ब्राह्मण शब्दको बारेमा मानिसहरुमा धेरै भ्रमहरू छन्। तिनीहरूलाई समाधान गर्न अत्यन्तै आवश्यक छ। किनभने हिन्दू समाजको सबैभन्दा ठूलो कमजोरी जातिवाद हो । ब्राह्मण शब्दको साँचो अर्थ नबुझेको कारणले जातिवादलाई प्रोत्साहन गरेको छ ।
शंका १ ब्राह्मणको परिभाषा बताउनुहोस् ?
उत्तर:- पढेर, सिकाएर, चिन्तन गरेर, ब्रह्मचर्य, अनुशासन, सत्य वाणी इत्यादि व्रतको पालन गरेर, दान इत्यादि गरेर, वेद, विज्ञान आदि पढेर, कर्तव्य कर्म गरेर, आदर्शमा समर्पित भएर मात्रै मनुष्यको यो शरीर ब्राह्मण भएर जान्छ ।
मनुस्मृति २/२
शंका २: ब्राह्मण जात हो कि वर्ण ?
उत्तर :- ब्राह्मण वर्ण हो जात होइन। वर्णको अर्थ छनोट वा चयन हो र सामान्यतया वरण शब्दको पनि यही अर्थ हुन्छ। मानिसले आफ्नो रुची, योग्यता र कर्म अनुसार यसको चयन आफै गर्ने गर्छ, त्यसैले यसलाई वर्ण भनिन्छ। वैदिक वर्णमाला प्रणालीमा चार वर्णहरू छन्। ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र।
ब्राह्मणको कर्तव्य विधिवत रूपमा अध्ययन र अध्यापन गर्ने, यज्ञ गर्ने, दान लिने र योग्य मानिसहरूलाई दान दिनु हो।
विधिवत अध्ययन गर्नु, यज्ञ गर्नु, प्रजाको पालनपोषण र रक्षा गर्नु, सुपात्रलाइ दान दिनु, धन र ऐश्वर्यमा लिप्त नभई जितेन्द्रिय रहनु क्षत्रियको कर्तव्य हो ।
पशुपालन गर्नु , सुपात्रलाइ दान दिनु, विधिवत अध्ययन गर्नु, व्यापार गर्नु, कृषि पेशा अवलम्बन गर्नु, पैसा कमाउनु वैश्यको कर्तव्य हो।
चारै वर्णका मानिसहरूको सेवा वा परिश्रम गर्नु शूद्रको कर्तव्य हो।
शूद्र शब्दलाई मनु वा वेदले कहीं पनि अपमानजनक, नीच वा निकृष्ठ मानेका छैनन्।
मनुका अनुसार चार वर्ण ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र आर्य हुन्।- मनु १०/४
शंका ३- मनुष्यको कति जात हुन्छ्न ?
उत्तर :- मनुष्यको एउटै मात्र जात हुन्छ। त्यो हो मनुष्य ।
शंका ४- चार वर्णको विभाजनको आधार के हो?
उत्तर :– वर्ण बनाउने मुख्य उद्देश्य कर्म विभाजन हो। वर्ण विभाजनको आधार व्यक्तिको योग्यता हो। आज पनि शिक्षा पाएपछि मान्छे डाक्टर, इन्जिनियर, वकिल , शिक्षक आदि बन्छन । जन्मले कोही पनि डाक्टर, इन्जिनियर, वकिल हुँदैनन । हो यसलाई वर्ण व्यवस्था भनिन्छ।
शंका ५- कुनै ब्राह्मण जन्मले हुन्छ कि उसको गुण ,कर्म वा स्वभावले बन्छ ?
उत्तर:– शिक्षा प्राप्ति पछि मात्र मानिसको क्षमता निर्धारण हुने गर्दछ । त्यसैले यो जन्मको आधारमा छदै छैन। कुनै पनि व्यक्तिको गुण, कर्म र स्वभावको आधारमा उसको वर्ण छनोट हुन्छ। यदि कोही अशिक्षित छ र आफूलाई ब्राह्मण भन्छ भने, त्यो गलत हो।
मनुको उपदेश :-
जसरी काठको हात्ती र छालाको मृगलाई नामको मात्र हात्ती र मृग भनिन्छ, त्यसरी नै अशिक्षित ब्राह्मण नामको मात्र ब्राह्मण कहलिन्छ ।- मनुस्मृति २/१५७
शंका ६ :- के पिता ब्राह्मण भएको नाताले उनका सन्तानलाई पनि ब्राह्मण भन्न मिल्छ ?
