केही थान बाछाहरु
माउबाट यसरी बिछडिएका छ्न
स्वादिला घाँसका लोभमा उजाड मरुभूमि तर्फ पाइला चाल्दै गर्दा
विशाल पानीका तलाउ
लोभ लाग्दो बन्सो
उन्नत डाले घाँसहरु
नभेटिएका भने पक्कै हैनन
तर पनि
चार पासा दूध पिएर हुर्केका बाछाहरु
अनमत्त भै लम्किरहेकाछ्न , चम्किरहेकाछ्न
फन्किरहेकाछ्न , प्रमाद बड्किरहेकाछ्न
त्यो बाह्रै मास हरियो हुने मुलायम फाँट
शिवालयमा चढाएको विषद जलधारा
अनवरत बगिरहने भागिरथीहरु
नुनिला अश्रुधारामा समाहित भएर
रित्तिदै छन , थिच्चिदैछन अनि मिच्चिदैछन
मातृत्वले निथ्रुक्क भएर छटपटाएकी पयस्विनी
हिमालयका टाकुरा देखि समथर भूमि नियाल्दै
चिच्याउछिन , बुहार्तन सुनाउछिन
तर अट्टहासले तिघ्रा ठटार्दै
रानो छोडेर एकान्तमा भुन्भुनाउदैछ्न मौरीहरु
जसरी केही थान बाछाहरु
माउलाइ छाडेर स्वतन्त्रताको लागि डुक्रीरहेकाछ्न
अस्तित्वको कृत्रिम लडाइँले
आदृत मातृत्व , प्रासाद र तितिक्षा
वेदनाले रगताम्य भै तड्पिरहेकाछ्न
ती स्वर्ग जस्ता फाँटहरुलाई
खण्डघर बनाउन उक्साइरहेका
परबाट हेर्दा आफ्नै लाग्ने
बाछाको भेषमा ब्वासाका जमातहरु
मुख मिठ्याइरहेकाछ्न , र्याल चुहाइरहेकाछ्न
आफू हुनुको हिनतावोध गर्दै
अर्ना बन्नेको दौडधुपमा
आफ्नो धरातलको माटो उदिनेर
म हुँ भन्ने त्यो अथार्थ जिजीविषा
मदांधकारको विकराल गहिराइमा
गासिदै छ भासिदै छ अनि नासिदैछ
यसरी केही विद्वान बाछाहरु
आफू क्रान्तिकारीको उपमा लिएर
आफ्नो अस्तित्व जोगाइरहेका छ्न
अभिहित भविस्य सुनिश्चित गरिरहेका छ्न
केही थान प्यासा बाछाहरु
तिर्खा मेटाउने आशमा मरुभूमि तर्फ बुर्कुसी मारिरहेकाछन
