Skip to content


भाइबहिनीहरू हो ! आज म तिमीहरूलाई गोसाइँकुण्डका बारे बताउँदै छु, ध्यान दिएर सुन ल ः

हाम्रो नेपाल प्रकृतिको राम्रो र रमाइलो मुलुक हो । यहँाका हिमाल, पहाड, नदीनाला, ताल, कुण्ड, पोखरी, वन-जङ्गल, मठ-मन्दिर आदिले गर्दा नेपाल हेर्न बर्सेनि धेरै विदेशीहरू पनि लोभिएर आएका हुन् । नेपाललाई प्रकृतिले धेरै राम्रो बनाइदिएको छ । अहिले तिमीहरू पुग्न, देख्न नसकेका ठाउँका बारे सुन, बुझिराख । पछि ठूलो भएपछि जानुपर्छ ल ?

गोसाइँकुण्ड बागमती अञ्चलको रसुवा जिल्लामा पर्दछ । त्रिशूली नदीको मुहान नै गोसाइँकुण्ड हो । गोसाइँकुण्डको नाम कसरी भयो भन्ने कुरा हाम्रो पुराणमा लेखिएको छ । गो, स्वामी, कुण्ड यी तीन शब्दमा गो को अर्थ हो संसारलाई मनले जित्नसक्ने । स्वामीको अर्थ हो मालिक अर्थात् शिवजी । उनै शिवले भित्तामा त्रिशूलले गोपेर पानी निकाली कुण्ड बनाएर त्यही जलकुण्डमा सुतेका हुनाले त्यो गोस्वामी कुण्डलाई बोल्दाबोल्दै गोसाइँकुण्ड भनिएको हो । यो कुरा हाम्रो पुराणमा लेखिएको छ ।

समुद्र मन्थन गर्दा निस्केको कालकूट विष शिवले नै लिनुपरेको र त्यसलाई मुखमा राखी नीलकण्ठ हुँदा त्यो विषले पोलेपछि छट्पटाएर दौडदै जाँदा त्यो हिउँ भएको डाँडोमा पुगी त्रिशूलले भित्तो खोपेर पानी निकाली कुण्ड बनाएपछि त्यो कुण्डको नाम गोसाइँकुण्ड रहेको हो ।

अब म तिमीहरूलाई गोसाइँकुण्ड कहाँ छ ? कसरी जाने ? भन्नेबारेमा बताउँदै छु ।

गोसाइँकुण्ड पुग्नलाई सबैभन्दा सजिलो बाटो हो काठमाडौँबाट बसमा चढेर त्रिशूली हुँदै धुन्चे पुग्ने । त्यहाँबाट भने दस-बाह्र घन्टाको उकालो चढेर गोसाइँकुण्ड पुगिन्छ । धुन्चेबाट एक घन्टा तेर्सै गएपछि घट्टे खोला पुगिन्छ । त्यहाँबाट ठाडै उकालो लाग्दा दुई घन्टामा द्यौराली, त्यसपछि एक घन्टामा ढिम्सा, अनि अर्को एक घन्टामा चन्दनबारी, अनि अर्को ढेड घन्टामा चोलाङ्पाटी, त्यहाँबाट हिँडेपछि डेढघन्टामै लौरीविनायक अनि अर्को डेढ घन्टामा बुद्ध मन्दिर पुग्न सकिन्छ ।

भाइबहिनीहरू हो ! तिमीहरू पनि ठूलो भएपछि एकपटक गोसाइँकुण्ड त जानै पर्छ है । ठाउँ रमाइलो छ । त्यहाँ जाँदा माथिबाट झरेका सेता झरना, कहालीलाग्दा घना जङ्गल, पत्याउनै नसकिने पहाडका डाँडा, काला ढुङ्गा भएका घोप्टे भीर, माथिका नाङ्गा पहाड, अझ माथिका सेता हिमाल । यी सबैलाई हेर्दा त साँच्चै नेपाल बनाउने प्रकृतिको कालीगढ अनौठै रहेछ जस्तो लाग्दो रहेछ । त्यति माथि पुगेर पनि भगवान् शिवले त्यत्रो विशाल पोखरी कसरी बनाए होलान् ? त्यो पनि अनौठै लाग्ने । धेरै अग्लो पहाड चढ्न त गाह्रो भै नै हाल्छ । त्यसमा पनि त्यो चिसो ठाउँको हावाले सास फेर्नमा निकै गाह्रो भएर कसैलाई टाउको दुखेजस्तो, कानै थुनिएजस्तो अप्ठ्यारो अनुभव हुने भयो भने त लेक लागेको भन्दा रहेछन् नि ! कोही धार्मिक यात्रु गोसाइँकुण्ड पुग्न सकेन भने त्यसलाई नबुझ्नेहरूले त पापी भएकोले जान नसकेको पनि भन्दा रहेछन् । यस्ता कुरालाई भाइबहिनीले विश्वास नगर्नु । लेक लागेको, पाप लागेको भनेको गह्राँै हावा मुटुमा पुग्न र र्फकन नसकेकोले मात्र हो । बुझ है, डराउनु पर्दैन । त्यसो त धेरै बूढाबूढी र दम्ाको रोग भएकाहरूलाई मात्र हुनसक्छ । हजारौँ यात्रुका सङ्ख्यामा दुई चारजनालाई मात्र त्यस्तो भएको देखिँदा हामी नेपाली, लेकाली मुलुकका सगरमाथावासीले पहाड चढ्नुपर्छ सम्झी राख ल । अलि ठूलो भएपछि बिदा र फुर्सदको समयमा एकपटक गोसाइँकुण्ड त पुग्नुपर्छ नि ! दर्जनौं प्रकारका लालीगुराँसहरू वनभरि फुलेका दृश्य, अनेकन् जडीबुटी, जराजुरी, चरीबरीका राम्रा र रमाइला दृश्यहरू देख्न पाइने गोसाइँकुण्ड किन नपुग्ने ? अझ दुई चार वर्षपछि त लौरी विनायकसम्म बाटै पुग्न सक्यो भने लौरीविना नै लौरीविनायक पुग्न सरल र सहज हुनेछ । फेरि अर्को सम्भावना त मनकामनामाझैँ गोसाइँकुण्ड पुग्ने केबुलकार बनेर नेपालका यस्ता टाकुराहरू सुगम बन्न पनि सक्लान् । जेहोस् हिँडेरै भए पनि एकपटक त गोसाइँकुण्ड पुग्नै पर्दछ ल ! हुन त जुन महिना र मौसममा पनि हिउँ पर्ने गोसाइँकुण्डमा साउनको जनैपुर्नेको मेलामा भन्दा जेठको गङ्गा दशहरा मेलामा जानु सरल र सहज हुन्छ । म पनि हालसालै गोसाइँकुण्ड पुगेर आएँ । हाम्रोजस्तो प्राकृतिक सुन्दरता भएको मुलुकको महत्वपूर्ण ठाउँ गोसाइँकुण्डबारे तिमीहरूलाई पनि जानकारी होस् भनेर नै तिमीहरूलाई गोसाइँकुण्डका बारे बताएको हुँ । तिमीहरू पनि त्यहाँ पुगेपछि आफ्नो यात्रा संस्मरण सुनाऊ भने नबिर्सनू नि ! आजलाई यत्ति नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *