनै बखत मसँग एउटै विश्वविद्यालयमा पढाउने मेरो एक पुरानो साथी भिन्सेन्टसँग बसेर खानपिन गर्दै थिएँ ।

प्राज्ञिक जीवनबाट अवकाश लिएपछि पनि प्रत्येक ग्रीष्म ऋतुमा एकपटक जापान नपुगी मेरो मनले मान्दै मान्दैन । जापानको राजधानीको केही विशेषता छ । जसले मलाई मोहनी लगाएको छ । हो, सहर अस्तव्यस्त छ । सर्वत्र लथालिङ्ग छ । भीड थामिनसक्नु छ । सार्वजनिक रेलगाडीहरू हजारौँ सङ्ख्यामा रहेका यात्रीहरूको भार थाम्न नसकेर कहराइरहन्छन् । भूमिगत सडकहरूको यात्रा गर्नु पनि आनन्दभन्दा बढी दण्ड पाउनुसरह छ । बाटो काट्दा ढाडै भाँच्चिएला जस्तो हुन्छ । लुगाका टाँकहरू सबै चुँडेका हुन्छन् । गन्तव्यमा पुग्ने बेलासम्म त जुत्ता पनि एउटा खुट्टामा मात्र हुन्छ । तथापि सहर प्रेरणादायी र एकप्रकारको उत्तेजक छ । नहोस् वा जेसुकै होस् । प्रत्येक साल म यहाँ आएकै हुन्छु र यहाँ रहुन्जेल रमाएकै हुन्छु ।

“हिजो भुइँचालो आएको तिमीले चाल पायौ ?” मैले भिन्सेन्टलाई सोधेँ । भोजन गर्नुअघि हामीहरू जिन र टोनिक पानी पिउँदै थियौँ ।

भिन्सेन्टले जिनको दोस्रो सिसी रित्याएपछि आफ्ना बाक्लाबाक्ला आँखासम्म ढाक्ने आँखीभौँ बीचबाट जब मलाई हेर्‍यो उसले कुनै अनिस्टकारी कुरा गर्न लाग्यो भनेर मैले प्रस्टरूपमा बुझेँ ।

“यहाँ के हुन लागिरा’छ, तिमीलाई थाहा छ ? ए, थाहा छैन ?”

“अहँ थाहा छैन ।”

“महाविनाश । सर्वनाश ।”

“के को ?”

“यो सहरको नि ।” च्याँठिदै उसले भन्यो । “लाखौँ मान्छे मर्ने भए । लाखौँ ।”

“तिमीले भूकम्पसम्बन्धी कुरा गर्न खोजेका होइनौ ?”

भिन्सेन्टका आँखा रातारात भएर आए । “अस्ति आएको भूकम्प त केही पनि होइन, बुझ्यौ ?”

“तर म त डराएको थिएँ ।”

“यो आउँदा जो पनि डराउँछन् किनभने आफू बसेको ठाउँ यसो हल्लियो कि लौ भूकम्प आयो भनेर मान्छेहरूले बुझिहाल्छन् ।

“यो आउँछ । आई नै रहन्छ ।”

“साँच्चै भनौँ । सन् १९२३ देखि यता त्यति ठूलो भूकम्प आएकै छैन । त्यसैले भूकम्प विशेषज्ञहरू भन्छन् … भविष्यमा कुनै पनि क्षण त्यो आउन सक्छ । टोकियो सहरको भूबनावट कमजोर छ । भूगर्भ विज्ञानअनुसार चार मान्छे बराबरको यसको भूसतह हरबखत चलायमान मइरहन्छ तर सामान्य झट्काहरू धेरैजसो कसैलाई पनि थाहा हुँदैन । भूकम्पमापक यन्त्रहरूले भने त्यसको लेखा गरिराखेका हुन्छन् ।”

एउटा बयराले दुई प्लेट बोन फेम हृवाइट वाइन र दुईटा गिलास ल्याएर हामीहरूसमक्ष टक्र्यायो । त्यसमा माछाभन्दा आलुको मात्रा बढी थियो । भिन्सेन्टले आफ्नो भागको प्लेट हेर्‍यो र चुरोट सल्काएर दाँतमा च्याप्यो अनि भन्यो- “यिनीहरूले अलि राम्ररी विचार गर्नुपर्ने थियो । टोकियोलाई राजधानी बनाउनु यिनीहरूको भयङ्कर ठूलो गल्ती हो । यो ठाउँ भू-ताविक छिद्रहरूमाथि अवस्थित छ ।”

“जापानका पूर्वशासकहरूले तीन सय वर्षसम्म यहाँ अक्षुण्णरूपमा शासन गरे ।”

भिन्सेन्टले चुरोट निभायो । काँटाले अलिकति माछाको टुक्रा तान्यो र एकचुस्की वाइन खायो । “यहाँ एक जना जापानी प्रोफेसर हुनुहुन्छ । ख्यातिप्राप्त भूगर्भशास्त्री । उहाँ भन्नुहुन्छ- “थाहा छ, उहाँ के भन्नुहुन्छ ?”

“थाहा छैन ।”

भिन्सेन्टले आँखा ठूल्ठूलो पार्‍यो । यो सहरलाई तुरुन्त यहाँबाट अन्त सार्नुपर्छ ।

“तर त्यो त असम्भव छ । कावाशाकी र योकोहामालाई पनि समावेश गर्ने हो भने यहाँको जनसङ्ख्या तीन करोड पनि नाघ्छ ।”

“कमसेकम राजप्रासाद र सरकारी कार्यालयहरू त सार्नै पर्छ ।”

“तर तिनीहरूलाई कहाँ लगेर राख्ने ?”

भिन्सेन्टले फेरि एक काँटा माछा खायो । “त्यो त सही कुरा हो । ठूलो समस्या पनि हो तर त्यो समस्याभन्दा सम्भावित विपत्ति झन् ठूलो समस्या हो जो अवश्यम्भावी छ र भयावह पनि छ । सरकारले त्यतिबेला हतपतमा सहर बसालियो भन्न पनि सक्दैन । न त लाखौँ जनताको ज्यान जोखिममा छ भन्न सक्छ ।”

“मैले पनि कतै अनुमानित एक लाख जति मानिसको ज्यान जान सक्छ भन्ने आशयको एउटा लेख फेला पारेर पढेको थिएँ ।

“बिल्कुल ठीक,” भिन्सेन्ट आक्रोशित भयो । “तर थाहा छ ? त्यो आँकडाले त जनतालाई झुक्याइयो, त्यो त झूठो प्रचारबाजी मात्र हो । जो सर्वथा गलत छ । भूकम्प निरोधक भवनहरू निर्माण गर्ने भन्नु चैँ फाल्तु कुरा हो । भूकम्पको दिशानुरूप गगनचुम्बी भवनहरू निर्माण गर्न सकिने कुरै होइन । त्यस्ता भवनहरू ढल्दै ढल्दैनन् भन्ने कुनै प्रमाण छ ? वाहियात । ती ढल्छन् । ढल्छन् । तासका घरझैँ ।” उसले दाहिने हातको एक मुड्की टेबुलमाथि बजार्‍यो । अनि विद्युत्को गडबडीले सुरुङ भित्रभित्रै जनता किचिए भने के गर्ने नि ? खानीभित्र पुरिएका मजदुरहरूको जस्तो हुन्छ उनीहरूको अवस्था पनि । उनीहरूलाई खनेर निकाल्ने कसले ? कसले न

कसले ? कोही हुँदैन उनीहरूलाई बचाउने । कोही हुँदैन । सडकमा हिँडिरहेका सर्वसाधारण मान्छेहरू पनि ढलेका भवनका इँटा, सीसा र फलामको चोट लागेर मर्नेछन् ।”

“तर, सुन त भिन्सेन्ट, भूकम्प रातितिर आयो भने त त्यति ठूलो नोक्सान नहोला नि । हैन र ?”

भिन्सेन्ट मसँग फेरि झोँक्कियो । “यो जुनसुकै बेला पनि आउन सक्छ । बिहान, दिउँसो, बेलुकी । सन् १९२३ मा योकोहामामा आएकोझैँ मध्यरातमा पनि आउन सक्छ । जतिसुकै बेला आओस् । लाखौँ मान्छे मरिहाल्छन् क्यारे ।”

“धेरै चाँडो यस्तो विपत्ति आइहाल्छ भन्ने पक्का विश्वास छ भने यहाँ किन बसिरहन्छौ त तिमी ? सेवानिवृत्त हुने दिन पनि आइसक्यो । तिमीले चाहृयौ भने आगामी शैक्षिक वर्षको अन्त्यतिर अवकाश ग्रहण गर्न सकिहाल्छौ । निवृत्तिभरण पनि पाकिसकेकै छ । यो मेरो विचार हो ।”

वयराले हामीहरूले खाएका थालीहरू उठाएर लग्यो । भिन्सेन्टले आधा मात्र खाएको रहेछ । उसले फेरि चुरोट सल्कायो । फोक्सोमा क्यान्सर होला नि । धेरै चुरोट नखाऊ भन्न मन लागेको थियो मलाई । तर भन्न सकिनँ ।

“म यहाँ किन बसिराछु भनेको तिमीले ?”

“हो, किन बसिराछौ तिमी ? बस्नै पर्दैन भने किन बसिरहन पर्‍यो भन्ने मेरो भनाइ हो ।”

“सही कुरा गर्‍यौ तर मैले आफूलाई जन्मसिद्ध जापानी नागरिकझैँ ठान्छु ।”

ऊ एकछिन् अड्कियो । अनि एउटा चुनौतीपूर्ण नजरले मलाई हेर्दै भन्यो, “त्यति मात्र होइन । मलाई जोखिम व्यहोर्न असाध्यै मन पर्छ । म जोखिमसँग प्रेम गर्छु ।”

वयराले डेसर्ट मेनु (भोजनपछि खाइने मिठाइ, फलफूल इत्यादि) ल्यायो । यहाँको विशेष चल्ती चिज स्याउको चटामरी हो । तिमीलाई मन पर्छ पर्दैन । मैले त त्यही मगाउन लागेको छु ।”

“पर्दैन भैगो, धन्यवाद । तिमीलाई थाहा छ ? उत्तरी तोहोकु जिल्लाको स्याउ खेती के भयो ?”

“अहँ मलाई थाहा छैन । जेसुकै होस्, यो होटलले त्यसको केही व्यवस्था गरेको रहेछ । त्यही खाउँ न त ।”

“नाइँ । म त कफी मात्र पिउँछु ।”

मैले मेरो लागि स्याउको चटामरी र हामी दुवै जनाको लागि दुई कप कफी मगाएँ ।

“तोहोकुको स्याउ खेती के भएछ हँ ?” मैले भूकम्पसम्बन्धी कुरा मात्र गरिरहँदा झर्को लागेर विषय अन्तै मोड्ने मनसायले उसलाई सोधेँ ।

“के हुनु ? महाविनाश । सर्वनाश । तिमीलाई थाहा छ ? यस वर्ष आएको पटकपटकको असामान्य समुद्री आँधीले स्याउ मात्र होइन, बगैँचामा फल्ने फुल्ने सम्पूर्ण प्रकारका फलफूलहरूको सत्यानास् गर्‍यो ।

“मलाई त्यस विषयमा केही थाहा छैन ।”

