Skip to content


उसको र मेरो एउटै गाउँ थियो । ऊ गाउँको पूजिपति थियो । जमिन्दार थियो । गन्नेमान्ने थियो । भद्रभल्हाद्मीमा गनिन्थ्यो । सबैजनाले उसलाई मान्थे । आफ्नो गाउँमा मात्र नभएर जिल्लाभरि उसको नाम चलेको थियो । गाउँघरतिर विकासका कामदेखि सानातिना झगडा मिलाउन उसको अनिवार्य उपस्थिति थियो । उमेर तीन बीस पुगुपुगु भएको ऊ देख्दै हट्टकट्टा र जवान देखिन्थ्यो । ठूला-ठूला आँखा लामा बाघजुंगा पालेका दौरासुरुवाल र टोपी लगाइ हिड्दा जस्तातस्ता मान्छे अगाडि पर्न पनि डराउँथे । तर रुपजस्तो वानी थिएन । साह्रै मिजासिला थिए । पाचायतकालमा पन्ध्र वर्ष प्रधानपाच भएको हुनाले पूराना मान्छे अर्थात वूढापाकाहरु प्रधान भन्थे । प्रजातन्त्रको पुनःस्थापनापश्चात दश वर्ष गाविस अध्यक्ष पद आफ्नो पक्षमा पार्न सफल भएकोले भरखरका मान्छेहरु अध्यक्ष भनेर सम्बोधन गर्थे उसलाई अर्थात हर्कमानलाई ।

हर्कमान र मेरो पिताजी एकदमै मिल्ने भित्रिया दोस्ती हुन् । उनीहरु प्रायःसँगै हुन्छन् । मेरा पिताजी उसको शारथी नै थिए । म हर्कमानलाई अंकल भनेर सम्वोधन गर्छु । पार्टीको कामगा।वि।स।sाे मििटंग केन्द्रबाट प्रशिक्षण दिन आउने केन्द्रिय नेताहरुको गाँसबासको तयारीजिल्ला नेताहरुसँग भेटघाट जस्ता कार्यक्रमहरुको कार्यतालिकाको सूचि अटूट हुन्छ उनीहरुको गोजीमा । बेलुकीपख खाने र सुत्ने वेलामा मात्र घरमा झुल्कन्थे दुवैजना । दिनभर बाहिर-बाहिर घुम्ने हुनाले घरब्यवहार हेर्न त्यति भ्याउदैन थिए । त्यसैकारण मेरो घरमा मेरी आमाले र उसको घरमा हर्कमान अंकलनीले घरब्यवहार सम्हालेका थिए ।

हर्कमान दम्पतीका एक छोरी र दुई छोरा थिए । उनीहरुको कोखबाट पहिलो सन्तानको रुपमा छोरी वर्षाकॊ जन्म भएको थियो । त्यसैले उनीहरुले आफ्नो प्राणप्यारी एक्ली छोरी वर्षालाई आफ्नो घरबाट पराई घरमा दुई तीन वर्ष अगाडि नै पठाइसकेका थिए । उनीहरुको जेठो छोरो स्नातक सकेर स्नातकोत्तर अध्ययनको लागि प्रवेष परीक्षा दिएर बसेको थियो । कान्छो छोरो भने आइए पढ्दै थियो । हर्कमान दम्पतीका जेठो छोरो साह्रै राम्रो थियो । रुपमा र व्यबहारमा कही खोट लाउने ठाउ पाइदैन थियो । कसैलाई नराम्रो वोलीले बोलाउदैनथ्यो । अर्थात कसैलाई भनि बिजाउदैन थियो । कसैको केही बिराउदैन थियो । बोल्दा सोचेर बोल्थ्यो । तडकभडकमा पनि त्यति मन जादैन थियो उसको । रुपअनुसारको वोली वचन र ब्यवहार थियो । जस्तै मान्छेलाई पनि आफूतिर आकर्षित गर्न सक्ने खुवी थियो उसमा । उसको दिल र दिमाग आकाश जस्तै ठूलो र खुला थियो । त्यसैले सबैजना उसको असली नाम दयानन्द भएपनि आकाश भनेरै बोलाउने गर्थे ।

