Skip to content

हामी फेरि भेटिनेछौ

फेरि हामी भेटिनेछौ
सायद तेतीबेला
म , म जस्तै नरहुँला
तिमी , तिमी जस्तै नरहौली
यो अम्बरमा श्वेताम्बर पिताम्बर भइ
रिस राग द्वेष र आक्रोश नासिएर
एउटा नयाँ आकाश उदाउने छ
स्मृतिमा या विस्मृतिमा
हामी फेरि भेटिनेछौ

कहिल्यै नपठाएका
सुकेका केही थान गुलाबहरु
कहिल्यै पूरा नभएका
अधुरा प्रेम पत्रहरु
बौरी उठ्नेछ्न ,मुस्कुराउनेछ्न
अनि हठात् आत्तिनेछ्न
फेरि हेर्दा हेर्दै आखै सामुन्ने
अन्जान बनी बाटो तर्किनेछ्न
हतार हतारका लामा लामा फड्काहरु
एकान्तको साँघुरो गल्लीमा सुस्तरी रोकिनेछ्न
अनि हामी फेरि भेटिनेछौ

त्यो प्रतीक्षा सद्भावको होस
त्यो भेट समर्पणको होस
त्यो समय वर्षातको होस
रुझ्दै रुझ्दै हामी दुबैको तनलाइ भिजाओस
तनको पानीले मनलाइ पखालोस
वर्षातमा दुबैका आँसु कसैले नदेखोस
नबोली नबोली मौनताले सबै कुरा बुझिदियोस
अनि लर्बराएका आवाजहरु सुस्तरी सुस्ताइदिउन
गाजल पखालिएर झरेका पानीले परेली ओभानो बनाइदिउन
अलङ्गकार युक्त नीरव ती नयनमा
हसिलो तिम्रो मुस्कान , करुणा मिश्रित स्वर
थोरै रीस अनि जीवन भरीलाई पुग्ने स्मृतिहरु समेटौला
गुनासाका ज्वालामुखीमा हामी फेरि भेटिनेछौ

बस त्यतिबेला तिमी , तिमी जस्तै बनिदिनु
म , तिमी जस्तै बनिदिउला
तिमी सबैथोक लिएर जानु
बचेको लिइ म पूर्ण भएर आउला
जसरी पहिलो पटक तिमीलाई भेटेर                                    म फर्किएको थिए

1 thought on “हामी फेरि भेटिनेछौ”

  1. पहिला पहिरो गएको र पछि समथर भएको सफलताको कहानी, संयोगको क्षण अनि अनुघूलित मनबिन्यास निकै मन छोयो । मन त्यत्तिकै छुँदैन ।

Leave a Reply to Sandesh Subedi Cancel reply

Your email address will not be published. Required fields are marked *