भिन्सेन्टले मलाई यस्तो किसिमले आँखा तरेर हेर्‍यो मानौ म नै त्यो विपत्तिको जिम्मेवार व्यक्ति हुँ । “तिमीलाई थाहा छ होला । त्यो विनाशकारी आँधीका कारण अधिकांश स्याउ किसानहरू आ-आफ्ना खेतबारी त्यसै छोडेर ज्यालादारी गर्न सपरिवार सहरतिर लागे ।

“अहँ, मलाई थाहा छैन तर थाहा भए पनि हामीले यसमा केही सहयोग गर्न सक्दैनौँ । सक्छौँ त ? मैले कमसेकम एउटा किसानलाई मात्र चिनेको हुँदो हुँ त सहानुभूतिस्वरूप एउटा पत्र पठाउने थिएँ तर के गरुँ ? मैले एउटालाई पनि चिन्दिनँ । तिमीले चिनेका छौ कसैलाई ? छन् भने भन क्यारे । ”

“त्यसो त छैनन् । मैले पनि कसैलाई चिन्दिनँ ।”

“त्यसो भए किन टाउको दुखाउँछौ विनासित्तिमा ? तोहोकुका स्याउ किसानहरूको समस्याभन्दा झन् ठूलो समस्याहरू थुप्रै छन् यस संसारमा । बुझ्यौ ? त्यसैले म त यस्ता कुराको वास्तै गर्दिन । मलाई भिन्सेन्टमा भूकम्पसम्बन्धी कुराहरू सुन्दासुन्दा झ्याउ नै लागिरहेथ्यो तर हामीहरू बीचमा वर्षका एकपटक मात्र हुने भेटघाट र खानपिनको रमाइलो वातावरण नखल्बलियोस् भन्ने हेतुले कुनै बखेडा गर्न चाहिनँ ।

खानपिन गरिसकेपछि हामीहरू आफ्नो आफ्नो गन्तव्यतिर लाग्यौँ । म आफ्नो डेरामा पुग्न लागेको थिएँ । दुई वर्ष अगाडि म टोकियोमा छँदै एक जना भविष्यवक्ताले दिसम्बर दुईदेखि पाँच तारिखका बीचमा यहाँ एउटा शक्तिशाली भूकम्प आउनेवाला छ भनेर भविष्यवाणी गरेको सम्झेँ । कताकता मैले सुने, त्यसबखत भिन्सेन्ट टोकियोको भ्रमणमा थियो रे । मैले उसलाई त्यहाँ जान हुँदैन भनेर सचेत गराउने थिएँ होला तर उसले ‘जोखिमहरूसँग प्रेम गर्छु’ भनेर दम्भ गरेको सम्झँदा केही बोल्न सकिन ।

अनुवादकः रामबहादुर पहाडी

लेखकको परिचयः
जोन हेलाकको जन्म इङ्ल्याण्डको वोर्नमाउथमा भएको हो । उनले आल्डेनहृयाम स्कुलबाट प्रारम्भिक र क्याम्बि्रज विश्वविद्यालयबाट उच्चशिक्षा हासिल गरेका हुन् । दोस्रो विश्वयुद्धको अधिकांश समय उनी ग्रीसको सैनिक विभागमा जनसम्पर्क अधिकारी थिए । उनले बगदान र टोकियोमा धेरै लामो समयसम्म अध्यापन गरे । १९६५ देखि १९६९ सम्म एसिया, इजिप्ट, मोरक्को र युरोपको भ्रमण गरे र साइप्रसमा आएर पाँच वर्ष आराम गरे । १९८४ मा जापानको विश्वविद्यालयबाट अवकास ग्रहण गरेपछि प्रत्येक ग्रीष्मऋतुमा उनी जापान भ्रमणमा जाने गर्छन् । उनले कथा, उपन्यास, समीक्षा र अन्य फुटकर विषयहरूमा लेख्छन् । हाँस्य र यात्रासम्बन्धी लेखहरूले उनको विद्वताको झलक दिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *