Skip to content

जापानी साहित्यमा हाइकु: मानयोशु काव्य संकलनदेखि माचुओ वाशोसम्म


पृष्ठभूिम
विश्व साहित्य जगतमा जापानी साहित्यले छुट्टै पहिचान बनाइसकेको छ । भाषा साहित्य कला र संस्कृतिमा विश्वमा नै अमिट छाप छोड्न सिपालु जापानीहरु पारस्परिक हित मानवीय सम्बन्ध र आत्मियताको हकमा प्रखर मानिन्छन् । जापानी साहित्य चीनको जेन परम्परावादी विचार सुत्र ताओवाद र बुद्ध धर्मबाट बढी प्रभावीत छ । प्राचनीकालमा चीन र जापानको अत्यन्त निकट सम्बन्ध रहेको कारण पनि भाषा साहित्यको आदान-प्रदानको सिलसिलामा चिनियाँ साहित्यले जापानी साहित्यलाई राम्रैसँग गाँजेको पाउँछौं । प्राचीनकालमा प्रकाशित केहि साहित्यिक कृतिहरुमा चिनियाँ लिपि समेतमा कविता छापिनु र हाल पनि जापानी अक्षरीय लिपि खााजी चिनिया लिपिसँग अधिकांश मेल खानु यसको ज्वलन्त उदाहरण हो । चिनिया साहित्यका केही सन्दर्भ र प्रारुपहरुका साथमा पाश्चात्य साहित्यिक चेतनाको सामित्यता जापानी साहित्यसँग भएको कुरालाई धेरै जापानी कविहरु स्वीकार्छन् तर पनि समष्टिगत रुपमा आफ्नोपन पस्कन सक्ने खुबिलाई भने उनिहरु खुब गर्ब गर्छन् ।

नारा युग देखि हालको अवस्थासम्म आइपुग्दा जापानी साहित्यको विकास विस्तार र प्रवर्धनको लागि जापानी राजपरिवारले पुर्याएको योगदानलाई बिस्रन सिकंदैन । आरम्भदेखि नै राजपरिवारका हरेक सदस्यलाई साहित्य सम्बन्धि प्रयाप्त ज्ञान सिकाइएको हुन्छ । विगतका कविहरुको भावना र दर्शन नखल्बल्याइकन आफ्नो सिर्जना र नयाँपनलाई पाठकहरु सामु प्रस्तुत गर्नमा जापानी कविहरु म्ााहिर छन् । आलोचना गरेर अघि जानु भन्दा कला प्रस्तुत गरेरै जाने करामा विश्वास राखेको देखिन्छ ।

जापानी साहित्यमा लिखित इतिहासको थालनी सातौं शताब्दीमा भएको हो । यद्यपि यस अघिदेखि नै जापानमा साहित्य लेखनको शुरुवात भएको हो भनि केही िवद्वान साहित्यकारहरु दाबी गर्छन् । तर पर्याप्त प्रमाणको अभावमा आधुनिक साहित्यकारहरुले यस धारणालाई स्वीकार गरेनन् । सन् ७१० अर्थात् आठौं शताव्दीको आरम्भतिर नारा शहरमा राजधानी सारिए लगत्तै सन् ७१२ मा प्राचीन इतिहास नामक ग्रन्थ प्रकाशनमा आएको देखिन्छ । सन् ४८८ देखि ६२८ सम्मका मिथक कथा र अन्य काव्य रचना समाहित छन् कोजिकीमा । तीन खण्डमा विभाजन गरेर प्रकाशित प्राचीन इतिहास जसलाई जापानी भाषामा कोजिकी भनिन्छ सम्वन्धी तथ्य सन् १९६८ मा प्रकाशित जापनी इतिहासको शब्दकोषमा समेत उल्लेख गरिएको छ ।

जापानीहरु इतिहास प्रति खुब आस्था राख्छन् । विगत पढेर भविष्य कोर्ने यिनिहरुको बानीको सह््राहना गर्नै पर्छ । जापानी साहित्यका हरेक विधामा जीवन दर्शन भेट्न सकिन्छ । मानवीय सोचाइका उतार-चढाव मात्रै होइन प्राकृतिक छनक र लेपनका तिक्ष्ण गुदी पाइन्छ । साहित्यमा जापानीहरु निकै धनि छन् । कला संस्कृति र भावनात्मक अमूर्ततामा त झन् बैग्लै स्थान बनाइसकेका छन् ।

विशाल कविता संकलन
मानयोशु कविता संकलन जापानी साहित्यमा पूर्ण परिचित नाम हो । यस भित्र ४५०० भन्दा बढि कविताहरु संग्रहित छन् । जस मध्ये ४२०० वटा तान्का २६० वटा चोका र ५६ वटा सेदोका छन् । पाँचौं शताब्दीदेखि आठौं शताब्दीको मध्य सम्म लेखिएका रचनाहरु संग्रह गरिएको छ यसमा । मानयोशु संकलन सन् ७६० मा बाहिर आएको हो । सन् ७३० को पहिलो कवि गोष्ठिमा वाचित कविताहरु प्नि मानयोशुमा संकलित छन् भने गरिन्छ । विषयगत हिसाबमा खण्ड-खण्डमा विभाजित यस संग्रह भित्र जापानी सम्राट साम्राज्ञी तथा राजपरिवारका अन्य सदस्यहरुले लेखेका रचनाहरु प्नि समाविष्ट छन् । जापानी साहित्यमा मानयोशुले धुरी खामोको रुपमा काम गरेको छ । यसले बास्तवमै जापानी साहित्यलाई दह्रो जग बसाउने काम गरेको छ । कवि याकामोचीले रचनाहरु संकलन गरेको विश्वास गरिने यस संग्रहका सम्पादक बारे भने जापानीहरु नै अनभिज्ञ छन् ।

मानयोशु भित्रका विभिन्न शैलिका कविताहरु जस्तो तान्का चोका सेदोका आदी त्यस पछिका दिनमा पनि लेखिदै गए । केहीले पुराना शैलि पछ्याउँदै गए भने केहीले छोड्दै गए । खास गरी दरवारीया र भारदारी कविहरुले लेखन शैलिलाई निरन्तरता दिएको पाइन्छ । मानयोशुमा आफ्ना झण्डै ५०० तान्का समावेश गराएका कवि खाकिनोमोतो हितोमारोका कवितामा चिनिया बौद्ध दर्शन जेन विचार र कन्फ्यूसियसवाद भन्दा पनि स्वच्छन्द जापानी कलाचित्र टल्किन्छ । प्रेमरस र मायापि्रतिका बारेमा कविता लेख्न रुचाउने कवि हितोमारोले केही कविता दरवारीया दबाव र रवाफमा लेखेका थिए भन्ने धारणा पनि पाईन्छ । मानयोशुमा संकलित कवि हितोमारोको एउटा तान्का ः
आकाश गंगा
बादलको छालमा
ताराको वन
जूनको जहाज त
विराम अविराम

अर्का कवि यामाबेनो आकिहितोको तान्काः
नागानो बाट
खुला भूमिमा आएँ
ठीक अगाडी
हिउँले छोपिएको
सुकिलो फुजिसान
– जापानी साहित्यको इतिहास २०५५ पृष्ठ १०

जापानी साहित्यलाई गति दिन मानयोशु पूर्ण सफल भएको छ । यसमा संकलित कविताले प्राय प्राकृतिक जीवनबोध शाश्वत चेतना सांस्कृतिक रंगको स्पष्ट संकेत गरेका छन् । नारा काल अर्थात् छैठौं र सातौं शताव्दीमा जापानी समाजमा अभूतपूर्ण ढंगबाट प्रभाव जामाउन सफल बौद्ध दर्शनको अत्याधिक प्रयोग पाइन्छ मानयोशुमा । चिनिया लिपि समेतको प्रयोग भएको पाइन्छ । आयातित विधा भए पनि विषयवस्तुलाई मौलिक रचना र स्वदेशी पना मार्फत भावना अभिव्यक्तीको रुपमा प्रयोग गरे जापानी कविहरुले । अझ खास गरी दरवारीया कविहरुले । जसबाट झन् मानयोशुले वाहवाही बटुलेको हो ।

मानयोशु पछिको अवस्था
सन् ७८१ तिर प्रकाशित काइफुसो कविता संग्रह पनि जापानी साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएको छ । १२० वटा कविता संकलित यस कृति पूर्ण रुपमा चिनिया भाषा र साहित्यबाट प्रभावित छ । अधिकांश कविता चिनिया लिपिमा लेखिएका छन् । राजपरिवार सदस्य इतरका कविता कमै मात्र संकलित छन् यसमा । यसको संकलन तथा सम्पादनको कार्य कवि ओमिनो मिहुने ७२२-७८५ ले गरेका थिए । यस कविता संग्रहलाई कतै कतै मानयोशु भन्दा अगाडी प्रकाशित भएको भनेर समेत उदृत गरेको पाइन्छ । तर मानयोशु नै अगाडि प्रकाशित भएको तथ्यमा नै बढी प्रमाण भेटिन्छ । यस लगत्तैका थप साहित्यिक कृतिहरुमा कोकिन्शु सन् ९०५ शिन कोकिन्शु सन् १२०६ गोशुइशु एघारौं शताव्दी वाकान रोएइशु एघारौं शताव्दी पनि प्रमुख मानिन्छन् । साथै सन् १२०१ मा एकतिस अक्षरीय तान्का कविताको राजकिय समिति गठन गरिएको थियो ।

जापानी तान्का र यसको क्षमता
जापानी साहित्यको लेखनारम्भसँग सँगै तान्काको इतिहास पनि शुरु हुन्छ । विश्व साहित्य जगतमा नै ओजपूर्ण भूमिमा बोकेको जापानी साहित्यको शुरुवात नै तान्काबाट भएको मानिन्छ । झण्डै १४ औं शताव्दी लामो इतिहास बोकेको तान्काले जापानमा लामो समयसम्म आफ्नो लोकपि्रयता बाचाइ राखेको थियो यद्यपि हाल पनि जापानमा तान्का लोकपि्रय नै छ । तान्का एकतिस अक्षरीय संरचना ५-७-५-७-७ मा लेखिन्छ । जापानी साहित्यको धुरी खामो मानयोशु कविता संकलनमा ४२०० जति तान्का समाविष्ट हुनु नै तत्कालिन समयमा जापानी साहित्यक फाँटमा तान्का शैलिले पाएको लोकपि्रयता उदाँग हुन जान्छ । त्यसबेला खास गरी कविहरु सामुहिक रुपमा हाइकाइ तान्का श्रृंखला लेख्थे । सबै कविहरुलाई शुरुमै एउटै शिर्षक दिइन्थ्यो । त्यसै शिर्षकमा आधारीत रही मूली कविले ५-७-५ संरचनाको होक्कु तयार गर्दथे । त्यस पछि तिनै ५-७-५ संरचनाको पछाडी अर्काे कविले ७-७ अक्षरका २ हरफ थपे पछि एउटा हाइकाइ तान्का तयार हुन्थ्यो तर सामुहिक लेखन भएकोले एउटा हाइकाइ पश्चात पनि होक्कु लेख्दै त्यसलाई हाइकाइ बनाउने श्रृंखला क्रमशः अगाडी बढ्थ्यो । जापानीहरु ३६ देखि १०० श्लोक सम्मका हाइकाइ श्रृंखला तयार गर्दथे ।

हाइकाइ अर्थात् तान्का अभिव्यक्ति प्रस्तुतिको एक कुशल माध्यम हो । मानवीय संवेदनाको ज्वालामुखी हो । प्रारम्भिक दिनहरुमा कविहरुले पालैपालो श्रृंखलाबद्ध हाइकाइ तयार गर्ने पाइएता पनि आधुनिक समयमा त्यो निकै कम भएको छ तरपनि श्रृंखलाको रुपमा नभइकन पूर्ण तान्का हाइकाइ लेख्ने प्रचलन बढेको छ । जापानमा होक्कु हाइकाइ र तान्का मात्रै होइन उति बेलै देखि वाका हाइकाइ चोका सेदोका हान्का लगायतका विभिन्न गणितिय संरचनामा बाँधिएका कविता लेखनका शैलिहरु पनि प्रचलनमा रहि आएका छन् भने स्वतन्त्र शैलिहरु प्ानि उत्तिकै लोकपि्रय मानिन्छन् । तान्का शैलिको लघुत्तम रुप नै हाइकु हो । हाइकाइ र होक्कु हुँदै आज हाइकु सम्म आइपुगेको छ कविता लेखनको शैलि । जापानी साहित्यमा तान्कापूर्ण रुपमा भिजिसकेको छ ।

जापानी जनजीवनमा भिजेको भए तापनि तान्का र हाइकु काव्य शैलिका केही परम्परागत नियमहरु नयाँ पुस्ताका युवा कविहरुलाई खड्किरहेको थियो । एकतिस वा सत्र अक्षरमा अल्झिनु पर्ने बाध्यता किन प्राकृति प्रणय र प्रारब्ध नै प्रमुख विषय हुनु पर्ने किन?
सन् १९३० को दशकमा पनि कवि मोरिमोतो नोरिओले परम्परागत अवधारणा छाडेर हाइकु रचना गरेका थिए । साइतान्सी लघुत्तम कविता नामक उनको संग्रहमा आठ अक्षरदेखि वीस अक्षरमा लेखिएका हाइकु प्रकाशित छन् ।”
-हिम जून फूल २०५१ पृष्ठ १०
तान्का वास्तवमै क्षमतावान हुन्छ । प्रतीकात्मक ढंगबाट बिम्बहरुको कुशल प्रयोगबाट तान्का जीवन्त बन्न जान्छ । जीवनका उकाली ओराली तथा सामाजिक र साँस्कृतिक घटनाक्रमलाई एकतिस अक्षरीय शाब्दीक मालामा उन्न सके शाक्तिवान तान्का जन्मन्छ । वातावरणीय सौन्दर्यता काल चेतना र यथार्थपरक संसारीक चित्रणबाट उत्कृष्ट तान्काको कल्पना गर्न सकिन्छ ।

हाइकु संक्षिप्त परिचय
सम्भवतः विश्वकै लघुकाव्य हो हाइकु । कम शब्दमा नै धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकु जापानी शैलिको कविता हो । साहित्य समुन्द्रको एक रुप हो भने हाइकु समुन्द्री गहिराइको वास्तविक अनुभुती हो । धेरै टुकीहरुको माझमा रहेको सानो तर चम्किलो दिप जसलाई अनुभव र ग्रहण गर्न निकै गाह्रो हुन्छ तर त्यसको भाव बुझी अनुभूति रुपी सार खिच्न सकेमा हाइकु नशा उर्लिएर आउँछ । हाइकुको प्रभाव सोझै मानव मस्तिष्कमा पुग्छ ।

सातौं-आठौं शताव्दी तिरको हाइकाइ श्रृंखलाको बिकसित रुप हो हाइकु । तत्कालीन हाइकाइ श्रृंखलाका शुरुका तिन हरफ मात्र जस्लाई होक्कु भनिन्छ आज हाइकु रुपमा उदाएको छ । हाइकु पूर्ण रुपमा शास्त्रिय संरचनामा बाँधिएको हुन्छ । पहिलो हरफमा पाँच अक्षर दोस्रो हरफमा सात अक्षर र तेस्रो हरफमा पाँच अक्षर गरी सत्र अक्षरको हुन्छ हाइकु । तर शास्त्रिय संरचना मात्र पनि पर्याप्त छैन । कलात्मक ढंगबाट प्राकृतिक किगोको प्रयोग गर्नुपर्छ हाइकुमा । हाइकु ओजिलो र बोझिलो हुनुपर्छ ।

हाइकुले खँदिलो सामथ्र्य राख्छ । हाइकु सियोको टुप्पो जस्तै हुन्छ । जसलाई कम आँक्न सकिदैन र त्यसको झट्का तिख्खर हुन्छ । मिठासपूर्ण हाइकु लेख्न सक्नु कविको खूबिको कुरा हो । ५-७-५ को संरचना भित्र शब्दजाल बुन्दैमा त्यसलाई हाइकुको कोटिमा राख्न सकिदैन । यो हाइकुको कठिन मान्यता हो र शास्त्रिय चरित्र पनि । जापानको फुजि हिमाल देखि सगरमाथासम्म र युशु टापु देखि कोशी टापुका कुराहरु हाइकुले थेग्दै हाएका छन् । संरचनागत दृष्टिबाट मात्रै हाइकुको गहनतालाई कम आँक्न सकिदैन । हाइकुले समग्र रचना वा कृति माथी नै एकलौटी भाव पस्कन सक्छ । ठूलाठूला व्याख्यात्मक पुस्तकहरुका निचोड हामी हाइकुमा निकाल्न सक्छौं । हाइकु सम्राट माचुओवाशो १६४४-९४ देखि पहिलो नेपाली हाइकु कवि शंकर लामिछाने मात्रै हैन हाइकुविद राम कुमार पाँडेका हाइकुमा समेत गहन अभिव्यक्ति भेटिन्छ । जीवनजगतका कुरा मात्र समेटिदैनन् हाइकुमा जन्मानुपुर्व र मरणोपरान्तका आलंककारीक अनुमान समेत सजाउन सकिन्छ हाइकुमा ।

खालीपना र सम्भावना
हाइकुमा अथाह खालीपना हुनुपर्छ । १७ अक्षरमा कविले बाँधेका शब्दहरुलाई पाठकले खुला रुपमा सोच्न पाउँछन् हाइकुमा । जसबाट प्राकृतिक संसार देख्न सकिन्छ । सम्भावनाको खोल ओडेका हाइकुमा अनुभुतिको विराट कथा हुन्छ जीवनका उतार-चढाव समेटिएको हुन्छ सामाजिक पृष्ठभुमिका हरेक पाटो भेटिन्छ । सम्भावनाको खालीपनको सन्दर्भमा जापानी हाइकु हिजो र आज अनु। डा।अभि सुवेदी सं। माधवलाल कर्मचार्य बाट केही हरफहरु सापटी लिन्छु ।

æछैठौं शताव्दीको अन्त्य र सातौं शताव्दीको आरम्भतिरको कुरा हो । त्यसबेला चीनमा बौद्ध धर्मको प्रभाव परेर पनि त्यो धर्मले ठूलो प्रभाव र प्रतिष्ठा पाइसकेको छ । बौद्ध धर्मावलम्बिहरु आफ्ना गुरुको निर्देशनमा चारैतिर छरिएर गुम्बाको चित्र बनाइरहेका छन् । घाम-छाँया रुखको फेदमा ओरालीमा पहाडको फेदमा चट्टानको बीचमा सबैतिर पुगेर ध्यानीहरु प्रतियोगीतात्मक चित्र बनाउन संलग्न छन् । भरे गुम्बाको चित्रै नभएको चित्रकला चाँहि प्रथम हुन्छ । त्यस चित्रमा एउटा भिक्ष्ा डाँडामाथि कुहिरोमा विचारमग्न छ । त्यसैबाट गुम्बाको स्वरुप निस्कन्छ कल्पनामा भिक्ष्ा गुम्बा हेरिरहेछ । हामी गुम्बा देख्दैनौं तर भिक्ष्ा देख्छौं जो गुम्बा हेर्दैछ । वास्तवमा हाइकुको आत्मा त्यही संभावनाको खालीपन हो । यसप्रकार बौद्ध धर्म र हजारौं वर्षदेखि किव-कलाकारहरुलाई प्रभाव पारेर आएको ताओवादको संयुक्त प्रभावबाट हाइकुको धारणा जन्मेको हो । रुपचाँहि जापानमा गएर अनेकौं परिवर्तनहरु भएर पछी तयार भयो । त्यसैले हाइकु बुझ्नको लागि यसको पृष्ठभुमि बुझ्न नितान्त जरुरी छ । पृष्ठ क

जेन परम्परामा गुरुले चेलालाई प्रकृतिलाई साधारण ढंगले हेरेर तिनै प्रकृतिका वस्तुको सम्बन्ध देखाउनु र त्यही सम्बन्धबाट विशाल भावको स्पन्दन निकाल्नु भन्ने निर्देशन दिन्थे । वास्तवमा त्यही परम्परा नै हाइकुको आत्मा हो । जेनपन्थीहरुको भनाइमा जति सक्दो थोरै शब्दको प्रयोग गरेर कविता लेख्नु पर्छ । शब्दहरुले भरेपछि कवितामा खालीठाँउ रहदैन र भन्नुपर्ने कुरा संकेत गर्नुपर्ने कुरा केहि रहँदैन । त्यसैले हाइकुमा अनन्त सम्भावनाहरुको शून्य हुन्छ खाली ठाँउ हुन्छ । बुचो भन्ने आफ्ना गुरुले वाशोलाई सोधेः तिम्रो अहिले हाल के छ वाशोले उत्तर दिएः अस्ति पानी परेदेखि लेउ अझै हरियो भएको छ फेरी गुरुले सोधेः लेउ हरियो हुनुभन्दा पहिले कुन चाँहि बौद्ध धर्म थियो त्यसपछि झल्याँस्स ज्ञान प्राप्त गरेका वाशोले उत्तर दिएः “फुत्त छयाप्ल्याक्क भ्यागुतो” त्यसैले हाइकु कवितामा थोरैमा कविले पाएको ज्ञान व्यक्त गरिन्छ त्यहाँ चित्र हुन्छ र त्यहाँ सुक्ष्मता हुन्छ अनि सौन्दर्य हुन्छ ।”
जापानी हाइकुः हिजो र आज ०४४ पृष्ठ ख

