माया लाउने कुरा आजै थाल्न पाए हुन्थ्यो
मनभित्रको टुकी सधैँ बाल्न पाए हुन्थ्यो ।।
विदेश जाने भाइ बैनीलाई भन्न मन लाग्छ
आफ्नै मुलुकतिर पाउ चाल्न पाए हुन्यो ।।
जता पनि असतीको राज देखेपछि
यौटासम्म असतीलाई ढाल्न पाए हुन्थ्यो ।।
सबैतिर दुला पारी भ्रष्टाचारी पस्छन्
भ्रष्ट पस्ने केही दुला टाल्न पाए हुन्थ्यो ।।
हामीसँगै आफैँभित्र लोभ पाप बस्छन्
निकालेर तिनलाई पर फाल्न पाए हुन्थ्यो ।।
बिरुवाझैँ हाम्रो देश वैलाएछ आजै
देशभक्तिको सुधा देशमै हाल्न पाए हुन्थ्यो ।।
-होम सुवेदी