”मौद्रिक तरलता घट्यो , त्यसको प्रभाव सहकारीहरुमा पनि पर्यो । यसरी त सहकारी धरासाही हुने भयो,” अध्यक्ष मानसिँहले चिन्ता व्यक्त गरे ।
”अनुभवी सञ्चालकहरुले चलाएको सहकारीको त यो हालत छ । ती महिलाहरू मिलेर खोलेको प्रगति चोकको सहकारी कुन हालतमा होला ?” सचिव कमलले जिज्ञासा राख्यो ।
”यस्तो आर्थिक मन्दीले ब्यापार डामाडोल भएको बेला नाथे आईमाइले के नाप्न सक्छन् ? चुरीफुरी मात्रै हो ! यो सहकारीको झमेलामा नफस् । बरु दुइटा भैंसी थप आईमाइलाई त्यही सुहाउँछ । माझ घरे ठुलीलाई भनेको थिएँ । बडो फुर्ती गरेर आफ्नै नेत्रित्वमा लक्ष्मी सहकारी खोलेर अध्यक्ष विजया गुरुङ टोपलिएकी छे,” भन्दै मानसिँह गलल हाँसे ।
”उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्दै छ रे सहकारी दिवसमा । हौसलाको लागि राम्रो निर्णय गरेछ डिविजन कार्यलयले,“ अफिसमा छिर्दै शेयर सदस्य अनुले भनिन् ।
”कार्यक्रममा जाँदैछौ । तिमी पनि हिँड ! हाम्रै सहकारीले त होला पुरस्कार पाउँने,” उस्साहित हुँदै बोले मानसिँह ।
कार्यक्रमका उद्घोषकले घोषणा गरे, ”उत्कृष्ट सहकारीको नाम हो लक्ष्मी सहकारी ।”
कल्पना पौडेल “जिज्ञासु”
खजुरा बाँके