दयानन्द उर्फ आकाशको वानी ब्यवहार देख्दा गाउँका केटाहरुका अभिभावकहरु उसको जस्तै ब्यवहार गर्नको लागि अभिप्रेरित गर्दथे । रउनीहरु अनुकरण गर्न पनि खोज्थे । तर सक्दैन थिए । उसको पछि लागेर प्रेम प्रस्ताव राख्दै धेरै नखरमाउलीहरु आए तर तिनीहरु सबै असफल भए । राम्रा-राम्रा केटीहरु उसको पछि लागेको देख्दा झन् केटाहरु ईश्र्या र डाहाले भुतुक्कै हुन्थे । यस्तो छोरालाई जन्म दिने आमा र त्यस्तो भल्हाद्मीको श्रीमति भने कर्कश स्वभावकी थिइन् । बोट गुनाको फल भन्छन् । तर यो भनाई भने ऊ माथि लागू हुँदैन थियो । गाउँघरतिर प्रायः सबैसँग आकाशको आमाको वोलचाल थिएन । आफ्नो सम्पति र लोग्नेको घमण्ड गर्थिन् । आकाशको आमा एकपल्ट बोल्दा एकजना दुश्मन हुन्थ्यो । अर्थात एक वचनमा ऊसँग नबोल्ने मान्छेको संख्यामा एक थपिन्थ्यो । तर हामीहरुसँग भने राम्रै थियो । उनीहरुको घरमा केही अप्ठेरो परे हाम्रो घरमा सल्लाह माग्न आउथे । हामीलाई अप्ठेरो परे उनीहरुकहाँ सल्लाह लिन हामी जान्थ्यौ । ऐँचोपैँचो चल्थ्यो हामीहरुसँग मात्र । हर्कमान अंकलनीले गर्दा ।

आकाशको विवाहको कुरा गरेको उसको वावुआमाले दिदी वर्षालाई अन्माएको भोलिपल्ट देखि नै हो । आजसम्म विहे हुन सकेको छैन । आकाशलाई पनि विहे गर्ने मन छैन । ऊ भन्छ-“आफ्नो खुट्टामा आफैँ उभिन्छु अनि मात्र विहे गर्छु ।”तर त्यत्रो उमेर खाएको र पढेलेखेको मान्छे आफ्ना वावुआमालाई सम्झाउन सक्दैन थियो । आमावावुको कुरा काट्न पनि सक्दैन थियो । आकाशलाई केटी दिन उसको योग्यता र उमेर अनुसार राम्रै घरहरुबाट आएका थिए । तर आमाको घमण्ड र सम्पतिको दम्भले गर्दा कुरा अघि बढ्न नपाउँदै टुिंगन्थ्यो । फेरि केटी हेर्न पनि हर्किनी अंकलनी नै अगाडि लाग्थिन् । केटी हेर्ने र छाड्ने काम पनि धेरै भइसकेको थियो । आकाश आजित भइसकेको थियो । उसको आमाको ब्यवहारले गर्दा । गाउँका मान्छेहरु भन्थे-“हर्किनीले कस्ती वुहारी ल्याउदी रहिछिन् यही आँखाले देखिएला तानि ।”

आकाश र म सधैँ सँगै हुन्थ्यौँ । खाना आ-आफ्नै घरमा खाए तापनि सुत्ने बेलामा एउटै घरमा सुत्थ्यौँ । कहिले म उसको घरमा जान्थेँ । कहिले ऊ आउथ्यो हाम्रो घरमा ।

ऊ आज अलि ढिलो आयो । म उसको मुहार अँधेरो देख्छु । उसको पूर्णिमाको जूनजस्तो अनुहारमा ग्रहण लागेको जस्तो थियो । म उसको मलिन अनुहार देखेर सोध्छु-“सन्चो छैन हो आज तलाई ”

-“सन्चै छ ।” ऊ भन्छ ।

-“आमाले नराम्रो केही भन्नुभयो कि क्या हो “म फेरि सोध्छु ।

-“केही भन्नुभएको छैन ।”छोटो उत्तर दिन्छ ।

-“अनि किन अँध्यारो मुख लगाएको त मलाई किन ढाट्छस् हेर् आमाबाबु भनेको त भगवान सरह हुन् । सानातिना कुरामा चित्त दुखाउनु हुँदैन । फेरि त्यस्तो नराम्रो कुरा पनि त भन्नुहुन्न होला नि ।”ढाटेको जस्तो लागेर सम्झाउनलाई म एकोहोरो बोलिरहन्छु ।

-“अव त पनि कचकच गर्न थालिस् हैन । चुप लागेर सुत् ।”ऊ झर्केर बोल्छ ।

उसलाई धेरै बोलेको मन पर्दैन । आफू पनि कम बोल्छ । एकछिन् चुप लागेर बस्छु ।

-“ए भन् न भन् । मनमा पीडा राखिरह्यो भने जलन हुन्छ भन्छन् । मनमा कुरा गुम्स्याएर राख्नुहुन्न ।”अझै सम्झाउँछु ।

मैले धेरैे कर गरे पछि ऊ भन्छ-“मेरो विहे गरिदिने भए।” पीडा भावमा भन्छ ।

-“विहे गरिदिन खोज्दा पनि पीर मान्नु पर्छ त जे भए पनि तेरो बाबुआमाले वैंशको ब्यथा बुझेका रहेछन् । आफूलाई त हाम्रा बाबुआमाले वास्तै गर्नुहुन्न ।” म उसलाई जिस्क्याउँछु ।

आकाशको विहे हुन्छ । हर्कमान अंकल वुहारी भित्र्याए पछि खुसी नै देखिन्छन् । अंकलनी भने अति खुसी देखिन्थिन् । किनभने छोराको विहेमा वुहारीले ल्याएको दाइजो जति गाउँका अरु कसैका वुहारीहरुले ल्याएका थिएनन् ।

विहे गरेको दुई तीन महिना पछि आकाश गाउँकै प्लस टुमा पढाउन शुरु गर्छ । हाम्रो ठाउँमा आफ्नो मान्छे भएपछि एमए पास गरिरहनु पर्दैन प्लस टुमा पढाउनलाई । नभए एम।ए।मात्र नभएर पी।एच।डी।नै गरे पनि पढाउन पाउने सम्भावना ज्यादै न्यून हुन्छ । तर आफ्नै मान्छेको अर्थात बाबुको पहुँचबाट शिक्षक भएको भएता पनि ऊ विद्यार्थीहरु र अभिभावकहरुलाई आफूतिर आकर्षित गर्न सफल भएको थियो ।

आकाशकी श्रीमति मध्यम स्तरकी थिइन् । पहिला उसको रुप देखेर विहे गर्न मन छैन भने पनि उसको शील स्वभाब र वानी ब्यवहारले गर्दा ऊ श्रीमतिसँग सन्तुष्ट थियो । उनीहरुको विहे भएको एक वर्ष भन्दा अलि बढी भएको थियो । वच्चा हुने सुरसार थिएन । गाउँका आइमाईहरु खासखासखुसखुस कुरा काट्न थालिसकेका थिए । मैले सोद्धा दुई तीन वर्ष पछाडि मात्र पाउने योजना बनाएका छौ भन्थ्यो । हाम्रो समाजका मान्छेहरु अर्काको सानो कुरालाई पहाड बनाएर मच्चिमच्चि कुरा गर्न पाउँदा गौरवान्वित र आत्मसन्तुष्टि मिलेको अनुभव गर्छन् । त्यही पनि खास कुरा र बास्तविक्ता नबुझी ।

हर्कमान अंकलनीको ब्यवहामा पनि विस्तारै-विस्तारै परिवर्तन हुँदेथियो । वुहारीसँग झर्कोफर्को गर्थिन् । सधैँ खुसी देखिने ती अंकलनीको अनुहार आजभोलि अँधेरो देखिन्थ्यो । छोरावुहारीसँग पनि त्यति मिल्ति थिएन । छोरालाई अर्को विहे गर्न कर गर्थिन् । कहिलेकाहीँ आकाश आमासँग साह्रै रिसाउँथ्यो । “पहिला विहे गर्दिन भन्दा दाइजोको लोभ र लालशामा फसी मलाई फसायौ । अहिले आएर फेरि अर्को भुंग्रोमा हाल्न खोज्छौ “आकाशको यस्तो कुरा सुनेपछि उसको आमा-“लौ हेर यो त जोईिटंग्रे पो भएछ । वाइफालेले मेरो त्यति सोझो छोरोलाई मोहनी पो लगाइसकिछ”भन्दै आफ्नो कुराले जित्न नसके पछि डाको छाडेर रुँन थाल्थिन् ।

आकाशको आमालाई अर्काको चियो चर्चो गर्दै ठिक हुन्थ्यो । आफ्नो भन्दा बढी केही देखे रातभरि छटपटीमा वित्थ्यो । दिनभरि पेट कटकटी खान्थ्यो । मेरो काकाको छोराले विहेमा कार दाइजो ल्याएको थियो । रउनीहरुको विहे गरेको छ महिना नपुग्दै छोराछोरी हुने भइसकेको थियो । यो सबै देखेर ती अंकलनीलाई झन् डाहा र ईश्र्याले हुने आत्म पीडालाई कम गर्न वुहारीलाई सधैँ गालि गर्ने गर्थिन् । पिट्थिन् । जगल्ट्याउथिन् । विचरी आकाशकी श्रीमति चुपचाप सहेर बस्थिन् । यो देख्दा मलाई लाग्थ्यो-“आइमाईहरुले वुहारी हुँदा वुहार्तन खप्नै पर्छ । सासूको खप्की खानै पर्छ । यो हाम्रो समाजको नियम हो । संस्कृति हो । चाहे जुनसुकै बहानामा होस् ।”

एक दिन होइन दुई दिन होइन । लगतार उसलाई मानसिक र शारीरिक यातना दिन्थिन् आकाशकी आमा । रोएर बस्नु भन्दा अर्को उपाए ऊसँग थिएन । उसको सहारा भनेको आकाश मात्र थियो । हर्कमान वुहारीको पक्षमा भए पनि श्रीमतिको अगाडि निरीह देखिन्थ्यो । त्यसैले ऊ वुहारी माथि भएको अत्यचार हेरिरहन्थ्यो । आकाश भने घरमा थिएन । ऊ एमए परीक्षा दिन काठमाण्डौँ गएको थियो । उसकी श्रीमति ऊ कहिले आउला भनेर उसको बाटो हेरेर बसेको थियो । तर “हुने हार दैव नटार”भनेझैँ अव आकाशसँग कहिल्यै भेट नहुने भइसकेको थियो । “दुई चार दिन देखि नराम्रो सपना देखिरहेको छु के भएको हो बाबु ” भनेर मलाई आकाशकी श्रीमतीले सोधेकी थिइन् । “केही हुँदैन । एककाइसौँ शताब्दीमा पनि त्यस्ता अन्धविश्वासलाई बिश्वास गर्छन् । त्यो त उहिलेको कुरा खुइलिसक्यो ।” मैले भनेको थिएँ । तर त्यही सपना संकेत भयो आज । आकाश परीक्षा दिएर घर फर्कदै गर्दा विपरित दिशाबाट आएको सवारी साधनसँग ठक्कर खाई ऊ चढेको माइक्रो बस त्रिशुली नदीमा खस्दा उसको मृत्यु भएको खबर रेडियोटि।भी।बाट आयो । खबर प्रशारण हुनासाथ हर्कमान अंकल र म लगायत अरु दुई चार जना साथीहरु दुर्घटना भएको ठाउँतिर लाग्यौ । चार पाँच दिनसम्म प्रहरीहरुसँग मिलेर खोजतलास गर्यौ । तर लाश पाउन भने असफल भयौ । त्यसै हामी घर फर्कन वाध्य भयौँ । जिन्दगीको अन्तिम अवस्थातिर लम्कदै गरेको हर्कमान अंकल छोराको वियोगमा रुँदा साह्रै गाह्रो हुन्थ्यो सम्हाल्न उसलाई र आफैँलाई । हुन पनि कसरी चित्त बुझोस् वूढाको जवान छोराको अकालमा मृत्यु हुँदा । आकाशकी श्रीमति उसको मृत्यु भएको सुनेदेखि वेहोस भएकी दश दिन पछि मात्र होसमा आइन् । ऊ विक्षिप्त अवस्थाकी देखिन्थिन् । टोलाएर बस्थिन् । पहिले देखि नै त्यति नबोल्ने मान्छे अहिले त झन् कसैको मुखमा हेर्दा पनि नहेर्ने र बोल्दा पनि बोल्दैन थिइन् । उसको सासू भने सम्पूर्ण रिस ऊमाथि थुपार्थिन् । कहिलेकाहीँ रिस थाम्न नसकी उसको कपालमा िपंग खेल्न पुग्थिन् । माइती आएकी आमाजु पनि आमासँगै मिलेर नानथरि गाली गर्थिन् । आमालाई गाली गर्न उक्साउथिन् । गाउँका आइमाईहरु पनि आकाशकी श्रीमतिको कुरा काट्थे । पोइ टोकुवाअलिच्छिनीघर भडुवा…………॥जस्ता विभिन्न उपनाम दिन्थे । चाहे धारामा पानी लिन गएको बेला होस् । चाहे कुनै घरमा जम्मा भएको बेला होस् । उसैको नाम उड्कन्थे । आकाशकी श्रीमतिको कुरा काटेर उनीहरुको दिन काट्ने बाटो भएको थियो । उसको पक्षलाई लिएर यथार्थ बोल्ने कोही थिएन त्यस गाउँ समाजमा । त्यस्तो सामाजिक परिवेशमा वाँच्न गाह्रो भइरहेको थियो उसलाई । माइती जान पनि सक्दिन थिइन् । त्यस समाजको मान्यता थियो-“सेतो लुगा लगाउन्जेल अर्थात बरखी बारुन्जेल माइतीको धुरी हेर्नु हुन्न ।”कस्तो विडम्बना जस्तोसुकै समस्या परे पनि सम्पूर्ण कुरा पर्गेल्नु पर्ने स्वास्नी मान्छेहरुले । यो कस्तो नियम हो यो कस्तो सामाजिक संस्कार हो कुनै कारणवश स्वास्नीको मृत्यु भएमा न उसले सेतो लुगा लगाएर वर्ष कटाउनु पर्छ । न कसैको यादमा जिन्दगी ब्यतित गर्नु पर्छ । छ महिना नपुग्दै अर्को च्याप्नलाई यही समाज र संस्कारले लोग्ने मान्छेलाइृ छुट दिएको छ भने स्वास्नी मान्छेलाई उसैको नाममा जीवनभरि बस्नु पर्ने गरी बाधेको छ । त्यसकारण आकाशकी श्रीमति पनि यही समाजयही संस्कृतिमा हुर्की बढेकी हुनाले यो सामाजिक वन्धनलाई तोड्न सक्दिन थिइन् ।

हर्कमान अंकल पनि आकाशको मृत्यु पश्चात बाहिर हिड्दैन थिए । राजनीति पनि पूर्ण रुपले छाडिसकेका थिए । पहिला जस्तो हँसिमज्जा पनि गर्दैन थिए । खुलेर त्यति कसैसँग बोल्दैन थिए ।

असोज महिनाको अन्तिम दिन थियो । अलिअलि कुहिरो झर्न थालिसकेको थियो । दशैँको रमझम पनि बढ्न थालिसकेको थियो । रिमरिम उज्यालोमा म घर पोत्नलाई रातो माटो भिजाउँदै थिएँ । हर्कमान अंकलनी रोएको सुनेँ । विहान-विहान किन झगडा गर्नु पर्या होला त्यो अंकलनीलाई पनि । विचरी आकाशकी श्रीमतिले कसरी दिन काट्लिन् । मनमनै सोच्छु । सधैँको जस्तै झगडा त हो नि भनेर म उतातिर जान्न । तर गाउँका मान्छेहरु उतैतिर दौडेको देखेर म पनि काम छाडेर लागेँ त्यतैतिर । आकाशको भाइ वेहोश जस्तै अर्धचेतन भइ बसिरहेको थियो । उसको आमा भने छाति पिटी-पिटी रोइरहेकी थिइन् । हर्कमान अंकलको मृत शरीर घर पछाडि आापको रुखमा झुण्डिरहेको थियो । आकाशको श्रीमतिको मृत शरीर मतानको कोठा भित्र लम्पसार थियो । सबै मान्छेहरु एकोहोरिएर निःशब्द हेरिरहेका थिए । त्यही हूलबाट मधुरो आवाज आउछ-“आकाशको श्रीमतिको घाटीमा त औलाको डाम छ रे नि……।” म भने दौडन्छु प्रहरी चौकीतिर ।

-केदार श्रेष्ठ “गगन”

भीमस्थान-५सिन्धुली

1 thought on “हर्कमान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *