Skip to content

सानी मान्छे

सुस्त पवनको झोक्कासँगै,
शितलताको अनुभूति गराउदै देखा पर्छे,
मुस्कुराउदै विलाइदिन्छे बादलसरी,
छिनमै उदाउछे उसैगरी फेरि घामको किरणझैं           
मनभरी न्यानो बोकेर,
हिमाल टल्किएझैं सुन्दरता पस्किदै देखा पर्छे,           
बादलको घुम्टो खोली,
पूर्णिमाको चन्द्रमालाई आकाशतिर नियाल्द‌ै,
ताराहरु गन्दै हेरिरहँदा आकाशतिर,
फेरि झुल्किन्छे ध्रुवताराझैं मनको कुनामा,
बजाउँदै सारंगीको मीठो धुन लजाउँदै,             
छड्के पारेर नयनहरु,
सपनाको गन्तव्यमा पाउजु बजाउँदै, पाइलाहरु बढाइदिन्छे,
फर्किएर पछाडि, हेरेर नअघाइ, लुकिलुकी मुस्कुराउछे,
कतै तिर्खाएको काकाकुल्लीझैं गरि,
कतै भरिएको तालमा छिनछिनमा देखिने छालहरुजस्तै,
सल्बलाएका चाहानाहरुलाई आवाजहरुलाई दबाउँदै,
इन्द्रेणीको रंगहरुभित्र आफूलाई हराउँदै,
फेरि टुप्लुक्क देखिन्छे झुकाउदै अधरहरु,
गंगाजलझैं पवित्र मनलाइ बंगालको खाडीमा मिलाउन
आत्तिदै दौडिन्छे, जानि नजानी,
आखिर सानी मान्छे न त हो,
एउटा सानी मान्छे,
सिर्फ सानी मान्छे,
मान्छेभित्रको सानी मान्छे,
एउटा मान्छे,
सानी मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *