Skip to content

विदेशमा भासिएको सपना र हाम्रो शिक्षा

मातापितालाई सन्तति आवश्यक पर्ने बुढेसकालमा सहारा होला भनेर हो । नत्र किन चाहियो सन्तान ? मरणान्त हुंदा पनि फर्केर हेर्दैन, सम्झंदै सम्झंदैन । अझ बोलाउंदा पनि आउंदैन । डाक्दा गुहार्दा पनि सुन्दैन । अन्य मुलुकमै मोजमस्तीमा बसिरहन्छ । यहां मातापिता पानी खान दिने मान्छेसमेत नभएर अकालमा मर्दछन् । जतिसुकै धेरै पढोस्, जतिसुकै धन कमाओस्, जतिसुकै नाम कमाओस् । आफ़्नो जन्मभूमि र जन्मदाताप्रति कृतज्ञ छैन भने त्यसको सम्पूर्ण वैभवलाई धिक्कार छ, ती सब बेकार छ ।

जोरपाटीको सहिदपार्कमा भएको एउटा साहित्यिक कार्यक्रममा ८० औं वर्षमा हिंड्दै गरेका साहित्यकार रमेश विकल नेपाली नयां पुस्ता सकेसम्म विदेश पस्न र उतै बस्न चाहेको विषयलाई लिएर बोल्दाबोल्दै धुरुधुरु रुनुभयो । रोएर बोलेको सुन्दा श्रोताहरू स्तब्ध भए । विकल विदेशमुखी सपनाको बाढी देखेर विरक्तिएर रुनुभएको थियो । आफ़्नो लेखन यात्रामा मूलतः नेपाललाई नै सम्पन्न र न्याययुक्त बनाउने सपना सांचेर जीवनकालभरि साहित्य रचना गर्नुभएका विकलको आंसुको अर्थ गहिरो, मार्मिक र भावपूर्ण छ ।

जुन देशका पढेलेखेका नयां पुस्ताले हृदयभरि अर्कै देशको सपना पालेर हिंडेको हुन्छ, त्यो देशको भविष्य कस्तो होला ? जुन देशका युवाहरू त्यो देशमा रातपछि रातै आउने ठान्छन् र सूर्योदय हेर्न अर्थात् उज्यालो खोज्न अर्कै मुलुकतिर जान्छन्, त्यो देशमा सूर्योदय कहिले होला ? र आफ़्नो देशमा फ़र्कलान् । एक हिसाबले नेपाल त्यही अभागी देशमा रूपान्तरण हुन खोज्दैछ ।

सहरका विद्यालय तथा कलेजमा पढ्ने अधिकांश विद्यार्थीहरूको पढाइको मुख्य उद्देश्य विदेशमा जाने वातावरण बनाउनेतिर केन्द्रित छ । अझ गाउं-गाउंमा पनि फैलिएको छ यस्तो भावना । शिक्षाक्षेत्र विदेश पलायनको मनोदशा निर्माण गर्ने मुख्य थलो बन्न पुगेको छ । जुन मावि, उच्च मावि र कलेजले हाम्रो सम्बन्ध ठाडै विदेशसित छ, हामी सजिलोसित विदेश पठाइदिन सक्छौं भन्ने विश्वास दिलाउन सक्छ उही कलेजमा विद्यार्थीको ओइरो लाग्छ ।

शिक्षण संस्थामा यस्तो मनोदशाको खेती गर्ने काम किन हुंदैछ ? किनभने निजी क्षेत्रको शिक्षा केही कपट कुटिल र धूर्तहरूको हातमा पुगेको छ । त्यसको सञ्चालन व्यवस्थापन उनीहरूको निकृष्ट धनस्वार्थले प्रेरित छ । त्यहां भित्रभित्रै गुपचुप गुपचुपमै धेरै कुकृत्यहरू भएका छन् । धेरै शोषण अत्याचार र बेइमानीहरू भएका छन् । शिक्षकहरू आर्थिक रूपमा शोषित र मानवीय रूपमा अपमानित छन् । कठोर परिश्रमका साथ अधिकारविहीन जीवन बांच्नु उनीहरूको नियति बन्नपुगेको छ । अभिभावकहरू ठगिएका छन् । विद्याथीहरू ढांटिएका छन् । शिक्षण संस्था जादुमय नाफाको व्यापार भएको छ ।

आफ़्नो संस्थामा न्यूनतम पारिश्रमिकमा वर्षौसम्म अधिकतम परिश्रम गरेका शिक्षकलाई सम्मानित गर्नुपर्नेमा चित्तबुझ्दो कारणविना कुनै न्यायिक तर्कविना अपमानजनक ढङ्गले निकालिएका शिक्षक कति छन् कति । यो परम कृतघ्नताको संस्कृति हो । हृदयभरि कृतघ्नता भरेर हिंडेकाहरूले विद्यार्थीलाई कृतज्ञता सिकाउन सक्तैनन् । यिनका शिक्षादीक्षामा पढेका विद्यार्थीहरू कृतघ्न हुनु स्वाभाविक छ ।

यसरी आलोचना गर्दा सतर्क हुनैपर्ने कुरा के हो भने उच्चतम मानवीय विवेक जगाएर सीपमूलक शिक्षा दिई विद्यार्थीहरूको जीवन प्रेममय, विश्वासमय, सुखमय र शान्तिमय बनाउने उद्देश्यले यस्ता शिक्षण संस्था खोलेका व्यक्तिहरू पनि निजी क्षेत्रमा नभएका होइनन् । तर जुन रूपमा ती इमानदार छन्, जुन रूपमा समर्पित छन् त्यही रूपमा बाहिर आउने वातावरण बन्न सकेको छैन । हल्लाको बजारमा तिनको आवाज दबेको छ । निजी क्षेत्रका भन्नेबित्तिकै सबैलाई एकै ठाउंमा मिसाएर मूल्याङ्कन गर्ने र सबै चोर हुन् भन्ने सोचाइ पनि हामीकहां व्याप्त छ । यो अतिवादी सोचाइ हो । कसै कसैको स्वभाव नै यस्तो नकारात्मकताले भरिएको हुन्छ । त्यस्ता मान्छेहरू सकारात्मक चिजलाई पनि नकारात्मक देख्ने गर्छन् । शिक्षकको अधिकार खोजीका नाममा पनि ठाउं-ठाउंमा असाध्यै अर्घेल्यांई भएको छ । जुन शैक्षिक संस्थाका सञ्चालकहरू आफू-आफूले मात्रै लुटेर खाने मान्यतामा छैनन् । शिक्षकहरूको श्रमको शोषण गरेर धन कमाउने ध्येय राख्दैनन् । संस्थाको आर्थिक उन्नतिसंगै त्यहां खटेका शिक्षकहरूको पारिश्रमिक र सुविधामा पनि बढोत्तरी भइरहेको छ । विवेकै नराखीकन त्यो संस्थामा पनि अवरोध सिर्जना गर्नु अनुचित हो । स्वच्छ र स्वस्थ पद्धतिको विकास हुने हो भने निजी प्रेरणा र प्रयत्नले अकल्पित प्रगति गर्न सकिन्छ । हामीकहां पनि निजी क्षेत्रको शिक्षाले केही आधुनिकतम ज्ञान र प्रविधि अवश्य भित्र्याएको छ । मूल खोट कहांनेर छ भने सही चिन्तन र चेतनाको निर्माणमा यसले उचित भूमिका निर्माण गर्नसकेको छैन ।

गतिलो कुरा सिक्न र सत्कर्म गर्न संसारको जुन कुनामा गए पनि हुन्छ । आजन्म नेपालमै टांसिनुपर्छ भन्ने पनि होइन । संसार फराकिलो छ । विविधताले युक्त छ । संसार घुमेरै संसारको भूगोल, इतिहास, सभ्यता र संस्कृति थाहा पाउनु निकै राम्रो कुरा हो । ल्याउन मिल्ने सबैतिरका राम्रा कुरालाई नेपालमा ल्याएर यसलाई विश्वको अनौठो मुलुक बनाउने ध्येय बोकेर नेपालीहरू बाहिर जांदाहुन् त अवश्य खुसीको विषय बन्नसक्छ । नेपाल छाड्नै हुंदैन भन्ने केही छैन ।

हाम्रो शरीर नेपाली हावा पानी र माटोले बनेको हो । जहां गए पनि जन्मभूमिको लागि केही गर्नैपर्छ । विकसित मुलुकमा गएर अर्काले बनाइदिएको वैभवमा सुखलिप्साले हराएर बस्नुमा जीवनको सार्थकता छैन । यस्तो गर्नु कुनै गर्वयोग्य चिज होइन । आफ़्ना पुर्खाले पसिना, रगत र आंसु बगाएको अभावग्रस्त यो ठाउंलाई वैभवसम्पन्न बनाउनुमा जीवनको सार्थकता छ ।
यहांका युवामा मानसिक प्रदूषण फैलाउने कारक यहांको अकर्मण्य राजनीति हो । यहांको पराधीन मनोदशा हो । यहांको परजीवी अर्थतन्त्र हो । यहांको अनुत्पादक शिक्षा पद्धति हो ।

वर्तमान नेपालमा यस अघि कहिल्यै नभएका आश्चर्यजनक केही कुराहरू हुंदैछन् । यो देश नयां युगमा प्रवेश गर्न खोज्दैछ । नयां नयां सपनाहरूको उत्पादन भइरहेको छ । जनताहरू आफ़्ना अधिकारका लागि यसरी जागेका छन् कि झुक्याएर ढांटेर आफूले विशेषाधिकार पाउन वा जोगाउन चाहनेहरू लुक्ने र भाग्ने ठाउं नै छैन । सङ्क्रमणकाल लम्बिने खतरा भने अझै पनि छ । जनसङ्घर्षको गहिराइ र व्यापकताले हाम्रो भविष्य निर्धारित हुनेछ ।

मातापितालाई सन्तति आवश्यक पर्ने बुढेसकालमा सहारा होला भनेर हो । नत्र किन चाहियो सन्तान ? मरणान्त हुंदा पनि फर्केर हेर्दैन, सम्झंदै सम्झंदैन । अझ बोलाउंदा पनि आउंदैन । डाक्दा गुहार्दा पनि सुन्दैन । अन्य मुलुकमै मोजमस्तीमा बसिरहन्छ । यहां मातापिता पानी खान दिने मान्छेसमेत नभएर अकालमा मर्दछन् । जतिसुकै धेरै पढोस्, जतिसुकै धन कमाओस्, जतिसुकै नाम कमाओस् । आफ़्नो जन्मभूमि र जन्मदाताप्रति कृतज्ञ छैन भने त्यसको सम्पूर्ण वैभवलाई धिक्कार छ, ती सब बेकार छ ।

June 2008

Leave a Reply

Your email address will not be published. Required fields are marked *