उत्तर :– हामी कहाँ बाउ ब्राह्मण भै सके पछि उहाँका सन्तानलाई पनि ब्राह्मण भनिन्छ भन्ने भ्रम छ किनभने उसको बाबु ब्राह्मण हो। डाक्टरको बच्चाले एमबीबीएस पास गरेपछि मात्र डाक्टर भनिन्छ। जसरी इन्जिनियरको सन्तानले बीटेक पास गरेपछि मात्र इन्जिनियर भनिन्छ । बिना पढाइ कसैलाइ पनि इन्जिनियर र डाक्टर बोलाउन सकिँदैन । त्यस्तै ब्राह्मण पनि अध्यन गरेर आर्जित गर्ने पुरानो उपाधि हो।
मनुको उपदेश :-
आमाको गर्भबाट आमाबाबुबाट जन्मिएको बच्चाको जन्म सामान्य जन्म हो। शिक्षा पूरा गरेपछि मात्र उसको वास्तविक जन्म हुन्छ। – मनुस्मृति २/१४७
शंका ७ :- प्राचीनकालमा ब्राह्मण बन्न के गर्नुपर्थ्यो ?
उत्तर :- प्राचीन कालमा ब्राह्मण बन्नको लागि शिक्षित र गुणवान दुवै हुनुपर्थ्यो।
मनुको उपदेश:-
वेदमा पारंगत आचार्यबाट गायत्री मन्त्रको दीक्षा लिएपछि मात्र शिष्यले वास्तविक मानवको रूपमा जन्म लिन्छ।- मनुस्मृति २/१४८
ब्राह्मण, क्षत्रिय र वैश्य यी तीन वर्णले विद्याध्ययनले दोस्रो जन्म पाउँछन्। विद्याध्ययन नगर्ने शूद्र चौथो वर्ण हो।
मनुस्मृति १०/४
आजकल कतिपयले आफ्ना पुर्खाहरू ब्राह्मण भएकाले आफूलाई ब्राह्मण भनेर जातीय घमण्ड देखाउँछन्। यो बिल्कुल गलत हो। योग्यता आर्जित नगरि कोहि ब्राह्मण बन्न सक्दैन। हाम्रा प्राचीन ब्राह्मणहरूले आफ्नो तपस्याद्वारा, आफ्नो विद्याद्वारा, आफ्नो ज्ञानद्वारा सम्पूर्ण विश्वलाई मार्गदर्शन गर्ने गर्दथे । त्यसैले हाम्रो आर्यव्रत देश विश्वगुरु थियो।
शंका ८:- ब्राह्मणलाई किन श्रेष्ठ ठान्ने ?
उत्तर : – ब्राह्मण एउटा गुणवाचक वर्ण हो। समाजको सबैभन्दा ज्ञानी, विद्वान्, शिक्षित, समाजको मार्गदर्शन गर्ने, त्यागी, तपस्वी व्यक्ति मात्र ब्राह्मण कहलाउन योग्य हुन्छ। त्यसैले ब्राह्मण वर्ण श्रेष्ठ हुन्छ । वैदिक विचारधारामा यदि ब्राह्मणलाई सबैभन्दा बढी सम्मान दिइएको छ भने गल्ती गर्दा सबैभन्दा कठोर दण्ड पनि ब्राह्मणलाई नै दिइएको छ ।
मनुको उपदेश :-
एउटै अपराधमा शूद्रलाई सबैभन्दा कम, वैश्यलाई दुई गुणा, क्षत्रियलाई तीन गुणा र ब्राह्मणलाई १६ वा १२८ गुणा बढी सजाय दिइएको थियो।- मनु ८/३३७ र ८/३३८
यी श्लोकको आधारमा मनु महाराजलाई कसैले पक्षपाती भन्न सक्दैनन्।
शंका ९ :- के शूद्र ब्राह्मण र ब्राह्मण शूद्र बन्न सक्छ?
ब्राह्मण, शूद्र आदि वर्णहरू गुण, कर्म र स्वभावको आधारमा विभाजित भएकाले तिनीहरूलाई परिवर्तन गर्न सम्भव छ।जन्मजात कोही ब्राह्मण हुँदैन अपितु शिक्षा पाएपछि मात्र उसको वर्णको तय हुन्छ ।
मनुको उपदेश :-
ब्राह्मण शूद्र बन्न सक्छ र शूद्र ब्राह्मण बन्न सक्छ। त्यसैगरी क्षत्रिय र वैश्यले पनि आफ्नो वर्ण परिवर्तन गर्न सक्छन्। मनुस्मृति १०/६४
जो शरीर र मनले शुद्ध एवं पवित्र रहन्छ , जो महान व्यक्तिहरूको सानिध्यमा रहन्छ, जो मधुरभाषी हुन्छ, जो अहंकार रहित भएर आफ्नो भन्दा उच्च वर्णको सेवा गर्दछ भने उक्त शुद्रले पनि उत्तम ब्राह्मण जन्म र द्विज वर्ण प्राप्त गर्दछ। मनुस्मृति ९/३३५
बिहान र साँझ भगवानको पूजा नगर्नेलाई शूद्र मान्नु पर्छ। मनुस्मृति २/१०३
जबसम्म कुनै व्यक्ति वेदको शिक्षामा दीक्षित हुँदैन भने ऊ शूद्र बराबर हुन्छ।- मनुस्मृति २/१७२
ब्राह्मण वर्णस्थ व्यक्ति श्रेष्ठ र अति श्रेष्ठ व्यक्तिहरुको संगत गरेर अनि नीच व्यक्तिहरुको संगत छोडेर अधिक श्रेष्ठ बन्न सक्छ भने यसको ठिक उल्टो आचरणले उ पतित भएर शूद्र बन्न पुग्छ । – मनुस्मृति ४/२४५
ब्राह्मण, क्षत्रिय वा वैश्य जसले वेदको अध्ययन र पालना छोडेर अन्य विषयहरूमा परिश्रम गर्छ, त्यो शूद्र बन्न पुग्छ । मनुस्मृति २/१६८
शङ्का १०:- के आज आफूलाई ब्राह्मण भनाउनेहरू हाम्रो पुरातन शिक्षा र ज्ञानको रक्षा गर्ने प्रहरी नै थिए?
आजकल ब्राह्मण कुलमा जन्मेको व्यक्तिले प्राचीन ब्राह्मणहरू जस्तै वैदिक धर्मको रक्षाको लागि प्रयास गरिरहेको छ भने निश्चय नै ब्राह्मण सरह सम्मानको हकदार छ। यदि ब्राह्मण कुलमा जन्मेको व्यक्तिले ब्राह्मण धर्म विपरीत कर्म गर्छ भने उ कुनै पनि हालतमा ब्राह्मण भन्न योग्य हुँदैन ।
जस्तो एउटा उदाहरण लिउ । एउटा व्यक्ति विश्वविद्यालयमा प्राध्यापक छ, शाकाहारी छ, चरित्रवान छ र धर्मको लागि पुरुषार्थ गर्दछ भने उ शूद्र पिताको सन्तान भए पनि ब्राह्मण वर्ण नै कहलिन्छ । यसको ठिक विपरीत एउटा व्यक्ति अनपढ छ , मांसाहारी र मद्यपान गर्ने छ , चरित्रहीन छ र समाजको हितको लागि कुनै पनि कार्य गर्दैन भने उसको आफ्नो बाबु जतिसुकै प्रतिष्ठित ब्राह्मण भए पनि उ कुनै प्रकारले ब्राह्मण भनिन लायक वा योग्य हुँदैन । टुप्पी पालेर र जनाइ लगाएर मात्र कोही ब्राह्मण बन्दैन। यी दुई वैदिक व्रतसँग सम्बन्धित कर्म अर्थात् धर्मको पालना गर्नु अनिवार्य छ। प्राचीन समयमा, ब्राह्मणहरू तिनीहरूको धार्मिक आचरण एवं पुरुषार्थको कारण सम्मानित थिए।
ब्राह्मण: – पुजारी, विद्वान , शिक्षक , इन्जिनियर , डाक्टर
क्षत्रिय :- शासक, योद्धा, सैनिक ।
वैश्य: जमिन्दार, कृषक , व्यापारी
शूद्र :- सेवा प्रदाता
यसरी वर्णले समान व्यवस्था भएका व्यक्तिहरूको सामाजिक समूहलाई बुझाउँछ।
