Skip to content

भ्यू टावर

सूर्य पगालेर निस्केका लाभा अनि
आकाश च्यातेर रगताम्य भएका बादलका रङ्गहरुले
आज लुम्बिनिलाइ सुसज्जित पार्न
भर्खर कि सुत्केरी र गर्भिणी परेवी को भाकल अर्पण गरेर
ती ठुला भ्यू टावरबाट चन्द्र र सूर्य झण्डा फहराउदै रहेछ्न
म भने च्यातिएका टाटि बेरा लाउदै
माकुराका जालो फाल्दै
भित्ता रङ्गाउन कमेरो खोज्दै थिए
तर दुर्भाग्यपूर्ण
स्कुल पढाउदा देशद्रोहि भएर काटिएका औंलाले
कमेरो कोतर्न सकेनन
बारी चिस्याउन कुलेसो खन्न सकेनन्
२० मुरी धान फल्ने सिम खेतमा धान लहर्याउन सकेनन्

आँगन खनेर पर्तिरको खाल्डो पुर्दा
आफ्नै बलेसी पनि खाल्डो पर्छ भन्ने
कसैले बुझिदिएनन शुभद्रा
आज तेहि खाल्डोमा कलुषित पानी भरिएर
सुनामिको उद्गमस्थल भएको छ
स्वार्थ सिद्धको त्यो नर संहार र
भुइँचालोको दर्दनाक कथाको पात्र स्वयं म नै हु
तिमी पनि त हौ नि
तिमी किन चुप छौ वसुंधरा ?

भुइँचालोबाट बचेको कथित तिम्रो शरीरलाइ
यो समुन्द्रको आँधीले यसरी बटार्दै छ
मानौ तिम्रा अंग हरु छिया छिया हुदैछ्न
यो मेरो र त्यो तेरोको उक्साहटले
काँचा भूमिहरु ह्वार ह्वार बल्दैछ्न
त्यो प्रचण्ड अग्निले रगतका टाटाहरु सुकेर
हलोइनका टीका बन्दैछ्न
तिम्रा अङ्ग लिलामीका लागि
शकुनिका पासा फ्याँकिएका फ्याँकियै छ्न
तिम्रो अस्तित्व समाप्त पार्न हात धोएर लागिपरेका छ्न
तिमी आफै सम्हालिन सिक है मेदिनी

तिम्रा बाहुमा तिम्रा भुजामा , तिम्रा काखमा
रमाएका बिताएका मेरा वीरताका कथाहरु
तिम्रा मुलायम जटामा लडिबुडी गरेका यी शौवालिनीहरु
तिम्रा वक्षस्थल मै हुर्किएका जीवनहरु
केवल सजीव छ्न चेतना विहिन
त्यसैले त तिमी र द्रौपदिमा कुनै अन्तर देख्दिन
अनि भरा सभामा त्यो दृश्य हेर्ने लाचारहरु मध्येको
म पनि त एक स्वयं एक दोषी हुँ
यहाँ दुर्योधन पनि छ्न दुषासन पनि छन
शकुनि छ्न धृतरास्ट्र पनि छन
माफ गर शुभद्रा यहाँ तिम्रो लाज बचाउने कृष्ण छैनन्
अनहोनी रोक्न सक्ने विदुर छैनन्

चारै तिर लाक्ष गृह मात्रै छ
मात्र तिम्रो अस्मिता र अस्तित्व मेटाउनलाइ
यो आँधीबेरीमा तुलसा पनि अब औसधि रहेन
यातुधान र नृजग्धहरुको नृशंसताले
अक्सिजनलाइ पनि गुट गुटमा रुपान्तरण गरिसके
यी डाडा भञ्ज्याङ् देउराली चौतारी देखि लिएर
झरना र मानिसका सुस्केराहरुलाई समेत
पार्टी र धर्ममा बिभाजित गरिसके
समथर तराइमा सिउडि र बनमारा फैलिएको फैलियै छ
रुक्ष शजर र मृवाको खेती मनग्ये बढेको छ
मेरा काटिएका औंलाले
वर पीपल रोप्न सक्दैनन्
तिम्रा उध्रेका फरिया सिलाउन सक्दैनन्
मेरा काटिएका औंलाले सियो उन्न सक्दैन
हे अवनि तिमी आफ्नो लाज आफै छोप है

भ्यू टावरको अट्टालिकाबाट हेर्दा
प्रलयाग्नी को धुवाँ मडारिएर
मेरा आँखा भत्भती पोल्दैछ्न
प्रमाद अकिंचन र विभीषिकाको मुस्लो बाहेक केही देखिन त्यहाँबाट
सायद म उत्रीदा उत्रीदै भ्यू टावरका खम्बाहरु मक्काइ सक्लान
म सकुशल फर्किन नसकुँला
हे रत्नगर्भा मेरा लागि सहानुभूति का आँसु नचुहाइदिनु
बरु मेरो निष्प्राण शरीर माथी एउटा पिपल उमारिदिनु
जहाँ बाट निस्केका पवनहरुले हरेकको स्पन्दन छोएर
भ्यू टावरको अर्थलाई बदलिदिन सकोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *