Skip to content

चार मन्त्र



धेरै बर्स पहिला पुस्पन्त नाम गरेको गाउमा एकजना परिवार बस्ने गर्दथे । पत्नी वियोगले पिरोलिएका उक्त ब्यक्ति गाउकै महाजन ठुला ब्यापारी थिए । धेरै तर्फ बाट दोश्रो विवाह को प्रस्ताव र ढिट गरे पनि बालख छोरालाइ सौतेनी आमाको छाया बाट टाढै राख्न सूर्यमान साहुले अर्को विवाह नगरी बसे । औशी को चन्द्रमा झै सुर्यमान शाहुको छोरा पनि दिनानुदिन बढ्दै गयो । सूर्यमान साहुले आफ्नो व्यापार ब्यवसायको क्षेत्र मा राम्रो उन्नति प्रगति गरेर चारै तिर ख्याति कमाएका थिए । मन का धनी तथा परेका बेला गरिब निमुखा हरुको सेवामा हाजिर भै हाल्ने उनले आफ्नो क्षेत्र मा कडा मेहनत गरेका कारण धन सम्पत्ति लगायत कुनै पनि भौतिक वस्तुहरुको कमि थिएन । सबै चिज भएर पनि सुभद्रा को न्यानो माया बर्षौ पहिले गुमाएका कारण एक्लो पनले कहिले काहीँ निस्सासिने गर्दथे तथापि छोराको अनुहारमा सुभद्राको झल्को देखे पछि सान्सारिक रित यस्तै हो भन्दै चित्त बुझाउने कयौं असफल प्रयास गर्दथे ।

सबै आमा बाउको सोचाइ सायद एउटै हुदो हो र त सूर्यमान शाहुलाइ पनि एउटा कुराले जहिल्यै मन खड्किने गर्दथ्यो कि मैले र सुभद्राले दु:ख गरेको जोडेको यत्रो साम्राज्य को के होला ? मेरा सेख पछि छोराले आफ्नो जीवन कसरी चलाउला ?

उता सूर्यमानको छोरा नारायण मान लाई बाबुले कमाइदिएको रुपैयाँ पैसा उडाउनमा फुर्सद थिएन । पढाउन लेखाउन पठाएका छोरा खराब सङ्गत मा लिप्त भै पढाइ सढाइ छोडी बाबुलाई कुनै सर सहयोग नगर्ने , मोज मस्ती मा मात्रै रुमल्लिने , ध्रुमपान, मध्यपान नसालु चिजका सेवन आदि ले सूर्यमान साहु आजीत थिए । केही सम्झाउनै नहुने आफैलाइ पिटौला झै गर्छ। काखको ध्रुव तारा जस्तो छोरो यस्तो अज्ञानी र मूर्ख भएको देखेर सोच्दा सोच्दै केहि समय पछि सूर्यमान साहु बिरामी हुन पुगे । अब उनलाइ महसुस हुन थाल्यो कि सायद म बाच्दिन होला तब चिन्तै चिन्ताले छ्टपटिदै आफ्नो छोरा लाई बोलाएर असल जीवन बिताउन तथा जीवनमा सफलता हासिल गर्न चाहिने कुराहरु आफ्नो जीवनका भोगाइ, ब्यापार ब्यवसाय , घर गृहस्थी सबैको बारेमा कुरा गर्दै भोलि म मरेर गए पछि पनि जीवनमा यी चार मन्त्र कहिल्यै नबिर्सनु , सधै यसैलाइ अवलम्बन गरेर जीवन अगाडि बढाउनु भनेर यी चार मन्त्रहरु छोरालाइ दिदा भए –

१. छोरा जब तिमी काममा जान्छौ घाममा कहिल्यै ननिस्किनु । छाँया मा जानू छाँयै मा फर्किनु

२. घरको चारै तिर छालाको पर्खाल बनाउनु

३. सधै मीठो भोजन गर्ने गर्नु

४. श्रीमती लाई सधै बाधेर राख्ने गर्नु

यी ज्ञान हरु दिई सके पछि छोराको बिबाह गरिदिने सोच बनाउदा बनाउदै केही दिन मै उनलाइ चिन्तै चिन्ताले चिताको बाटो डोहोर्यायो ।

मेघ सङ्ग व्योम लुकामारी खेल्दा खेल्दै समय बित्दै गयो अब नारायण मान ले आफ्नो बुबा बाट पाएको दिब्य मन्त्र आफ्नो मन मस्तिष्क मा राखेर आफ्नै बुबा का असल सहयोगी मित्र रघुविर कि छोरी सङ्ग लगन गाठो कसि नयाँ जिन्दगी को शुरूवात गर्न थाल्यो ।

अरुको काधको जिम्मेवारी लाई फुटबल खेल्नु र आफ्नो काधको जिम्मेवारी उठाउनु बिचको भिन्नता बिस्तारै नारायण मान ले बुझ्दै गयो । पहिलेको भन्दा ब्यापार क्रमशः घट्दै गयो बल्ल झल्यास्स उसलाइ बुवाले दिएको मन्त्र याद आयो छाँयामा जानू छाँयै मा फर्किनु । तत्कालै आफ्नो घर देखि ब्यापार गर्ने ठाउँ सम्म घाम नपर्ने गरि छाउन लगायो ताकी घर देखि आउदा जादा घाम ले नभेटोस । घाम बाट बच्नको लागि उसले लगाएको यो उपाय देखेर आफै दङ्ग भयो

बुवाको उपदेश याद गर्दै घरको वरिपरि छालाको पर्खाल जस्तै बनाएर घर घेर्न आदेश दियो ।तत्काल आज्ञाको पालना भयो छालाको दुर्गन्धले घर वरपरका छिमेकी हरु बस्नै नसक्ने स्थितमा पुगिसकेका थिए तर साहु महाजन लाई यसो नगर्नुस भन्ने आट कसैमा थिएन । नारायण मान प्रतिदिन आफ्नी वामांगी लाई आदेश दिन्थ्यो कि भान्सामा काम गर्ने मानिसहरुले मीठो मीठो भोजन मात्र बनाउन जस्तै खीर , हलुवा ।

यी सबै हर्कत हरुबाट नोकर चाकर लगायत स्वयं उसैकी श्रीमती पनि अचम्मित थिइन । एक दिन कुरै कुरामा श्रीमानलाइ खुसी बनाइ यी सबै गर्नुको रहस्य जान्ने इच्छा प्रकट गरिन तब थाहा भयो कि असल जीवन बिताइ सफलता हासिल गर्न का लागि बुवाहजुर ले दिएका अमुल्य चार मन्त्रहरु रहेछ्न । गुणवान् शुशील धर्म अधर्मको ज्ञान चेत भएकी एउटा संस्कारि कुशल गृहिणी भएको नाताले उनले त्यो कुरो झट्टै थाहा पाइन तर तत्काल कुनै प्रतिप्रश्न गर्न सकिनन ।

एवं रितले समय बित्दै जादा श्रीमती आफ्ना श्रीमानको मुर्ख्याइँ हर्कत हरुबाट आजित थिइन । एकदिन अन्जानमै श्रीमती बाट एउटा गल्ती हुन पुग्यो , मुर्ख लाई रिस प्यारो अब के चाहिन्थ्यो र ! उसले आफुमा भएको सम्पुर्ण रिस श्रीमती माथी खन्यायो तब झट्टै बुवाले दिएको ज्ञान याद आयो कि श्रीमती लाई सधै बाधेर राख्नु । अनि के चाहिन्थ्यो र नोकरलाइ आदेश दिएर श्रीमती लाई बाध्न लगायो ।

श्रीमती लाई बाधेर जसै हिड्न लागेको थियो करुणा भरिको स्वरमा मलिन दिव्य ध्वनी पछाडी बाट आयो , हे नाथ ! हे प्राण प्यारा तपाईं नै त मेरो सबथोक हुनुहुन्छ । यो सजाय त के हजुरले दिनुहुन्छ भने मृत्यु दण्ड समेत म हासिहासी स्विकार गर्न तयार छु । हे प्यारा ! आजका दिन सम्म मैले हजुर सङ्ग केही मागिन आज हजुरको थोरै समय माग्दै हजुरका पाउमा विनती बिसाउछु हे नाथ ! मेरा दुई शब्द सुनिदिनुस । आगोको भुङ्रो जस्तो रिसलाइ श्रीमतीको मायाको शितलताले तपक्कै भिजाइदियो । दुई शब्द सुन्दैमा के जान्छ र भनेर मनमा लागेको कुरा भन्न आदेश दियो तब श्रीमती हात जोडेर भन्न लागिन हे स्वामी ! म हजुर कि दासी भएर रहनमा अत्यन्तै खुसी छु , जब सम्म हजुरको साथ पाउछु यो मेरो सौभाग्य हो अनि मेरा लागि स्वर्ग नै यहि हो । सातै जन्म पाए पनि हजुर नै स्वामी पाउ भनी भजिरहन्छु । मैले अन्जानमा गरेको गल्ती ले हजुरलाइ ठेस पुर्याएको मा अनभिज्ञ थिए यदि मेरो गल्ती माफी को लायक छ भने हे नाथ मलाइ माफ गरिदिनुस । मूर्ख सङ्ग बहस गर्नु भन्दा मौन बस्नु निको भन्ने बुझी उनी चुपचाप श्रीमानले दिएको सजायमाथि प्रतिवाद नगरी बसिरहिन ।

यसरी चैत्र बैशाख को प्रचण्ड गर्मी मा हिमालका चम्किला हिउहरुका डल्लाले सिन्चित गरेझै नारायण मान को मन कमलो भएर आयो , मनमा ग्लानी भाव छचल्किएर आयो कि मलाइ यस्तो माया गर्ने श्रीमती लाई मैले यो के गरे ? तर हठात बुवाले दिएको उपदेशले उसलाइ आफ्नो निर्णयमा अडिग बनाइदियो र फेरि भन्न लाग्यो बुवा हजुरले यी नै ज्ञान उपदेश जीवनमा लागू गरेर अथाह नाम र दाम कमाउनु भयो मर्ने बेलामा मलाइ दिनुभएको यो सफलता को मन्त्र म कुनै हालतमा परिवर्तन गर्दिन ।

यति भनेर श्रीमती लाई बाधेकै अवस्थामा छाडेर उ त्यहा बाट बाहिर प्रस्थान गर्यो ।

रातभर बाधेकै अवस्थामा छाडेर भोलि पल्ट रिस शान्त भए पछि श्रीमती का पासमा आइपुग्ना साथ श्रीमती भन्न लागिन हे स्वामी ! म त हजुर ले दिनुभएको सजायमा एउटा छुट्टै आनन्द लिइरहेको छु बरु म नहुदा हजुरलाइ नोकर चाकर बाट कुनै दु:ख कष्ट त भएन ? चम्पा चमेली फुलेको जस्तो मुखबाट मह जस्तै गुलिया अनि प्रेमील शब्दहरुले हिउँ पग्लिएर बाढी आए जस्तै उ केही बोल्नै सकेन । गुणवती बुद्धिमान श्रीमती ले आज जसरी भए पनि श्रीमानको मुर्ख्याइँ बुद्धि आज उनलाइ बोध गराइ छाड्ने निधो गरि अनुमती पाए केही भन्न चाहेको कुरा व्यक्त गरिन ।

श्रीमानको आदेश पछि भन्न लागिन हे स्वामी ! आज राती मेरो सपनामा बुवाहजुर आउनु भएको थियो हजुरको स्वास्थ्यको बारेमा धेरै सोधिखोजी गर्नु भयो । अनि मैले यो चार मन्त्रको बारेमा अझ बिस्तृत रुपले प्रस्ट्याइदिन आग्रह गरे । हजुरले गरिरहनु भएको कार्यले बुवाहजुर असाध्यै दुखी हुनुहुदो रहेछ , तर मैले हजुरका तर्फबाट माफी मागे पछि उहाले फेरि सबै कुरा प्रसट्याइदिनु भयो । बुवा हजुर ले भर्याङ देखाएर भन्नू भयो कि यो यहि भर्याङ हो जसले तलको मान्छे लाई माथी पनि लिएर आउँछ माथिको मान्छेलाइ पनि तल लिएर जान्छ । त्यसैले भर्याङ ले तल मात्रै लिएर जान्छ र माथी मात्रै लिएर जान्छ भन्ने वहस त्यागी त्यस भर्याङ को सहि उद्देश्य बुझ्नु ठूलो कुरा हो । जसरी काममा जादा छाँया मै जानू छाँयामै आउनु भनेको प्रत्येक दिन काममा जादा सूर्योदय भन्दा पहिले नै जानू र सूर्यास्त पछि घर फर्किनु ताकी आफ्नो काममा यति ब्यस्त भैयोस कि बाहिरी माया मोह अनि ब्यर्थको छ्लकपट बाट टाढा रहन सकियोस । हे स्वामी ! बुवा हजुरले दिनु भएको पहिलो मन्त्रको उद्देश्य त यो पो रहेछ ।

दोश्रो मन्त्र :- घरको वरिपरि छालाको पर्खाल लगाउनु

हे नाथ ! यसको मतलब यो रहेछ कि आफ्नो घरमा कुकुर बिरालो पाल्नु ताकी चोर हरुबाट सुरक्षित हुन सकियोस । हजुरले यो जुन भैसीको छालाले घर बेर्नु भएको छ यो त अर्थहिन रहेछ ।

तेश्रो मन्त्र :-सधै मीठो खानेकुरा खानु

हामीलाइ सधै परिश्रम गरिपछी जब भोक लाग्न थाल्छ तब भोजन गर्नु ताकी एउटा सुकेको रोटि ले पनि त्यो भोको पेटलाइ चौरासी ब्यन्जनको सन्तुष्टि दिन्छ ।जब कसैलै धेरै भोक लाग्छ तब कसैले पनि यो के यस्तो खाना बनाको ? यस्तो पनि कसैले खान्छ ? भनेर खानाको अपमान गर्दैन । तर हजुरले त प्रत्येक दिन मीठो मीठो खाना बनाउने आदेश दिनुहुन्छ हे स्वामी ! दैनिक मिठास भोजन ले त मनुष्यलाई गम्भीर बिमारीको मुख तर्फ पो धकेल्दो रहेछ । बुवा हजुरले यो मन्त्र को सार यसरी बयान गरिदिनु भयो ।

अज्ञानी जंगली पशुलाइ त सिकाउदा सबै मानव गुण सिक्छ भने हामी त मनुष्य प्रजाती । यस्तो कहिल्यै कल्पना नै नगरेको कुराको सविस्तार बयान ले आफ्नो अज्ञानताको भेद लुकाउदै चौथो मन्त्रको अर्थ जान्ने कौतुहलताले हौसिदै अनायासै मुख बाट चौथो मन्त्रको अर्थ चै बुवा हजुर ले कसरी वर्णन गरिदिनु भयो भनेर प्रश्न गर्यो । यति प्रश्न सुन्नासाथ बिदुषी श्रीमती ले बुझिसकेकी थिइन कि मैले श्रीमानलाइ सबै कुरा बुझाउन समर्थ भै सके ।
र अन्त्यमा भन्न लागिन हे स्वामी !

चौथो मन्त्र :- पत्नी लाई सधै बाधेर राख्नु

यसको मतलव श्रीमान श्रीमती विवाह गरेर एउटै बिच्छ्यौना प्रयोग गर्दैमा कसैको पनि पति र पत्निको सम्बन्ध हुदैन । यसमा प्रेम , विश्वास , जिम्मेदारी वहन को भाव जब सम्म हुदैन त्यो सम्बन्ध केवल नाम मात्रको हुने गर्दछ । यदि पति पत्नीको बिचमा प्रेम र बिश्वास हुदैन भने एकले अर्कालाइ विश्वास घात गर्ने , धोखा दिने , छ्लकपट गर्ने गर्दछ्न । जुन वैवाहिक जीवनको समाप्ति र पारिवारिक विखण्डनका पुर्वाधारहरु हुन त्यसैले सम्बन्धलाइ दरो अनि मजबुत बनाएर राख्नु पर्दछ ।
झाडु कुच्चो जब सम्म डोरि ले बाधिएको हुन्छ उसले राम्रो सङ्ग फोहर हरु बडार्ने गर्दछ तर जब डोरि चुडिन्छ वा डोरि फुस्किन्छ अर्थात जब डोरि कमजोर हुँदै जान्छ त्यतिबेला फोहर सफा गर्ने चिज नै आफै फोहरको डङ्गुर बन्दछ । त्यसैले सधै आफ्ना हरु सङ्ग बाधिएर रहिरहनुस किनकी अनेकता मा नै एकता हुन्छ । हे पति परमेश्वर पत्निलाइ बाधेर राख्नुको अर्थ सम्बन्धलाइ उच्च महत्व दिनु भन्ने पो रहेछ ।
श्रीमतीका मुखाराबिन्द बाट बुवा हजुरले दिनु भएको चार मन्त्रको वृतान्त स विस्तार वर्णन सुनिसके पछि नारायण मानलाइ आफुले अहिले सम्म गरेको कार्य प्रती आफैलाइ घृणा र लज्जाबोध भएर आयो । हिङ नभए पनि हिङ बाधेको टालो भने जस्तै बुवा को मृत्यु पछि आफू त टालो मात्रै भएको यथार्थ कुरा बोध भयो । गलत सोचले सहि चिजको महत्त्व नबुझ्दा आफ्नै श्रीमती तथा समाजमा आफुले गरेको कर्मप्रती लज्जित भै ग्लानी ले पानी पानी भएर श्रीमती सङ्ग माफी माग्न थाल्यो । इन्द्रावती जस्ती सुशील श्रीमतीले आफ्नो श्रीमान को आँखा खोल्न सकेको मा मन मनै हर्षित भइन । श्रीमान पनि यस्ती बुझकी शिक्षित संस्कारी श्रीमती पाएकोमा भाग्यमानी रहेछु भन्दै भगवान र स्वर्गीय पिता लाई धन्यवाद दियो । यसरी पछि श्रीमान श्रीमती मिलेर बुबाले आर्जन गरेको भन्दा अझ धेरै नाम र दाम कमाएर सुख का साथ जीवन ब्यतित गर्न थाले ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *