(१)
रातो गुलाफ
घोप्ने एउटै काँडा
रक्ताम्मे प्रेम ।
(२)
घडी मलाई
समय उसलाई
दुई कोसेली ।
(३)
स्कुले बालक
शिक्षकको अगाडि
दर्शन छाँट्छ ।
(४)
पुरानो घर
बाजेको भित्ते घडी
समय नयाँ ।
(५)
एका बिहानै
मानिसको जुलुस
पश्चिमतिर ।
(६)
नदी किनार
पतवार र डुङ्गा
यात्री म एक्लै ।
(७)
भव्य सडक
पङ्चर साइकल
ठेल्दै र तान्दै ।
(८)
धुवाँको स्पर्धा
रातो घामको मृत्यु
बस्ती अँध्यारो ।
(९)
हिउँको मूर्ति
घामको न्यानो राप
बिलेर पानी ।
(१०)
उज्यालो बत्ति
पुतली फिरफिर
मृत्यु उत्सव ।
(११)
भुइँ कुहिरो
सेता भेडाको हाँच
गोठालो बाघ ।
(१२)
धमिलो पानी
अस्पष्ट प्रतिबिम्ब
गाह्रो भो चिन्न ।
(१३)
सिम्सिमे झरी
परदेशी सम्झना
आँसु बरर ।
(१४)
जुनको गीत
बैगुनीको पर्खाई
फूलमा शीत ।
(१५)
मन्दिरभित्र
कैदी देवताहरू
मोक्ष चाहना ।
ठेगाना: खोटेहाङ- ६, इन्द्रेणीपोखरी, खोटाङ
इमेल: [email protected]