व्यंग्यात्मक हाइकु ः सेन्र्यू
व्यङ्ग्य प्रधान हाइकुलाई सेन्र्यू भनिन्छ । हाइकुको शास्त्रिय संरचना मिलाइएका सबै रचनाहरु हाइकुका लागी स्वीकार्य हुँदैनन् । वास्तविक हाइकु बन्नका लागि प्राकृतिक बिम्ब किगोको प्रयोग अनिवार्य गरेको हुनुपर्छ । बिम्ब प्रतिक र मौसम बोधक शब्दको प्रयोग बिना शास्त्रिय परिधि भित्र रहि लेखएका रचनाहरु सेन्र्यू अन्तर्गत पर्छन् । जस्ले तिखो वाण हानेका हुन्छन् व्यङ्ग्य मार्फत ।
सेन्र्यूको बिकास सत्रौं शताब्दीको अन्त्यतिर एदो शहरमा भएको मानिन्छ । सेन्र्यूको इतिहास दुईसय पचास वर्ष पुरानो तर तुलनात्मक रुपमा साहित्यको नयाँ रुप भनेर बितो सेन्र्यूले संकलित सेन्र्यूको पुस्तकमा लेखेका छन् । सेन्र्यूको नाम प्रख्यत जापानी साहित्यकार काराइ सेन्र्यूको नामबाट राखिएको हो ।

अस्पताल र औषधीको व्यापारी बीचको मिलेमतोमा गरिने भ्रष्टचार प्रति लक्ष्यित गर्दै कवि फुजिनावा ताकाआकीद्वारा लेखिएको सेन्यू यस्तो छ ः
व्योउइन मो
कुसुरी ओ नोन्दे
इकिते इरु
सेन्र्यूले वास्तवमै खरो व्यङ्ग्य हान्न सक्छ । सामाजिक घटनाक्रम प्रेम प्रसंग सांस्किृतिक कुरिति तथा राजनिति प्रति सेन्र्यूको माध्यमबाट व्यङ्ग्य जाल बुन्न सकिन्छ । पछिल्लो समयमा युवाहरुको माझमा यसले ख्याती पाएको छ । तर केही कविहरु राम्रोसँग बुझेर सेन्र्यू लेखेका छन् भने केहि त हाइकु लेख्दा लेख्दै प्राकृतिक किगोको अभावमा सेन्यूको कोटिमा पर्न गएका छन् । खास अर्थमा भन्नुपर्दा सेन्यूले असन्तुष्टिको पर्दाफास गर्छ । अन्याय अत्याचार यौन कि्रडा र्न्द्ध मनमुटाव जुन सुकै कुरालाई पनि उतकृष्ठ सेन्यूबाट व्यक्त गर्न सकिन्छ । हिजो आज यस्तो क्रम निकै बढेको छ । जापानी युवा पुस्ताहरुका माझमा निकै प्रभाव जमाएको सेन्र्यू नेपाली साहित्यमा पनि बिस्तारै बिस्तारै छाउँदैछ । फुटकर रचना मार्फत स्तरीय पत्रिमाहरुमा समेत सेन्र्यू पढ्न पाइएको छ । यसको साङ्लो अझै फैलने क्रममा छ ।

जापानी साहित्यमा हाइकु
तान्काको पूर्ण बिकसित रुप हाइकुले दिन प्रतिदिन विश्व व्यापकता पाउँदैछ । मानव मन भित्रका असंख्य भावनाहरु माथि हाइकुले प्रभाव जमाउँदैछ । कम शब्दको प्रयोगबाट नै विशाल भावना समेट्न र अनुभुति प्रकट गर्न हाइकु सफल देखिन्छ । जापानी साहित्यको फाँटमा फस्टाएको हाइकुको जरा अहिले विश्व साहित्यसम्म जेलिएकौ पाइन्छ ।

५-७-५ संरचना प्राकृतिक किगो अर्थात् मौषम बोधक शब्द नै हाइकुका मुल मन्त्र हुन् । हाइकुलाइ जापानीहरु आफ्ना राष्ट्रियतासँग गाँसेर हेर्छन् । हरेक हाइकुको ओजपूर्ण छनक दिन सक्नुपर्छ भन्ने स्पष्ट अडान छ उनिहरुको । मानवीय जीवन जगत् र सामाजिक पृष्ठभुमीका हरेक पाटोमा व्याख्या विश्लेषण र वर्णन गर्दा पनि प्रकृतिलाई नै आधार मान्नुपर्छ भन्ने धारणा जापानी कविहरुमा पाइन्छ ।

सातौं शताव्दीमा थालिएको श्रृंखलाबद्ध हाइकाइ लेखन क्रम बिस्तारै छोटिदै छोटिदै ५-७-५ संरचना मात्रको होक्कुसम्म आउन थाल्यो । केहि कविहरुले प्रयोग स्वरुप १७ अक्षरीय संरचनामा मात्र लेख्न थाले । ५-७-५ को मात्र प्रयोग गरेर होक्कु लेख्ने चलन त मुरोमाचीकालीन साहित्यिक युगमा देखा परेको थियो । तर त्यो बेला शैलि अस्पष्टताको कारणले होक्कुले जरा फैलाउन पाएन । हाइकाइलाई समेत व्यंग्यात्मक प्रस्तुतिमा प्राथमिकता दिइरहेको बेला नविन प्रयोग गरिएता पनि व्यंग्यात्मकताको शिकार बन्न गयो । थप केहि समय संक्रमणीय अवस्थामा बित्यो । तर समयको गति र मानसिक परिवर्तन सँगसँगै यो शैलिले पनि स्पष्ट अभिव्यक्ति र कवितात्मक आस्वादन दिन थाल्यो । आरकिन्दा मोरिटाके १४५२ – १५४० ले पहिलो पटक हाइकाइलाई होक्कु अर्थात् हाइकुमा रुपान्तर गर्न सफल भए । यसबेला सत्र १७ अक्षरीय संरचनालाई हाइकु भनिदैनथ्यो । होक्कु मात्रै भनिन्थ्यो । हाइकु नामाकरण भएको त धेरै पछि हो । मोरिताकेले लेखेको हाइकु यस्तो छः
झरेको फूल
हाँगामा फर्कन्छ कि
हेर पुतली

हालसम्म भेटिएका सामाग्रीहरुलाई आधार मान्दा सम्भवत उल्लेखित हाइकु नै जापानी साहित्यको पहिलो हाइकु रुपी रचना हो । मोरिताकेलाई अर्का कवि यामाकाजी सोकान १४६५-१५५३ ले पनि सहयोग गरेका थिए । यद्यपी हाइकाइ हास्य अभिव्यक्तिलाई काव्यात्मक आस्वादन पस्कीने काममा भिन्न विचार राख्ने तत्कालीन उदयीमान कवि माचुनागा तोइतोकु तथा निशियामा सोइनले पनि यस अघि प्रयास गरेका थिए तर उनिहरुको प्रयासले पूर्णता पाउन सकेको थिएन ।

हेइयान युग ७९४-११८५ मा लेख्ने गरिएको श्रृंखला बद्ध कविता वा रेंगाको रुप वदलिदै जान्छ । कविताहरु थकान मेट्न होस् वा विछोडको वेदना मेट्न होस्- होक्कु लेख्छन् । वाका लेख्छन् । हाइकाइ र रेंगामा खासै भिन्नता पाइँदैन । हाइकाइ श्रृंखला नै रेंगा हो ।
माचुनागा तेइतोकु १५७१-१६५३ हाइकाइका क्षेत्रमा माहीर मानिन्छन् । खासगरी अधिकारीक र परम्परागत संरचना यिनले छोडेनन् । सठौ शास्त्रिय नियमको अनुसरण गरे । जथावाभि विषयवस्तुको छनौट र छाडा हास्यव्यङ्ग्य प्रवृत्ति बढ्दै जाँदा तेइतोकुले बौिद्धक हास्यव्यंग्यलाइ बढावा दिए र उनि यसमा सफल पनि मानिन्छन् । हाइकाइका क्षेत्रमा नियमपालनको हकमा कडा रुपमा प्रस्तुत भए । तर उनको निधन पछीका दिनमा पुन फुक्का हुनथाले स्वतन्त्र हाइकाइ जन्मन थाले । कवि सियामा सोइन १६०५-१६८२ ले हाइकाइको प्राचीन निरन्तरतालाई ठूलो चुनौति दिए । अरु भन्दा भिन्न ढंगबाट प्रस्तुत हुन चाहे उनी । यसले गर्दा स्वतन्त्र हाइकाइ लेख्ने युवा जमातले झन् नियमहरु त्ााेड्न थाले । यसै कालका अर्का प्रिसद्ध कवि हुन् – इहारा साइकाकु १६४२-१६९३ उनी नब्बेको दशको एक दिन ओसाका शहरमा रात बिदाउँदा २४ घण्टामा २३५०० पिङ्त रचना गरेको भन्ने तथ्य भेटिएको छ । गृहयुद्धले ग्रसित तत्कालिन जापानी समाजमा काव्य रचना गर्नु निकै ठूलो उपलब्धि मानिन्थ्यो । त्यस माथि पनि सैनिक शासनको निति नै कवि र सिर्जनाको विपक्षमा थियो ।

दानरिन हाइकु विद्यालय त्यस बेला प्रख्यात थियो । विद्यार्थीहरु पनि प्रशस्तै थिए । यस विद्यालयका कविहरुले खास गरी स्वतन्त्र हाइकाइमा जोड दिन्थे । जसका नाइके कवि सियामा सोइन १६०५-१६८२ थिए । सोइनले हाइकु लेखन शैलि देखि लिएर वाचन शैलिसम्म सबै कुरा सिकाएका थिए । सन् १६६० मा सोइनले दानरिन हाइकु विद्यालय नखोलेको भए जापानी हाइकु यस अवस्थामा सायदै आउन्नथ्यो होला ।

हाइकु र सेन्र्युः आफ्नै रचना

हाइकु

डाफेको नाच
हिउँको रमझम
वादलु साँझ ।

कालीको खोँच
शिखरको उमँग
छिचोल्ने आँट ।

सेन्र्यु

पर्देशि लोग्ने
सतिसावित्री पत्नि
रिट्ठेको दशै ।

मैले थापेको
विद्युतीय धराप्मा
तिमी परिछौ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानद्धारा टोक्योमा आयोजित नियमित साहित्यश्रङ्खला-५ मा
प्रकाश पौडेल माइलाद्धारा प्रस्तुत कार्यपत्र जनवरी २००९

प्रकाश पौडेल माइला
उपाध्यक्ष
अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान
सम्पर्कः इमेल poudelprakash575@hotmail.com, yahoo.com
फोन नं ८१-८०६६३९३१३२

4 thoughts on “जापानी साहित्यमा हाइकु: मानयोशु काव्य संकलनदेखि माचुओ वाशोसम्म”

  1. तपाईंको ट्रेडमार्क हाइकुहरू
    तपाईंको ट्रेडमार्क हाइकुहरू पुनश्च‌: रस्वपादन गर्ने मौका मिल्यो। आशा छ तपाईंको यस कार्यपत्रले नेपाली हाइकुका पाठक र सर्जकलाई उपयोगी सिद्ध हुनेछन्।

  2. प्रकाश जी , हाइकु र सेन्र्यो
    प्रकाश जी , हाइकु र सेन्र्यो को फरक लाई पनि सजिलो सँग बुझ्ने गरी लेख्नु भएको छ ।
    फुजिनवा ताकाआकी को सेन्र्यो लाई नेपाली मा अर्थ पनि रखिदिनु भएको भए जापानीज नबुझ्नेलाई पनि अर्थ बुझ्न सजिलो हुन्थ्यो कि ।
    जय हाइकु ।

  3. जति सुने पानि झन् घत् लाग्दो
    जति सुने पानि झन् घत् लाग्दो –

    पर्देशि लोग्ने
    सतिसावित्री पत्नि
    रिट्ठेको दशै ।
    लेखक महोदय, हाईकुको उद्गगम स्थलबाट लेखिएको यो खोजमुलक लेख निकै उपयोगी छ । निरन्तर सक्रियताको अपेक्छ्या गर्दछौँ ।

  4. कुमार जी,दिनेश जी, अलोक
    कुमार जी,दिनेश जी, अलोक जी
    प्रतिकृया को लागि धन्यवाद । निरन्तर प्रतिकृया को आशा राख्दछु ।
    सहित्य मा मेरो प्रयास जारी रहनेछ ।

    प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *