उम्लिएर ओस्सिएका चिसा रगतहरु
बन्द बाकसमा आराम गर्दै गर्दा
गहुँ र तोरीमा छरिएका युरिया जसरी
उत्पादकत्त्व बढाउन छरिन्छ्न नुनका ढिकाहरु
अनि बाकसको गर्भ गृहबाट अश्रुपूर्ण क्रंदन सङ्गै
न्याय नपाएका चित्कारहरु विस्फोट हुँदा
थुन्चे भरिका समवेदना अनि
मान्द्रो भरी सुकाइएका अकबरे सान्त्वनाहरुले
कमेरो र रातो माटो भन्दा गाढा बनेर
इन्द्र धनुष बनाउन खोज्छ्न
तर सिँउदो पुछिएर रगताम्य भएका बलेसीहरु
फुटेका चुराले गहिरा घाउ भएका अबोध भित्ताहरु
नतमस्तक छ्न कुनै बिद्रोह बिना
त्यो आँगन त्यो गल्ली त्यो गोरेटो त्यो चौतारी
त्यो उकाली त्यो देउराली अनि त्यो पधेरोमा
फालेको त्यो रातो सारी
चँदुवा भै टागिएको छ
मुगलानले उब्जाएको पैसो यति मूल्यहिन भएको छ कि
झरेका अश्रुहरुले
रारा र फेवा तालको अस्तित्व माथी प्रश्न गरिरहेका छन
सेतो वस्त्रको महङ्गाइले
सगरमाथालाई पनि होचो बनाइदिएको छ
बगेका आँसु पुछ्न र चिसा रगत सजाउन
परिबन्धको श्वास बोकेर रातो बाकस बर्बराउदो छ
प्रीये !
महल भन्दा मलम उत्कृष्ट रहेछ
सानेलाइ त्यो सिकाइदिनु
आमा तिमीले ठिकै भन्थ्यौ
सुन भन्दा नुन निको हुने रहेछ
प्यारी तिमीले त्यो हेक्का राखिदिनु
बाबा म परिक्षामा पूर्णतः फेल भए
बर्खामा लगाउदै गरेको हिलो आलीमा म दौडिदा
अर्को चप्परी माटोले फेरि चिल्याइदिनुहुन्थ्यो
लड्नु असफल हैन भन्ने तपाइको त्यो आदर्श बुझ्न सकिन
तपाइँले मकै छोडाउदै गर्दा म ज्यामिती पढ्दै थिए
तैपनि तपाइका हातका ठेलाको आकार ठम्याउन सकिन
अंक गणितमा स्याउ र आँपको मूल्य निर्धारण गर्ने फर्मुला सिक्दै गर्दा
तपाईंको पसिनाको मूल्य केलाउन जानिन
अधिया खेतका धान बेचेर कलेज फी लिदै गर्दा
बिडीका ठुटाले प्वालै प्वालै भएको तपाईंको इस्टकोटको महत्त्व बुझ्न सकिन
नाडीमा घडी बाधिदिनु भयो तर समय चिन्न सकिन
मलाइ तातो हुने ऊनीको स्वेटर र जुत्ता किनिदिदा
तपाइँका फुटेका कुर्कुच्चा र खिएका चप्पलको गहिराइ बुझ्न सकिन
बाबा यहाँ बुझाइ र अबुझाइ दृष्टिकोण र दृष्टिभ्रमको
कयौं खाडल बनेको रहेछ
कमाएको गुमाइदै रहेछ
गुमाएको फर्किने कुनै आशा बिना ….
पारदर्शी र अपारदर्शी खाडललाई
मेरो यो अन्तिम बाकसले यसरी पुर्न सकोस कि
बाबा उम्लिएर तात्तिएका ताता रगतहरु
अब फेरि फेरि बन्द बाकसमा कहिल्यै आराम गर्न नपरोस
मधुर ध्वनिहरु धुवाँ जसरी विलिन भएर गए
काग करायो , कुकुर एकोहोरो रुन थाल्यो
मानिसको क्रंदन चिच्याहट र कोलाहलले
आकाश तरङ्गित हुँदै थियो
सायद बुझ्यो होला उसले पनि
सहज मृत्यु भन्दा असहज जीवन नै जीवनमय हुन्छ
