अलैंचीका दाना जस्तै,
पिसिएर पनि,
सुगन्ध म तिम्रो बन्ने नै छु
क्षितिजबाट जति अकासिए पनि
नजर केवल तिमीलाई नै दिने छु ।
देश छोडी परदेशिए पनि,
भाका तिम्रो गाही नै रहने छु ।
बिछोडमा तस्विर छुटे
आँखामै संगालिरहने छु,
नयनबाट मोती हराए
संझनामा बान्धिरहने छु।
तिमी मैन बने,
म धागो बनेर जलिरहन्छु,
तिम्रो प्यासमा,
म खोला बनेर बगिरहन्छु ।
तिम्रा ती मधुर वाणीमा
म संगीत भएर
गुञ्जिरहनेछु
तिम्रा यादहरूमा
चौतारीको पिपल जस्तै
छहारी भएर उभिरहने छु।