Skip to content

प्रधानमन्त्रीको दुई कार्यकाल

भ्रष्टाचारको शाब्दिक अर्थ भ्रष्ट अभ्यास हो । आफ्नो स्वार्थका लागि समाजको नैतिक मूल्य मान्यतालाई लत्याएर गरिने यस्तो कामलाई भ्रष्टाचार भनिन्छ। नेपाल लगायत अन्य विकासोन्मुख देशहरूमा पनि भ्रष्टाचार तीव्र गतिमा फैलिरहेको छ ।

भ्रष्टाचारमा हामी प्रायः देशका राजनीतिज्ञहरूलाई मात्र जिम्मेवार ठान्छौं तर सत्य यो हो कि देशका आम नागरिक पनि विभिन्न किसिमका भ्रष्टाचारमा संलग्न छन् । अहिले कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन । भ्रष्टाचार भनेको गैरकानूनी माध्यमबाट पैसा कमाउनु हो, भ्रष्टाचारमा व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थका लागि देशको सम्पत्ति दुरुपयोग गर्दछ भने यो नै देश प्रगतिको बाटोमा सबैभन्दा ठूलो बाधक हो । व्यक्तिको व्यक्तित्वमा कमजोरी हुँदा देशमा भ्रष्टाचारको मात्रा दिन दुई गुणा रात चौ गुणा बढ्दछ ।

भ्रष्टाचार यस्तो अनैतिक प्रथा हो, जसमा मानिसले आफ्नो सानातिना चाहना पूरा गर्न देशलाई खतरामा पार्न रत्तिभर पनि हिच्किचाउदैन। देशका भ्रष्ट नेताहरूले गरेको घोटाला भ्रष्टाचार मात्रै होइन, एउटा किसानले दूधमा पानी मिसाउनु पनि भ्रष्टाचारको एउटा रूप हो । भ्रष्टाचार देशको धमिरा हो जसले देशलाई भित्रैबाट खोक्रो बनाएको छ । यो व्यक्तिको व्यक्तित्वको दर्पण हो जसले लोभ, असन्तुष्टि, बानी र मन जस्ता विकारहरूले गर्दा अवसरको फाइदा कसरी उठाउन सक्छ भन्ने देखाउँछ।

त्यसैले यदि देशमा कानुनी राज चलाउने , सुशासन र समृद्धि सहित राम राज्य स्थापित गराउने हो भने सर्व प्रथम भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउनु पर्छ । भ्रष्टहरुलाइ बुइ बोक्न हुँदैन । यदि देशलाइ बस्न योग्य बनाउने हो भने भ्रष्टाचार रहित समाजको परिकल्पना गर्नु पर्दछ । आशा छ यो लडाइमा तपाईंहरुले मलाइ साथ दिनु हुनेछ । यो विकृति विरुद्ध हामी एकजुट भएर लड्नेछौ ।
हरेक बोलीमा ताली बररर र …….. बर्षिरहेका थिए ..

♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️

केहि दिन पछि एउटा ठूलो भिड विजयोल्लास मनाउदै नगर परिक्रमा गर्दै थियो , अबिरै अबिरले सजिएको त्यो अनुहार पहिलो पटक देख्नेहरुका लागि चिन्नै नसकिने अवस्थामा थियो । भित्तामा टासिएका पम्प्लेटहरु र ब्यानरहरुमा छिन छिनमा हावाको झोक्का पर्दा मधुर बासुरीका ध्वनिले शङ्खमान गर्दै गरेको अनुभुति भैरहेको थियो ।

अरु पटकको चुनाव र यो पटकको चुनावमा निक्कै फरक थियो । जित्ने मान्छेको गलामा एउटा पनि फूलका माला थिएनन लाग्थ्यो बोटै बाट त्यो जीतलाइ बधाइ दिइरहेका थिए । अप्रत्याशित खुशीको अपार सागरलाइ सजाउन कुनै शुभ मुहुर्तको लागि पर्खिरहेका थिए । यसरी जनताको एउटा अन्तिम आशा अमृत पिइरहेको थियो ।

जनताको यो अपार मायाले श्रद्धा र विश्वासको सुगन्ध पूरा देशमा महकिरहेको थियो । टिभी च्यानल रेडियो एफएम , गल्ली मोहोल्ला , चिया पसल संसद सदन सबै तिर एउटै कुराको चर्चा परिचर्चा चलिरहेको थियो । चुनावी रणनीतिमा चुकिएको विश्लेषण र समिक्षा गर्न सम्म नभ्याइ केही राजनीतिक पार्टी दाग खोजेर जनतालाइ दिग्भ्रमित गराइ विजयी पार्टीको नकारात्मक प्रचारप्रसार गर्न उन्मत्त उत्तेजित भै मकै भुट्दा उच्छिटिएका जस्तै छटपटाइरहेका थिए । बर्षौ देशलाइ उडुस र उपियाले झै चुसेर बसेकाहरु यो हारलाइ किमार्थ स्वीकार गर्ने पक्षमा थिएनन किनकि अराजकता आतंक र वितण्डा उनीहरुको राजनीतिक सिद्धान्तको पहिलो पेजको पहिलो लाइनमा ठूलो अक्षरमा लेखिएको थियो ।

प्रत्येक मिनेट पनि बाह्र बर्षको वनवास लागिरहेका बखत हरेक मिनेट हरेक घण्टाको त्यो चुनावी नतिजाले शङ्खघोष गर्दै थिए । जनताले यसपालि बर्षौ देखी देशलाइ लुटिरहेका डाका र गुण्डाहरु , माफियाका मतियारहरुलाइ ठूलो ब्रम्हास्त्र प्रहार गरेर जनताको शक्ति प्रदर्शित गरेरै छाडे । एकाध बाहेक अशिकाङ्स जनता यो चुनावी नतिजाको खुशीमा घर आगन गल्ली चोक हरेक ठाउमा विजयोल्लास मनाइरहेका थिए ।सायद जनताले अन्तिम आशा गरेका मानिसको विजयले हुनुपर्दछ , विदेशीका गुलामहरुको हारले हुनु पर्दछ ।

अँध्यारो भएर सूर्यलाई बादलले छेके जस्तो हुँदै थियो देशै भरिको नतिजाले सम्भवत: नेपाली राजनीतिक इतिहास मै सर्वाधिक बहुमत ल्याएर एउटा पार्टी आफ्नो नेतृत्वमा सरकार बनाउन गइरहेको थियो । चरम भ्रष्ट र अराजकताले थिलथिलो भएको देशमा आशाका मुनाहरु फेदैमा निमोठिएका थिए , हरेक धाराहरु खाली थिए , हरेक खोल्सा र नहरहरु सुख्खा थिए , रोग भोक र शोक हरेक घरमा व्याप्त थियो । चरम महङ्गाइ , बेरोजगारीले देशका सक्षम युवा युवतीहरु जो देश विकासका खम्बा हुन उनीहरु हरेक दिन मेन पावर र विमानस्थलका गेटमा लामबद्द भएका देख्न सकिन्थे । बलात्कार हत्या हिंसा सामान्य मानिन थालेको थियो । कसैको रिस द्वेष र आक्रोशलाई साध्न हत्या गरेर राजनीतिक शरण लिए आम माफी हुने त कानुन सम्मत भैसकेको थियो । जनतामा राजनीतिक वितृष्णा नैराश्यता र वैराग्य चरम शिखरमा थियो । राजनीतिकर्मीमा विन्दु सरह पनि विश्वास नभएको यस्तो संवेदनशील समयमा एउटा सरकार त्यो पनि पूर्ण बहुमतको देशलाइ सहि दिशा दिन अनेकौं जोखिम र जिम्मेवारी लिन तत्पर भइ मन्त्रालय विस्तारमा ध्यान केन्द्रीत गर्दै थियो ।

पर बसेर हेर्दा विशाल सहारा मरुभूमिमा एक गाग्रो पानी खन्याएर हिलाम्मे बनाउन खोजे जस्तो देखिने ती कार्यहरुको खिसिटिउरी , खुट्टा तान्ने र भ्रामक समाचार सम्प्रेषण गर्ने नभएका भने होइनन । वैदेशिक कुटनैतिक सम्बन्धमा आएको चिसोपन , देशहितका मुद्दाहरु ,वैदेशिक चलखेल ,आन्तरिक सुरक्षा, सिमा विवाद , जनताको चर्को निराशा , भुराजनितिक चलखेलमा फसेको नेपाल, जातियता र पहिचानको खोजीमा गृह युद्ध तर्फ धकेलिदै गरेको , देशहितको दुरदर्शिताहरुमा स साना एन जी ओ देखि आएनजीहरुको प्रत्यक्ष हस्तक्षेप , प्रत्येक क्षेत्रमा राजनीति आडमा मौलाएको भ्रष्टाचार र विकृति कहाली लाग्दो थियो । संघीयताले देशलाइ टुक्राउनु मात्र नभइ जनताका विचमा फैलाएको घृणाको बिज र आर्थिक प्रशासनिक खर्च देशले धान्नै नसक्ने स्थितिमा थियो । नैतिकता, इमान्दारीता, देश प्रेम ,राष्ट्रवाद र आफ्नो पनको मौलिकता सम्बर्द्धनमा कोही कुनै सरकारी निकाय तत्परता देखाउने स्थितिमा थिएनन। देश छ र ? सरकार भनेको कस्तो हुन्छ ? जनताले रत्तिभर अनुभव गर्न पाएका थिएनन । यसरी हजारौं चुनौती सहित एउटा निशस्त्र योद्धा न्युक्लियर पावर सङ्ग लड्न तत्पर हुँदै थियो ,आफुलाइ तयार पार्दै थियो एउटा भिषण लडाइका लागि ।

एउटा पूर्ण बहुमतको सरकार बनेपछी उसको पहिलो कर्तव्य थियो सरकार जनता प्रती उत्तरदायी छ भनेर देखाउनु । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु जनताका आवाज र समस्या बोकेर सरकारमा गएका हुन त्यसैले सरकारले सर्वप्रथम आम जनतामा सरकार छ भन्ने अनुभुती दिलाउने चुनौती थियो सरकार गठन भएको कम समय मै । एउटा सुन्दर पक्ष के थियो भने यो सरकारमा बौद्धिक र योग्यताले सुसज्जित मानिसहरु सरकारका मतहतमा आइसकेका थिए , विद्वान गुरुहरु , आम नागरिकको राय सल्लाह सुझावको पूर्ण कदर गरिन्थ्यो । हेर्दै जादा केही अपत्यारिला विधेयकहरु विपक्षीका चर्का विरोधका बाबजुद पारित भए । सरकारको पहिलो निशाना भ्रष्टाचारलाई ठप्प पार्ने गृह कार्यमा तिव्रताका साथ काम हुन थाल्यो । सरकारले यस्तो कार्य गर्नुपर्ने चुनौती थियो कि उसले गरेका कार्यहरु सिधै जनताले अनुभव गर्न सकुन । यसमा सबैभन्दा सुरुमा ट्राफिक प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारी खारेज गरि नयाँ भर्ती गरियो । नयाँ जोश जागर भएका युवायुवतीलाई यसरी मोटिभेसन गरियो कि देश हित र राष्ट्रलाई सर्वोपरि राखी जनताका लागि समर्पित हुन तन मन र वचनले उनीहरु जोशिला देखिए तर यसमा एउटा एग्रीमेन्ट गरियो यदि भ्रष्टाचार वा देश जनता र आफ्नो कर्तव्य प्रती बफादार नभएको ठम्याइएमा सोही समय त्यहा बाट टर्मिनेट गरिनेछ र त्यसको रेकर्डले अन्य कुनै पनि सरकारी कार्यमा पूर्णरुपमा बन्देज लगाइनेछ त्यो पनि उचित सजायका साथ ।

देश प्रेमले ओतप्रोत भएका युवा जोशले केही समय मै देशमा सरकार भएको अनुभती बाढ्न सफल भयो । यातायातमा हुने भ्रष्टाचार र बेतिथी धेरै हद सम्म रोकिन पुग्यो भने राजस्वको ग्राफ उच्च स्तरमा पुग्यो । पारदर्शिता छिटो सर्व सुलभ बिना झन्झटिलो र सहजतका लागि पेमेन्ट, अपोन्ट्मेन्ट जस्ता कार्यहरुमा हजारौंका भिडमा बस्न नपर्ने अनलाइन बाटै काम हुने हुदा जनताहरुले यसको प्रत्यक्ष अनुभव गर्न पाए फलस्वरूप जनता र सरकारको बिचको दुरी बिस्तारै नजिकिदै गयो ।

अब जनतामा बिस्तारै न्याय कानुन र सरकारको विश्वसनियतामा पारिलो घाम पर्दै थियो। सरकार गठन भएको एक बर्षको अन्त्य तिर देशका सम्पुर्ण मालपोत कार्यलयमा काम गर्ने कर्मचारीलाई खारेज गरि नयाँ कर्मचारीको नियुक्ति गरियो तर यसको खबरले देश नै तरङ्गित बन्यो । एकातिर सक्षम युवा जनशक्तिको उपयोगले वाह वाही थियो भने विपक्षीको आलोचनाले सडक केही दिन नतातेको भने हैन । तर पुर्व योजना अनुरुप सरकारले आफ्नो निर्णयमा अडिग रहि आफ्नो कार्य गरेरै छाड्यो । नयाँ जोश र जागरले सुसज्जित कर्मचारीहरुको काम र उक्त कामहरुमा टेक्नोलोजीको समन्वयले अनेकौ झन्झटिला कामहरु सहज भएको जनताले अनुभव गर्न थाले । बाहिर लेखनदास देखि शुरु भएको पैसा हाकिम सम्म खुवाउनु पर्ने , आफ्नो मान्छे वा दलाल नभए सम्म कामै नबन्ने त्यो विकृतिको अन्त्यले सरकारको मनोवल अझै बढ्दै गयो ।

यसबीच सरकारलाई अवरोध गर्न वैदेशिक हस्तक्षेप र रोकावटका लागि अनेकौं प्रयत्नहरु विफल हुँदै थिए सरकार आफ्नो मिशन पूरा गर्न तन मन र वचनले लागिपरेको थियो । सरकारको पहिलो प्राथमिकता शून्य भ्रष्टाचार रहेको थियो जस अनुरुप केही निकायमा लगाएको अंकुसले सरकारको गृहकार्य अझै पारदर्शी र पपुलर भयो । देशमा एनजिओ आएनजिओ तथा अन्य सामाजिक संस्थाहरु मार्फत भित्रीने विदेशी अनुदानहरुको सरकारी निकाय बाट प्रत्यक्ष पारदर्शी हुनु पर्ने नियम , वैदेशिक रोजगरमा जानेहरुका लागि सिपमुलक तालीमको व्यवस्था , नेपालमा गैर कानुनी रुपमा बस्दै आएका शरणार्थीहरु समस्याको निवारण , संघीयता खारेज , स्कुल कलेज देखि हस्पिटल , कल कारखाना तथा अन्य क्षेत्रहरुमा अनेकौ युनियन बनाएर राजनीति गर्ने कार्यको पूर्णरुपमा प्रतिबन्ध लगाइयो अनि हरेक चिजहरुको सरकारी अभिलेख यस्तै यस्तै कामले यो सरकारको कार्यावधी कहिले चौथो वर्षमा पुगेछ पत्तै भएन ।

यसरी एउटा सरकारले आफ्नो कार्य सम्पादन गर्दै देश र जनताको लागि समर्पित थियो । उसका कार्यशैली हेर्दा लाग्थ्यो अर्को चुनावको उसमा कुनै इच्छा र चहाना छैन मात्र उ समाज र देशमा व्याप्त बेतिथी र विकृतिको अन्त्य गर्न चाहन्छ । यसै बिच देशका सम्पुर्ण सरकारी विद्यालयका अध्यापक अध्यापिकालाई यतिका वर्ष सम्मको उनीहरुको योगदानलाइ कदर गर्दै उचित रकमले मानार्थ गर्दै खारेज गरि नयाँ नियुक्ति गर्ने सरकारी निर्णय डढेलो लागे झै देशै भरी फैलियो । शिक्षक संघको आन्दोलन के रोड के सडक , सदन पनि तात्यो तर त्यसले कुनै असर गरेन । सरकार आफ्नो निर्णयमा कटिबद्ध रह्यो ।

अन्त्यमा यो कामको शुरुआत भएरै छोड्यो जहाँ कुनै पनि साकारी कर्मचारी वा शिक्षक शिक्षिका कुनै पनि राजनीतिक दल सङ्ग आवद्ध हुन नपाइने यदि राजनीतिमा आवद्ध हुने इच्छा भए सरकारी जागिरबाट राजिनामा दिनु पर्ने शर्त सहित नयाँ नियुक्तिहरु धमाधम हुन थाल्यो बिना कुनै भनसुन आफ्ना योग्यता अनुसार ।

यो विगत पाँच बर्षमा धेरै कुराहरु भए धेरै कुराहरु भएनन पनि । यसरी एउटा सरकारले पहिलो पटक एउटै मन्त्री मण्डल रहि पाँच वर्ष पूरा गराइ अर्को चुनाव गराउन सफल भयो ।
अघिल्ला कार्यकालको समिक्षा जनता बाट भयो ।यस पटक त झन अप्रत्याशित नतिजा ल्याइ पहिलेको भन्दा अत्यधिक बहुमतले विजय भएको खबर देशै भरी गुन्जिन थाल्यो । फेरि त्यही पार्टीको सरकार गठन भयो । यो पार्टीले नेपाली राजनीतिमा एउटा नयाँ ईतिहास लेख्न सफल भयो ।

सरकारका सामु चुनौतीहरु कम भएका थिएनन । प्रत्यक्ष सरकारका मातहतमा काम हुने भएकोले पारदर्शिताका साथ भ्रस्टाचारको ग्राफ कम भैरहेको थियो । यो चुनाव जित्ने बित्तिकै सरकारले नेपाल प्रहरीका जवानलाइ प्रतिस्थापन गर्दै नयाँ भर्ना गर्ने निर्णय गर्यो ।

यो कार्य यहि रोकिएन जिल्ला शिक्षा कार्यलयका कर्मचारीहरु ,यातायात कार्यलय , वन विभागका कर्मचारी , सरकारी वकिल , भन्सारमा कार्यरत कर्मचारी , विमानस्थलमा कार्यरत कर्मचारीहरु देखि लिएर तमाम सरकारी निकायमा काम गर्ने कर्मचारीहरुलाइ प्रतिस्थापन गरियो ।

यो सुन्दै काल्पनिक लाग्ने कार्यहरु यसरी सम्पादन हुँदै थिए लाग्छ यसको खाका धेरै अघि कोरिएको थियो । बिस्तारै लाग्दै थियो देश भनेको र कानुन भनेको यस्तो हुनु पर्दछ । भ्रष्टाचार नभए पछि विकासका लागि बनाइएका संरचनाहरु पनि कम लागतमा उत्कृष्ट बन्न सफल भएका थिए । सुशासनको एउटा नमुनाको रुपमा सफलताको उचाइ यसरी बढ्दै थियो । नेपालले यतिका छोटो समयमा नै वैश्विक स्तरमा एउटा छुट्टै विशिष्ट स्थान बनाइसकेको थियो।

देशमा अब भ्रष्टाचार लगभग शून्य बराबर भैसकेको थियो ,भौतिक संरचना पनि त्यतिकै गतिमा बन्दै थिए । सरकार जनताको गाँस बास र कपास , स्वास्थ्य ,रोजगारी , महङ्गाइ जस्ता कुराहरुमा अत्यन्तै संवेदनशील भएर लागि परेको थियो । प्राकृतिक आपदा र संकटमा जनताले सरकार संरक्षकको रुपमा पाएको अनुभव साटिरहेका थिए। आयात घटी निर्यातको ग्राफ केही हद माथी उठेको थियो । स्वावलम्बी बन्ने र अवसरका मुनाहरु पलाउदा देशका सक्षम उर्जावान शक्तिलाई देश मै रोक्न सफल भएको थियो ।

सायद नवौं बर्षको अन्त्य तिर हुनुपर्छ महाधिवेशनको चर्चा गाइगुइ फैलिदै थियो । प्रतिपक्ष नाममा मात्र सिमित थियो भावी योजनाहरु तयार हुँदै थिए । वैश्विक स्तरमा नेपालको अलग्गै छवि बनिसकेको थियो । सधै भरी झुकिरहनु पर्ने नेपालको प्रतिनिधि आज शीर उचो गरेर आफ्ना कुरा बिना झिझक राखिरहेको थियो ।

महाधिवेशनको निर्णयले फेरि पनि मलाइ नै तेस्रो पटक प्रधानमन्त्रीको लागि उठाउने सर्व सम्मतले पारित भयो

विपना र कल्पना भन्दा धेरै पर बसेर सपनमा मैले प्रधानमन्त्रीको दुई कार्यकाल पूरा गरे । आफू छोडेर अर्को सङ्ग कसैको पनि विचार समान हुन्छ भन्ने हुदैन तर हाम्रो टिमले देश हितलाइ सर्वोपरि मानेर एउटा मिसनको लागि दिलो ज्यानले लागि पर्यौ ।

नेपाललाइ आगामी २५ बर्षमा कुन रुपमा कुन लेभलमा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने , अहिले हासिल गरेको यो आत्मनिर्भरतालाई कसरी कायम राख्ने विश्वमा छरिएर रहेका नेपाली भाषीहरुको भावनलाइ कसरी नेपाल सङ्ग जोड्ने , देशमा खेर गइरहेको मानव उर्जालाइ कसरी उपयोग गर्ने , वैदेशिक लगानी कसरी भित्र्याउने , रोजगारीका अवसरहरु कसरी धेरै भन्दा धेरै सृजना गर्ने , अरुको सम्मान र आफ्ना मौलिक चिजहरुको सम्बर्द्धन र उजागर गर्ने जस्ता कुराहरुको भावी योजनाहरु बुदा गत रुपमा सुनाउदै थिए माइक डिस्कनेक्ट जस्तो भएर टु टुट आवाज आयो म झसङ्ग भए ……बिउझिएर हेर्दा म त्यहीँ फलामको खाटमा सुतिरहेको थिए .. छेउमा आलर्म बज्दै थियो …..

अचम्मको वास्तविकता भन्दा धेरै पर अपत्यारिलो काल्पनिक जस्तो, कसैले झट्ट सुन्दा हास्यास्पद लाग्ने यो सपनाले मेरो मन र मष्तिकलाइ अब हामीले केही गर्न सकिदैन , हामी बिग्रीयौँ नासियौँ , यो देश कहिल्यै बन्दै बन्दैन , यो देश कसैले बनाउन सक्दैन भन्ने जस्ता कुराहरुलाइ प्रतिस्थापन गरिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *